लेभ तोल्स्तोय १९ औँ शताब्दीका महान् यथार्थवादी लेखक थिए । ‘युद्ध र शान्ति’ उनलाई विश्व साहित्यमा चिनाउने उत्कृष्ट उपन्यास थियो । ‘युद्ध र शान्ति’ लेख्न सुरु गर्दा सन् १८६३ मा उनी ३५ वर्षका थिए । धेरैपटकको संशोधन र पुनर्लेखनपछि मात्र सन् १८६९ अर्थात् ७ वर्षपछि उक्त उपन्यास पुस्तकको रूपमा प्रकाशित भएको थियो । पुस्तकाकारमा प्रकाशित हुनुअघि ‘युद्ध र शान्ति’ उपन्यासको प्रारम्भिक खेस्रा सन् १८६५–६७ मा ‘वर्ष १८०५’ शीर्षकमा पत्रिकाले धारावाहिक छापेको थियो । त्यो धारावाहिक औधी लोकप्रिय भएको थियो ।
डिसेम्बर विद्रोह नै रूसी उपन्यास ‘युद्ध र शान्ति’ लेखनको सुरुआती आधार वा प्रेरणा थियो । वास्तवमा, तोल्स्तोय डिसेम्बर विद्रोहबारे एउटा लघु उपन्यास लेख्न चाहन्थे । तोल्स्तोयको पुस्ता डिसेम्बर विद्रोहपछि जन्मेको पहिलो पुस्ता थियो । लेभ निकोलायभिच तोल्स्तोयको जन्म रूसको तोल्स्तोय खानदानमा सन् १८२८ मा भएको थियो । उनी जन्मिँदा डिसेम्बर विद्रोहीहरूलाई साइबेरिया पठाइएको २ वर्ष बितिसकेको थियो । विद्रोह र विद्रोहीहरूबारे सार्वजनिकरूपमा कुरा गर्न वा पत्रिकामा छाप्न बन्देज लगाइएको थियो । घरानियाँ जमघटहरूमा खासखुस हुने छलफल नै डिसेम्बर विद्रोहसम्बन्धी सूचनाको आधार थियो । पुश्किन, रिलेयेभ, ओदोयेभ्स्की र लेर्मोन्तोभका प्रतिबन्धित कविताहरूमा विद्रोहीहरूको भावना र व्यक्तित्वबारे चर्चा गरिएको हुन्थ्यो । धेरै रूसी युवाले महसुस गरेझैँ तोल्स्तोयको निम्ति पनि डिसेम्बरवादीहरू रहस्यमयी पात्र थिए । तोल्स्तोयले २४–२५ वर्षको उमेरमा नै उपन्यास लेख्न सुरु गरेका थिए । सन् १८५४ मा लेखिएको ‘बाल्यकाल’ उनको पहिलो संस्मरणात्मक उपन्यास थियो । त्यसपछिका दुई वर्षमा उनले ‘किशोरकाल’ र ‘युवाकाल’ नामक थप दुई संस्मरणात्मक उपन्यास लेखे । सन् १८५४–५५ मा उनी रूसविरुद्ध बेलायत र फ्रान्सले छेडेको क्रिमिया युद्धमा सहभागी भए । युद्धको विभीषिकाले उनलाई हतास बनायो । यही समयमा हर्जेनको सक्रियतामा रूसी भाषाको ‘ध्रुवतारा’ बुलेटिन प्रकाशित हुन थाल्यो । डिसेम्बर विद्रोह र विद्रोहीहरूका जीवनकथा त्यसमा छापिन थाले । यी कथालाई लुकाईलुकाई रूस पठाइन्थ्यो ।
सन् १८५७ र सन् १८६०–६१ गरी तोल्स्तोय दुईचोटि युरोप भ्रमणमा निस्के । भ्रमणको क्रममा फ्रान्सका अराजकतावादी विचारक जोसेफ प्रुधोँ, लेखक भिक्टर ह्युगो र रूसी क्रान्तिकारी अलेक्सान्दर हर्जेनसँग उनको भेट भयो । युरोपको भ्रमणले उनको राजनीतिक विचार निर्माणमा ठुलो भूमिका खेल्यो । युद्धको अनुभव र अराजकतावादी विचारकहरूसँगको सम्बन्धले उनी सन् १८६१ सम्ममा अहिंसावादी र आध्यात्मिक अराजकतावादी बनिसकेका थिए । सन् १८५७ मा फ्रान्सबाट आफ्ना एक साथीलाई पठाएको पत्रमा उनले लेखे, “सत्य के हो भने राज्य शोषण गर्न मात्र होइन, नागरिकलाई भ्रष्ट बनाउन ल्याइएको छलछाम हो । अतः आजबाट म कुनै पनि राज्यको कुनै पनि सेवामा सहभागी हुनेछैन ।”
