का. रोहित
क्रान्तिविरोधी षड्यन्त्र असफल
एकातिर समाजवादी क्रान्तिको निम्ति बोल्शेविकहरूको छैटौँ महाधिवेशन गइरहेको थियो भने अर्कोतिर पुँजीपति, जमिनदार, मेन्शेविक र समाजवादी क्रान्तिकारीहरूको ‘राज्य समिति’ को बैठक बोलाउँदै थियो ।
रियाबुशिन्स्की भन्ने एक करोडपतिले लाजै नमानी भन्यो, “अकाल र बर्बादीको बलियो पञ्जाले जनताका झूटा मित्रहरू भनिने प्रजातान्त्रिक सोभियत र समितिहरूको घाँटी निमोठ ।’ ३ अगष्टको दिन प्रधानसेनापति जनरल कार्निलोभले युद्ध मोर्चाको पछाडि पनि ज्यान सजायलाई चालु राख्न माग गर्यो । त्यसको अर्थ हो– बोल्शेविक र मजदुरहरूको हत्या गर्नु ।
१२ अगष्ट १९१७ को दिन, मस्कोको ठुलो नाचघरमा अस्थायी सरकारको राज्य समितिको बैठक बस्यो । आफूलाई समाजवादी क्रान्तिकारी भन्ने करेन्स्कीले धक्कु लाएर भन्यो, “जमिनदारको जग्गालाई बिनाअधिकार कब्जा गर्ने किसानहरूलाई ‘निर्ममतापूर्वक’ दबाइनेछ ।”
त्यसको विरोधमा बोल्शेविकहरूले मस्कोमा हडतालको आह्वान गरे । हडतालमा धेरैजसो मजदुरहरू सामेल भए ।
बैङ्कका मालिक, व्यापारी र कारखानाका मालिकहरू कार्निलोभको प्रधानकार्यालयमा जम्मा हुन थाले र मद्दत दिने वचन दिए । बेलायत र फ्रान्सका प्रतिनिधिहरूले क्रान्तिको विरोधमा पाइला चाल्न उक्साए । कार्निलोभले सीधै प्रतिक्रियावादी माग अघि सार्यो, “समिति र सोभियतहरूलाई समाप्त गर ।”
कार्निलोभले बोल्शेविकहरूबाट ६ महिनाभित्र विद्रोह हुने हल्ला फैलायो र बोल्शेविकहरूलाई दबाउन सैनिक तयारी गर्न थाल्यो । उनी पुँजीपतिवर्गको अस्थायी सरकारलाई समेत भङ्ग गरेर सैनिक शासन लागू गर्न खोज्दै थिए ।
‘पितृभूमि रक्षा’ गर्ने निहुँ राखेर २५ अगष्टको दिन कार्निलोभले क्रिमोन भन्ने एक जनरलको मातहतमा पेट्रोग्रादमा एक घोडचढी सेना बोलाए । त्यो एक सैनिक षड्यन्त्र थियो । त्यस घोडचढी सेनाले जनतालाई दबाउँथ्यो । त्यस सेनामा सा¥है बदनाम र निर्दयी काकेशियालीहरू थिए ।
यस कुरालाई बुझेर बोल्शेविक पार्टीको केन्द्रीय समितिले क्रान्तिविरोधी त्यस पाइलोलाई शस्त्र बलले नै जवाफ दिन मजदुर र सैनिकहरूलाई आह्वान गर्यो । मजदुर र क्रान्तिकारी सेनाले पेट्रोग्रादको चारैतिर खाडल खन्न थाले, काँडा भएको तार बेर्न थाले र जालहरू बिछ्याउन थाले । सहरतिर आउने रेलका बाटाहरू भत्काइए । हजारौँ सशस्त्र जहाजीहरू लड्नको निम्ति क्रोन्स्तातबाट ओइरिए । मजदुर प्रतिनिधिहरूले पेट्रोग्रादतिर आइरहेका क्रिमोभको पल्टनलाई सम्झाउन जनप्रतिनिधिहरू पठाए । जनप्रतिनिधिहरूलाई ती सेनालाई कार्तिलोभको जनविरोधी उद्देश्य र षड्यन्त्रलाई सम्झाउँदा जनरल क्रिमोभको अगाडि बढ्ने आदेशलाई सेनाले अस्वीकार गरिदियो । अर्को दललाई पनि सम्झाउन जनप्रतिनिधि पठाइयो ।
