१९०५ को रुसी मजदुर क्रान्तिको भेल विस्तारै तल झर्यो । जार सरकारले क्रान्तिलाई पूर्णरूपले दबाएको धाक लगाउँथ्यो । तर, १९०६ मा १० लाख मजदुरहरूले हडतालमा भाग लिए । १९०७ मा ७ लाख ४० हजार मजदुरहरूले हडतालमा भाग लिए । जनतामा लडाकु भावना रितिइसकेको थिएन ।
मजदुर क्रान्तिको भेल तल झर्न लागेको मात्रै थियो, रुसी समाजवादी जनवादी मजदुर पार्टीमा मतभेद झन् चर्कियो । मेन्शेविकहरू मजदुरवर्गको क्रान्तिकारी उद्देश्यलाई छोडेर कानुनी–प्रजातन्त्रवादीहरूको बाटो लिँदै गए । तिनीहरू मजदुर पार्टीलाई एक कानुनी र खुला पार्टी बनाउन चाहन्थे । उनीहरूले आठ घण्टाको कामको दिनको माग त्याग्दै गए । सामन्त र जमिनदारवर्गको जग्गा जफत गर्ने माग छोड्दै गइरहेका थिए । तिनीहरू वास्तवमा मजदुर पार्टीलाई मेट्न चाहन्थे । यसकारण, १९०८ डिसेम्बर महिनामा फ्रान्सको राजधानी पेरिसमा मजदुर पार्टीको पाँचौँ सम्मेलन भयो । सम्मेलनले विसर्जनवादलाई निन्दा र खण्डन गर्यो ।
त्यस्तै बोल्शेविकहरूमध्ये केहीले ड्यूमा र अरू कानुनी सङ्गठनभित्र काम गर्न अस्वीकार गरे । ती संस्था र सङ्गठनबाट सबै पार्टी कार्यकर्ता फिर्ता बोलाउ भनेर फलाको गरे । तिनीहरू कानुनी सङ्गठनबाट गुप्त सङ्गठन बनाउने, किसानहरूमा प्रभाव पार्ने र जारतन्त्रको विरोध गर्ने कुरालाई स्वीकार गर्दैनथे । तिनीहरू क्रान्तिकारी शक्ति तयार गर्ने काममा र व्यापक जनतालाई नेतृत्व दिने काममा तगारो हाल्थे । यसकारण १९०९ मा तिनीहरू बोल्शेविक सङ्गठनबाट निकालिए । वास्तवमा तिनीहरू ‘लुकेका बिसर्जनवादीहरू’ थिए । तिनीहरूको अवसरवाद ‘वामपन्थी’ वा क्रान्तिकारी फलाकोमा लुकेको थियो ।
शोषण र कम ज्यालाको विरोधमा १९१० को गर्मीमा मस्कोका मजदुरवर्गको फेरि हडताल भयो ।
मुरानोभ
पुँजीपतिवर्गको शोषण बढ्दै गएको थियो । मजदुरहरूले कम ज्याला पाउँथे । त्यसकारण, १९१० को गर्मी महिनामा मस्कोका मजदुरहरू हडताल गर्न कम्मर कसे । हडतालको सिलसिला फेरि सुरु भयो । वर्षको अन्तसम्ममा पिट्सवर्ग, मस्को र अरू सहरहरूमा समेत त्यो हडताल राजनैतिक प्रदर्शनको रूपमा विकास भयो । १९११ सुरु हुनासाथ सङ्घर्ष अझ अगाडि बढ्यो । त्यस साल १ लाखभन्दा बढी अथवा १,०५,००० भन्दा बढी मजदुरहरू आफ्नो राम्रो जीवनको निम्ति सङ्घर्षको मैदानमा अगाडि बढे । पिट्सवर्गमा मजदुरहरूको ठुलठुला जनसभाहरू भए । ती सभाहरूमा बोल्शेविकहरूले पक्रिएका ड्युमाका प्रतिनिधिहरू छोड्न माग गरे । मजदुरवर्ग फेरि उठ्न लागेको देखेर शासकवर्ग काम्न थाल्यो ।
