प्रिय साथी,
हुन त टिप्पणी लेख्न अलि ढिलो भइसकेको छ, तापनि आफ्नो वाचा पूरा गर्ने इच्छासहित मैले अफ्रिकाको यात्राको क्रममा यो टिप्पणी लेखिरहेको छु । माथि उल्लेखित शीर्षकअनुरूप टिप्पणीहरू लेख्ने प्रयत्न गर्नेछु । मलाई आशा छ, पाठकहरूका लागि यो रूचिकर हुनेछ ।
हामी समाजवादको निर्माणमा उद्यत छौँ । समाजवादको विरूद्ध पुँजीवादी प्रवक्ताहरू पनि विचारधारात्मक सङ्घर्षमा लीन छन् । यस्तो सङ्घर्षको क्रममा उनीहरू धेरैजसो के तर्क दिन्छन् भने समाजवाद वा समाजवादको निर्माणकालमा राज्यको हितका लागि व्यक्तिलाई बलि दिइन्छ । म सिद्धान्तको आधारमा मात्रै यस तर्कको प्रतिवाद गर्दिनँ, बरू यसको प्रतिवादमा क्युवाली अनुभवजन्य तथ्यहरूसमेत प्रस्तुत गर्नेछु र त्यसमा केही सामान्य खालका टिप्पणीहरू जोड्नेछु ।
सबैभन्दा पहिले मोटामोटीरूपमा म सत्तामाथि अधिकार जमाउनुभन्दा अगाडि र पछाडिको आफ्नो क्रान्तिकारी सङ्घर्षको इतिहासको रूपरेखा प्रस्तुत गर्नेछु ।
हामी सबैलाई थाहा छ – क्युवामा क्रान्तिकारी सङ्घर्षको सुरुआत २६ जुलाई, १९५३ मा भएको थियो, जुन सङ्घर्ष पहिलो जनवरी १९५९ मा चरम उत्कर्षमा पुगेको थियो । २६ जुलाईको दिन बिहान सबेरै ओरियन्टे प्रान्तको मोन्काडो सैनिक छाउनीमाथि फिडेल क्यास्त्रोको नेतृत्वमा रहेको एउटा समूहले आक्रमण गरेको थियो । त्यो आक्रमण असफल भएको थियो । यो असफलता ठुलो विपत्ति साबित भयो । जीवित भएकाहरूलाई बन्दी बनाइयो । आममाफीको क्रममा मुक्त भएपछि उहाँहरूले फेरि सुरुदेखि नयाँ ढङ्गले क्रान्तिकारी सङ्घर्षको सूत्रपात गर्नुभयो ।
यही प्रक्रियाको क्रममा व्यक्ति नै आधारभूत तत्वको रूपमा रहेको थियो, जुन प्रक्रियामा समाजवादको बीउमात्रै रहेको थियो । व्यक्तिकै रूपमा देखापर्नुभएका यही विशिष्ट र एक्लो खास नामधारी व्यक्ति नै हाम्रो विश्वसनीय मानव बन्नुभयो । उहाँलाई सुम्पिएको जिम्मेवारीको सफलता वा असफलता उहाँकै कार्य क्षमतामाथि निर्भर थियो ।
त्यसपछि छापामार युद्धको चरण आयो । यस युद्धलाई दुई भिन्नाभिन्नै वातावरणअन्तर्गत विकसित गरियो । ती दुई भिन्नाभिन्नै वातावरणमा एकातिर जनता थिए, अर्कोतिर छापामारहरू ! त्यसबेलासम्म जनता अचेतन भिडको रूपमा थियो, जसलाई एकजुट पारी परिचालन गर्नु जरूरी थियो । अर्कोतिर छापामारहरू क्रियाशील थिए जनताका अगुवाका रूपमा जनपरिचालनको प्रक्रियालाई अगाडि बढाउने इन्जिनको रूपमा, क्रान्तिकारी चेतना र जुझारू उत्साहका जनकको रूपमा विजयका लागि आवश्यक आत्मगत स्थिति सिर्जना गर्ने उत्प्रेरक शक्ति पनि यही अगुवा दस्ता थियो ।
