उपस्थित महिला तथा सज्जनवृन्द । आज यस सभामा केही शब्द बोल्ने मौका मिलेकोमा खुशी लागेको छ । आज हामी कताकता हराइरहेका छौं । कताकता आफैं हारिरहेका छौं । म जता जाउँ, जहाँ पुगुँ, जनआवाज उठेको सुन्छु । मलाई आउ हाम्रो देश बनाउ र देश बचाउ, देशको सभ्यता र समृद्धी बढाउ । यहाँ उभिएर म भन्दछु । म बोलिरहेछु । देश बनोस, देश बचोस भन्ने आफ्ना पुर्ख्यौली भावना इच्छा आकांक्षा पोखिरहेछु ।
म कतै अन्त गएको छैन । सदा–सदा नेपालीको साथमा छु । नेपालभित्रै छु । नेपालीहरुको सुखदुख, सुविधा–असुविध वाधा पीडा तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु । समाज कानून र व्यवस्थाबिना अस्तित्वमा रहनु हुँदैन । देश सग्लो र बलियो रुपमा अघि बढ्नुपर्छ । तर आज देश जर्जर भएको छ । बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवा जनशक्ति विदेशिएको छ । देशको माया नभएर होइन, अस्वस्था बिगे्रेर, असन्तोष, आक्रोश तथा विवश भएर हाम्रा युवा बाहिरिएका छन् । यस्तो अवस्थाको अन्त्य हुनैपर्छ ।
देशमै उत्पादन, उद्यम, इलम, सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नु परेको छ । देशलाई खोक्रो पार्ने चलिरहेको आजको चलनचल्तिमा व्यापक हेरफेर र सुधार गर्नैपर्छ । राष्ट्रिय उत्साह प्रतिभाको महान निवास हो । वीरता, पराक्रम, पुरषार्थ र उच्च मूल्य-मान्यतामा रहेको हाम्रो गौरवशाली देश अहिले सबैले हेप्ने, छड्के आँखाले हेर्ने अपमानितजस्तो बन्दै गएको स्वाभिमानी जनताले अनुभूत गरेका छन् ।
हाम्रा बुढापाका, अनुभवीहरुको विचार भन्नुपर्दा हाम्रो राष्ट्रको अस्तित्वमाथि आज खिया लाग्दै गइरहेको छ । हामी झन् परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गइरहेका छौं । हाम्रो विचारमा यसप्रकार हामी खिइदै जानु किमार्थ पनि राम्रो होइन । सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचिरहेका छौं । नेपालभित्र हुने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँ–बायाँ, भित्री तथा बाह्य शक्तिको टेको चाहिन्छ भन्ने भाष्य हामीकहाँ छ ।
तर हामीलाई लाग्छ, नेपाल राष्ट्रको एकीकरणदेखि आधुनिकीकरणसम्मका यावत प्रक्रिया हामी नेपालीहरुकै बलबुता र आफ्नै राष्ट्रिय भावधाराबाटै सम्पादन भइआएका हुन् । त्यसैले के गर्दा र के–कस्तो विधि–अवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कसप्रकार अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ, त्यो हामी आफैंले तय गर्ने विषय हो । हामी सबैको दृढ प्रयत्न यसै अनुरुप हुनुपर्छ भन्ने हामीलाई लाग्छ । त्यसैले म भन्छु, आउ अब हामी सबै एकै ठाउँमा उभिऔं ।
अनि सोचौं र सबै कुराको समिक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौं । देश हामीले नै बनाउने हो । हाम्रो स्रोत र साधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो । हामीमात्र ठीक अरु बेठीक, हाम्रो बाटो मात्रै सुबाटो अरुको कुबाटो भन्ने द्वन्द्व, विग्रह, विवादबाट उठेर हामी नेपालको माटो र नेपाली बाटो समातेर हिँडौं । हामी सबैको भविष्य सुख(शान्ति यसैमा छ । विगतका सबै दुख विर्सिदिउँ, मायाले मायालाई भरिदिउँ । घृणाको आगोलाई कतै जलाइदिउँ । भाग्यको सिमा हुँदैन । हुनु पनि हुँदैन । अब भाँचिएको टुक्राहरु जोडिदिउँ । उत्पिडनको गुनासो कहिलेसम्म सुन्ने रु पहिले अन्याय अत्याचारबाट मुक्त गरिदिउँ । अनुहार फेरि–फेरि षडयन्त्र नगर । त्यस्ताको चालबाट आफूलाई बचाइदिउँ ।
सबैमा फेरि एकपटक हाम्रो धन्यवाद । जय नेपाल ।