का. रोहित
यस्तो अवस्थामा कामेनोव र राईकोवले सम्मेलनमा लेनिनको सिद्धान्त र योजनाको विरोध गरे । तिनीहरू मजदुर आन्दोलन क्रान्तिकारी छिनोफानोसम्म लैजान चाहन्नन्थे । तिनीहरू अस्थायी सरकारलाई ‘काबु’ मा ल्याउनेखाले सङ्घर्षसम्म गर्न चाहन्थे । अर्थात्, तिनीहरू समाजवाद होइन पुँजीवादलाई दिगो राख्न चाहन्थे । त्यो मेन्शेविककै बाटो थियो ।
लेनिनले नयाँ इन्टरनेसनल बनाउने सिद्धान्त अघि सार्नुभयो । जिनोवियवले यसको विरोध गर्यो । ऊ जिम्मेरवाल्डमा बसेको अन्तर्राष्ट्रिय कम्युनिस्ट सङ्गठनसँग मिलेरै बस्न चाहन्थ्यो । तर, त्यो सङ्गठन युद्धबारे पुँजीपतिवर्गको पक्षमा थियो । लेनिनले जिनोवियवको विचारलाई धेरै विरोध र निन्दा गर्नुभयो ।
सम्मेलनले बिनामुआब्जा जमिनदारी जफत गर्ने र किसान समितिहरूको जिम्मा दिने, जमिन राष्ट्रियकरण गर्ने कुरो पारित गर्यो । स्तालिनले जातीय आत्मनिर्णयको स्वतन्त्रता र जातीय स्वतन्त्रता आन्दोलनबारे आफ्नो रिपोर्ट दिनुभयो । सम्मेलनले त्यसलाई स्वीकार गर्यो । प्याताकोव र बुखारिनले लेनिन र स्तालिनको जातिहरूको आत्मनिर्णयको सिद्धान्तलाई विरोध गरे । उनीहरूले अन्धराष्ट्रवादको पक्ष लिए । सम्मेलनले पुँजीवादी राष्ट्रवादको विरोध गर्यो । अल्पसङ्ख्यक जातिहरूको अधिकारहरूलाई सुरक्षित गर्ने सिद्धान्त पास गर्यो ।
सबै बैङ्क, चिनी, धातुजस्ता मुख्य मुख्य उद्योगहरूलाई राष्ट्रियकरण गर्ने, उत्पादन र वितरणमा सोभियतले नियन्त्रण गर्ने कुरो निर्णय गर्यो ।
त्यसप्रकार सम्मेलनले समाजवादी क्रान्तिको निम्ति सिद्धान्तहरू तयार गर्यो । मेन्शेविक र समाजवादी क्रान्तिकारीहरूको नीतिलाई जनतामाझ उदाङ्ग्याउने निर्णय गर्यो ।
२ मई, १९१७ को दिन जनताको दबाबले गर्दा मिल्यूकोव र गुचकोबलाई अस्थायी सरकारबाट फालिदियो । त्यसको ठाउँमा नयाँ सरकार बनाइयो । त्यसमा पुँजीपतिवर्ग, मेन्शेविक र समाजवादी क्रान्तिकारीहरूका प्रतिनिधिहरू थिए । नयाँ सरकारमा मेन्शेविक पार्टीबाट स्कोवेलेव र त्सेरेतेली थिए । समाजवादी क्रान्तिकारीहरूबाट चेर्नोभ र करेन्स्की आदि थिए ।
तर, बोल्शेविक पार्टीले मजदुर सङ्गठनका स–साना र तल्लो समितिहरूमा आफ्नो सिद्धान्तलाई सम्झाउन थाल्यो । पार्टीका कार्यकर्ताहरूले मजदुरहरूमा मेन्शेविक र समाजवादी क्रान्तिकारीहरूको खोटो नीतिलाई उदाङ्ग्याउँदै गए । युद्धको मोर्चा र सबै छाउनीहरूमा बोल्शेविकहरूले सिपाहीहरूमा सङ्गठन र प्रचारको काम गर्न थाले । जहाजी र माझीहरूको माझमा सङ्गठन गर्न थाले । त्यसबेला ठाउँठाउँ र कारखाना कारखानामा सभाहरू हुन्थे । अस्थायी सरकारका मन्त्रीहरू