औद्योगिक क्रान्तिले पुँजीवादी व्यवस्थालाई द्रुततर ढङ्गले बलियो बनाउँदै लग्यो । आर्थिक असमानता, गरिबी र शोषण झन्झन् बढ्दै गयो । कारखानाको बन्दोबस्तले धनी झन्झन् धनी र गरिब झन्झन् गरिब हुँदै गए । गाउँबाट सहरतिर मानिसहरू ओइरिँदै गए, महिला र बालश्रम पनि बढ्दै गयो । पुरानो नैतिकता र मूल्यमान्यतालाई पैसाले निर्णय गर्न थाल्यो । मजदुर आन्दोलन सुरु भयो, मालिक र कामदारहरूको बिचमा वर्गसङ्घर्षको विकास हुँदै गयो । मजदुविरोधी ऐन कानुन पनि बन्दै गयो ।
त्यस्तो परिस्थितिमा मजदुरहरूको हकहित र समाजमा शान्ति र अमनचैन कायम गर्न समाजवादी विचारहरू देखापरे । तर, समाजवादका फरक–फरक समयका भिन्नाभिन्नै विचारकहरूको दृष्टिकोणको आधारमा समाजवादलाई विभिन्न नाउँ दिइएका छन् । तिनीहरूमध्ये ‘काल्पनिक समाजवाद’ एक हो ।
१७८९ को फ्रान्सेली राज्य क्रान्तिले राजारजौटा तथा खान्दानीहरू एवं चर्चहरूको सम्पत्तिको स्वामित्वको विरोध हुन थाल्यो । फ्रान्सेली क्रान्तिकारी अराजकतावादी बाबेफले निजी सम्पत्ति उन्मूलन गर्न आन्दोलन चलाए तथा समाजवादी विचारहरू अर्थात् उत्पादनका साधनहरू सामूहिक र राष्ट्रियकरण नगरी नहुने दृष्टिकोणले बल प्राप्त गर्दै गयो ।
त्यही सिलसिलामा बेलायतमा रोबर्ट ओबेन र फ्रान्समा चाल्र्स फ्युरिये र सेन्ट साइमनका विचार र गतिविधि देखापरे । सन् १८४० तिर प्रुधोँ र लुइस ब्लाँकीजस्ता अराजकतावादीहरू पनि आ–आफ्ना विचारहरू लिएर अगाडि बढे ।
माक्र्स र एङ्गेल्स पनि जर्मनीको पुँजीवादी क्रान्तिको दमनपछि फ्रान्स, बेल्जियम र बेलायतमा समसामयिक आर्थिक र राजनैतिक विचारहरूको अध्ययन र सङ्गठनको गतिविधिमा लाग्नुभयो । १८४७ मा कम्युनिस्ट घोषणापत्रको खेस्रा गरियो । १८४८ फ्रेबुअरीमा कम्युनिस्ट घोषणापत्र प्रकाशित भयो । त्यस घोषणापत्रमा इतिहासको लेखाजोखा र त्यसबेलासम्मका सबै समाजवादी विचारहरूको सार झिक्नुभयो र विज्ञानसम्मत बनाउनुभयो ।
पहिलाका विभिन्न समाजवादीहरूले पुँजीवादका खराबीहरूलाई मात्रै विरोध र खण्डन गरे भने माक्र्स र एङ्गेल्सले पुँजीवादी व्यवस्थाकै विरोध गर्नुभयो । कम्युनिस्ट घोषणापत्र वैज्ञानिक समाजवादको भ्रुणको रूपमा अगाडि बढ्यो ।
विभिन्न किसिमका समाजवादी विचारहरू देखापरेपछि मानिसहरूले भन्न थाले, ‘समाजवाद’ लाई परिभाषित गर्न गा¥हो छ । जूड (व्ययम) ले भने, “समाजवाद हरेकले लाउँदालाउँदै आकारै बिग्रेको टोपी भएको छ ।”
आर्थिक र राजनैतिक समानता, समाजमा धनी र गरिब नहुने, मानिसले मानिसको शोषणको अन्त, जनताको कल्याण, उत्पादनका मुख्य मुख्य साधन र सेवाको सामाजिकीकरण वा राष्ट्रियकरण, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, व्यक्तित्व विकासमा समान अवसर, जीवनको हरेक क्षेत्रमा राज्यको पहुँच, सहकारी र सामूहिक जीवन तथा शासनमा कामदारवर्गको हुकुम आदि नै समाजवादका लक्षण र उद्देश्य हुन् ।
वैज्ञानिक समाजवाद
वैज्ञानिक समाजवादका सैद्धान्तिक आधारहरू
(१) माक्र्स र एङ्गेल्सले वस्तुबाटै संसार र मानिसको सृष्टि भएको, वस्तु परिवर्तनशील भएजस्तै मानिस र समाज पनि परिवर्तनशील हुन्छ भन्नुभयो । वस्तुभित्रका बेमेल तत्वहरूकै कारण परिवर्तन भएजस्तै समाजमा पनि पुरानो वर्गको विरोधमा उठ्दो नयाँ वर्गले समाजमा विजय पाउँछ भन्ने दृष्टिकोण उहाँहरूले प्रस्तुत गर्नुभयो । हरेक वस्तुमा उल्टो वस्तु वा द्वन्द्व निहीत हुने र त्यो भौतिक भएको हुनाले संसारको स्वाभाविक र अनिवार्य परिवर्तन हुनेबारे प्रस्ट बताउनुभयो । त्यो दृष्टिकोण वा दर्शनलाई भौतिकवाद भनियो । नयाँ वस्तुको प्रादुर्भाव वा प्रयोगले समाज र मानिसको विचारमा समेत परिवर्तन गर्छ ।
(२) माक्र्सवादी दर्शनको एउटा आधार हो – ऐतिहासिक भौतिकवाद । यस सिद्धान्तअनुसार इतिहासमा अनेक तथाकथित वीर पुरुषहरू देखिए, इतिहासकारहरूले तिनीहरूलाई नै परिवर्तनका बाहक ठाने । तर, इतिहासको आफ्नै परिवर्तनको विकासको क्रम वा नियम छ । ती वीर पुरुषहरू इतिहासको विपरीत दिशामा जान सक्दैनथे बरु इतिहासकै स्वाभाविक धारमा तिनीहरू ‘निमित्त’ मात्रै भएका हुन् । इतिहासको निर्णय उत्पादनका साधन वा शक्तिहरू तथा त्यसको सम्बन्धले निर्णय गर्छ ।
दास युगमा दासहरू स्वयम् उत्पादनका शक्ति थिए, दास मालिकहरूको सम्बन्धले त्यो समाज अगाडि बढ्यो । त्यस समाजको बेमेल पक्षहरूकै दास विद्रोहहरू भएका थिए । दास विद्रोहहरूले समाजमा परिवर्तन आयो र सामन्तवाद अगाडि बढ्यो । सामन्ती समाजमा पनि अनेक बेमेलहरू थिए । एकातिर सामन्तहरूकै माझमा बेमेल थियो, अर्कोतिर सामन्तवर्ग र किसानको बिचमा बेमेल थियो ।
ठुल्ठुला सामन्त र शासकवर्गको विरोधमा अर्को उत्पादक शक्तिहरू अर्थात् स–साना सामन्तवर्ग, उठ्दो पुँजीपतिवर्ग र किसानहरू एक भए र सामन्ती समाजको पतन भयो र पुँजीवादी व्यवस्था अगाडि बढ्यो । यसको अर्थ हरेक ऐतिहासिक युग पनि त्यसबेलाको भौतिक परिस्थितिले निर्धारण गर्छ । त्यसलाई नै ऐतिहासिक भौतिकवाद भनिन्छ । त्यसकारण, कुनै वीरको कारण समाजमा परिवर्तन आएको नभई परिवर्तनको पक्षमा अगुवाइमात्र गरेको मानिन्छ ।
समाजमा अर्थतन्त्रको प्रभाव
(३) माक्र्स र एङ्गेल्सले समाजलाई प्रभाव पार्ने एउटा महत्वपूर्ण तत्व नै अर्थतन्त्र वा आर्थिक पक्षलाई मान्नुहुन्छ । आर्थिक कारणकै निम्ति युद्ध र परिवर्तन हुन्छ भने अर्थतन्त्रकै कारण ठुल्ठुला विकास निर्माणहरू हुन्छन्, जनताको जीवनस्तर उँचो हुन्छ र आर्थिक कारणले नै समाजमा ठुल्ठुला उथलपुथल हुन्छन् ।
अतिरिक्त मूल्यको सिद्धान्त