मजदुरवर्गको सङ्घर्षको छाल गाउँसम्म फैलियो । सारा श्रमिक र किसान जनता फेरि उठ्न थाले । गाउँहरूमा सामन्त र जमिनदारहरूको दरबारहरूमा आगो लाग्न थाल्यो । किसानहरूले जमिनदारहरूलाई जग्गा दिएन भने ज्यान लिने धम्की दिन थाले । गाउँको वर्गसङ्घर्ष गहिराइसम्म पुग्यो । गरिब र मध्यम किसानहरू धनी किसानहरूको विरोधमा पनि उठ्न थाले । अरू इलाकाहरूमा पनि ‘समानता र स्वतन्त्रता’ को राष्ट्रिय सङ्घर्षको रूपमा फैलिन थाल्यो । रुसमा क्रान्तिको नयाँ लहर उठ्न थाल्यो । १९१२ जनवरी महिनामा चेकोस्लाभाकियाको राजधानी प्राथमा रुसी मजदुर पार्टीको सम्मेलन भयो । सम्मेलनले सरकारसँग मिल्न खोज्ने सबै सम्झौतावादी र अवसरवादीहरूलाई पार्टीबाट निकालिदियो । बोल्शेविक पार्टी अब एक अलग क्रान्तिकारी मजदुर पार्टीको रूपमा कायम भयो । मेन्शेविक र अरू गुट फ्याँकिए । यस प्रकार रुसी मजदुरहरूको (बोल्शेविक) पार्टीमा सैद्धान्तिक शुद्धता देखियो ।
रुसको पूर्वमा साइबेरिया भन्ने ठुलो एशियाली इलाका छ । त्यस इलाकामा लीना नामको एक नदी उत्तरतिर बग्छ । त्यस नदीको किनारमा सुनका खानीहरू छन् । ती खानीमा बेलायती र रुसी पुँजीपतिहरूले पुँजी लगाएका थिए । तिनीहरूले वर्षमा ७० लाखभन्दा बढी रुबल नाफा कमाउँथे । तर, त्यो नाफा खानीका मजदुरहरूकै शोषण थियो । दिनको १२ वा त्योभन्दा बढी घण्टा काम गर्न लगाउँथ्यो । बिहानदेखि बेलुकासम्म काम गराउँथ्यो । तर, ज्याला भने सा¥है कम थियो । मजदुरहरू बस्ने ठाउँ सा¥है फोहर, चिसो, ओसिएको र साँगुरो थियो । भित्ता र भूइँ हिउँ जतिकै चिसो भए पनि सुत्न पर्दथ्यो । यो सातै अप्ठ्यारो कुरो थियो । आधा रातसम्ममा तिनीहरूको भिजेको जुत्तामा हिउँ जमिसकेको हुन्थ्यो । खानीमै खानीका पुँजीपतिहरूले पसल खोल्न दिएको हुन्थ्यो । ती पसलहरूमा साँच्चै नराम्रो खानेकुरो बेच्न लगाएको हुन्थ्यो । मजदुरहरूले ज्याला समयमा पाउँदैनथे । कामको ठेक्का नसिद्धिएसम्म एक पैसा पनि दिँदैनथ्यो । यसप्रकार लीना नदीका खानीका मजदुरहरूको अवस्था सा¥है खराब थियो । ती ठाउँमा बोल्शेविक कार्यकर्ताहरू काम गर्दै थिए । तिनीहरूले मजदुरहरूको अवस्था र त्यसको मुक्तिको बाटो देखाउँथे । तिनीहरू मजदुरहरूको सङ्गठन बनाउँदै थिए ।
पेट्रोभ्ीकी