बडो लचकदार भाषण दिन्थे । तर, जनता आफ्नो अवस्था कहिले सुध्रिन्छ भन्ने कुरो सुन्न चाहन्थे र प्रश्न गर्थे । मन्त्रीहरू भन्थे, “पहिले युद्ध जित्न देऊ, अनि चुनाव हुन देऊ ।” जनता र मजदुरहरू नारा लगाउँथे, ‘लडाइँ मुर्दावाद ¤’, ‘रोटी देऊ’, ‘शान्ति ल्याऊ’, ‘स्वतन्त्रता देऊ ¤’ मजदुर र जनता मन्त्रीहरूको भाषण सुन्न चाहँदैनथे । तिनीहरू बोल्शेविकहरूको भाषण सुन्न चाहन्थे । जनताले अब पुँजीपतिवर्ग र जमिनदारवर्ग अनि तिनीहरूको सरकारमा विश्वास गर्न छोडे ।
तिनीहरू मन्त्रीहरूको भाषण सुन्न अस्वीकार गरिदिन्थे । तिनीहरू लेनिन र बोल्शेविक पार्टीको क्रान्तिको कुरो सुन्न चाहन्थे ।
प्रचार आन्दोलनको प्रभावले गर्दा सहर र जिल्लाहरूमा मजदुर र सिपाहीहरूको प्रतिनिधिसभा सोभियतहरूको नयाँ चुनाव हुन थाल्यो । ती चुनावमा मेन्शेविक र समाजवादी क्रान्तिकारीहरूलाई मजदुर र सैनिकहरूले निकाले र बोल्शेविकहरूलाई चुने ।
३० मईदेखि ३ जून, १९१७ सम्म पेट्रोग्रादमा कारखानाका मजदुर प्रतिनिधिहरूको सम्मेलन भयो । ४ भाग प्रतिनिधिहरूमध्ये ३ भाग बोल्शेविकहरू थिए । पेट्रोग्रादका साराका सारा भने जस्तै मजदुरहरूको एउटै नारा थियो, ‘सारा हुकुम सोभियतहरूलाई देऊ ।’
३ जून, १९१७ को दिन सोभियतहरूको पहिलो देशव्यापी रुसी महाधिवेशन भयो । त्यसमा १ हजार मजदुर प्रतिनिधिहरूले भाग लिएका थिए । ७८०–८०० मेन्शेविक र समाजवादी क्रान्तिकारीहरूका प्रतिनिधिहरू थिए । बोल्शेविक पार्टीका १०० जवानभन्दा अलि बढी प्रतिनिधिहरू थिए । जम्मै प्रतिनिधिहरूको हिसाब गर्दा बोल्शेविकहरू १० प्रतिशतमात्रै थिए ।
मेन्शेविक र समाजवादी क्रान्तिकारीहरू त्यस महाधिवेशनले अस्थायी सरकारलाई विश्वासको प्रस्ताव पारित गराउन चाहन्थे । यसकारण, एक मेन्शेविक नेताले भाषणमा भने, “देशलाई एक्लै हाँक्न सक्ने कुनै पार्टी छैन । यसकारण, पुँजीपतिवर्गसँग मिलेर काम नगरी देशको शासन चल्दैन ।”
अकस्मात् एक दृढ आवाज बैठकको कुनाबाट सुनियो, “त्यस्तो पार्टी अवश्य छ ।” प्रतिनिधिहरूको ध्यान उतैतिर गयो । उहाँ लेनिन हुनुहुन्थ्यो । लेनिनले आफ्नो भाषणमा बोल्शेविक पार्टीको सुझाव अगाडि ल्याउनुभयो । उहाँको भाषण र सुझावले कति प्रतिनिधिहरूको मन फर्कियो । तर, पनि सम्झौतावादीहरूले बहुमतको फाइदा उठाए र पुँजीपतिवर्गसँग सम्झौता गर्ने कुरोलाई समर्थन गराउन सफल भयो । तर, बोल्शेविकहरूले महाधिवेशनको त्यस सगर्थनलाई मजदुरहरूको इच्छाको उल्टो छ भनेर ठोकेर भने । यसको प्रमाण १० जूनको दिन पेट्रोग्रादमा एक प्रदर्शन गरेर हाँक दिए ।