नयाँ जार अलेक्सान्दर दोस्रोको राज्याभिषेक हुँदा डिसेम्बर विद्रोहीहरूलाई आममाफी दिने घोषणा भयो । ३० वर्ष साइबेरियाको निर्वासन भोगेका क्रान्तिकारीहरू एकएक गर्दै मस्को, पिटर्सबर्गलगायत युरोपेली रूसका विभिन्न सहरमा फर्किन थाले । प्रतिबन्धित साहित्यहरूमा पढेका र खासखुस सुनेका रहस्यमयी पात्रहरूलाई प्रत्यक्ष भेट्न र उनीहरूसँग कुराकानी गर्न पाउँदा तोल्स्तोयको पुस्ता रोमाञ्चित बन्यो ।
डिसेम्बर विद्रोहमा सामेल एकमात्र जर्नेल स्तरका उच्च सैनिक अधिकारी सेर्गेइ भोल्कोन्स्की तोल्स्तोयका मावलीपट्टिका टाढाका नातेदार थिए । उनकी पत्नी मारिया भोल्कोन्स्काया सारा मानपदवी र सम्पत्ति त्यागेर पतिलाई साथ स्वनिर्वासनमा साइबेरिया गएकी थिइन् । पुश्किनदेखि नेक्रासोभसम्म धेरै रूसी कविहरूले उनको यो त्यागबारे आफ्ना रचनामा वर्णन गरेका छन् । आममाफीपछि युरोपेली रूस फर्किने धेरै क्रान्तिकारीहरूमध्ये भोल्कोन्स्की परिवार पनि एक थियो । रूसी युवाहरूको निम्ति त्यो परिवार आकर्षणको केन्द्र थियो । खानदानी वर्गका युवाहरू आफ्नै वर्गको हितविपरीत कसरी विद्रोहमा लाग्न सक्छन् भन्ने प्रश्नले तोल्स्तोयजस्ता धेरै रूसी युवालाई आश्चर्यमा डुबाउँथ्यो ।
‘डिसेम्बरवादीहरू’ उपन्यास
यही परिवेशमा तोल्स्तोयले निर्वासनबाट फर्केका डिसेम्बरवादीहरूबारे एउटा उपन्यास लेख्ने योजना बनाए । फर्केका धेरै क्रान्तिकारीहरू तोल्स्तोय परिवारको निम्ति पराइ थिएनन् । भोल्कोन्स्की, त्रुबेत्स्कोइ, मुराभ्योभ, ओब्लेन्स्की, पुशिन, याकुश्किनलगायत धेरै क्रान्तिकारीलाई उनले प्रत्यक्ष भेटे । डिसेम्बरवादीहरूका उपलब्ध संस्मरण र लेखहरूको उनले मसिनो अध्ययन गरे ।
सन् १८६१ मा तोल्स्तोयले ‘डिसेम्बरवादीहरू’ नाउँको उपन्यास लेख्न सुरु गरे । डिसेम्बरवादी पिटर तनोभिच लाभाजोभ साइबेरिया निर्वासनमा ३० वर्ष बिताएपछि ६ हप्ता लगाएर बग्गीमा मस्को पुगेको सन्दर्भबाट उपन्यास सुरु हुन्छ । उनीसँग पत्नी मारिया निकोलात्ना, छोरी सोन्या र छोरा सेर्गेइ हुन्छन् । मारियाले ३० वर्षअघि पतिलाई निर्वासनमा साथ दिन साइबेरिया स्वनिर्वासन रोजेकी हुन्छिन् भने छोराछोरी त्यहीँ जन्मेका हुन्छन् । पिटर साइबेरिया निर्वासित भएपछि उनका भाइले दाजुको सम्पत्ति हत्याएका हुन्छन् । पिटर फर्केपछि पनि उनका भाइ सम्पत्ति फर्काउन तयार हुँदैनन् । ‘मैले नलिएको भए त्यो राज्यले लिने थियो’ भन्ने भाइको तर्कलाई पिटर स्वाभाविक मान्छन् ।