एक दिन ती खाने पसलहरूमा कुहेर कीरा परेको मासु बेचिएको थियो । त्यसले त्यहाँ ठुलो रोग फैलियो । तर, उपचारको व्यवस्था थिएन । त्यसकारण, मजदुरहरूमा ती पसल र खाने कुराको विरोधमा असन्तोष फैलिन थाल्यो । ती मानिसहरू हेपेर भन्थे, ‘खानीका मजदुरहरू सुङ्गुर रहेछन्, तिनीहरू जे पनि खान्छन् ।’ त्यस्तो जवाफले मजदुरहरू झन् रिसाए र त्यस सुन खानीको व्यवस्थालाई ‘नयाँ भूदास ऐन’ भने । मजदुरहरू आपसमा सरसल्लाह गर्न थाले । मजदुर समिति बनाएर त्यस पशुलाई जस्तो गरिने व्यवहारको विरोधमा हडताल गरे । ती हडतालीहरूले मजदुरहरूको नयाँ समिति चुन्यो । त्यसमा धेरै बोल्शेविकहरू थिए । तिनीहरूले ८ घण्टाको काम, बढी ज्याला, महिनावारी ज्याला दिने र बस्ने घरको राम्रो बन्दोबस्त होस् भनेर माग राखे । पसलमा बेचिने खानेकुरामा समानता होस्, पुँजीपतिहरूको जुठो रोटीमा पालिएका पिछलग्गूहरूले मजदुरहरूमाथि गरिने अत्याचार खतम होस् र मजदुरहरूलाई राम्रो व्यवहार गरियोस् भनेर माग राखे ।
एक खानीको हडताललाई सबै खानीका मजदुरहरूले समर्थन गरी हडताल गरे । सारा सुन खानीमा काम बन्द भयो । ६ हजार मजदुरहरू हडतालमा भाग लिँदै थिए । तर, खानीका मालिकहरूले मजदुरका मागहरू मान्न अस्वीकार गरे । हडताल भङ्ग गर्न मालिकहरूले सरकारसँग पुलिस मागे ।
४ अप्रिल १९१२ को दिन ३ हजार मजदुरहरू आफ्ना मागहरू लिएर खानीका कार्यालयहरूमा मागपत्र दिन गइरहेका थिए । बाटो साँघुरो थियो । त्यसकारण, ६–६ जना मिलेर शान्तिपूर्वक हिउँमा हिँडिरहेका थिए । पुलिसले तिनीहरूलाई बाटोमा रोक्यो । सेना आइपुग्यो र शान्तिपूर्ण जुलुसमा दनादन गोली चलाइयो । २७० जना मजदुर प्रदर्शनकारीहरू ठहरै मरे र २५० घाइते भए । लास र घाइतेहरू हिउँमा जहाँतहाँ तितरवितर भए र मजदुरवर्गको रगतले लीनाको हिउँ रातो भयो ।
शान्तिपूर्ण जुलुसमाथि गोली चलाएर हत्याकाण्ड मचाएकोमा सारा विवेकशील रुसी जनता सा¥है रिसाए । सरकार लीनाको गोली काण्डबाट जनतालाई तर्साउन खोजेको थियो । तर पिट्सवर्ग, मस्को र अरू औद्योगिक सहरहरूमा मजदुरहरूले ठुलठुला हडताल, प्रदर्शन र सभाहरू गरेर हत्याकाण्डको विरोध र निन्दा गरे । पिट्सवर्गका मजदुरहरूले राजनैतिक हडताल सुरु गरिदिए । जनताले भने, हत्याकाण्डमा जार सरकार जिम्मेवार छ । ‘निरङ्कुश राजतन्त्र मुर्दावाद’ को नारा लगाए । ड्युमामा मजदुर प्रतिनिधिहरूले गोली काण्डको जाँच गर्न र जिम्मेवार अधिकारीहरूलाई सजाय गर्न माग गरे । तर जार सरकारको गृहमन्त्री याकारोवले घमण्ड गरेर भन्यो, ‘सरकारको यो नीति चालु रहनेछ ।’ मजदुरवर्गले प्रदर्शन गरेर जवाफ दियो ‘त्यस नीतिलाई बन्द गर्नैपर्छ ।’ पिट्सवर्गका मजदुरहरूको राजनैतिक हडतालले एक प्रस्ताव पारित गर्यो – “हामी मजदुरहरू लीनाका हत्याराहरूलाई मात्रै दोष दिन्नौं । बरु मजदुरवर्ग सारा पुलिसराजकै निन्दा गर्छ । अत्याचारको सिकार भएका सहिदहरूको निम्ति हामी एक होऔँ र हाम्रो एकतालाई अझ बलियो बनाऔँ ।” पिट्सवर्ग, मस्को, एकातेरि–नोस्ताव, ओडेसा, खारकोभ, कित्, लुगान्स, साभारा, साराटोभ, रिगा, किसिनेभ र अरू सहरहरूका ३ लाखभन्दा बढी मजदुरहरूले हडताल गरे† विरोध सभा र विरोध प्रदर्शनहरू गरे । स्थितिलाई साम्य गर्न सरकारले ‘जाँचबुझ’ गर्ने प्रतिज्ञा गर्यो र प्रधानमन्त्री फेर्ने वचन दियो । तर मजदुरवर्ग त्यस जालझेल र फकाइ–फुलाइमा फसेन ।
सम्बाइलोभ
१ मई १९१२ को दिन आयो । ४ लाख मजदुरहरूले हडताल गरे । विरोध प्रदर्शनहरू भए । मजदुरवर्गको एकताको अगाडि दमन र अत्याचार टिक्न सकेन । जुलुसमा मजदुरहरूले रातो झन्डा बोक्थे र क्रान्तिकारी गीतहरू गाएर बढ्थे; मनपरीतन्त्रलाई उखेल्न जनतालाई आह्वान गर्थे । यसप्रकार रुसमा मजदुरवर्गको राजनैतिक चेतना र क्रान्ति बढ्दै गयो । मजदुर आन्दोलन गाउँ र व्यारेकमा पुग्यो । गाउँका किसानहरूले जमिनदारवर्गमाथि धावा बोल्न थाले । सेनामा पनि विद्रोह सुरु भयो । तुर्किस्तानमा सशस्त्र विद्रोहको जन्म भयो । बाल्टिक समुद्रको सेना र सेवास्तोपोलमा पनि विद्रोहको आगो सल्क्यो ।
लीनाको हत्याकाण्डले रुसको मजदुरवर्गलाई फेरि उठाइ दियो । हडताल र प्रदर्शनकारीहरूको निम्ति त्यो एक इसारा थियो । मजदुर आन्दोलन बढ्दै गएको हुनाले मजदुरहरूको एक कानुनी पत्रिका निस्क्यो । त्यसको नाम ‘प्राभ्दा’ अथवा ‘सत्य’ थियो । त्यसको ४० हजार प्रति छापिन्थ्यो । त्यो लाखौँ मजदुरहरूले पढ्थे । त्यसमा देशका ८० प्रतिशत सङ्गठित मजदुरहरूले त्यसलाई आफ्नै पत्रिका सम्झेर पढ्थे । त्यसमा मजदुरहरूको दुःख र सङ्घर्षको समाचार रहन्थ्यो । सरकारले त्यसलाई बरोबर जरिवाना गथ्र्याे र बन्द गरिदिन्थ्यो । तर, तुरुन्तै त्यस्तै नामबाट अर्को पत्रिका निस्किहाल्थ्यो । पत्रिकाको जरिवाना तिर्न वा नयाँ पत्रिका निकाल्न मजदुरहरूले चन्दा जम्मा गर्थे र पठाइ दिन्थे । त्यसबेला ७,००० मजदुर गोष्ठीहरू थिए । त्यसमध्ये ५,६०० गोष्ठीहरूले ‘प्राभ्दा’ लाई चन्दा उठाउँथ्यो । १,४०० गोष्ठीले मात्रै मेन्शेविकहरूको पत्रिकाको निम्ति उठाउँथ्यो । बोल्शेविकहरू ‘प्राभ्दा’ समर्थक थिए ।