तर, सम्झौतावादीहरूले बोल्शेविकहरू विद्रोहको योजना बनाउँदै छन् भन्ने झूटो हल्ला फैलाए । त्यसकारण, सोभियतहरूको पहिलो महाधिवेशनले त्यस प्रदर्शनलाई रोक लगाउन दियो । बोल्शेविकहरू बडो अप्ठ्यारोमा परे, यदि महाधिवेशनको रोकलाई नमानेर प्रदर्शन गरेको खण्डमा महाधिवेशनसँग बेमेल हुन्थ्यो । यदि त्यस रोकलाई मानेको खण्डमा त्यो एक प्रकारको झुक्नु हुन्थ्यो र प्रदर्शनको निम्ति तयार भएका लाखौँ रिसाएका मजदुरहरूलाई चित्त बुझाउनु गा¥हो काम हुने थियो । तर, त्यस्तो अप्ठ्यारोलाई धैर्य लिएर पार्टीको केन्द्रीय समितिले प्रदर्शन नगर्ने निधो गर्यो । सबै छाउनी र कारखानामा मजदुरहरूलाई बाहिर नजाने कडा आदेश दिइएको थियो । साँच्चै त्यस्तै भयो । महाधिवेशनका प्रतिनिधिहरू कारखाना–कारखानामा जाँचबुझ गर्न गए । सबै मजदुर जुलुस गर्न नदिँदा खुब रिसाएका थिए । सबै मजदुरहरूले प्रदर्शन गर्नमा प्रतिनिधिहरूलाई बल दिए । यदि मजदुरहरूलाई प्रदर्शन गर्न दिइएन भने त्यो असन्तोष चर्किने छ भन्ने कुरो प्रतिनिधिहरूले अनुभव गरे । यसकारण, महाधिवेशनले १८ जूनको दिन अस्थायी सरकारको समर्थनमा प्रदर्शन गराउने निर्णय गर्यो ।
तर, बोल्शेविकहरू त्यस प्रदर्शनलाई आफ्नो पक्षमा गराउन जीउ ज्यान लगाएर मजदुर सङ्घहरूमा काम गर्न थाले । स्तालिनले ‘प्राभ्दा’ (सत्य) पत्रिकामा लेख्नुभयो, “१८ जूनको दिन पेट्रोग्रादमा हुने प्रदर्शनमा हाम्रो क्रान्तिकारी नारा नै हुनेछ ।”
१८ जून १९१७ को दिन मजदुरहरूको प्रदर्शन भयो । त्यसमा ४–५ लाख जनताले भाग लिएका थिए । क्रान्तिका सहिदहरूको समाधिको अगाडि प्रदर्शन भएको थियो । झन्डाहरूमा बोल्शेविक नाराहरू मात्रै देखिन्थे, ‘युद्ध मुर्दावाद !’, ‘पुँजीवादी मन्त्री मुर्दावाद !’, ‘सारा अधिकार (हुकुम) सोभियतहरूलाई देऊ !’, प्रदर्शनको एक सानो भागले मात्रै अस्थायी सरकारलाई समर्थन र विश्वास देखायो । प्रदर्शनमा बोल्शेविक पक्षका जनता मात्रै देखिन्थे । सरकार समर्थकहरू त देखिँदै देखिँदैनथे । पेट्रोग्रादमा मजदुर र छाउनीका सिपाहीहरूले आफ्नो विश्वास बोल्शेविक पार्टीमा छ भन्ने कुरो देखाइदिए ।
पुँजीवादी र सम्झौतावादीहरू पेट्रोग्रादमा बोल्शेविकहरूको प्रभावबाट तर्सिन थाले । तिनीहरूले नयाँ छलकपट गर्न थाले । बेलायत, फ्रान्स र संरा अमेरिकासँग मिलेर युद्धका मोर्चामा नयाँ हमला गर्ने निधो गरे । यो क्रान्तिलाई कुल्चने तिनीहरूको योजना थियो । यदि हमला सफल भएको खण्डमा सबै हुकुम आफ्नो हातमा लिन्थे र बोल्शेविक र क्रान्तिलाई कुल्चिदिन्थे । हमला असफल भएमा बोल्शेविकहरूले सेनाभित्र फुट पारेको हुनाले लडाइँ हार्यो भनेर दोष थुपार्थे ।