फर्केको पहिलो दिन होटलमा सामान मिलाउँदै समय बित्छ । उनीहरूको आगमनको सूचना होटलको बिलियार्ड खेल्ने ठाउँ हुँदै रात्रि भोजमा फैलिन्छ । भोलिपल्ट बिहान उनीहरू क्रेमलिनको गिर्जाघरमा प्रार्थना गर्न जान्छन् । यता पिटरको अनुपस्थितिमा उनलाई भेट्न आएका धेरै मानिसले आफ्नो परिचय र निमन्त्रणा होटल मालिककोमा छोडेर जान्छन् । ३० वर्षपछि पनि धेरै समकालीनहरूले आफूलाई नबिर्सेकोमा उनी आत्मसन्तोष गर्छन् । दिउँसोपख पिटर र मारिया आफ्ना अविवाहित दिदीकोमा पुग्छन् । दिदीलाई भाइ साइबेरियाबाट फर्केको अत्तोपत्तो हुन्न । भेटमा दिदीभाइ भविष्यको योजना र छोराछोरीबारे कुरा गर्छन् । छोरालाई सरकारी सेवामा लगाउनुपर्ने र छोरीलाई उपयुक्त पति भेट्टाउन सामाजिक भेलाहरूमा सहभागी गराउनुपर्ने दिदीको तर्कसँग भने पिटर सहमत हुँदैनन् ।
भूगोलको हिसाबले धेरै लामो यात्रा गरे पनि पिटर लाबाजोभलाई साइबेरिया र मस्को फरक लाग्दैन । उनलाई दुवै ठाउँ आफ्नो घर जत्तिकै प्यारा हुन्छन् ।
उपन्यासमा तोल्स्तोयले निर्वासनबाट फर्केका डिसेम्बरवादीहरू मस्कोमा ‘क्लव र पार्टीहरूमा रमेका’ समकालीनहरूको दाँजोमा शारीरिक र नैतिकरूपमा चुस्त रहेको देखाउन खोजेका थिए ।
उपन्यास लेख्दै गर्दा तोल्स्तोयलाई ३० वर्ष अगाडिको विद्रोह र साइबेरिया निर्वासनबारे नलेखी अगाडि बढ्न नसकिने लाग्न थाल्यो । फेरि विद्रोहबारे लेख्नुभन्दा अगाडि त्यसको पनि पृष्ठभूमि लेख्नु आवश्यक थियो । डिसेम्बरवादीहरूका संस्मरणहरूमा कसरी सन् १८१२ को नेपोलियनविरोधी युद्धले तिनको विचारमा परिवर्तन ल्यायो भन्ने लेखिएको थियो ।
सन् १८६१ मा तोल्स्तोयले बेलायतमा रहेका हर्जनलाई एउटा चिट्ठी पठाए । त्यसमा उनले लेखे, “सन् १८५६ मा मैले एउटा उपन्यास लेख्ने विषयमा सोच्न थालेँ । त्यसको मुख्य पात्र साइबेरियाबाट सपरिवार फर्केको एकजना डिसेम्बरवादी थियो । नचाही–नचाही म सन् १८२५ तिर फर्के । त्यही साल मेरो नायकले अप्ठ्याराहरू झेल्नुपरेको थियो । त्यसपछि मैले लेख्न सुरु गरिसकेको उपन्यास बिचमै छोडिदिएँ । तर, सन् १८२५ मा मेरो नायक जहान परिवारसहितको वयस्क भइसकेको थियो । उसलाई बुझ्न म उसको युवा अवस्थामा जानुपर्ने थियो । उसको युवा अवस्था भनेको रूसको सन् १८१२ को गौरवशाली समय हुन्थ्यो । फेरि एकपल्ट मैले आफ्नो लेखन बिचमै छोडेँ र सन् १८१२ बाट लेख्न थालेँ ।”