बोल्शेविकहरूले ती फौजी षड्यन्त्रको विरोधमा जनतालाई सङ्गठित गर्दै गए । अस्थायी सरकारका करेन्स्कीहरू पनि षड्यन्त्रको विरोधमा गए । तर बोल्शेविकहरू करेस्न्कीहरूलाई उदाङ्ग्याउन पछि परेनन् । अन्तमा बोल्शेविकहरूको बलले कार्निलोभको विद्रोह दबायो र जनरल क्रिमोभले आत्महत्या गर्यो । उसको षड्यन्त्रकारी साथी देनीकिन र लुकोम्स्की पक्राउमा परे । कार्निलोभको षड्यन्त्रको दमनले बोल्शेविकहरू एक मुख्य शक्ति हो भन्ने कुरो देखायो । त्यसले गाउँका किसानहरूमा पनि राम्रो प्रभाव पर्यो । बोल्शेविकहरूले तिनीहरूलाई युद्ध र जमिनदारको पञ्जाबाट मुक्त गर्नेछ भन्ने विश्वास बढ्यो ।
कार्निलोभको हारको भोलिपल्ट अर्थात् ३१ अगष्टको दिन पेट्रोग्रादको सोभियतले बोल्शेविक नीतिलाई स्वीकार गर्यो । ठाउँ ठाउँका कारखानाहरूमा पनि मेन्शेविक र समाजवादी क्रान्तिकारीहरूको ठाउँमा बोल्शेविकहरू चुनिए ।
५ सेप्टेम्बरको दिन पेट्रोग्राद सोभियत बोल्शेविक पार्टीको पक्षमा गयो र मेन्शेविक र समाजवादी क्रान्तिकारीहरूले राजीनामा दिए । ती दुवै पार्टीहरूमा बोल्शेविकहरूलाई समर्थन गर्ने ‘वामपन्थी’ गुटहरू बन्न थाले । फुटले तिनीहरू कमजोर हुँदै गए ।
१२ सेप्टेम्बरको दिन ती पार्टीहरू मिलेर एक सम्मेलन गरे । त्यस सम्मेलनले ‘प्रेद पार्लामेन्ट’ अर्थात् ‘संसद भन्दा पहिले’ को एक अस्थायी ‘गणतन्त्र परिषद्’ बनायो । त्यो त समाजवादी क्रान्तिलाई पुँजीवादी संवैधानिक विकास र पुँजीवादी संसद्वादको बाटोमा फसाउने एक योजना थियो । बोल्शेविकहरूले त्यसलाई बेकामको संसद् भनेर अस्वीकार गरिदिए ।
विद्रोह सुरु
पेट्रोग्राद र मस्को दुवै राजधानीहरूमा सोभियतहरूको चुनावमा बोल्शेविक प्रतिनिधिहरूको बहुमत भयो । गाउँ गाउँमा किसानहरूको विद्रोह भइरहेको थियो । पेट्रोग्राद र मस्कोको चुनावमा पार्टीको विजयले जनतामा बोल्शेविकप्रतिको विश्वास बढ्दै थियो । कार्निलोभको सैनिक षड्यन्त्र असफल पार्नमा सर्वहारावर्ग सफल भएको हुँदा करेन्स्की पुँजीवादी सरकार मजदुरवर्गसँग डराएर राजधानी पेट्रोग्रादबाट अन्तै सार्न चाहन्थ्यो । राजधानी अन्तै सार्नुको मतलब पेट्रोग्रादबाट सेना हटाउनु र त्यसलाई जर्मनीको हातमा सुम्पनु थियो ।
