अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले हालै अमेरिकी सहयोगमा गाजामा भएको अर्को पत्रकारको हत्यालाई ‘कहालिलाग्दो त्रासदी’ भने । मानौँ, ती पत्रकार चट्याङ बर्जिएर, कार ठोक्किएर वा यस्तै कुनै दुर्घटनामा परेर मरेका हुन् ।
जनवरी ७ का दिन विदेशमन्त्री ब्लिङकेन कतारको एक पत्रकार भेलामा बोल्दै थिए । उनलाई हालै हत्या गरिएका अल जजीराका पत्रकार हम्जा ददुको विषयमा टिप्पणी गर्न भनियो । दुई पत्रकारका साथ कारमा यात्रा गर्दै गर्दा हालै इजरायली हवाई हमलामा उनी मारिएका थिए । सहकर्मीमध्ये अर्का एक पत्रकार पनि मारिए । हम्जा ददु अलजजीराका गाजा शाखा प्रमुख वाएल ददुका जेठा छोरा थिए । यसअघि अक्टोबरको अन्त्यतिर नै इजरायली बमबारीमा वाएलकी पत्नी, छोरा, छोरी र नवजात नातिको हत्या भइसकेको छ ।
निर्दोष पत्रकारहरूको हत्याको संरा अमेरिकाले निन्दा गर्छ कि गर्दैन भन्ने अलजजीराका पत्रकारको प्रश्नमा जवाफ दिँदै ब्लिङकेनले भने, “तपाईँको सहकर्मी वाएल अल–ददुले भोग्नुपरेको झन्डै अकल्पनीय क्षतिका कारण म अत्यन्त दुःखी छु । म आफैँ पनि बाबु हुँ । उहाँले अनुभव गर्नुपरेको त्रासदीको म कल्पना पनि गर्न सक्दिन । एकचोटि होइन, उहाँले दुईचोटि त्यो पीडाबाट गुज्रिनुप¥यो । अति धेरै निर्दोष प्यालेस्टिनी महिला, पुरुष, बालबालिका – सर्वसाधारण तथा प्यालेस्टिनी र अन्य देशका पत्रकारहरूको पीडा अकल्पनीय छ ।”
ब्लिङकेनले गाजामा धेरै पत्रकारहरू मारिएको स्वीकारे । त्यसकारण, त्यहाँ मानवीय सहायता पठाउनुपर्ने र स्थायी शान्ति हासिल गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । तर, ब्लिङकेनले इजरायलको भत्र्सना गरेनन् । गाजामा इजरायलले पत्रकारहरूलाई नियोजितरूपमै हत्या गरिरहेको सुस्पष्ट र प्रामाणिक तथ्य बनिसकेको छ । इजरायलको निन्दा गर्नुको साटो ब्लिङकेनले ददुको मृत्युमा गहिरो श्रद्धाञ्जली अभिव्यक्त गरे र त्यसलाई निस्क्रिय ‘त्रासदी’ को रूपमा चित्रण गर्न खोजे । जब कि ददुको मृत्यु सक्रियरूपमा गरिएको हत्या हो । उनको हत्यामा उन्नत सैन्य प्रविधिको प्रयोग गरिएको थियो । यो प्रविधि संरा अमेरिकाकै प्रयोजन, सहयोग र पैठारीमा इजरायल पुगेको थियो ।
चरम दक्षिणपन्थी इजरायलीहरू र उदारवादी अमेरिकीहरूमध्ये सबैभन्दा ठुला दुष्ट को हुन् भनी छुट्याउन गा¥हो छ । किनभने इजरायली अतिवादीहरूले खुलेआम गाजालाई मानव वधशाला बनाइरहेका छन् भने अमेरिकी उदारवादीहरूले खुलेआम त्यो मारकाटको प्रयोजन गर्दै छन् । इजरायलीहरूलाई सोत्तर पार्न इजरायललाई सघाउनुका साथै यी उदारवादीहरूले हामीसँग आँखामा आँखा मिलाउँदै एउटा दुःखद दुर्घटनामा परी गाजामा एउटा व्यक्ति मारिएको सुनेर गहिरो र भावपूर्ण माफी पनि माग्दै छन् ।