यसरी सन् १८६१ मा ‘डिसेम्बरवादीहरू’ उपन्यास तीन अध्यात्न्दा अगाडि बढ्न सकेन । साइबेरियाबाट फर्केका क्रान्तिकारीहरूको कथा लेख्ने योजना यसरी लम्बिँदै तीन उपन्यासको योजना बन्यो । पहिलोमा डिसेम्बर विद्रोहको पृष्ठभूमि, दोस्रोमा विद्रोह र तेस्रोमा साइबेरिया निर्वासन अनि त्यहाँबाट फर्केका क्रान्तिकारीहरूको युरोपेली रूसको जीवन । पहिलो कालको कथा विश्वप्रसिद्ध उपन्यास ‘युद्ध र शान्ति’ बन्यो । तर, तोल्स्तोयले योजना बनाएअनुसार दोस्रो र तेस्रो पुस्तक पूरा हुन सकेन ।
‘युद्ध र शान्ति’ र ‘डिसेम्बरवादीहरू’
तोल्स्तोयले सन् १८६३ मा युवा डिसेम्बरवादीहरू हुर्केको समयबारे उपन्यास लेख्न सुरु गरे । सन् १८१२ को युद्ध एउटा महत्वपूर्ण कालखण्ड थियो । सन् १८१२ मा नेपोलियनले ६ लाख सेनाका साथ रूसमाथि आक्रमण गरे र हिउँदमा मस्को कब्जा गरे । मस्को सहर आगलागीमा पूरै ध्वस्त भयो । फ्रान्सेली सेनालाई गलाएर रूसले पछि धकेल्यो । फ्रान्सेली सेना लखेट्दै रूसी सेना फ्रान्सको पेरिससम्म पुग्यो । तर, फ्रान्सेली भाषा र संस्कृतिलाई १ सय वर्षदेखि उत्कृष्ट मान्दै पछ्याइरहेका रूसका खानदानी सैनिक अफिसरहरूको मस्तिष्कमा फ्रान्सेलीहरूको उदार र स्वतन्त्र जीवनशैली, संवैधानिक व्यवस्था, औद्योगिकरूपमा अगाडि बढेका सहरहरूले नमेटिने छाप छोडे । यो छाप नै डिसेम्बर विद्रोहको पृष्ठभूमि थियो ।
सन् १८१२ को समय लेख्नुअघि सन् १८०५ मा जानुपर्ने भयो । त्यो वर्ष फ्रान्ससँग रूसको शत्रुता सुरु भएको थियो र रूसले युद्धमा पहिलो हार खाएको थियो । यसरी ‘युद्ध र शान्ति’ उपन्यास सन् १८०५ बाट सुरु हुन्छ र सन् १८१२ को लडाइँ हुँदै १८२० को डिसेम्बरमा टुङ्गिन्छ । उपन्यासमा डिसेम्बरवादीहरूको उद्देश्य र गुप्त समाजबारे प्रस्ट उल्लेख कतै छैन । तर, जहाँतहीँ भविष्यका डिसेम्बरवादीहरूबारे सङ्केत पाइन्छ ।
एउटा सैलुनमा हुने छलफलबाट उपन्यास सुरु हुन्छ । नेपोलियनलाई कसरी हेर्ने भन्ने विषयमा १० वर्ष स्वीजरल्यान्डमा पढेर फर्केका पियर बेजुकोभको रूसी युवाहरूसँग विवाद हुन्छ । कथाका मूल पात्र उनै हुन्छन् । पियरको निम्ति नेपोलियन सकारात्मक पात्र हुन्छन् भने अरूको निम्ति नकारात्मक । सन् १८०५ ताका सीमित रूसी युवाहरूमात्र बाहिरी संसारसँग परिचित हुन्छन् । सन् १८१२ ले त्यो अवस्थामा ठुलो परिवर्तन ल्याउँछ । उपन्यास सन् १८२० को डिसेम्बरमा गएर टुङ्गिन्छ । त्यसबेला पियर २ महिनाअघि राजधानीमा भएको एउटा महत्वपूर्ण बैठकमा सहभागी भएर फर्किन्छन् । १८२० को सेप्टेम्बरमा पिटर्सबर्गमा सेम्योनोभ्स्की पल्टनका सैनिकहरूले नरम सैनिक विद्रोहबारे छलफल गरेका थिए । तोल्स्तोयले सोही घटना झल्काउन खोजेको सजिलै बुझ्न सकिन्छ । गुप्त बैठकहरूमा सम्मिलित पियर र निकोलाई रोस्तोभहरू ठीक ५ वर्षपछि (१८२५ डिसेम्बरमा) हुने विद्रोहका नायक हुनेछन् भन्ने सङ्केत ‘युद्ध र शान्ति’ मा पाइन्छ ।
महान् लेखकको दुविधा
सन् १८६९ मा युद्ध र शान्ति प्रकाशित भयो । तर, योजनाअनुसार तोल्स्तोयले डिसेम्बर विद्रोहबारे उपन्यासको अर्को खण्ड लेखेनन् वा लेख्न जाँगर देखाएनन् । त्यो किन होला ? प्रश्न उठ्नु स्वाभाविक छ । राज्यको कडा सेन्सर त्यसको एउटा कारण हुनसक्छ । डिसेम्बरवादीहरूलाई आममाफी दिइयो र भूदासहरूलाई मुक्त गरियो । तैपनि, उदार विचारअनुसार संवैधानिक र कानुनी राजको कल्पना गर्ने बागीहरूलाई नायक बनाइएको कथा जारको स्वेच्छाचारी हुकुममा स्वीकृत हुन सम्भव थिएन ।
डिसेम्बर विद्रोहबारे लेख्न आफूलाई विषयवस्तुबारे पर्याप्त ज्ञान भइनसकेको तोल्स्तोयको बुझाइ थियो । यो अर्को कारण हुनसक्छ । ‘युद्ध र शान्ति’ लेख्नको निम्ति उनले त्यस कालका पात्र र कागजातहरूको व्यापक अध्ययन र अनुसन्धान गरेका थिए । डिसेम्बर विद्रोहपछि प्रकाशित भएका सरकारी प्रतिवेदनहरूमा पहुँचको निम्ति तोल्स्तोयले धेरैपटक निवेदन दिएका थिए । तर, जारले त्यसलाई स्वीकार गरेनन् ।
डिसेम्बर विद्रोह गर्ने क्रान्तिकारीहरूका सम्बन्धमा तोल्स्तोयको अमिट दुविधा सबैभन्दा महत्वपूर्ण कारण हो भनी केही लेखक तर्क गर्छन् । ती क्रान्तिकारीहरू तत्कालीन रूसी समाजका नैतिकरूपमा सबभन्दा योग्य र स्वच्छ व्यक्तित्व थिए । सरकारी र सैनिक सेवामा रहेर पनि उनीहरूले सरकारी सेवामा चलिरहेको भ्रष्टाचारको बिगबिगीलाई निर्मूल गर्न दृढ सङ्कल्प गरेका थिए । तोल्स्तोयजस्ता युवाहरूलाई डिसेम्बरवादीहरूको उद्देश्यका साथै उनीहरूको स्वच्छ व्यक्तित्वको नैतिक बलले सबभन्दा बढी तान्थ्यो । तर, एक अहिंसावादी हुनाले सैनिक विद्रोहबाट सत्ता कब्जा गर्ने उनीहरूको कार्यशैलीमा तोल्स्तोय कहिल्यै सहमत हुन सकेनन् । आफूले खोजेजस्ता सबै नायकसुलभ गुणहरू डिसेम्बरका क्रान्तिकारीहरूमा रहेर पनि हिंसात्मक विद्रोहको सैद्धान्तिक मान्यताप्रति तोल्स्तोय कहिल्यै सकारात्मक बन्न सकेनन् । रूसका केही उदार बुद्धिजीवीले डिसेम्बर विद्रोहलाई विदेशी विचारको प्रभावमा भएको विद्रोह ठान्थे । रूसको परिवर्तन रूसी शैलीमा हुनुपर्छ भन्ने मान्यता राख्नेहरूमध्ये तोल्स्तोय एक थिए । अध्ययनसँगै डिसेम्बरवादीहरूप्रति तोल्स्तोय झन्झन् सकारात्मक हुँदै गए पनि उनको भित्री मनमा रहेको दुविधा कहिल्यै मेटिएन । त्यसैले, सन् १८७७–१८७८ मा ‘डिसेम्बरवादीहरू’ उपन्यास सकाउने तोल्स्तोयको दोस्रो प्रयास पनि पूरा हुन सकेन ।