तर, लडाइँमा असफलता निश्चित थियो । सिपाहीहरू थाकिसकेका थिए । हमलाको कारण तिनीहरू बुझ्दैनथे । आफ्ना अफिसरहरू माथि तिनीहरूको विश्वास थिएन । गोला, बारुद, तोप र बन्दुकको कमी थियो । १८ जूनको दिन हमलाको आदेश दिइएको थियो । शत्रुले पनि हमलाको जवाफ हमलाले नै दिन थाल्यो । शत्रुले गोला बारुद कब्जा गर्यो, सिपाहीहरूलाई बन्दी बनायो । पुग नपुग ६०,००० सिपाही मारिए र घाइते भए । त्यस हारले पेट्रोग्रादका जनतामा सरकारविरोधी भावना झन् चर्किन थाल्यो ।
युद्धमा हारेको समाचारले पेट्रोग्रादका जनता अस्थायी सरकारसँग सा¥है रिसाए । सम्झौतावादीहरूले युद्धमा हार्नुको दोष बोल्शेविकहरूलाई दिन थाले । बोल्शेविकहरूले युद्धमा हार्नुको विरोधमा प्रचार गरेर सेनाको लड्ने नैतिक शक्तिलाई तल झारी दिएको र सेनालाई फुटाउँदा लडाइँमा रुस हारेको हो भनी तिनीहरूले बोल्शेविकहरूमाथि दोष थुपारे । सरकारले मजदुरहरूको हितमाथि ध्यानै नदिई साम्राज्यवादी युद्ध चालु राख्ने नीति लिँदै गयो । यसले मजदुरवर्गमा झन् असन्तोष बढ्न थाल्यो ।
पेट्रोग्रादको एक मेसिनगन पल्टनका सिपाहीहरूले सरकारको विरोधमा एक सशस्त्र विद्रोह गर्ने निर्णय गरे । तिनीहरूले सबै कारखाना र पल्टनहरूबाट प्रदर्शनमा आ–आफ्ना प्रतिनिधिहरू पठाउन आफ्ना मानिसहरू पठाए । सबै ठाउँबाट तिनीहरूलाई समर्थन गर्ने आश्वासन दिइयो । बोल्शेविकहरू सशस्त्र गतिविधिको पक्षमा थिएनन् । सबै ठाउँका सिपाहीहरू क्रान्तिको निम्ति तयार भइसकेका थिएनन् । त्यस्तो बेलामा सशस्त्र विद्रोह हुँदा विशेष सेनाले विद्रोही सेनाको मुख्य सेनालाई सजिलैसित कुल्चिने सम्भावना थियो । क्रान्ति परिपक्व भइसकेको थिएन । तर, प्रदर्शन हुने भइसकेको थियो । पार्टीले त्यसलाई रोक्न सक्ने स्थिति देखेन । यसकारण, अन्तमा पार्टीले प्रदर्शनमा भाग लिने निर्णय गर्यो । पार्टीले जुलुसलाई शान्तिपूर्ण र सङ्गठित रूप दिने निर्णय गर्यो । ३ जुलाईको दिन पेट्रोग्रादको भिवोर्ग (Vyborg) जिल्लामा प्रदर्शन सुरु भयो । ठाउँ ठाउँमा अलग अलग प्रदर्शन सुरु भयो । त्यो प्रदर्शन सशस्त्र प्रदर्शनको रूपमा फेरियो । लाखौँ लोग्नेमानिस र स्वास्नीमानिसहरू ‘अखिल सोभियत कार्यकारिणीको प्रधानकार्यालय’ तर्फ लम्किरहेका थिए । ५ लाख जनताले नारा लगाउँदै थिए, ‘सारा हुकुम सोभियतहरूलाई देऊ !’ अथवा ‘सबै अधिकार सोभियतहरूलाई देऊ !’, ‘साम्राज्यवादी–पुँजीपतिवर्ग मुर्दावाद !’, ‘सक्रिय शान्तिको नीति तयार गर !’, प्रदर्शनको रूपलाई नै नबुझेर अफिसरहरू र क्याडेट (संवैधानिक प्रजातन्त्रवादी पार्टीका समर्थक) हरूको सेनाले प्रदर्शनमाथि गोली चलाउन आदेश दियो । पेट्रोग्रादका सडकहरू मजदुर र सिपाहीहरूको रगतले रातो भयो । मजदुरहरूलाई दबाउन लडाइँबाट सबभन्दा निर्दयी र प्रतिक्रियावादी सेनालाई बोलायो । प्राभ्दा (सत्य) र साल्दारस्काया प्राभ्दा (सिपाहीहरूको सत्य) अखबारहरूलाई बन्द गरिदियो । लिस्तोक प्राभ्दी (प्राभ्दा बुलेटिन) पत्रिका बेच्ने भोइनोभ भन्ने मजदुरलाई बाटैमा क्याडेटहरूले मारिदिए । पुँजीपतिवर्ग र श्वेत सेना (सरकार समर्थन सेना) का जनरलहरूसँग मिलेर मेन्शेविक र समाजवादी क्रान्तिकारीहरूले बोल्शेविकहरूलाई दबाउने निश्चय गरे, रेडगार्ड (क्रान्तिकारी वा लाल सेना) लाई निःशस्त्र पारे, पेट्रोग्राद छाउनीका क्रान्तिकारी सैनिक दलहरू लडाइँमा खटाइए । लडाइँ भएका ठाउँहरू र पछाडि बोल्शेविक पार्टीका मुख्य मुख्य सदस्यहरूलाई पक्राउ गर्न थाले ।
७ जुलाईको दिन लेनिनमाथि पक्राउ पुर्जी काटे र थुप्रै बोल्शेविक पार्टीका सदस्यहरू पक्राउ परे । बोल्शेविकहरूको प्रकाशन छाप्ने ट्रड (The Trud) भन्ने छापाखाना ध्वस्त गरिदिए । पेट्रोग्रादको अदालतमा सरकारी वकिलले लेनिन र अरू बोल्शेविकलाई ‘देशद्रोही’ र ‘सशस्त्र विद्रोह’ गर्न खोजेको आरोप लगायो । लेनिनमाथि लगाइएको त्यो आरोप जनरल डेनिकिनको प्रधानकार्यालयमा अनेक गुप्तीहरू र उत्तेजना फैलाउने पुलिसका दलालहरूद्वारा तयार गरिएको षड्यन्त्र थियो ।
मेन्शेविक र समाजवादी क्रान्तिकारीहरूका मुख्य मुख्य नेताहरू सामेल भएको त्यो संयुक्त सरकार पूरै साम्राज्यवाद र क्रान्तिविरोधी पुँजीवादी तत्वको रूपमा देखापर्यो । तिनीहरू युद्धलाई चालु नै राख्ने, जनताका प्रजातान्त्रिक अधिकारहरू खोस्ने र मजदुर सेनालाई दबाउने नीति लिँदै थिए । स्थितिअनुसार बोल्शेविक पार्टीले पनि आफ्नो नीतिमा हेरफेर गर्यो । पार्टी र नेताहरूलाई गुप्त राख्न थालियो, पुँजीपतिवर्गको हुकुमलाई बलले सिध्याउने र सोभियतहरूको हुकुम कायम गर्ने तयारी गर्यो ।
पार्टीको छैटौँ महाधिवेशन
१९०७ मई महिनामा बोल्शेविक पार्टीको पाँचौँ महाधिवेशन बेलायतको राजधानी लण्डनमा भएको थियो । १९१२ जनवरी महिनामा पार्टीको छैटौँ सम्मेलन चेकोस्लाभाकियाको राजधानी प्रागमा भएको थियो । २६ जुलाई १९१७ को दिन पेट्रोग्रादको भिवोर्ग (Vyborg) जिल्लामा पार्टीको छैटौँ महाधिवेशन गुप्तरूपमा सुरु भयो । पछि नार्भाढोका (Narva Gate) भन्ने ठाउँको नजिक एक स्कूलमा ३ अगस्टसम्म बैठक चल्यो । त्यसबेला पुँजीवादी समाचार पत्रहरूले बोल्शेभिक पार्टीलाई जथाभावी लेख्दै थिए । यसकारण, समाचारपत्रहरूलाई पार्टीको महाधिवेशन हुने कुरो मात्रै थाहा दियो । तर, कहाँ र कहिले हुने भन्ने कुरो भने गुप्तै राखियो । गुप्ती पुलिसहरू ठाउँ र समय थाहा पाउन धुइँधुइँती खोज्दै थाके । सुरक्षाको कारणले लेनिनलाई बैठकमा उपस्थित हुन दिइएन । स्तालिन, स्वेर्दलोब, मोलोतोभ र आर्जेनिकित्सको माध्यमबाट गुप्तरूपमै लेनिनले महाधिवेशनलाई निर्देशन दिनुभयो ।