सामाजिक मनोरोगीले गर्ने यसप्रकारका काम ब्लिङकेनले यसअघि पनि गर्दै आएका हुन् । गत महिना उनले एउटा ट्वीट लेखे, “यो वर्ष पत्रकारिताको लागि विश्वभरि नै अत्यन्त खतरनाक वर्ष रह्यो । आफ्नो काम गरेकै हुनाले धेरै पत्रकार मारिए, धेरै घाइते भए, सयौँ हिरासतमा परे† आक्रमण, धम्की खेपे† अङ्गभङ्ग भए । जनतालाई सटिक र तत्काल सूचना उपलब्ध गराएकोमा सञ्चार जगतप्रति अत्यन्त आभारी छु ।”
यो टाउको खाने बकवासमा कसैले विश्वास गर्ला कि ? ब्लिङकेन यसरी भन्दै छन् मानौँ उनको सरकार नै यीमध्ये धेरै हत्याका लागि जिम्मेवार नै छैन । मानौँ, इजरायलले विगत तीन महिनादेखि जङ्गली तवरले पत्रकारहरू लुकिरहेका स्थानहरू खोजीखोजी गोली नै हानेन ।
ब्लिङकेन लासैलासको चाङमाथि उभिएका छन् । साथै, ती अभागी मृतकहरूको दुःखमा मुन्टो झुकाएर शोक पनि मनाउँदै छन् । यस्तो व्यक्तिलाई मनोरोगी (साइकोप्याथ) नभनेर के भन्ने ?
वास्तवमा संरा अमेरिकाको विदेशमन्त्री बन्नका लागि व्यक्ति एक हदसम्मको साइकोप्याथ नै हुनुपर्छ । युद्धअपराधी हेनरी किसिन्जरले एकचोटि भनेका थिए, “त्यो उपलब्धिका लागि त्यति मूल्य त चुकाउनै पथ्र्यो ।” अल्ब्राइटले भनेका थिए, “हामीले ढाँट्यौँ, छल्यौँ र चो¥यौँ ।” पोम्पेओ अमेरिकी सरकारहरूको लामो परम्पराका सबैभन्दा दुष्ट व्यक्ति थिए । यस्ता व्यक्तिहरू अमेरिकाको विदेशमन्त्री बन्दै आएका छन् । वास्तवमा विकृत मनोदशा नै यो पद पाउने योग्यता बन्दै आएको छ ।
किनभने, विदेशमन्त्री भनेको अमेरिकी कूटनीतिको आधिकारिक प्रमुख हो । अन्य सामान्य मुलुकले कूटनीतिलाई जसरी हेर्छन्, त्योभन्दा धेरै फरक नजरले अमेरिकी साम्राज्यले ‘कूटनीति’ लाई हेर्छ । व्यवहारमा हेर्दा अमेरिकी ‘कूटनीति’ भन्नु नै एकपछि अर्को देशमा जाँदै युद्ध, भोकमरी, नाकाबन्दी, छद्म द्वन्द्व र पश्चिम प्रायोजित सत्ताविद्रोहको लागि अन्तर्राष्ट्रिय साझेदार खोज्नु र त्यसका लागि साँठगाँठ गर्नु बन्न पुगेको छ । सिद्धान्ततः अमेरिकी विदेश मन्त्रालय शान्तिको मन्त्रालय हुनुपथ्र्यो । तर, व्यवहारमा यो सूक्ष्म र कपटी सैनिक मन्त्रालय बनेको छ ।
अमेरिकी साम्राज्य कपटी लोकाचारका अगाडि छ । एन्टोनी ब्लिङकेन त्यसका उम्दा नमुना हुन् । टोनीजस्तो अमेरिकी साम्राज्यको गतिलो प्रतिनिधि भेट्न गा¥हो छ । रगतपच्छे लासैलासको पहाडमाथि उभिएर टोनी आफैँले भर्खर मारेका व्यक्तिहरूबारे दुर्भाग्यपूर्ण दुघर्टनामा मारिएको सुनेर आफ्ना चिसा र मृत आँखाले तपाईँलाई नियाल्दै आफू मर्माहत भएको सुनाउँदै छन् । रातो शोकसन्तप्त जूनमुनि आफ्नो संवेदनाहीन बाँसुरी बजाउँदै छन् ।
स्रोत : ग्लोबल रिसर्च
अनुवाद : गणेश