बोल्शेविकहरूले ८ घण्टाको कामको दिन, ज्याला बढाउने, जमिनदारी जफत गर भन्ने माग लिएर हडताल र प्रदर्शन गर्दै थिए । मेन्शेविकहरू सरकारलाई दर्खास्त र बिन्तीपत्र मात्रै दिन्थे । १९१३ मा पनि मजदुर आन्दोलन चर्कदै गयो । पिट्सवर्गका मजदुरहरू सबभन्दा अगाडि थिए । आन्दोलन बाल्टिक प्रदेश, मस्को सहर, मस्को प्रान्त, बोल्गा प्रदेश र दक्षिणी रुससम्म फैलिएको थियो । हुँदा हुँदा रुसको पश्चिमी प्रदेश, पोल्यान्ड र कारोरासमा समेत फैलियो । १९१३ मा जम्मा १२ लाख ७२ हजार मजदुरहरूले हडतालमा भाग लिए ।
१९१३ मा मस्को प्रान्तमा मात्रै पुँजीपतिवर्गले ५० हजार मजदुरहरूलाई कामबाट निकालिदियो । १९१४ मा एकै दिनमा पिट्सवर्गमा ७० हजार मजदुरहरू कामबाट निकालिए । त्यसको विरोधमा अरू कारखानाका मजदुरहरूले हडताल गरेर निकालिएका मजदुरहरूलाई सहानुभूति देखाए । तिनीहरूले चन्दा उठाएर बेकारी मजदुर र हडताली मजदुरहरूलाई मद्दत गर्थे ।
१९१४ को आधा–आधीसम्ममा १५ लाख मजदुरहरूले हडतालमा भाग लिए; मजदुरहरूको त्यो आन्दोलन गाउँ र ब्यारेकसम्म पुग्यो । मे महिनामा पिट्सवर्ग, बाकू आदि ठाउँहरूमा ठुल ठुलो हडताल र प्रदर्शनहरू भए । १९१३–१४ को स्थिति १९०५ को स्थिति जस्तै हुन थाल्यो । किसानहरूले गाउँ गाउँमा धनी किसान र जमिनदारहरूको विरोध सुरु गरे† तिनीहरूको गोदाम र जमिनदारीमाथि हमला गरे । १९१० देखि १९१४ सम्ममा १३,००० पटक विद्रोहहरू भए । हरेक विद्रोह र भिडन्तमा बोल्शेविकहरू अगाडि रहन्थे । लेनिन र स्तालिन ती आन्दोलन र विद्रोहलाई ठीक बाटो देखाउँदै हुनुहुन्थ्यो ।
त्यसैबेला युरोपमा साम्राज्यवादी युद्ध सुरु भयो । साम्राज्यवादीहरू दुई गुटमा विभाजित थिए । पहिलो गुटमा जर्मनी, अस्ट्रिया, हङ्गेरी र इटाली थिए । अर्को गुटमा बेलायत, फ्रान्स र रुस थिए । तिनीहरू आपसमा स–साना देशमाथि कब्जा जमाउन चाहन्थे । १ जुलाई १९१४ मा जर्मनी र रुसको लडाइँ सुरु भइहाल्यो । लडाईं सुरु भएपछि इटाली पहिलो गुट छोडेर दोस्रो गुटमा गयो । यता बुल्गेरिया र टर्की पहिलो गुटको समर्थनमा गए ।
कार्ल लिब्नेख्ट
दोस्रो अन्तर्राष्ट्रिय
