कुमार श्रेष्ठ
अमेरिकाका सो¥हौँ राष्ट्रपति अब्राहम लिङ्कन एक आदर्श व्यक्ति थिए । उनको अध्ययनशीलता, सङ्घर्षशील जीवन र श्रमप्रतिको सम्मानपूर्ण व्यवहार अनुपम र अनुकरणीय छ । उनका हरेक काम कुरा उदाहरणीय र प्रेरणादायी पनि छन् । यसै सन्दर्भमा उनले, आफ्ना छोरा पढ्ने विद्यालयका शिक्षकलाई लेखेको यो पत्र पनि निकै उल्लेखनीय छ ।
श्री प्रधानाध्यापकज्यू,
मेरो मान्यता र अनुभवमा मेरो छोराले के जानोस् भने विश्वका सबै मानिस विवेकशील छैनन्, अनि सच्चा पनि छैनन् । यसकारण, उसलाई को असल हुन् र को खराब हुन् भनेर चिन्ने युक्ति सिकाइदिनुहोस् ।
उसलाई भनिदिनुहोस्, खराब भनिएको मानिसभित्र पनि असल काम गर्ने गुण हुन्छन् । स्वार्थी भनिएका राजनीतिज्ञको भीडमै राजनेता पनि हुन्छन् । अनि शत्रु मानिसका बिचमै असल मित्र पनि हुन्छन् ।
उसले बुझ्न धेरै समय लाउला, तर बुझाइदिनुहोस्– अरुको धन पाए जति पनि लिनेभन्दा स्वआर्जनमा रमाउने चरित्रका मानिसहरू असल हुन्छन् ।
हारलाई सहर्ष स्वीकार्न र विजयोल्लास मनाउन पनि सिकाइदिनुहोस् । उसलाई इष्र्या र शत्रुताको मार्गभन्दा टाढा पु¥याइदिनुहोस् । अनि अन्तरमनले खुसी हुन सकिने कला पनि सिकाइदिनुहोस् ।
उसलाई आजै भनिदिनुहोस्– घमण्ड गर्नेहरूको छिट्टै पतन हुन्छ । तपाईँ सक्नुहुन्छ भने उसलाई, विद्या र पुस्तकको शक्ति र महिमा पनि बताइदिनुहोस् । साथै स्वतन्त्र भएर आकाशमा उडेका पन्छीहरू किन खुसी छन् भन्ने रहस्य बुझ्न कोसिस गर्ने बानी पनि बसाइदिनुहोस् ।
सूर्यको प्रकाशमा आनन्दले भुन्भुनाउँदै नाच्दै गरेका माहुरीका गीतका अर्थहरू बुझ्न सक्ने बनाइदिनुहोस् । हरिया वनस्पतिका फल वृक्ष आदिले शोभायमान पर्वतको सुन्दरताको प्रशंसा गर्न सक्ने बनाइदिनुहोस् ।
उसलाई प्रस्टसँग भनिदिनुहोस्, नक्कल गरेर उत्तीर्ण हुनुभन्दा इमानदार भएर अनुत्तीर्ण हुनुचाहिं इज्जतको कुरा हो । अनि यो पनि बताइदिनुहोस्– आफूलाई सही लागेको विचार र आफ्नो क्षमता विश्वास गर्ने बानी नै असल बानी हो ।
भद्रहरूसँग भद्र र कठोरहरूसँग कठोर हुन पनि सिकाइदिनुहोस् । सक्दो कोसिस गरेर मेरो छोरामा यस्तो शक्ति भरिदिनुहोस् कि, उसले निरर्थक होहल्ला मच्चाउने भीडको पछि लाग्न नपरोस् । उसलाई सबै कुरा सुन्न सक्ने क्षमताले भरिपूर्ण बनाइदिनुहोस् । साथै सुनेका कुरालाई विवेकका चाल्नीमा छानेर सत्य पहिल्याउने कला सिकाउन पनि नबिर्सिनुहोस् ।
सत्यको पक्षमा अटल भएर उभिने बानी बसाइदिनुहोस् । दुःखमा पनि शान्त रहने सहनशील बनाइदिनुहोस् । रुन पनि सिकाइदिनुहोस् र भनिदिनुहोस्, रुन लाज लाग्ने कुरा होइन । बुद्धि र वर्कतले काम गर्ने जाँगर र हौसला भरिदिनुहोस् । भएजति क्षमता प्रदर्शन गर्ने आँट पनि भरिदिनुहोस् ।
त्यतिमात्र होइन, आफ्नो हृदय र आत्माको मूल्यमा कुनै सम्झौता नगर्ने हठ गर्न पनि सिकाइदिनुहोस् । भीडतन्त्रको कोलाहललाई सहजै पन्छाउन सक्ने बनाइदिनुहोस् । तर, साँचो कुरामा अडिग रहन पनि सिकाइदिनुहोस् ।
ऊसँग नरम व्यवहार गर्नुहोला, तर दृढ बनाइदिनुहोला । उसलाई नपुल्पुल्याइदिनुहोला, किनभने आगोको भट्टीमा नपोली राम्रो स्टिल बनाउन सकिँदैन । उसमा यति धेरै साहसको भकारी भरिदिनुहोस् कि समयका आँधी र हुरीलाई सहजै सामना गर्न सकोस् ।
उसलाई सहनशीलताको कुण्डको अमृतपान गराइदिनुहोला । ऊ पनि असल काम गर्ने नायक बन्ने बाटो देखाइदिनुहोला ।
कतै सङ्कटमा पनि अधैर्य र अस्थिरतालाई हटाउन सक्ने धैर्यको पहिरन लगाइदिनुहोला । उसलाई सधैँभरि सम्झाइरहनुहोला, अन्तरात्मा र विवेकप्रति सधैँ अटल विश्वास राख्नुपर्छ । अनि मात्र अरूप्रति आशा र भरोसा राख्न सकिन्छ ।
मेरो छोरा कलिलो बालकै छ । त्यसलाई असल नागरिक बनाउन अवश्य कोसिस गर्नुहोला ।
तपाईँ शिक्षकहरूलाई मेरो अन्तरहृदयदेखि नै अनुरोध छ, तपाईँहरूले यति काम गर्न सक्नुहुन्छ, त्यसको बोध तपाईँहरूलाई पनि होस् ।
– तपाईँको अब्राहम लिङ्कन
यो चिट्ठी धेरै पत्रिकाहरूले साभार गरेका छन् । विभिन्न पाठ्यपुस्तकमा राखिएका यस चिट्ठीका शब्दशब्द र हरफहरफ व्याख्या गरेर पढिन्छ/पढाइन्छ । चिट्ठी, निश्चय नै प्रत्येक बालबालिका, शिक्षक र अभिभावकका लागि पठनीय र मननीय छ । हुन त यस चिट्ठीमा दिइएजस्तै सुझावपूर्ण भावका कुराभन्दा पनि सूत्रात्मक र लयात्मक गुणका कविता हाम्रा कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, राष्ट्रकवि माधव घिमिरेलगायतका नभएका होइनन् । तर, अमेरिकाका एकजना चर्चित राष्ट्रपतिले लेखेको चिट्ठी अङ्ग्रेजी माध्यममा पढ्दा–पढाउँदाको शान र मज्जा हाम्रा नेपाली कविका कवितामा कहाँ पाउनु !
लिङ्कनको यो चिट्ठी, गत वर्ष परिमार्जन भई देशभरिका विद्यालयमा पढाइ हुने कक्षा १० को नेपाली पुस्तक (पृष्ठसङ्ख्या २४३)–मा पनि राखिएको छ । चिट्ठी सुरु गर्दा त्यसको दायाँपट्टि ठेगाना र मिति पनि लेख्ने चलन भएअनुसार यस चिट्ठीको सिरानमा मिति २/४/१८८२ लेखिएको देखिन्छ । तर, हामीमध्ये लिङ्कनको जीवनी पढेका धेरैलाई के थाहा छ भने लिङ्कनको जन्म १२ फेब्रुअरी १८०९ मा र मृत्यु १५ अप्रिल १८६५ (१४ अप्रिलमा गोली हानिएको ) मा भएको थियो । यो कुरा, गुगलमा हेर्दा पनि तुरुन्तै थाहा भइहाल्छ । यसरी, १८६५ मा बितेका लिङ्कनको १८८२ मा चिट्ठी लेख्ने कुरै भएन । यसै क्रममा, ‘एजुकेसन इन एभ्री होम’ को नेतृत्वमा नेपालमै पहिलोपटक गरिएको पाठ्यपुस्तक अडिटको रिपोर्ट सार्वजनिक भएको छ । उक्त कार्यमा संलग्न एकजना विज्ञ श्री होमराज आचार्यले सामाजिक सञ्जालमा लेख्नुभएअनुसार, उक्त चिट्ठी लिङ्कनले लेखेको नभएर ‘इन्टरनेट होक्स’ हो । हामी विद्यार्थीहरूलाई भाइरल झूट पढाइरहेका रहेछौँ ! आचार्य अगाडि लेख्नुहुन्छ : “… …हामीले यो चिट्ठीको अथेन्टीसिटी भेरिफाइ गर्न अमेरिकाको स्प्रिङफिल्ड, इलनोईस्थित लिङ्कन राष्ट्रपतीय लाइब्रेरी एवं म्युजियमलाई पत्राचार ग¥यौँ र उनीहरूले भेरिफाइ गरेर भने कि लिङ्कनले उक्त चिट्ठी कहिल्यै लेखेका थिएनन् । यदि नेपाली पाठ्यपुस्तकमा लिङ्कनले लेखेको चिट्ठी समावेश गर्ने इच्छा नेपाल सरकार, शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रको छ भने हामी सहयोग गर्न पनि सक्छौँ । यस्ता मिथ्याहरू पाठ्यपुस्तकमा छन् । अब हामी संसद्को शिक्षा समितिसँग अडिटले देखाएका तमाम विषयमा छलफल गर्न चाहन्छौँ ……. ।”
विज्ञको नेतृत्वमा सरोकारवालाहरूसमेतको सहभागितामा पाठ्यपुस्तक अडिटको काम गराइनु निश्चय नै राम्रो हो । तर, सशुल्करूपमा गराइएका यस्ता कामभन्दा विषयविज्ञहरूले स्वतःस्फूर्त र निःशुल्करूपमा गरेका कामको अझ बढी महत्व हुने थियो । यसतर्फ विषयशिक्षकको ध्यान जान सके सरकार र पाठ्यक्रम विकास केन्द्रको पनि घैँटामा घाम लाग्ने थियो ।