(४) औद्योगिक उत्पादनको मूल्य निर्धारण गर्दा पुँजीको ब्याज, ज्यामीको ज्याला, कच्चा मालको मूल्य, भूमिको कूत, यन्त्रहरू खिइँदाको रकम, कर्मचारी र हिस्सेदारहरूको तलब आदि जोडेको हुन्छ । ती सबै जोडेर एक वस्तुको लागत ८० रूपैयाँमात्र पर्दा बजारमा त्यसको मूल्य १०० रूपैयाँ राखिन्छ । बढेको २० रूपैयाँलाई पुँजीपति वर्गले नाफा भन्छ । माक्र्सले त्यस २० रूपैयाँलाई मजदुरको ज्यालाबाट गरिएको ‘चोरी’ भन्नुहुन्छ । यसरी पुँजीपतिहरूले नाफाको नाममा मजदुरहरूको शोषण गर्छन् । कम ज्यालाले नै पुँजीपतिहरूको नाफा बढ्छ । त्यही नाफा पुँजीमा परिणत हुन्छ र पुँजीपतिहरू झन्झन् धनी हुन्छन् र मजदुरहरू गरिब ।
सर्वहारावर्गको हुकुम
(५) दास मालिकहरूको विरुद्ध दासहरू, सामन्तवर्गको विरुद्ध किसानहरू उठेजस्तै पुँजीपतिवर्गको विरुद्ध पनि मजदुरवर्ग सङ्घर्षरत छ, इतिहासले यही बताउँछ । एक दिन तिनीहरू सबल हुनेछन् र सर्वहारा क्रान्ति वा समाजवादको स्थापना गर्नेछन् । यसकारण, सर्वहारा क्रान्ति माक्र्सवादको एउटा अङ्ग बन्यो ।
पुँजीवादको पतनको अनिवार्यता
(१) वस्तु र समाजमा जसरी पुरानो ठाउँ नयाँले लिन्छ, त्यस्तै पुँजीवादको ठाउँ समाजवादले लिन्छ । नाफाको निम्ति नयाँ मेसिन ल्याउँछ, मजदुरहरू बेरोजगार हुन्छन्, मजदुर आन्दोलन अगाडि बढ्छ ।
(२) पुँजीपतिवर्गले कारखाना खोलेर मजदुरवर्गमार्फत फाइदा त लियो तर त्यसले आफ्नो चिहान खन्नेहरू कालको बीउ पनि आफैँ छर्दै गएको हुन्छ ।
(३) पुँजीपतिहरू एकले अर्कोलाई समाप्त पार्ने उद्देश्यले प्रतिस्पर्धामा उत्रन्छन्, त्यसले एकाधिकार पुँजीको विकास हुन्छ । समाजको ठुलो पुँजी र सम्पत्ति एकाधिकार पुँजीको हातमा पुग्दा जनताको क्रयशक्ति समाप्त हुन्छ । बजारको सामान बिक्दैन र कारखानाहरू बन्द हुन्छन्, बन्द–व्यापार र बैङ्क चल्दैनन्, मजदुरहरू कामबाट निकालिन्छन् । यसलाई आर्थिक सङ्कट भनिन्छ । माक्र्सले भन्नुभएजस्तै हरेक १० वर्षमा एकपटक पुँजीवादी व्यवस्था आर्थिक सङ्कटमा फस्छ । यही आर्थिक सङ्कटबाट ऊ कमजोर हुन्छ । बजार विस्तार, पुँजी निर्यात र नाफाको निम्ति पुँजीपतिवर्गले युद्धको निम्ति तयारी गर्छ । युद्ध अनुत्पादक प्रक्रिया हो, यसले समाजमा झन् बढी सङ्कट निम्त्याउँछ । पुँजीवादको क्यान्सर आर्थिक सङ्कट पनि हो ।
(४) एकाधिकार पुँजीको विकास पुँजीवादको उँचो अवस्था हो । त्यसले साम्राज्यवाद र युद्धलाई जन्माउँछ । साम्राज्यवादी देशहरू आ–आफ्नो स्वार्थको निम्ति युद्ध गर्छन्, आर्थिक सङ्कट, मजदुर आन्दोलन, राष्ट्रिय स्वाधीनता आन्दोलन र समाजवादी क्रान्तिहरूबाट पुँजीवादको अन्त्य निश्चित छ ।
समाजवादको स्थापनाको उपाय
