‘नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवस २०८० माघ १० गते जिल्ला, स्थानीय तह, वडा र टोलसम्म पार्टी समितिहरूलाई पार्टीको प्रकाशन, क्रान्तिकारी नेताहरूको जीवनी, विश्वका मजदुर र कम्युनिस्ट आन्दोलनहरूबारे अध्ययन र अन्तरक्रिया गराई कार्यकर्ता, शुभेच्छुक र जनताको सांस्कृतिक र राजनैतिक स्तर उठाउने साथै अध्ययन र अन्तरक्रियामा सम्बन्धित विषयको इतिहास र देशको भूगोलसमेत अध्ययन गर्ने गराउने भएको छ ।
नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनपछिको पाँचौँ केन्द्रीय परिषद्ले उक्त निर्णय गरेको हो । पुस २७ र २८ गते पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँको अध्यक्षतामा बसेको केन्द्रीय परिषद्ले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्तावहरू पारित गर्दै टुङ्गिएको छ । आगामी माघ १० गते नेमकिपा स्थापना भएको ५० वर्ष पुग्दै छ । २०३१ साल माघ १० गते नेमकिपाको स्थापना भएको हो । समाजवादी देश सोभियत सङ्घले साना र कमजोर देशहरूमाथि आर्थिक सहयोगको नाउँमा हस्तक्षेप र थिचोमिचो गरेको सम्बन्धमा रुसलाई हेर्ने दृष्टिकोण र भारतको सहयोगमा पूर्वी पाकिस्तान स्वतन्त्र देश (बङ्गलादेश) घोषणा गरेको बारे तत्कालीन नेकपामा आएको मत भिन्नता नेपाल मजदुर किसान पार्टी स्थापनाको आधार बन्यो । का. रोहितले ‘रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन र ‘नेपाल कम्युनिस्ट आन्दोलनमा देखा परेका खोटा विचारहरूको खण्डन पुस्तक लेखेर मतभेद जारी गरेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएर नेमकिपा स्थापना भएको हो । शत्रु र मित्रबारे र पञ्चायती सरकारले गरेको निर्वाचनमा भाग लिनेबारे पनि फरक फरक दृष्टिकोण हुनु पनि पार्टी अलग हुनाका कारणहरू हुन् ।
माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अवलम्बन गर्दै आएको नेपाल मजदुर किसान पार्टी स्थापनाकालदेखि आधा शताब्दीसम्म सामन्तवाद, पुँजीवाद, उपनिवेशवाद र साम्राज्यवादविरुद्ध अविचलितरूपमा सङ्घर्षरत छ । पद र पैसाको लोभ नगरी कामदारवर्गलाई शासकवर्गको रूपमा उठाउने उद्देश्यका साथ जनताको सेवामा समर्पित भएर इमानदारीपूर्वक काम गरिरहेको नेपालको एकमात्र पार्टी हो, नेपाल मजदुर किसान पार्टी ।
नेमकिपालाई समाप्त पार्न धेरैले धेरै कोसिस गरे तर सफल भएन । तत्कालीन पञ्चायती व्यवस्थाले २०४५ सालमा राज्य स्तरबाट ‘भक्तपुर काण्डको षड्यन्त्र रची समाप्त गर्न खोज्यो, तर त्यो सफल भएन । उल्टै पञ्चायती व्यवस्था नै समाप्त भयो । बहुदलीय व्यवस्था पुनःस्थापनापछि ‘एमालेको डोजर भक्तपुरमा’ भनी नेमकिपाविरुद्ध एमालेले अभियान चलायो । त्यो पनि सफल नभएपछि नेमकिपा फुटाउने कोसिस गर्यो । नेमकिपाबाट निर्वाचित सांसद र विभिन्न तहका जनप्रतिनिधिहरू एमालेमा प्रवेश गराए र नेमकिपा फुटाउने असफल कोसिस ग¥यो तर एमाले नै विभाजन भयो । २०६२।६३ पछि माओवादी पनि पञ्च र एमालेकै कामलाई निरन्तरता दिँदै नेमकिपाविरुद्ध खनियो । माओवादी अध्यक्ष प्रचण्ड स्वयंले नेमकिपालाई फुटाउने प्रयास गरेको स्वीकारेका छन् । सार्वजनिकरूपमा उनले भने, ‘नेमकिपाले जसरी भक्तपुरमा काम गरेको छ शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा तोड्न भनी ठुला ठुला पार्टीहरूले तोड्न बल गरे तर सकेनन् ।