रुसको भित्री परिस्थिति त्यस्तो थियो भने उता शत्रु देश जर्मनीमा जलसेनाले विद्रोह गर्यो । युरोपको निम्ति यो नौलो कुरो थियो । त्यस घटनाले सारा युरोपमा समाजवादी क्रान्तिको सङ्केत दियो । रुसी क्रान्तिको सम्भावनालाई बुझेर साम्राज्यवादीहरू आपसमा शान्ति गर्न चाहन्थे र क्रान्तिलाई दबाउन चाहन्थे ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिको पक्षमा देखियो । बोल्शेविकहरू यस्तो राम्रो परिस्थितिलाई हातबाट फुत्कन दिन चाहँदैनथे । यसकारण, विद्रोहको तयारी सुरु गरियो । ७ अक्टोबरको दिन लेनिन गुप्तरूपले फिनल्यान्डबाट पेट्रोग्राद पुग्नुभयो । १० अक्टोबरको दिन पार्टीको केन्द्रीय समितिको बैठक बस्यो । मस्को पेट्रोग्रादको चुनावमा मजदुर र सैनिकहरूको बहुमत भएको हुँदा लेनिनले भन्नुभयो, “जनताको बहुमत हाम्रो पक्षमा छ ।” यसकारण, राज्यको हुकुम बोल्शेविकहरूले लिनुपर्छ भनेर उहाँले निर्देशन दिनुभयो । केन्द्रीय समितिको तर्फबाट लेनिनले तल्लो तहका सबै पार्टी समितिहरूलाई विद्रोहको तयारीको निर्देशन दिनुभयो ।
तर, केन्द्रीय समितिका दुई जना सदस्य कामेनेभ र जिनोभियेभले भने विद्रोहको विरोधमा मत दिए । तिनीहरू ‘प्रेद पार्नामेन्ट’ अर्थात् ‘संसद भन्दा पहिलेको’ अस्थायी गणतन्त्र परिषद्मा सामेल हुन चाहन्थे । तिनीहरूको विचारमा समाजवादी क्रान्तिको निम्ति मजदुरवर्ग त्यति बलियो र परिपक्व भइसकेको थिएन । तिर्नीहरू पुँजीवादी संसदीय प्रजातन्त्रमै बस्न चाहन्थे । मेन्शेविकहरूको पनि त्यही विचार थियो ।
गोत्स्की सोभियतहरूको दोस्रो महाधिवेशन सुरु हुनुभन्दा पहिले विद्रोह नगर्ने पक्षमा थिए । त्यसको अर्थ थियो– विद्रोह ढिलो गर्नु, विद्रोहको दिन तोक्नु र त्यत्तको खबर अस्थायी सरकारसम्म पु¥याउनु । यसप्रकार त्रोत्स्कीले विद्रोहको प्रस्तावलाई विरोध नगरे पनि विद्रोहलाई असफल पार्ने उद्देश्य राखे । पार्टी केन्द्रीय समितिबाट पनि विद्रोह सञ्चालन गर्नको निम्ति भारोसिलोभ, मोलोतोभ, दजेजिन्स्की, ओर्वजोनिकिङ्ज, किरोभ, कागानोभिच, कुश्वीरोभ, फुन्जे, यारोस्लाभस्कीजस्ता नेताहरू विभिन्न इलाकामा खटिए ।