(१) विवेक र हृदय परिवर्तनले २–४ जना शोषकहरूको मन पग्लेला तर पुँजीवादी व्यवस्थामा परिवर्तन आउँदैन । स्वाभाविकरूपले बच्चा नजन्मँदा सुडेनीले कैची प्रयोग गरेजस्तै क्रान्ति सशस्त्र हुने गर्छ । पुँजीपतिवर्गले आफ्नो नाफा र सत्ता सजिलै छोड्दैन ।
(२) शान्तिपूर्ण सङ्क्रमण वा संसदीय उपायबाट समाजवादको स्थापना कल्पनामात्रै हो, यसले क्रान्तिसँग छलछाममात्रै गरेको हुन्छ ।
(३) समाजवादको स्थापनाको अर्थ सर्वहारा वर्गको हुकुम हो । यो एक निश्चित अवधिको निम्ति लागू हुन्छ । त्यो अवधि ऐतिहासिक अवधि हुनेछ ।
समाजवादी र साम्यवादी समाजको स्थिति
समाजवाद कामदारवर्गको हुकुम
(१) उत्पादनका मुख्यमुख्य साधन सामाजिकीकरण (खेत, उद्योगधन्दा र सेवा)
(२) योग्यताअनुसार काम, कामअनुसार ज्याला
(३) व्यक्तित्व विकासमा समान अवसर
(४) शोषणविरुद्धको अधिकार
साम्यवाद
(१) शोषणरहित र वर्गविहीन समाज
(२) राज्य ओइलाएर जाने
(३) शारीरिक र मानसिक श्रमको भेद हट्ने
(४) किसान र मजदुरको भेद हट्ने
(५) योग्यताअनुसारको काम र आवश्यकताअनुसार ज्याला पाउने
(६) गाउँ र सहरको भेद हट्ने
विरोधीहरूको आलोचना
(१) भौतिकवादी दृष्टिकोणले भाग्यवादको वकालत गर्ने र मानिसको अवमूल्यन हुन्छ ।
(२) राज्यको महत्व झन्झन् बढ्दै गएको देख्दादेख्दै राज्य ओइलाएर जाने सिद्धान्त असत्य छ ।
(३) द्वन्द्वात्मक भौतिकवाद वस्तुमा लागु हुने दर्शन मानव जीवनमा लागु गर्नु गलत छ ।
(४) आर्थिक विषयमा मात्र जोड दिएर समाज परिवर्तनमा सामाजिक क्षेत्रलाई बेवास्ता ग¥यो ।
(५) राजकीय उद्योगले मानिसको अगुवाइ र रचनात्मकता ¥हास हुन्छ, उत्पादन घट्छ, वर्गसङ्घर्षलाई बढी जोड र अतिरिक्त मूल्यलाई प्राथमिकता दिनु मजदुरवर्गलाई अँध्यारोमा राख्नु हो ।
(६) मजदुरवर्गको हुकुममा त्यही वर्गको तानाशाही हुनेछ ।
(७) राज्य कुनै वर्गको हुने गर्दैन, ऐन कानुनमा परिवर्तन आवश्यक छ ।
आलोचनाको जवाफ
(१) यान्त्रिक भौतिकवाद होइन कामदारवर्गको अगुवाइले आजुमा पु¥याउँछ ।
(२) आजको महत्व भोलि समाप्त हुने धेरै विषय छन् ।
(३) मानिस पनि भौतिक वस्तुकै निर्माण हुँदा भौतिक नियम मानिस र समाजमा पनि लागु हुन्छ ।
(४) समाजमा हरेक कुरा अर्थतन्त्रले निर्धारित गर्छ । अर्थतन्त्र भन्नाले उत्पादनमा साधनहरू ( शक्तिहरू) र तिनीहरूको सम्बन्ध हो ।
(५) समाजवादी देशहरूको प्रगतिले मानिसको रचनात्मकता ह्रास हुने आरोप असत्य साबित गर्छ ।
(६) राज्य स्वयम् दमनकारी यन्त्र हो, राज्यविहीन व्यवस्थामा मात्रै तानाशाही हुँदैन । मानिसको सेवा नगर्ने र काम नगर्ने वस्तु बिलाउनु स्वाभाविक हो ।
(७) दास युगमा राज्य दास मालिकहरूको थियो । यस्तै सामन्त र पुँजीपतिवर्गको थियो र समाजवादमा मजदुरवर्गको हुन्छ । वर्गभन्दा बाहिर ऐन कानुन बन्दैन ।
– ‘समाजवादबारे’ पुस्तकबाट