जर्मनी युद्धको निम्ति पहिले नै तयार थियो । उसले बेलायत र फ्रान्सका उपनिवेशहरू कब्जा गर्यो । रुसको कब्जामा रहेका युक्रेन, पोल्यान्ड र बाल्टिक प्रदेश हात पार्यो । रुसी जारका गृहमन्त्री र अफिसरहरू नै जर्मन जासुसहरूको औलामा नाचेका हुन्थे । यसकारण, रुस लडाइँमा हार्दै गयो । यता १८७०–७१ मा जर्मनीले लिएको अलसास र लोरेन प्रान्त फिर्ता लिन फ्रान्स चाहन्थ्यो । बाहिरी बजारमा जर्मनीले बेलायती सामानलाई धपाउँदै थियो । रुसका जमिन्दार र पुँजीपतिवर्ग पनि आफ्नो देशको मजदुर आन्दोलन दबाउने र अरू देश कब्जा गर्ने इच्छा राख्थ्यो । फेरि त्यसबेला बेलायत र फ्रान्सको ठुलो पुँजी रुसमा लगानी गरिएको थियो । यसकारण, रुस पनि त्यस युद्धमा फस्यो ।
१९१० मा कोपेनहेगन (डेनमार्क) मा अन्तर्राष्ट्रिय समाजवादी मजदुरहरूको महाधिवेशन भएको थियो । त्यसलाई दोस्रो इन्टरनेसनल पनि भनिन्थ्यो । संसद्मा मजदुर प्रतिनिधिहरूले आ–आफ्ना पुँजीवादी सरकारहरूको युद्धको ऋण प्रस्तावहरूमा मत नदिने र युद्धको विरोध गर्ने सिद्धान्त मानेको थियो । १९१२ मा वाल्कन युद्ध भएको थियो । त्यसबेला पनि बालेसमा दोस्रो इन्टरनेसनलको महाधिवेशन भएको थियो । त्यस महाधिवेशनमा युद्धको विरोध गर्ने र पुँजीपतिवर्गको नाफाको निम्ति मजदुरवर्ग एक आपसमा नलड्ने प्रस्ताव मानेको थियो ।
रोजा लक्जेम्वर्ग
तर ४ अगस्ट १९१४ मा जर्मन समाजवादी प्रतिनिधिहरूले युद्धको ऋणको पक्षमा मत दिए । त्यस्तै फ्रान्स, बेलायत, बेल्जियम र अरू देशका समाजवादी मजदुर पार्टीहरूले युद्धमा आ–आफ्नो सरकारको समर्थन गरे । तिनीहरू मुखले समाजवादको कुरा गर्थे र कामले साम्राज्यवादलाई मद्दत गर्थे । तिनीहरू अन्धराष्ट्रवादी थिए । यसरी दोस्रो इन्टरनेसनलका नेताहरूले मजदुरवर्गलाई धोखा दिए र पुँजीपतिवर्गको सेवक बने । तर १९१४ को शरद् महिनामा लेनिनले युद्धसम्बन्धी सिद्धान्त प्रस्तुत गर्नुभयो । १९१४ मा बोल्शेविक पार्टीले युद्धको विरोधमा आफ्नो विचार प्रकट गर्यो ।
सेप्टेम्बर १९१५ मा जिमरवाल्ड भन्ने ठाउँमा विभिन्न देशका क्रान्तिकारी समाजवादीहरूको बैठक भयो । त्यसमा लेनिन, जर्मनीका कार्ल लिब्नेख्ट र रोजा लक्जेम्वर्गजस्ता अन्तराष्ट्रयवादीहरू पनि हुनुहुन्थ्यो । त्यसले ‘साम्राज्यवादी युद्धलाई गृहयुद्धमा फेरिदेऊ’ र ‘साम्राज्यवादी युद्धमा आफ्नै सरकारलाई हराऊ ¤’ भन्ने निर्णय गर्यो ।
तर रुसमा मेन्शेविक र अरू समाजवादीहरू समाजवादको मुकुन्डो लगाएर रुसी पुँजीपतिवर्ग र जमिनदारवर्गको समर्थन गर्दै थिए । तर, लेनिनको नेतृत्वमा बोल्शेविक पार्टीले सर्वहारा अन्तर्राष्ट्रवादको झन्डालाई उचाल्यो । साम्राज्यवादी लडाइँको रूप र कारणलाई संसारको अगाडि नङ्ग्याइदियो ।
विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरूबाट