तारा अलामी
गाजामाथिको इजरायलको चालु आक्रमणलाई दुई कुनियतबाट अलग्याउन सकिन्न । एक, प्राकृतिक स्रोतसाधनको चोरी । दुई, प्यालेस्टिनभरि जीवनलाई सघाउने पूर्वाधारहरूको नियोजित विनाश । गाजामाथि आक्रमण सुरु भएको १० दिन मात्र पुगेको थियो । विश्व स्वास्थ्य सङ्गठनले गाजामा ‘२४ घण्टा मात्र धान्न सक्ने पानी, बिजुली र इन्धन बाँकी छ’ भनी घोषणा ग¥यो । अक्टोबर २४ सम्ममा इजरायली बमबारीले क्रूर रूप लिइसकेको थियो । त्यो दिन गाजाको स्वास्थ्य मन्त्रालयले इन्धन अभावका कारण ४८ घण्टाभित्र धेरै अस्पतालहरू बन्द हुने जनाउ दियो । बेत लाहिया सहरको चर्चित इन्डोनेसियाली अस्पताल पनि बन्द हुने अस्पतालहरूको सूचीमा थियो । नोभेम्बर २० मा संरा अमेरिकाले गाजापट्टीको समुद्री क्षेत्रमा ग्यास खानीबारे अध्ययन गरिरहेको र त्यसलाई ‘आर्थिक पुनर्जीवन योजना’ को हिस्सा मानेको खबर आयो । अमेरिकी आडमा गाजामा यहुदीवादी सत्ताले आक्रमण गर्नुको भित्री कारण ग्यास खानी कब्जा गर्नु हो भनी केही पर्यवेक्षकहरूको बुझाइ रह्यो । तर, हामीले गाजामा जातीय सफाया चलाउन नै यो युद्ध भड्काइएको हो र यो जातीय सफाया यहुदीवादी बस्ती–उपनिवेशवाद तथा साम्राज्यवादको योजनाअनुसार चलिरहेको छ भनी बुझ्नुपर्छ ।
गाजा म्यारिन ग्यास खानी
यहुदीवादी इजरायलले बस्ती–उपनिवेशवाद हुँदै एकल जातीय राज्य निर्माण गर्ने दीर्घकालीन लक्ष्य बोकेको छ । सँगै इजरायलले मध्यपूर्व क्षेत्रमा पश्चिमा साम्राज्यवादको प्रतिनिधि देशको रूपमा आफूलाई उभ्याउँदै आएको छ । अरूबाट चोरेको ग्यास युरोपेली सङ्घका देशहरूमा निर्यात गर्नमा यसले महत्वपूर्ण भूमिका खेलेको छ । साथै ग्यास सम्झौता गरी जोर्डन, इजिप्ट, संयुक्त अरब इमिरेट्सजस्ता छिमेकी देशहरूलाई थामथुम पारेर पनि यसले युरोपलाई सघाउँदै आएको छ ।
२५ वर्षअघि ब्रिटिश ग्यास ग्रुप (बिजिजी) ले गाजाको समुद्री तटमा प्राकृतिक ग्यासको खानी पत्ता लगाएको थियो । त्यो खानी इजरायलले कब्जा गरेको लेभाइथन ग्यास खानी र इजिप्टको जोहर ग्यास खानीबिच पथ्र्यो । यी खानीहरूलाई गाजा म्यारिन १ र गाजा म्यारिन २ नाम दिइयो । इजरायल र उसको अमेरिकी प्रायोजकको आँखा त्यसमा तानियो । तिनीहरूले भूमध्यसागरमा रहेको प्यालेस्टिनी प्राकृतिक सम्पदाबाट अकुत लाभ उठाउने सोच बनाएका छन् ।
गाजाको अधिकांश ऊर्जा र पानीमा इजरायली नियन्त्रण छ । गाजापट्टीभित्र स्वतन्त्ररूपमा ऊर्जा उत्पादन गर्ने भौतिक पूर्वाधार निर्माण गर्ने र त्यसको रक्षा गर्ने योजनामा प्यालेस्टिनी प्राधिकरण र यहुदीवादी इजरायलले हलो अड्काउँदै आएका छन् । इजरायल र केही हदसम्म प्यालेस्टिनी प्राधिकरणले दुवैले गाजाको समुद्री तटबाट चोरिएको ग्यास र प्रशोधित पानीबाट लाभ लिँदै आएका छन् । यति नै बेला यता गाजावासीहरूले चर्को ऊर्जा सङ्कट झेल्दै छन् ।
अक्टोबर ७ भन्दा केही महिनाअघि मात्र नेतन्याहुले प्यालेस्टिनी प्राधिकरण र इजिप्टसँगको सहकार्यमा माथि भनिएका ग्यास खानीहरू विकास गर्ने घोषणा गरेका थिए । अहिले २० हजारभन्दा बढी प्यालेस्टिनीहरू बमबारीमा परेर मारिएका छन् । ८ हजार मानिस भग्नावशेषमा पुरिएको खबर छ । सयौँ प्यालेस्टिनीहरूलाई अपहरण गरेर चरम यातना दिइएको छ । दसौँ हजार घाइते छन् । यहुदीवादी इजरायलले यो जीवनदायी पूर्वाधार निस्तेज पार्न नियोजित ऊर्जा सङ्कट चर्काइरहेको बेला शेभरोन कम्पनीले तामार र लेभाइथन खानीबाट ग्यास निकाल्न सुरु ग¥यो । यो ग्यास कम्पनीले इजिप्ट र इजरायली बस्तीहरूमा आपूर्ति गर्छ ।
क्षेत्रीय दबदबा
प्यालेस्टिन, लेबनान र इजिप्टको समुद्री तटबाट ग्यास निकाल्नमा यहुदीवादी इजरायलको निश्चित स्वार्थ छ । उसको स्वार्थ बुझ्नका लागि इजरायली कब्जाको साम्राज्यवादी उद्देश्यहरू केलाउन अनिवार्य छ । ती उद्देश्यहरू सन् १९९० को दशकमा ओस्लो सम्झौतामार्फत ठोस बनेका थिए । पेरिस समझदारी यस्तै अर्को सम्झौता थियो ।
बस्ती विस्तारलाई बढावा दिनु, इजरायललाई सैन्यकरण गर्नु र प्यालेस्टिनी मुक्ति सङ्गठनको भुइँतहको वैधानिकतालाई नामेट पार्न ती सम्झौताहरूले प्रभावकारी ढङ्गले प्यालेस्टिनीहरूलाई यहुदीवादी इजरायलको पूर्ण आर्थिक आधीनतामा राखे । सम्झौताले अतिक्रमित पश्चिम किनारालाई औपनिवेशिक नक्साङ्कन पछ्याउँदै मनपरीरूपमा विभाजित गरे । जीवनदायी प्राकृतित्र संसाधनमाथि प्यालेस्टिनीहरूको भौतिक पहुँचलाई सीमित गरे । सबभन्दा महत्वपूर्ण कुरा प्यालेस्टिनको दलाल सत्तालाई गाजा र इजिप्टको समुद्री तटनजिक रहेका प्यालेस्टिनी ग्यास खानीहरूमा पहुँच ‘प्रदान गरियो’ । त्यो चोरीबाट प्राप्त ग्यासलाई विदेश निर्यात गरियो ।
ओस्लो सम्झौता भएको तीस वर्षपछि प्यालेस्टिनीहरू नियोजित अविकासको अवस्थामै रहनुपरेको छ । आर्थिक स्थायित्व हासिल गर्ने उसका सबै बाटो बन्द गरिएको छ । यसमा इजरायललाई प्यालेस्टिनी प्राधिकरण र उसका आसेपासेहरूले सघाएका छन् । इजरायलको कब्जाकारी सेनाले गर्ने बारम्बारको हमला, कब्जा र औपनिवेशिक हिंसाले प्यालेस्टिनको आर्थिक सम्भावना झन्झन् आकाशको फल बन्ने गरेको छ ।