करेन्स्की सरकारले राजधानीलाई पेट्रोग्रादबाट मस्को लैजान खोज्यो । मजदुर र सैनिकहरूले त्यसको विरोध गरे । १६ अक्टोबरको दिन पार्टी केन्द्रीय समितिको एक पूर्ण बैठक बस्यो । बैठकले विद्रोह सञ्चालन गर्न स्तालिनको नेतृत्वमा एक पार्टी केन्द्र चुन्यो । त्यो पार्टी केन्द्र पेट्रोग्राद सोभियतको क्रान्तिकारी सैनिक समितिको नेतृत्व थियो । १८ अक्टोबरको दिन मेन्शेविकको समाचारपत्र ‘नोभाया जीस्न’ (नयाँ जीवन) मा कामेनेभ र जिनोभियेभको एक वक्तव्य छापियो । वक्तव्यमा तिनीहरूले विद्रोहलाई दुस्साहसपूर्ण जुवा खेल्नु बताए । त्यसको अर्थ तिनीहरूले बोल्शेविक विद्रोहको योजना शत्रुसम्म बताइ दिनु थियो । यसकारण, लेनिनले भन्नुभयो, “कामेनेभ र जिनोभियेभले सशस्त्र विद्रोहबारे आफ्नो केन्द्रीय समितिको निर्णयलाई ‘विश्वासघात’ गरेर राजतन्त्रवादी रोदजियोको र करेन्स्कीलाई बताइदिए ।” लेनिनले तिनीहरूलाई पार्टीबाट निकाल्ने प्रश्न उठाउनुभयो ।
अस्थायी सरकारले विद्रोहको कुरा थाहा पाएर बोल्शेविकहरूसँग लड्न अस्थायी सरकारको बैठक बोलायो । १९ अक्टोबरको दिन अस्थायी सरकारले युद्धका मोर्चाहरूबाट छिटछिटो सेनालाई पेट्रोग्राद बोलायो । २५ अक्टोबरको दिन (अन्तर्राष्ट्रिय पात्रोअनुसार ७ नोभेम्बरको दिन) देशभरका मजदुर, किसान र सिपाहीहरूको राष्ट्रिय प्रतिनिधिसभाको दोस्रो महाधिवेशन (The Second all Russian Congress of Soviets) बस्ने दिन थियो । अस्थायी सरकारले सोभियतहरूको दोस्रो महाधिवेशन हुनुभन्दा अगाडि नै बोल्शेविक पार्टी वा त्यसको केन्द्रलाई ध्वस्त पार्न सेना जम्मा गर्ने योजना बनायो ।
२० अक्टोबरको दिनसम्ममा १५ जना प्रतिनिधिहरू मात्रै पेट्रोग्राद पुगेका थिए ।
शनिबार २१ अक्टोबरको दिन थियो । बोल्शेविक पार्टीका नेताहरूको एक गुप्त बैठक भयो । त्यस ऐतिहासिक बैठकमा लेनिनले भन्नुभयो, “६ नोभेम्बर (रुत्री पात्रोअनुसार २४ अक्टोबर) समत्न्दा अगाडि हुनेछ । विद्रोहको निम्ति एक राष्ट्रिय रुसी आधार चाहिन्छ र ६ तारिखसम्म (अर्थात् २४ अक्टोबरसम्म) महाधिवेशनका सबै प्रतिनिधिहरू पुगिसकेका हुँदैनन् …… अर्कोतिर ८ नोभेम्बर (२६ अक्टोबर) सम्म समय बितिसकेको हुनेछ । त्यसबेलासम्म महाधिवेशन सङ्गगठित भइसकेको हुन्छ र धेरै मानिसहरू भएको कुनै पनि संस्थालाई तुरुन्तै निर्णय लिन गाह्रो हुन्छ । महाधिवेशन बस्ने ७ नोभेम्बरकै दिन हामीले काम सुरु गरिदिनु पर्दछ, किनभने त्यसलाई हामी भन्न सक्छौँ, “लिनुस्, यो हो हुकुम । भन्नुस्, अब तपाईँहरू के गर्नुहुन्छ ?”
