२० पुस, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकामा संचालित २७ सहकारी संस्थाका संचालक तथा सहकारीकर्मीहरुसंग पालिकाले अन्तरकृयात्मक बैठक सम्पन्न गरेको छ। बर्तमान समयमा सहकारीमा देखिएको समस्या, जोखिम र संस्थागत बिकासबारे कञ्चन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत तथा सहकारी शाखा प्रमुखबिच अन्तरकृयात्मक बैठक भएको हो।
अन्तरकृया कार्यक्रममा आफ्नो धारणा राख्दै कञ्चन गाउँपालिाकाका अध्यक्ष नवराज ढकालले बर्तमान समयमा सहकारी संस्थाहरुमा देखिएको जटिल समस्या र जोखिम आउन नदिन कञ्चनका हरेक सहकारी संस्थाहरुले सहकारीको ऐन, नियम र कार्यविधिलाई पुर्ण रुपमा पालना गर्नु पर्नेमा जोड दिनु भयो।
यसैगरी उपाध्यक्ष मौसमी थापा मगरले सहकारीमा आवद्ध शेयर सदस्यहरुको बचतलाई सुरक्षित गरी भवितब्यमा हुन सक्ने कुनै पनि जटिलतालाई ध्यान दिदै नियम सम्बत् सहकारीलाई संचालन गर्ने जिम्मेवारी संचालक समितिको बढी जिम्मेवारी र दायित्व हुने बताउनु भयो।
प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले सहकारी स्थापन र संचालनको मापदण्ड विपरित संचालित कुनैपनि सहकारीको खारेजी र नियमन गर्न सकिने भन्दै बदनियत पुर्वक शेयर सदस्यहरुबाट संकलित बचत रकमको अपचलन र खराव कर्जाको अवस्था बढी हुन लागेमा ती सहकारीहरुको नियम बमोजिम नियमन र कार्वाहीको दायरामा लैजान सकिने बताउनु भयो।
सहकारीको नीतिगत बिषयहरुबारे ध्यानाकर्षित गर्दै सहकारी संस्थाका संचालकहरुलाई शेयर सदस्यहरुलाई कर्जा लगानी गर्दा उनिहरुले बचत गरेको बढीमा ९० प्रतिशत सम्म लगानी गर्नु पर्ने र आफन्त, संगी साथी तथा छिमेकी हो भन्दै मापदण्ड विपरित कुनै पनि सहकारीबाट कर्जा लगानी नगर्न नगराउन बिशेष आग्रह समेत प्रमुख प्रशासकिय अधिकृत गौतमले गर्नु भयो।
यसैगरी कार्यक्रममा प्रशासन तथा सहकारी शाखा प्रमुख गिरीराज अर्यालले कोपोमिस मार्फत सहकारीको हरेक गतिविधिहरुको अपडेट गर्नु पर्ने, सहकारीको समष्टीगत विवरण भरेर सहकारीलाई चुस्तता बनाउनु पर्नेमा जोड दिनु भयो। पुस मसान्तसम्म सबै सहकारीहरुले आफ्नो संस्थाको अनिवार्य रुपमा साधारण सभा गराई सोके प्रतिवेदन पालिकामा पेश गर्न आग्रह गर्दै सहकारी प्रमुख अर्यालले हरेक सहकारीले संस्थाको सूचना अधिकारी अनिवार्य तोक्नु पर्ने र मंसिर मसान्त भित्र सम्पत्ती विवरण पेस नगरेका सहकारीहरुले समयमा पेस गर्न नसक्नुको कारण सहितको आशयपत्र नियामक निकायमा अनिवार्य पेस गर्न समेत निर्देशन दिनु भएको थियो।
अन्तरकृया कार्यक्रममा सहकारी सञ्जाल कञ्चनका अध्यक्ष पुष्पराज शर्मा, मलावरदेवी दुग्ध सहकारी संस्थाका अध्यक्ष शसीधर सापकोटा, निश्चल कृषि सहकारी संस्थाका अध्यक्ष जगी लाल थापा, जनसुधार स्वालम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश उपाध्याय, लहर सामाजिक महिला उद्यमी सहकारी संस्थाका अध्यक्ष राधिका चौधरी, दिदी बहिनी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमित्रा बुढाथोकी, अटल सकोसका युवराज शर्मा लगायतले आ आफ्नो सहकारी संस्थाको अवस्था, चुनौती र समस्याका बिषयमा जानकारी गराउदै पालिकाले सहकारीहरुको अनुगमन गरी राम्रो गर्ने संस्थाहरुलाई प्रोत्साहन र खराव सहकारीहरुलाई नियमन गर्नु पर्ने सुझाव प्रस्तुत गर्नु भएको थियो।
पालिका अध्यक्ष नवराज ढकालको अध्यक्षतामा भएको अन्तरकृयात्मक बैठकको सहजिकरण प्रशासन तथा सहकारी प्रमुख गिरीराज अर्यालले गर्नु भएको थियो। कार्यक्रम गाउपालिकाको सभाहलमा सम्पन्न भएको हो।