ग) कोभिड–१९ महामारीको खराब व्यवस्थापन
संरा अमेरिका आफूसँग संसारकै सर्वोत्कृष्ट स्वास्थ्य र औषधि उपचारको स्रोत भएको दाबी गर्छ । तर, कोभिड प्रतिरोधको समयमा त्यहाँको स्वास्थ्य क्षेत्र पूर्णतः भद्रगोल देखियो । संरा अमेरिका संसारकै सबभन्दा बढी कोभिड सङ्क्रमण फैलिएको र त्यही कारण मानिसको निधन भएको देश बन्यो ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गर्दै आएको तथ्याङ्कअनुसार सन् २०२१ को नोभेम्बर महिनाको मसान्तसम्ममा संरा अमेरिकामा कोभिड–१९ को सङ्क्रमण भएका मानिसको सङ्ख्या ४ करोड ८० लाख नाघ्यो । कोभिडको कारण मर्नेको सङ्ख्या ७ लाख ७० हजार नाघ्यो । यो दुवै सङ्ख्या संसारकै सबभन्दा उच्च हो ।
सन् २०२१ को जनवरी ८ मा एकै दिन ३ लाख ७ सय ७७ जना अमेरिकीलाई कोभिडको सङ्क्रमण पुष्टि भयो । संरा अमेरिकामा कोभिड–१९ को सङ्क्रमण फैलिएयता एकै दिनमा यति धेरै सङ्ख्यामा सङ्क्रमण भएको यो सबभन्दा उच्च सङ्ख्या थियो । त्यस्तै, जनवरी १३ मा एकै दिन कोभिड–१९ को सङ्क्रमणबाट ४ हजार १ सय ७० जना अमेरिकीले ज्यान गुमाए । सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतङ्कवादी हमलामा समेत त्यति सङ्ख्यामा मानिसले ज्यान गुमाएका थिएनन् ।
नोभेम्बर महिनाको मसान्तसम्ममा संरा अमेरिकामा दैनिक औसत कोभिड सङ्क्रमणको दर बढेर ७० हजार पुगेको थियो भने दैनिक मर्नेको औसत सङ्ख्या बढेर ७ सय पुगेको थियो ।
हरेक ५ सय जना अमेरिकीमध्ये एक जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ । अहिलेसम्म कोभिड–१९ को कारण संरा अमेरिकामा मर्नेको सङ्ख्या सन् १९१९ को इन्फ्लुयन्जा महामारीमा मर्नेको सङ्ख्याभन्दा बढी पुगेको छ । त्यस्तै, प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, कोरिया युद्ध, भियतनाम युद्ध, इराक युद्ध र अफगान युद्ध सबैमा मारिने अमेरिकीको कुल सङ्ख्यालाई कोभिडको कारण मर्नेको सङ्ख्याले उछिनिसकेको छ ।
संरा अमेरिकाले विज्ञानमा आधारित भएर महामारीको प्रतिरोध गरेको भए धेरै मानिसको जीवन जोगाउन सकिन्थ्यो । सरुवा रोग विशेषज्ञ तथा संरा अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रका पूर्वप्रमुख विलियम फोइजले महामारीमा भएको मृत्युलाई ‘हत्या’ को संज्ञा दिएका छन् ।
महामारीको कारण संरा अमेरिकी अर्थतन्त्रले ठुलो नोक्सानी व्यहोरेको छ । त्यहाँ बन्द भएका व्यापार र बेरोजगारीको दर कल्पनाभन्दा बाहिर छ । ठुलो सङ्ख्यामा अमेरिकीहरूले रोजगारी गुमाएका छन् । सामाजिक अस्थिरता बढ्दा मानिसका चिन्ता र कमजोर भावना अझ गहिरो बनेको छ ।
संरा अमेरिकी बजेट तथा नीति प्राथमिकता केन्द्रले सन् २०२१ को जुलाई २९ मा सार्वजनिक गरेको कोभिड कठिनाइ पर्यवेक्षण (कोभिड हार्डसीप वाच) अनुसार सन् २०२० को डिसेम्बरको तुलनामा अवस्थामा सुधार भए पनि अमेरिकी जनताको कठिनाइ सन् २०२१ को पहिलो छ महिनामा अझ बढेको थियो । आफ्नै घरमा बस्दै आएका झन्डै २ करोड अमेरिकीलाई खानलाई समेत धौ धौ भयो । १ करोड १४ लाख अमेरिकीहरू भाडामा बस्छन् । उनीहरूले कोठा भाडा तिर्न सकेका छैनन् । भाडा तिर्न नसकेकाले उनीहरू कुनै पनि बेला कोठाबाट निकालिन सक्छन् ।