त्यसबेला बोल्शेविक पार्टीको सदस्य सङ्ख्या २ लाख ४० हजार थियो । महाधिवेशनमा १५७ मत दिन पाउने प्रतिनिधिहरू थिए । १२८ प्रतिनिधिहरू बोल्न पाउने तर मत दिन नपाउनेहरू थिए । स्तालिनले बैठकमा केन्द्रीय समितिको तर्फबाट राजनैतिक परिस्थितिबारे रिपोर्ट दिनुभयो । त्यसमा उहाँले क्रान्तिमा उत्पादनलाई कसरी नियन्त्रण गर्ने र कसरी त्यसलाई वितरण गर्ने, जग्गा किसानहरूलाई दिने र राज्यको हुकुम कसरी पुँजीपतिवर्गको हातबाट मजदुर र गरिब किसानहरूलाई दिने भन्ने कुरो उल्लेख गर्नुभएको थियो । त्यो क्रान्ति समाजवादी क्रान्तिमा बदलियो । त्यसको अर्थ हो, उत्पादनका साधनहरू समाजको हुनु र नेतृत्व सर्वहारावर्गको हुँदै जानु । रिपोर्टमा स्तालिनले प्रस्ट भन्नुभयो, क्रान्तिको शान्तिपूर्ण सिलसिला समाप्त भयो । एक शान्तिहीन, भिडन्त र भद्रगोलको सिलसिला सुरु भयो । वास्तवमा पार्टी समाजवादी क्रान्तिको निम्ति सशस्त्र विद्रोहको तयारी गर्दै थियो ।
पार्टीभित्रका पुँजीवादी प्रभाव भएकाहरूले त्यस कुरोको गन्ध पाइहाले र त्यसको विरोधमा अनेक संशोधनहरू ल्याए । त्रोत्स्कीका समर्थक प्रेओब्राचेन्स्कीले पश्चिमी देशहरूमा सर्वहारा क्रान्ति भएपछि मात्रै रुसलाई समाजवादतिर लैजाने प्रस्ताव राख्यो । त्रोत्स्कीको समर्थन गर्ने बुखारिनले भन्यो, किसानले युद्धको समर्थन गर्दै छ, त्यो वर्ग पुँजीपतिहरूसँग मिल्छ र मजदुरवर्गलाई साथ दिन सक्तैन । यसको अर्थ बुखारिन किसानलाई क्रान्तिबाट अलग पार्न चाहन्थ्यो । त्यसबाट किसान पुँजीपतिवर्गसँग मिल्न जान्थ्यो र सर्वहारावर्ग एक्लिन्थ्यो ।
स्तालिनले त्रोत्स्की समर्थक प्रेओब्राचेन्स्कीलाई उत्तर दिँदै भन्नुभयो, रुसले समाजवादलाई बाटो देखाउने सम्भावना छ । ….. युरोपले हामीलाई बाटो देखाउनेछ भन्ने पुरानो विचार छोड्नुपर्छ । माक्र्सवाद दुई किसिमका छन् – एक कोरा सिद्धान्त र अर्को रचनात्मक । स्तालिनले आफूलाई रचनात्मक माक्र्सवादी भएको घोषणा गर्नुभयो । बुखारिनलाई जवाफ दिँदै स्तालिनले भन्नुभयो, “धनी किसानले साम्राज्यवादी र पुँजीपतिहरूको समर्थन गर्छन् । तर, गरिब किसान मजदुरवर्गसँग मित्रता चाहन्छन् र क्रान्तिको पक्षमा लडाइँलाई समर्थन गर्छन् ।”
स्रोत : ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’