हो, नेमकिपा पद र पैसाको लागि राजनीति गर्न स्थापना भएको पार्टी होइन, कसैले चाहँदैमा तासको घरझैँ भत्किनलाई । नेमकिपा विचार र सिद्धान्तको आधारमा बनेको पार्टी हो । विचार र सिद्धान्तबाट प्रशिक्षित कार्यकर्ताहरूबाट बनेको पार्टी कस्तो हुँदो रहेछ भन्ने एक उदाहरण प्रस्तुत गर्दै छ आज नेमकिपाले । देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु नै राजनीति हो भन्ने मान्यता नेमकिपाले व्यवहारमा प्रमाणित गर्दै छ । अनेक किसिमका हन्डर, षड्यन्त्र र कठिन सङ्घर्षबिच नेमकिपा सतिसालझैँ दरो भएर नेपालको कम्युनिस्ट आन्दोलनको एक प्रकाशस्तम्भको रूपमा उभिएको छ ।
बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, मोहियानी हक सुरक्षाको आन्दोलनजस्ता किसान आन्दोलनको जगमा उठेको नेमकिपा महँगीविरोधी र भ्रष्टाचारविरोधी आन्दोलन गर्दै देशको राजनैतिक आन्दोलनमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । पछिल्लो चरणमा भएका सुन काण्ड, ललिता निवासको जग्गाकाण्ड, नक्कली भुटानी शरणार्थी काण्डलगायतका विषयमा पनि गलत गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने आवाज उठाउँदै आएको छ । भारतले नेपालको सुस्ता, महेशपुर इलाम, लालापट्टी र तिलाठी तथा कालापानीलगायत विभिन्न ठाउँको भूमि अतिक्रमणको विरोधमा होस् या लाखौँ भारतीय नागरिकलाई नेपाली नागरिक बनाउने उद्देश्यले पारित देशघाती नागरिकता विधेयकको विरोधमा होस् नेमकिपा सदन र सडकमा एक्लै भए पनि सङ्घर्षरत छ । नेपाल भारतबिच भएका राष्ट्रघाती सन्धिहरू महाकाली सन्धि, गण्डक, माथिल्लो कर्णाली, पश्चिम सेती, अरुण तेस्रोलगायतको सन्धि होस् वा हालै भएको नेपाली भूमिमा सरकारको स्वीकृतिबिना २० करोड भारतीय दूतावासले खर्च गर्न पाउने सम्झौता होस्, नेमकिपाले निरन्तर विरोध गर्दै आएको छ ।
भियतनाम, इराक, लिविया, अफ्गानिस्तानलगायतका देशहरूमाथि अमेरिकी साम्राज्यवादले गरेको बर्बर आक्रमणको विरोध, प्रजग कोरिया, क्युवामाथि गरेको नाकाबन्दी र आक्रमणको धम्कीको विरोधमा तथा क्युवा, अफ्गानिस्तान, इराक, लिविया, प्रजग कोरिया न्यायप्रेमी जनताप्रति ऐक्यबद्धता आन्दोलनमा समर्थन जनाउँदै नेमकिपाले अन्तर्राष्ट्रिय कर्तव्य पनि पूरा गर्दै आएको छ ।
पछिल्लो चरणमा देशलाई नै अमेरिकी साम्राज्यवादको उपनिवेश बनाउने एमसीसी सम्झौताको विरोधमा नेमकिपा सङ्घर्षरत छ भने अमेरिकी सहयोगमा इजरायलले प्यालेस्टिनी जनतालाई आफ्नो भूमिबाट विस्थापित गर्न गरिरहेको बमबारी, नरसंहारको विरोध तथा प्यालेस्टिनी जनताको देशभक्तिपूर्ण आन्दोलनको समर्थनमा ऐक्यबद्धता जनाउँदै आएको छ ।
नेपाल मजदुर किसान पार्टी सिद्धान्तको मामिलामा कसैसित सम्झौता गर्दैन । सिद्धान्तविपरीत काम गरेर जनतालाई ठगिरहेका एमाले र माओवादीको मकुन्डो च्याट्ने काम पनि नेमकिपाले गर्दै छ । कम्युनिस्ट पार्टीको नाउँमा पुँजीवादी सरकार सहभागी हुने र सरकारको नेतृत्व गरेर पुँजीवादको जगलाई बलियो बनाउनेहरूको विरुद्ध नेमकिपाले सैद्धान्तिक सङ्घर्ष जारी राखेको छ । नेमकिपाले पनि चुनावलाई प्रतिक्रियावादीहरूलाई नङ्ग्याउन र जनताको चेतनास्तर उठाउन उपयोग गर्दै आएको छ । शान्तिपूर्ण अवस्थामा जनताबिच काम गर्न चुनावको उपयोग गर्नु उचित भए पनि पुँजीवादी सरकारमा सामेल हुनु भनेको पुँजीवादमै पार्टीलाई बिसर्जन गर्नु हो भन्नेबारे नेमकिपा प्रस्ट छ ।
नेमकिपा निर्वाचनबाट समाजवाद स्थापना हुन्छ भन्नेमा विश्वास गर्दैन । चुनावलाई जनताको राजनैतिक र सांस्कृतिक स्तर उठाउने एक राजनैतिक सङ्घर्षको रूपमा मात्रै लिन्छ । जनताको चेतनास्तर नाप्ने ‘ब्यारोमिटर’ को रूपमा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र गएर पनि जनताको सेवा गर्ने नीतिअनुरूप नेमकिपाले निर्वाचनलाई उपयोग गर्दै आएको छ । वर्तमान समयमा स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा भाग लिएर निर्वाचित प्रतिनिधिहरूले निरन्तर देश र जनताको सेवा गरिरहेका छन् ।
२०३६ सालको आन्दोलन र २०४६ सालको आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको नेमकिपा २०६२÷६३ सालको आन्दोलनलाई निर्णायक तहमा पु¥याउने संसद पुनःस्थापनाको माग गर्ने पहिलो पार्टी हो । पछि त्यो नै ७ दलको साझा माग भयो र संसद् पुनःस्थापनाले नै देशलाई गणतन्त्रको बाटोमा जान सहजता प्रदान गर्यो ।
जनआन्दोलनमा जनताले अपेक्षा गरेअनुरूप शासक दलहरूले काम गर्न सकेनन् । पञ्चहरूकै पदचापमै नेका, एमाले र माओवादीजस्ता शासक दलहरू हिँड्दै छन् । जनतामा ठूला निराशा, आक्रोश र असन्तोष बढ्दै छ । त्यही कारण डेढ दशकअघि मसानघाटमा पु¥याइएको राजतन्त्र पुनःस्थापनाको कुरा गर्दा पनि हजारौँ जनता त्यसको पछि लाग्दै छन् ।
शासक दलहरूले पार्टीको सिद्धान्त र निर्वाचन घोषणापत्रअनुसार काम गरेनन् । दलगत र व्यक्तिगत फाइदाकै निम्ति मात्र काम गरे । गरिब र कामदार जनताले निरङ्कुश राजतन्त्र, संवैधानिक राजतन्त्र र गणतन्त्रमा कुनै भेद देखेनन् । विगतमा राजा र राजतन्त्रले पाइरहेको सुख सुविधा आज शासक दलका नेता र कार्यकर्ताले भोग्दै छन्, हिजो १ जना राजाका ठाउँमा आज सयौँ राजाहरू जन्मे, देश खोक्रो भयो भने जनताले आवाज उठाउन थालेका छन् । नेपाली जनताको शासक दल, नेता र कार्यकर्ता तथा राजनीतिप्रति नै वितृष्णा जाग्यो । परिणामतः स्वतन्त्र भन्नेहरू ठाउँ ठाउँमा जित्न थालेका छन् । शासक दलहरूले आफ्नो व्यवहारमा सुधार गरेनन् भन्ने आगामी दिनमा त्यो क्रम अझ बढ््ने सम्भावना छ ।
नेमकिपाले आजसम्मको इतिहासमा सैद्धान्तिकरूपमा कसैलाई औँला ठड्याउने अवसर दिएन । हरेक विषयमा परिपक्व निर्णय गर्दै जनतालाई समाजवादी बाटोमा अगाडि बढाउन क्रियाशील छ । यो परिपक्व, कुशल र दूरदर्शी नेतृत्वको कारण सम्भव भएको हो । आजका नयाँ पुस्ता पार्टीका अगुवाहरूले गर्नुभएको त्याग, तपस्या र बलिदानबाट सिक्दै अझ सशक्त भएर अगाडि बढ्ने अपेक्षा गर्न सकिन्छ ।
नेमकिपाले बोकेको क्रान्तिकारी झन्डा नै अब यो देशको कम्युनिस्ट पार्टीको झन्डा बन्दै छ । त्यसलाई ढाल्न धेरै प्रतिक्रियावादीहरूले कोसिस गरे, तर ती सफल भएनन् । त्यस्ता प्रतिक्रियावादी षड्यन्त्रहरूलाई असफल पार्दै नेपाल मजदुर किसान पार्टी थप जुझारु भएर अगाडि बढ्नेछ । बिनापद र पैसाको लोभमा नेमकिपाका नेता कार्यकर्ताहरू आधा शताब्दी लडे, आवश्यक परे अर्को शताब्दीयौँसम्म लडिरहनेछन् । देशमा जनताको प्रजातन्त्र, समाजवाद हुँदै साम्यवादी समाज स्थापना नहुन्जेल अथक र अविरल सङ्घर्ष गरिरहनेछन्, हिमनदी पग्लेर बगेको गण्डकी, कोसी, कर्णाली र महाकालीको चोखो पानीसरि । यो नै नेमकिपा स्थापनाको ५० वर्षको अवसरमा नेमकिपाका कार्यकर्ता, शुभचिन्तकहरूप्रति हार्दिक शुभकामना र बधाई ।
अनलाइन मजदुरबाट