संरा अमेरिकी तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्कले देखाएअनुसार सन् २०२१ को जुलाईसम्ममा घरमा कम उमेरका आफैँले कमाउन नसक्ने बालबालिका भएका २२ प्रतिशत घर परिवारको कम्तीमा एक जना मानिसले आम्दानीको स्रोत गुमाएको छ ।
संरा अमेरिकी उपभोक्ताहरूको आत्मविश्वास नराम्ररी भत्किएको छ । रोजगार बजारको पुनःस्थापना प्रगतिशून्य छ । गोल्डम्यान सच्स, मोर्गन स्टान्ले र अक्सफोर्ड इकोनोमिक्सजस्ता संस्थाहरूले संरा अमेरिकी अर्थतन्त्रमा हुने वृद्धिको पूर्वानुमानमाथि पुनःविचार गरेका छन् । यही बेला तीन चरणको बृहत् आर्थिक प्रोत्साहन योजना लागु भएपछि अन्य धेरै कुरासँगै सामान आपूर्ति ठप्प छ । जसले मुद्रास्फीति दर अझ अकाशिएको छ । यो वर्ष सन् २०२१ को अक्टोबर महिनामा संरा अमेरिकी उपभोक्ता मूल्य सूचाङ्क (सीपीआई) अघिल्लो वर्षको तुलनामा ६.२ प्रतिशतले बढेको छ । त्यसपछिका ६ महिना लगातार सीपीआई कम्तीमा ५ प्रतिशतले बढेको छ । सन् २००८ यता यो सीपीआईमा सबभन्दा ठुलो वृद्धि हो ।
संरा अमेरिकामा कोरोना भाइरस लगातार फैलिनुको मूल कारण विज्ञानको कमी होइन, बरु विज्ञानमा विश्वास र भर पर्न नचाहेर हो । चुनावमा जित्न केही राजनीतिक नेताहरूले देशको हितभन्दा माथि आफ्नो दलको हितलाई राखे । महामारीको प्रतिरोधलाई राजनीतीकरण गरियो । अनि, एकअर्कालाई दोषारोपण गर्दै बसे । सङ्घ र राज्य सरकारहरूले आपसमा मिलेर महामारीको प्रतिरोधमा मूर्त कामलाई प्रभावकारी बनाउन सकेनन् । बरु, एकआपसमा झगडा गरेर समय खेर फाले । फलतः महामारी प्रतिरोध र रोकथामको कामको निकै राजनीतीकरण गरियो । खोप र मास्क लगाउने विषयलाई पार्टीहरूले जनताबिच झगडाको विषय बनाइदिए । संरा अमेरिकामा बौद्धिकताको विरोधको लहर नै उठ्यो ।
फ्रान्सको अखबार ‘Le Monde’ मा प्रकाशित समाचारमा कोभिड–१९ सङ्कटको खराब व्यवस्थापनले संरा अमेरिकी प्रजातन्त्रको खराबी वा कमजोरी उजागर गरेको उल्लेख छ । धनीमानीको लागि मात्र उपचार गर्नसक्ने ज्यादै महँगो स्वास्थ्य प्रणालीले गरिब जनतालाई सामाजिक सुरक्षाबाट वञ्चित बनायो । अझै पनि संसारकै विकसितमध्येको त्यो देश सामाजिक अन्यायको खाल्डोमा धकेलिएको छ । यो प्रजातान्त्रिक क्षयको विशेष अवस्था हो जसले सङ्कटको प्रभावकारी व्यवस्थापनलाई असम्भव बनाएको छ ।
स्टानफोर्ड न्युजले जनस्वास्थ्यको क्षेत्रमा कोभिड–१९ महामारीले काला तथा अन्य अल्पसङ्ख्यक समुदायमाथि असमानुपातिक प्रभाव पारेको छ । काला, गोरा र अन्य समुदायको स्वास्थ्यमा विभेदलाई सतहमा ल्याएको छ ।
घ) धनी र गरिबबिचको फराकिलो अन्तर