गाजाको हकमा यो कुरा खुला किताबजस्तो छ । सन् २००७ मा प्यालेस्टिनीहरूले निर्वाचनमा हमासलाई जिताए । तर त्योभन्दा अगाडि नै तत्कालीन इजरायली प्रम यहुद ओल्मर्ट र प्यालेस्टिनी प्राधिकरणबिच ‘शान्ति’ सम्झौता भएको थियो । सो सम्झौताअनुसार सन् २००९ पछि प्यालेस्टिनी प्राधिकरणले वार्षिक ४ अर्ब डलरको ग्यास खरिद गर्ने थियो । तर, सन् २००७ मा हमास सत्तासीन भएपछि उसले प्रभावकारी प्रतिकार ग¥यो । त्यसले गर्दा गाजाविरुद्ध थल, जल र हवाई नाकाबन्दी लगाइयो । इजरायलको यहुदीवादी सत्ताले भित्रभित्रै गाजामाथि कब्जा गर्ने योजना बुन्यो र सन् २००८ मा हमला पनि ग¥यो । तर, योजना बुन्दै गर्दा उसले ब्रिटिश ग्यास ग्रुपसँग १५ वर्षे सम्झौता गर्ने प्रयास पनि गरिरह्यो ।
सन् २००५ मा इजिप्टले इजरायलसँग ग्यास सम्झौतामा हस्ताक्षर ग¥यो । लगत्तै सन् २००९ मा तामार ग्यास खानी पनि पत्ता लाग्यो । उक्त सम्झौताका कारण गाजाको समुद्री तटको ग्यास निकाल्ने र निर्यात गर्ने काममा हतारो गर्नुपरेन । तर आज हामी देख्दै छौँ, गाजा म्यारिन खानीहरू दोहन गर्ने योजनाहरू खारेज भएका रहेनछन् । गाजाविरुद्ध मध्ययुगीन अत्याचार जारी राख्दै ती योजना अघि बढाइएको रहेछ । साथै यी योजनाहरू गाजा तटसम्म मात्र सीमित रहेनछन् ।
सन् २०१० यता इजरायलसँग लेबनानको तटीय सीमालाई लिएर खटपट चल्दै थियो । संरा अमेरिकाको मध्यस्थमा २०२२ अक्टोबरमा यी दुई देशबिच अन्ततः ऐतिहासिक तटीय सम्झौता भएको छ । सो सम्झौताले ग्यास खानीको उत्खननमा अमेरिकालाई स्थायी पर्यवेक्षक, निरीक्षक तथा मध्यस्थकर्ता तोकेको छ । साथमा ‘हालसम्म पत्ता लागेका र पछि पत्ता लाग्ने सम्पूर्ण’ सम्पदासम्बन्धी जानकारी अमेरिकासँग साझा गर्ने प्रावधान पनि छ । यसबाहेक सम्झौतामा ‘विश्वासिलो अन्तर्राष्ट्रिय कर्पोरेसन’ लाई मात्र ठेक्का दिने र त्यसलाई अमेरिकाले मान्यता दिनुपर्ने तथा ग्यास उत्खनन कार्यको सुपरिवेक्षण गर्नुपर्ने उल्लेख छ । कुरा यत्तिमै सकिन्न । विवादित क्षेत्रमा रहेका झन्डै एकतिहाइ खानीमा लेबनानले नियन्त्रण त्याग्नुपर्ने छ । चर्किँदो जर्जर आर्थिक अवस्थाका कारण लेबनानले यो छुट दिइएको वा अमेरिकी मध्यस्थताका लागि भाग शान्तिका लागि यसो गरिएको बुझ्न सकिन्छ ।
त्यसैगरी सन् २०१६ मा जोर्डनको ‘राष्ट्रिय विद्युत् शक्ति’ कम्पनीले इजरायल तथा देलेक ड्रिलिङ, रेसियो एवम् नोबेल एनर्जीजस्ता ऊर्जा कम्पनीहरूसँग १५ वर्षे सम्बन्ध सामान्यीकरण सम्झौता ग¥यो । यो सम्झौता निकै विवादास्पद बन्यो । २०१९ डिसेम्बरमा इजरायलले लेभाइथन खानीबाट चोरीको ग्यास जोर्डन निर्यात गर्न थाल्यो । सन् २०२२ मा जोर्डनका राजा अब्दुल्लाह दोस्रोले इजिप्टमा सम्पन्न कोप–२७ शिखर सम्मेलनमा इसाक हर्जोगलाई भेटे । भेटमा दुवैले एउटा समझदारीमा हस्ताक्षर गरे । इजरायलले भूमध्य सागरबाट चोरी गर्ने पानीलाई जोर्डनको सौर्य ऊर्जासँग साटिने भयो ।