२१ अक्टोबरसम्म सय जना प्रतिनिधिहरू मात्र पेट्रोग्राद पुगेका थिए । ४०० प्रतिनिधिहरू त्यस महासभाको गणपूरक सङ्ख्या (कोरम) महाधिवेशनको निम्ति अझ ४ दिन बाँकी थियो । तर रुसको परिस्थिति छिटछिटो फेरिरहेको थियो । सिपाहीहरू भकाभक बन्दुक छोड्दै लडाइँको मोर्चाबाट टाढिँदै थिए । अञ्चल र जिल्लाहरूमा ब्यारेक र छाउनीहरू धमाधम बोल्शेविकको पक्षमा लाग्दै थिए । मजदुरहरूको विश्वास अस्थायी सरकार (अर्थात् मेन्शेविक र समाजवादी क्रान्तिकारीहरू) तिर घट्दै बोल्शेविकहरूप्रति बढ्दै थियो । गाउँ गाउँमा किसानहरूले जमिनदारहरूका जग्गा कब्जा गर्दै थिए । खान्दानी र सामन्तहरूको दरबारहरूमा ह्वारह्वारती आगो लगाउँदै थिए । किसान विद्रोह दबाउन गएका सिपाहीहरू किसानहरूसँगै मिल्दै थिए । अस्थायी सरकार नाउँ मात्रैको थियो ।
बोल्शेविक पार्टीले सेना र कारखानाहरूमा तयारी सुरु गर्यो । ‘अरोरा’ (Aurora) र ‘जार्यास्भोवोदी’ (Zaryasvobody) भन्ने लडाकु जहाजको सेनालाई विद्रोहको निर्देशन पठायो । त्रोत्स्कीको घमण्डलाई चूर्ण पार्न पेट्रोग्राद सोभियतको एक बैठकमा विद्रोहको दिनलाई अगाडि नै घोषणा गरिदियो । यसकारण, केन्द्रीय समितिले तोकेको दिनभन्दा पहिले नै विद्रोह सुरु गर्ने निर्णय गर्यो । त्यसो गर्दा अस्थायी सरकारले विद्रोहलाई असफल पार्न सक्दैनथ्यो ।
शीतल दरबार अस्थायी सरकारको केन्द्र थियो । त्यसको रक्षा गर्न खान्दानीवर्गका छोराहरूलाई अफिसरको तालिम दिने सैनिक विद्यालयका छात्र तथा ‘युंकरहरू’ ले तोपको पहरा दिन थाले । सडकहरूमा निर्दयी सम्झिएका कज्जाक सिपाहीहरू पहरा दिन लगाइए । आज्ञा उल्लङ्घन गर्ने र विद्रोहलाई ‘पूरा शक्ति’ लगाएर दबाउने धम्की दिइयो । अस्थायी सरकारको शिक्षामन्त्री किसकिनलाई पेट्रोग्रादमा शान्ति– सुरक्षा गर्न विशेष ‘कमिशार’ वा मन्त्री नियुक्त गर्यो । पेट्रोग्राद, कोंशतात र फिनल्यान्डलाई चारैतिर घेरेको वा नाकाबन्दी गरेको घोषणा गर्यो ।
पेट्रोग्राद मजदुरहरूको गढ थियो, कोंशताद्धमा २५ हजार जहाजीहरू थिए । तिनीहरू सबै मृत्युबाट नडग्ने बोल्शेविकहरू थिए । फिनल्यान्ड रुसको राजनैतिक गतिविधि गर्ने एक केन्द्र थियो अथवा रुसको प्रभावमा भएको देश थियो । देशको परिस्थितिलाई बुझेर सरकारको त्यस धम्कीलाई व्यङग्य गर्दै ‘नोवोये वेम्प्रा’ (नयाँ युग) भन्ने एक पुँजीवादी अखबारले लेख्यो, “किन चारैतिर घेरेको ? सरकारको हातमा न हुकुम छ, न बल प्रयोगको निम्ति आवश्यक साधन छ, न त त्यसको कुनै नैतिक प्रतिष्ठा नै बाँकी छ । परिस्थिति धेरै अनुकूल भए मात्र सम्झौताको कुराकानी गर्न सक्छ, त्यो पनि ऊसँग कुराकानी गर्न तयार भए मात्र । योभन्दा ऊसँग बढी अधिकार छैन……….।”
‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ बा