धन वितरणको आधारमा अरू कुनै पनि पश्चिमा देशभन्दा संरा अमेरिका सबभन्दा बढी ध्रुवीकृत छ । सन् २०२१ मा संरा अमेरिकाको धनी र गरिबबिचको भेद मापन गर्ने आर्थिक औजार गिनि कोफिसेन्ट ०.४८ पुगेको छ । बितेका ५ दशकमा यो झन्डै सबभन्दा उच्च दर हो । संरा अमेरिकी चिन्तन संस्था ‘नीति अध्ययन प्रतिष्ठान’ ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् १९९० देखि २०२१ सम्ममा संरा अमेरिकी अर्बपतिहरूको कुल सम्पत्ति १९ गुणाले बढेको छ । त्यही अवधिमा संरा अमेरिकाको मध्यम धन (मेडियन वेल्थ) भने जम्मा ५.३७ प्रतिशतले मात्र बढेको छ । संरा अमेरिकाको तीतो सत्य भनेको त्यहाँ धनी झन्झन् धनी भइरहेका छन् भने गरिब अझ गरिब ।
फेड (Fed) नामको संस्थाले सन् २०२१ को अक्टोबरमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार मध्यम आय भएका ६० प्रतिशत मध्यमवर्गले यो वर्षको जूनसम्ममा आफ्नो कुल सम्पत्तिमा राष्ट्रिय धनको २६.६ प्रतिशतले कम भएको देखे । बितेका तीन दशकमा यो सबभन्दा न्यूनतम अवस्था हो । सबभन्दा धनी एक प्रतिशत मानिसको हातमा भने कुल राष्ट्रिय धनको २७ प्रतिशत छ । त्यो एक प्रतिशत धनीहरूले सिङ्गो ‘मध्यम वर्ग’ लाई धन वितरणमा उछिनेका छन् ।
युसी बर्कलेका अर्थशास्त्री इमानुएल सैजको अध्ययनअनुसार औसत वार्षिक आम्दानीको आधारमा अमेरिकाका सबभन्दा धनी दस प्रतिशत मानिसले सबभन्दा गरिब ९० प्रतिशत मानिसको तुलनामा नौ गुणाले बढी धन कमाउँछन् । सबभन्दा धनी १ प्रतिशत मानिसले उनीहरूभन्दा गरिब ९० प्रतिशत अमेरिकीको तुलनामा झन्डै चालीस गुणा बढी कमाउँछन् । त्यस्तै, अमेरिकाका अति धनी ०.१ प्रतिशत अमेरिकीहरूले उनीहरूभन्दा गरिब ९० प्रतिशत अमेरिकीहरूको तुलनामा १९६ गुणा बढी धनार्जन गर्छन् ।
कोभिड–१९ महामारीपछि संरा अमेरिकाले जारी गरेको प्रोत्साहन नीतिले सेयर बजारलाई उकासेको छ । जसले धनी र गरिबबिचको खाडललाई अझै फराकिलो बनाएको छ । संरा अमेरिकी अर्बपतिको धन १.७६३ त्रिलियन डलर पुगेको छ । अर्थात्, संरा अमेरिकामा कोभिड फैलिए यताका १६ महिनामा उनीहरूको सम्पत्ति ५९.८ प्रतिशतले बढेको छ । सबभन्दा धनी १० प्रतिशतसँग अहिले संरा अमेरिकाका सबै सेयरको ८९ प्रतिशत छ । यो नयाँ ऐतिहासिक उत्कर्ष हो ।
संरा अमेरिकामा धनको केन्द्रीकरण त्यहाँको राजनीतिक व्यवस्था र त्यहाँको सरकारले प्रतिनिधित्व गर्ने पुँजीको हितमा अन्तरनिहित छ । ‘वाल स्ट्रिट कब्जा गर आन्दोलन’ देखि हालैको ‘वाल स्ट्रिटको रिसाएको साँढेलाई हराम्बी तोलाएर बस्छ’ सम्म भनेर अमेरिकी जनताले फराकिलो बन्दै गएको धनको विभेदलाई सराप्न कहिल्यै छोडेनन् । तर, परिवर्तन भने केही पनि भएन ।
संरा अमेरिकामा शासन चलाइरहेकाहरूले केही गर्दैनन्, आर्थिक असमानताको खाडल बढाउने काममात्र गर्छन् । महामारीले अमेरिकी समाजको शासनलाई थप उदाङ्ग्याइदिएको छ । सबभन्दा पहिला धन, सबभन्दा पहिला धनी ।
ङ) नाममात्रको ‘अभिव्यक्ति स्वतन्त्रता’
संरा अमेरिकामा सञ्चारमाध्यमलाई कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासँग दाँजेर ‘राज्यको चौथो अङ्ग’ भनिन्छ । पत्रकारहरूलाई ‘श्रीपेच नभएका राजाहरू’ भनिन्छ । सञ्चारमाध्यमहरूले पनि आफूलाई राजनीतिबाट स्वतन्त्र दाबी गर्छन् । स्वतन्त्रता र सत्यको पक्ष लिने भन्छन् । तर, खासमा उनीहरू धनीमानीको सेवा र दलीय राजनीतिको सेवा गरिरहेका हुन्छन् ।
मुट्ठीभर व्यापारिक सञ्चार समूहले संरा अमेरिकी सञ्चारमाध्यमहरूमाथि नियन्त्रण जमाएका छन् । उनीहरूले नै ठुलो प्रभावसहित राजनीतिक शक्तिको भूमिका खेल्ने गर्छन् ।
सन् १९९६ को दूरसञ्चार ऐनअनुसार संरा अमेरिकाको सङ्घीय सरकारले सञ्चारमाध्यमका मालिकहरूलाई निश्चित नियममा छुट दिनुपर्छ । त्यो प्रावधानको कारण संरा अमेरिकी सञ्चारमाध्यमहरूमा एकआपसमा मिल्ने (मर्जको) अभूतपूर्व उभार उठ्यो र सञ्चारमाध्यमको विविधता एवम् स्वाधीनतामा ठुलो क्षयीकरण भयो । सञ्चारमाध्यमको सङ्ख्यामा ठुलो कटौतीको कारण केही निश्चित सङ्ख्याका कम्पनीले आफ्नो एकाधिकार कायम गर्न सफल भए ।
संरा अमेरिकामा ९० प्रतिशत सञ्चारमाध्यमहरू केही व्यापारिक सञ्चार समूहहरूको नियन्त्रणमा छन् । ती सञ्चार समूहले वार्षिकरूपमा कमाउने खुद नाफा केही विकासशील देशहरूको कुल गार्हस्थ उत्पादनभन्दा बढी छ ।
यी सञ्चार समूह आफ्नो व्यापारको प्रभाव अझ फैलाउने क्रममा अमेरिकी राजनीतिभित्र पनि पसेका छन् । उनीहरू दबाब, जनसम्पर्क अभियान वा राजनीतिक चन्दामार्फत राजनीतिक प्रक्रियालाई प्रभावित बनाउन खोज्छन् । संरा अमेरिकी सञ्चार एकाधिकारहरू नागरिक तथा राजनीतिक अधिकारका ‘अदृश्य हत्यारा’ बनिसकेका छन् ।
अर्बाना–स्याम्पेनको इलिनिओस विश्वविद्यालयका प्राध्यापक र सञ्चार क्षेत्रको राजनीतिक अर्थशास्त्र अध्ययनका संरा अमेरिकी विद्वान् रोबर्ट मेचान्सले आफ्नो पुस्तक ‘रिच मिडिया, पोर डेमोक्रेसी’ (धनी सञ्चार क्षेत्र, गरिब प्रजातन्त्र) मा नाफामुखी सञ्चार कम्पनीहरूले मानिसहरूलाई मनोरञ्जनात्मक कार्यक्रममा कैद बनाएर विविध सूचनाको पहुँचबाट वञ्चित गरेको लेखेका छन् । उनले सार्वजनिक मामिलाबाट जनताको ध्यान अन्यत्र पठाउने, के ठीक र के बेठीक भन्ने कुरा निक्र्योल गर्ने क्षमतामा ¥हास ल्याउने र सामाजिक नीतिको निर्णय प्रक्रियामा जनताको आवाज दबाउने काम सञ्चारमाध्यमले गरिरहेको बताए । सञ्चारमाध्यमको कथनीको प्रभाव हाबी रहने अमेरिकी समाजमा नागरिक र राजनीतिक सक्रियताको पुरानो मान्यता क्षीण बन्दै गएको छ । राजनीतिबाट नागरिकलाई अलग राख्ने प्रक्रिया (डिपोलिटिसाइजेसन) ले राजनीतिलाई नागरिकविनाको खेल बनाएको छ ।
मायामीको ‘न्यु हेराल्ड’ मा प्रकाशित समाचारमा सञ्चारमाध्यममा सबै धनीमानी र व्यापारिक समूहहरूले नियन्त्रण जमाएको अवस्थामा सर्वसाधारण जनताले तथ्य र राजनीतिक प्रचारबाजीबिच भेद छुट्टयाउन नसकेको बताइएको छ ।
संरा अमेरिका अब प्रजातन्त्रको ‘पहरेदार’ रहेन । संरा अमेरिकी सञ्चारमाध्यममा वामपन्थी र दक्षिणपन्थीबिचको राजनीतिक रस्साकसीले दुई दलबिचको भिडन्त र विभाजनलाई अझ गहिरो बनाएको छ । धनी र सर्वसाधारणबिचको दूरी अझ बढाएको छ । त्यस्ता झगडाले संरा अमेरिकामा राजनीतिक ध्रुवीकरण अझ फराकिलो बनाएको छ । वामपन्थीहरूलाई अझ बायाँ धकेलेको छ भने दक्षिणपन्थीलाई अझ दायाँ धकेलेको छ । फलतः संरा अमेरिकामा अतिवादी विचारधारा र लोकप्रियतावाद (पपुलिज्म) अझ फैलाउन टेवा पु¥याएको छ ।
कोरिया गणतन्त्रका चिन्तन संस्था सेजोङ प्रतिष्ठानले गरेको अध्ययनअनुसार संरा अमेरिकामा ८० प्रतिशतभन्दा बढी अनुदारपन्थी मतदाताहरूले मूलधारका सञ्चारमाध्यमहरू, जस्तै– न्यु योर्क टाइम्सका समाचारलाई झूटा सूचना वा पूर्वाग्रही समाचारको रूपमा हेर्ने गर्छन् । मतदाताहरू केही सीमित सञ्चारमाध्यमकै समाचारमा विश्वास गर्छन् । राष्ट्रिय तहमा भइरहेको सूचनाप्रति उनीहरू बेवास्ता गर्छन् । गहन बहस र सहमति बनाउने प्रयासलाई चर्को राजनीति एवम् नकारात्मक दलगत विभाजनले विस्थापन गरेको छ ।
अक्सफोर्ड विश्वविद्यालय र रोयटर्स प्रतिष्ठानले सार्वजनिक गरेको सन् २०२१ को डिजिटल न्युज रिपोर्टले ४६ वटा सहरमा ९२ हजार अनलाइन समाचारका उपभोक्ताबिच गरिएको सर्वेक्षणले संरा अमेरिकामा समाचारप्रतिको विश्वास सबभन्दा न्यून अर्थात् २९ प्रतिशत मात्र रहेको देखाएको छ ।
आजको सूचनाको युगमा पुराना सञ्चारमाध्यम क्रमशः ओरालो लागिरहेका छन् । सामाजिक सञ्चारमाध्यम (सोसिएल मिडिया) सर्वसाधारण जनताको लागि नयाँ लोकप्रिय माध्यम बनेका छन् । तथापि, पुराना सञ्चारमाध्यमजस्तै सामाजिक सञ्चारमाध्यम पनि ठुला पुँजी र स्वार्थ समूहको नियन्त्रणमा छन् । आफ्नो वेबसाइट हेर्ने मानिसको सङ्ख्या बढाउन सामाजिक सञ्चारमाध्यमहरूले ‘सूचनाको घर’ बनाउने नारा प्रयोग गर्छन् । तर, उनीहरूले सम्प्रेषण गर्ने सूचनाको कुनै परीक्षण पनि हुँदैन र त्यसमा नियन्त्रण पनि हुँदैन । त्यसले प्रयोगकर्तालाई उनीहरूसँग पहिला नै रहेको विचारलाई अझ प्रबल बनाउन मद्दत गर्छ । पहिचानको राजनीतिलाई अझ बलियो बनाउँछ र जनमत अझ विभाजित गर्छ ।
सन् २०२१ को अक्टोबरमा फेसबुक कम्पनीका पूर्वकर्मचारी फ्रान्सिस हौजेनले फेसबुकसँग भएका दसौँ हजार धमाकेदार गोप्य दस्तावेज सार्वजनिक गरिन् । उनले कोलम्बिया प्रसारण प्रणाली (सीबीएस) मार्फत फेसबुकले प्रयोगकर्तालाई आफूप्रति आकर्षित बनाइराख्न र नाफा कमाउन व्यापक जनताको हितलाई समेत तिलाञ्जली दिन नहिच्किचाउने वास्तविकताको पर्दा खोलिदिइन् । फेसबुक सामाजिक अतिवादीको प्रमुख दबु बन्दै आएको छ । झूटा अभिव्यक्ति एवम् गलत र भ्रामक सूचना दिन फेसबुकको व्यापक प्रयोग हुने गरेको छ । यस्ता घृणामा आधारित अभिव्यक्तिमध्ये ३–५ प्रतिशतमाथि मात्र कारबाही हुने गरेको छ । त्यस्तै, फेसबुकमार्फत हुने हिंसा वा दुरुत्साहनका दोषीमध्ये ०.६ प्रतिशतलाई मात्र कारबाही हुने गरेको छ ।
स्रोत : अमेरिकाको प्रजातन्त्र !
नेपाली अनुवाद : हौसला