म यहाँ फेरि पनि जोड दिएर भन्छु, हाम्रो विचार–शक्तिलाई सर्वहाराकृत रूप दिने कार्यमा हाम्रा बानी व्यहोराहरू र हाम्रा मन–मस्तिष्कहरूमा भइरहेको क्रान्तिमा यही व्यक्ति नै आधारभूत तत्वको रूपमा रहेको थियो ।
क्रान्तिकारी सशस्त्र सैन्य शक्तिअन्तर्गतका माथिल्ला पदहरू पाउने सियरा माइस्त्राका प्रत्येक योद्धाहरूले विशिष्ट काम गर्नुभएको थियो । हो, यस्तै विशिष्ट र स्मरणीय कामहरूकै आधारमा उहाँहरूले ती पदहरू पाउनुभएको थियो । पहिलो वीरतापूर्ण कालमा यिनै व्यक्तिहरूले महानतम् जिम्मेवारी र विशाल जोखिमहरूले भरिएका कर्तव्यहरू आफ्नो काँधमा लिई फत्ते गर्नुभयो । आफ्ना कर्तव्यहरू पालना गर्नुलाई नै उहाँहरूले परम सन्तोष प्राप्तिको बाटोको रूपमा लिनुभयो, अन्य केही पुरस्कारको आशा गर्नुभएन ।
हाम्रो क्रान्तिकारी शैक्षिक कार्यमा हामी सधैँ नै यही शिक्षाप्रद विषयबारे बारम्बार चर्चा परिचर्चा गर्ने गर्छौँ । हाम्रा योद्धाहरूको मनोवृत्ति र आचरणमा हामी भविष्यको नवमानवको झलक देख्नथालेका छौँ ।
हाम्रो इतिहासको अन्य कालखण्डमा क्रान्तिकारी उद्देश्यप्रतिको सम्पूर्ण लगनशीलताले भरिपूर्ण कार्यहरूलाई दोहो¥याइएको छ । ‘अक्टोबर सङ्कट’ र ‘फ्लोराको तुफान’ को समयमा हामीले सम्पूर्ण जनसमुदायद्वारा गरिएका अनौठो वीरतापूर्ण र उत्तम बलिदानीपूर्ण कार्यहरू देखेका छौँ । विचारधारात्मक दृष्टिकोणले हेर्ने हो भने दैनिक जीवनका यस्ता वीरतापूर्ण कार्य एवं मनोवृत्तिहरूलाई श्रृङ्खलाबद्ध र स्थायी बनाउने बाटोको खोजी गर्नु नै हाम्रा आधारभूत काम कर्तव्यहरूमध्ये एक हो ।
सन् १९५९ मा क्रान्तिकारी सरकारको स्थापना भयो, त्यसमा पुँजीपतिवर्गका अनेक प्रतिनिधिहरू पनि सहभागी भए । शक्तिको आधारभूत तत्वको रूपमा रहेको विद्रोही सेनाको उपस्थितिले क्रान्तिकारी सत्ताको दिगोपनाको प्रत्याभूति दिएको थियो ।
पछि गएर गम्भीर अन्तरविरोधहरू विकसित भए । ती अन्तरविरोधहरूको हल गर्ने प्रक्रिया सर्वप्रथम तब सुरु गरियो, जब ७ फेब्रुअरी १९५९ मा फिडेल क्यास्त्रोले प्रधानमन्त्रीको पद ग्रहण गरी सरकारको नेतृत्व सम्हाल्नुभयो । यस प्रक्रियाको अन्त्य तब भयो, जब त्यसै वर्षको जुलाई महिनामा जनताको ठुलो दबाबवश राष्ट्रपति उरुतियाले राजीनामा दिनुभयो ।
जनइच्छाको सम्पूर्ण र स्पष्ट रूपरेखा
अब क्युवाको क्रान्तिको इतिहासमा स्पष्टरूपले परिभाषित नख–शिख र रूपरेखासहित एउटा नयाँ बहुमुखी पात्र चरित्रको उदय भयो । त्यो पात्र र चरित्र हो† जनता ¤ हो, जनता जो इतिहासको मञ्चमा सुव्यवस्थितरूपले बारम्बार उदाइरहन्छन् ।
के दाबी गरिन्छ भने यो बहुमुखी चरित्र भएको जनता भनेको समान श्रेणीका तत्वहरूको कुलजोडमात्रै हो, यिनीहरूले पाल्तु भेडा बाख्राहरूले जस्तै व्यवहार गर्छन् । तर, यथार्थ के हो भने जनता भनेका समान श्रेणीका तत्वहरू होइनन्, न त भेँडा–बाख्राहरू नै हुन् । बरू उनीहरूमाथि प्रभुत्व जमाइरहेको राज्य–व्यवस्थाले उनीहरूलाई एउटै श्रेणीमा भेँडा बाख्रालाई जस्तै कोचेर राखेको कारणले मात्र त्यसो देखिएको हो ।
के कुरा सत्य हो भने जनताले विना कुनै दुविधा, विना कुनै हिच्किचाहट आफ्ना नेताहरूको अनुसरण गर्दछन्, विशेषगरी फिडेल क्यास्त्रोको । तर, जुन विशाल परिमाणमा उहाँले यसरी जनविश्वास आर्जन गर्नुभएको छ त्यो निश्चितरूपमा जनताका इच्छा र आकाङ्क्षाहरूको सही अभिव्यक्तिको कारणले सम्भव भएको हो । सार्वजनिकरूपमा घोषित वाचाहरू पूरा गर्नको लागि उहाँले गर्नुभएको इमानदारीपूर्ण सङ्घर्षको कारणले उहाँ त्यसरी जनविश्वास प्राप्त गर्न सफल हुनुभएको हो ।
जनताले कृषि–सुधारको अभियानका कामहरूदेखि लिएर राज्यका उद्योग– प्रतिष्ठानहरूको प्रबन्धसम्बन्धी कठिन जिम्मेवारीहरूमा समेत भाग लिए । उनीहरू वे अफ पिग्सका वीरतापूर्ण अनुभवहरूबाट अगाडि बढे, उनीहरू सी.आई.ए. द्वारा सशस्त्र पारिएका डाँका डफ्फाविरूद्ध चलाइएको सङ्घर्षमा इस्पातजस्तै मजबुत बने† अक्टोबर सङ्कटको बेलामा उनीहरूले आधुनिक युगका सबैभन्दा महत्वपूर्ण परिभाषाअनुरूप बाँचे† अनि आज उनीहरू समाजवादको निर्माणको कामलाई निरन्तररूपमा अगाडि बढाउन व्यस्त छन् ।
वस्तुलाई सतही ढङ्गले हेर्ने दृष्टिकोणबाट हेर्दा मनमा लाग्नसक्छ† व्यक्तिलाई राज्यको अधीन मान्ने मानिसहरू नै सही हुन् कि के हो । हो, निश्चितरूपमा जनताले अतुलनीय उत्साह र अनुशासनका साथ सरकारद्वारा निर्धारित कामहरूलाई पूरा गर्दछन्, ती कामहरूका स्वरूपहरू चाहे जस्तोसुकै किन नआऊन्, चाहे ती कामहरू आर्थिक, सांस्कृतिक, सुरक्षात्मक र खेलकुदसम्बन्धी नै किन नआऊन् ।
हो, निश्चितरूपमा यस्ता कामहरूको पहलकदमी साधारणतया फिडेल क्यास्त्रोबाट वा क्रान्तिको उच्च कमान्डबाटै सुरु हुन्छ र ती कामहरूको बारेमा जनतालाई व्याख्या गरेर बुझाइन्छ अनि त्यसपछि जनताले त्यसलाई आफ्नै बोधको रूपमा लिन्छन् र पहलकदमी लिन्छन् । कहिलेकाहीँ पार्टी र सरकारद्वारा विशिष्ट स्थानीय अनुभवहरूलाई लिइन्छन् र त्यही प्रक्रियाद्वारा ती अनुभवहरूलाई सामान्यीकरण गर्ने र कार्यरूप दिने काम गरिन्छन् ।
त्यसो हुँदाहुँदै पनि राज्यबाट कहिलेकाहीँ गल्तीहरू हुन जान्छन् । जब त्यस्ता गल्तीहरू हुन्छन्, तब जनताबिच विद्यमान प्रत्येक तत्व र समूहहरूमा परिमाणात्मक कमी आउँछ । त्यसैको परिणामस्वरूप जनताको सामूहिक उत्साह ओरालो लाग्छ र कामहरू ठप्प हुन थाल्छन् । अनि अन्ततः निरर्थकताको सीमासम्म ती कामहरू सङ्कुचित हुन थाल्छन् । हो, गल्तीहरू सुधार्ने समय भनेको यही नै बेला हो । अनिवाल एसकालान्तेद्वारा पार्टीमाथि थोपरिएको सङ्कीर्णतावादी नीतिको परिणामस्वरूप सन् १९६२ को मार्च महिनामा यस्तै गल्ती हुन गएको थियो ।
नेतृत्व र जनसमूहबिच द्वन्द्वात्मक एकता
यसबाट स्पष्ट हुन्छ– संवेदनशील उपाय र समझदारीपूर्ण कदमहरूको कडी बनाइराख्नको लागि यस प्रकारका संयन्त्र र कार्यविधिहरू मात्रै काफी छैनन् । यसका लागि जनतासँग अझ बेसी संरचनात्मक सम्बन्धको विकास गर्नु जरूरी छ । आगामी वर्षहरूमा हामीले यस सम्बन्धलाई अझ घनीभूत र विस्तृत पार्नु आवश्यक छ । तर, अहिलेलाई भने सरकारका उच्च क्षेत्रहरूबाट पहलकदमीको सवालमा हामीले तत्काल आउने ठुल्ठुला समस्याहरूमाथि हुने प्रतिक्रियाहरूप्रति दुवै कान खोलेर सुन्ने अनुभूतिमूलक उपाय (Intuitive Method) नै प्रयोग गरिरहेका छौँ ।
फिडेल क्यास्त्रो यस्तो उपाय प्रयोग गर्ने मामिलामा कुशल हुनुहुन्छ । जनतासँग एकाकार (Fusing) हुने उहाँको विशिष्ट तरिका छ जुन तरिका कुशलतापूर्वक प्रयोग गरेर उहाँ क्रियाशील रहनुभएको देख्दा उहाँको प्रशंसा नगरीरहन सकिन्न । ठुलठुला जनसभाहरूमा उहाँ भाषण होइन, जनतासँग संवाद गर्नुहुन्छ, संवाद पनि त्यस्तो खालको संवाद, जुन दुईवटा सुमधुर स्वरहरूको झङ्कारको रूपमा सुनिन्छ । मानौँ यस्तो लाग्छ – उहाँको र जनसमूहको प्रगाढ अन्तरक्रियाको कम्पनबाट अर्को नयाँ झङ्कारको सिर्जना भइरहेको छ । फिडेल र जनसमूहबिच हुने झन्झन् गहिरो र अर्थपूर्ण खालको संवाद यति मज्जासँग झङ्क्रित हुनथाल्छ कि त्यो संवाद हाम्रो विजयघोष र सङ्घर्षका नाराहरूको हुँकारको रूपमा चरमबिन्दुमा पुग्दछ ।
जुन जुन व्यक्ति क्रान्तिकारी अनुभवको बिच बाटोबाट अगाडि बढेका छैनन्, उनीहरूका लागि व्यक्ति र जनसमूहबिचको घनिष्ठ द्वन्द्वात्मक एकताले भरिएको त्यस स्थिति राम्ररी बुझ्न कठिन हुनेछ । त्यस्तो द्वन्द्वात्मक स्थितिमा व्यक्ति र जनसमूह दुवै अन्तरसम्बन्धित हुन्छन् अनि समग्ररूपमा व्यक्ति–व्यक्तिहरू मिलेर बनेको जनसमूह पनि नेताहरूसँग अन्तरसम्बन्धित हुन्छ ।
पुँजीवादअन्तर्गत पनि यस प्रकारको एकताको झलक कहिलेकाहीँ देख्न पाइन्छ, विशेषगरी जनमत परिचालन गर्ने क्षमता भएका राजनीतिज्ञहरू मञ्चमा देखा पर्दा यस्तो हुन्छ । तर, त्यो परिचालन धेरैजसो साँच्चैको सामाजिक आन्दोलनसँग सम्बन्धित क्रियाकलाप हुँदैन । यदि त्यो सामाजिक आन्दोलनअन्तर्गतको क्रियाकलाप भए त्यसलाई पुँजीवादअन्तर्गतको क्रियाकलाप भन्नु उपयुक्त हुँदैन । त्यो परिचालन साँच्चैको सामाजिक आन्दोलन नहुने हुनाले परिचालनकर्ताको जीवनकालसम्म मात्रै त्यो अगाडि बढ्छ, त्यो पनि पुँजीवादी समाजका क्रूरताहरूको बारेमा जनताबिच भ्रान्ति रहेसम्म मात्रै !
पुँजीवादअन्तर्गत व्यक्तिको जीवन एउटा त्यस्तो निर्मम र कठोर विधानले बाँधिएको हुन्छ, जुन सामान्यतया व्यक्तिको बोध क्षमताभन्दा अलि टाढै हुन्छ । घना एक्लोपनाको भारी बोक्दै त्यो व्यक्ति समग्ररूपमा एउटा त्यस्तो अदृश्य धागोद्वारा समाजसँग बाँधिएको हुन्छ, जसलाई मूल्यको विधान (The law of value) भनिन्छ । यही अदृश्य मूल्य–विधानले व्यक्तिको जीवनका सबै पक्षहरूमाथि प्रभाव पार्छ, त्यसैले उसको जीवनको बाटो तय गर्छ र उसको भाग्यको निर्माण गर्छ ।
पुँजीवादका विधानहरू अन्धा हुन्छन् र अधिकांश मानिसहरूका लागि अदृश्य हुन्छन् । तर, तिनै विधानहरू व्यक्तिको मन–मस्तिष्कभित्र पसेर, त्यस विषयसम्बन्धी उसको चेतनाविना नै क्रियाशील रहन्छन् । व्यक्तिले त पुँजीवादी क्षितिजको विशालता मात्रै देख्न पाउँछ, जुन हेर्दाखेरि अनन्तजस्तो देखिन्छ । पुँजीवादी प्रचार माध्यमहरूले बिलकुल यसरी नै सफलताको कथा प्रस्तुत गर्छन्, सफलताका सम्भावनाहरूलाई व्यक्त गर्नको लागि तिनीहरूले रकफेलरको कथालाई सिक्नुपर्ने पाठको रूपमा प्रयोग गर्छन्, चाहे त्यो सफलता झूटो होस् कि साँचो । एक रकफेलरको कथा सिर्जना हुन कति अभावहरू, कति गरिबीहरू र कति पीडाहरूको सञ्चयको आवश्यकता हुन्छ भन्ने कुरा त्यस सफलताको प्रस्तुतिमा छोएको पनि हुँदैन । एक रकफेलरको अपार धन–सम्पत्तिको निर्माणको लागि कति धेरै नीचता र उत्पीडनहरूको विशाल योगदान जरूरी हुन्छ भन्ने वास्तविकता पनि त्यस सफलताको कथाबाट गायब गरिएको हुन्छ । जनताबिच क्रियाशील शक्तिहरूसँग यस्ता झूटा कथा र धारणाहरूलाई चिरेर वास्तविकता प्रस्ट्याउन सक्ने क्षमता सधैँ हुन्छ भन्ने कुरा पनि भएन नि ।
(यसै सन्दर्भमा यहाँ दुई तीनवटा पक्षहरूलाई अध्ययनको विषय बनाउनु जरूरी हुनसक्छ, जस्तो पराधीन देशका जनतामाथिको शोषणप्रति अलिकति सम्मति हुने भएकोले साम्राज्यवादी देशहरूका मजदुरहरूले कसरी अन्तर्राष्ट्रिय वर्गीय भावना बिस्तारै–बिस्तारै त्यागिरहेका छन् ? त्यसैको परिणामस्वरूप आफ्नै राष्ट्रिय पृष्ठभूमिमा ती देशका जनताको जुझारू भावना कसरी कमजोर र नष्ट हुँदै गइरहेको छ ? तर, यी विषयहरू वर्तमान टिप्पणीको सीमाभन्दा बाहिर भएकाले यसलाई यही रोक्छु ।)
पुँजीवादमा जुनसुकै मामिलामा पनि हामीले सफलताको लक्ष्यसँग जोडिएको एउटा अवरूद्ध बाटो देख्छौँ, जुन बाधा व्यवधानले भरिपूर्ण हुन्छ । त्यो बाटोबाट लक्ष्यसम्म पुगी सफल हुनका लागि आवश्यक पृष्ठभूमि, ल्याकत र गुणहरूले सम्पन्न व्यक्तिले मात्रै हिँड्न सक्छ । त्यसमा इनामको झलक निकै टाढा–टाढामात्र देखिन्छ र बाटो एकलास र निर्जन देखिन्छ । त्यसमाथि यो बाटोमा अगाडि बढ्नु भनेको ब्वाँसोको दौडजस्तै हो, अरूको असफलताको मूल्यमा मात्रै आफू लक्ष्यसम्म पुग्न सकिने दौड हो यो ।
अब म समाजवादको निर्माणसँग सम्बन्धित घटनाक्रमका नायकलाई यसका अद्भूत र मार्मिक नाटकका अभिनेताको रूपमा रहेको व्यक्तिलाई परिभाषित गर्ने प्रयत्न गर्नेछु, जसको दोहोरो अस्तित्व समाजका सदस्यका र अर्को बेजोड व्यक्तिका रूपमा ।
मलाई लाग्छ, त्यस व्यक्तिको अनिर्मित गुणको पहिचान गर्नु र त्यसलाई मान्यता प्रदान गर्नु नै सबैभन्दा धेरै सजिलो र सोझो तरिका हुनसक्छ । हो, त्यो व्यक्ति अहिलेसम्म पनि अधुरो र अपरिष्कृत सिर्जना हो । वैयक्तिक चेतनाभित्र विगतकालका कमी–कमजोरीहरू वर्तमानमा विद्यमान रहिरहेका हुन्छन् । तिनलाई उन्मूलन गर्नको लागि अविराम प्रयासको आवश्यकता छ । यो प्रक्रियाअन्तर्गत दुईवटा पाटाहरू हुन्छन् । एकातिर परोक्ष र प्रत्यक्ष शिक्षाद्वारा समाज व्यक्तिमाथि क्रियाशील हुन्छ भने अर्कोतिर व्यक्ति स्वयम् पनि आत्म–शिक्षाको सचेत प्रक्रियाद्वारा अगाडि बढ्छ ।