चुनौतीपूर्ण साम्राज्यवाद
प्यालेस्टिनवरिपरि रहेका ग्यास खानीमा यहुदीवादी इजरायलको चासो लेनिनको परिभाषासँग मेल खाने साम्राज्यवादको सटिक उदाहरण हो । यहाँनिर अमेरिकी र बेलायती ऊर्जा कम्पनीहरूको एकाधिकार वा उत्पादनको केन्द्रीकरण तथा पुँजी निर्यात दुवै परिघटना देख्न सकिन्छ ।
युक्रेन मानेटोको छद्मयुद्ध र नर्डष्ट्रीम पाइपलाइन विष्फोटले गर्दा उत्पन्न भएको विश्वव्यापी ऊर्जा सङ्कट ‘समाधान’ गर्ने बेलायत, संरा अमेरिका, युरोपेली युनियन र यहुदीवादी इजरायलको गफ राम्रै धुवाँको पर्दा साबित भयो । यही बहानामा उनीहरूले प्यालेस्टिनीहरूको स्रोतसाधनको चोरी लुकाइरहे । यिनीहरूले लेभाइथन ग्यास खानीबाट चोरी गरेको ग्यास युरोपेली ऊर्जा बजारमा निर्यात गर्ने कार्यलाई मूर्त रूप दिन लामो समयदेखि चासो दिँदै आएका छन् । जोर्डन, इजिप्ट र अहिले लेबनानसँग सम्झौता गर्नुबाहेक यो विषयमा उनीहरूको विशेष चासो छ । तसर्थ यहुदीवादी इजरायलको समुद्री मार्गमा यमनीहरूको रणनीतिक आक्रमण उनीहरूका लागि वास्तविक खतरा हुनेछ । गाजामाथिको आक्रमणबाट हुने लाभभन्दा उताको घाटा बढी हुने देखे बहुराष्ट्रिय कम्पनीहरूले इजरायली सेनालाई दिँदै आएको ऊर्जा र हतियारको सामुद्रिक आपूर्ति रोकिने सम्भावना छ । किनभने, समुद्री मार्गमा अवरोध आए विश्वव्यापी व्यापारिक अर्थतन्त्रमा क्षति पुग्नेछ ।
प्यालेस्टिन र अरबका अन्य ग्यास खानीहरूको चोरी गर्ने बेला यहुदीवादी इजरायलले सधैँ आफ्नो औपनिवेशक सीमावरपर ‘शान्ति’ र ‘सुरक्षा’ कायम गर्नु आफ्नो परम प्रयास भएकोमा जोड दिँदै आएको छ । इजरायल र उसका प्रायोजकहरूको लागि प्राकृतिक सम्पदा र सम्भावित नाफाको चोरी नै गाजाको तट कब्जा गर्नुमा उनीहरूको मूल उद्देश्य हो । यो चोरीमा उनीहरूसँग शेभरोन र टोटाल कम्पनीको पनि साँठगाँठ छ । तर, सबैभन्दा ठुलो कारण यहुदीवादी बसोबासी–उपनिवेशवाद र साम्राज्यवादको सेवा गर्ने उसको चरित्र नै हो । यसकै कारण जातीय सफाया, जमिनको चोरी, रैथानेहरूको उठिबास र प्यालेस्टिनी जनताको संरचनात्मक आर्थिक शोषण जारी छ । तसर्थ वास्तविक मुक्तिको निम्ति यहुदीवादी योजनाका सबै हाँगाबिँगा काट्नुपर्ने हुन्छ । उसको औपनिवेशिक सीमा, सैनिक चौकीहरू तथा नाकाबन्दी र प्यालेस्टिनी पानीमा उसको परजीवी शोषण सबै अन्त्य गर्नुपर्छ ।
(तारा अलामी प्यालेस्टिनी लेखिका हुन् । उनको मूल घर अतिक्रमित जेरुसेलममा छ । अहिले उनी क्यानडाको मोन्ट्रियल सहरमा बस्दै आएकी छिन् ।)
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक