‘मानवीय युद्धविराम’ त्यति अर्थपूर्ण रहेन । नृशंस हिंसाबिचको छोटो विराममा ‘मानवीय’ र ‘विराम’ नामको केही थिएन । बरु त्यो तुफान आउनुअघिको सन्नाटामात्र साबित भयो । कर्मचारी शैलीमा अनैतिकता प्रदर्शन हुँदै छ । महान् अर्थ दिने पुराना शब्दलाई नयाँ तर खोक्रो पारामा प्रयोग गरिँदै छ । शब्दले वास्तविक अर्थ गुमाएका छन् । पहिलो चरणको बमबारीबाट गाजापट्टीभरि फैलेको भग्नावशेष सफा गर्नुअघि नै अर्को विभत्स बमबारी सुरु भयो ।
पश्चिमा देशहरूले ‘मानवीय’ शब्दलाई सिकिस्तै पारेका छन् । पाठकहरूले ‘मानवीय हस्तक्षेप’ शब्द सुन्नुभएको हुनुपर्छ । लिबियामा सन् २०११ मा पश्चिमी देशहरूले सैन्य हस्तक्षेप गरे । सन् २००३ मा इराकमा अमेरिकाले अवैध आक्रमण ग¥यो । ती आक्रमणहरूलाई ‘मानवीय हस्तक्षेप’ शब्दले ढाकछोप गरिएको थियो । आफ्नो अवैध कर्तुतलाई वैधानिकताको जामा लगाउन पश्चिमा देशहरूले संयुक्त राष्ट्र सङ्घलाई एउटा नयाँ सम्मेलन गर्न लगाए । सम्मेलनबाट नयाँ सिद्धान्त नै जन्मियो । त्यसलाई ‘रक्षा गर्ने दायित्व’ (आर–टु–पी, रिस्पोन्सिबिलिटी टु प्रोटेक्ट) भनियो । पहिले जातिसंहार, युद्धअपराध, जातीय सफाया र मानवताविरुद्ध हुने अपराधजस्ता जघन्य अत्याचारलाई जहिल्यै अन्तर्राष्ट्रिय जगतले रोक्नुपर्ने भन्ने थियो । नयाँ सिद्धान्तका कारण (राष्ट्र सङ्घको बडापत्रको ७ औँ अध्यायबमोजिम) सुरक्षा परिषद्ले पश्चिमी देशहरूलाई बलप्रयोग गर्ने अधिकार दियो । सोही सिद्धान्तका आधारमा सन् २०११ मा लिबियामाथि हमला भयो । मानवीयताको खोलमा पश्चिमा देशहरूले लिबिया राज्यलाई नै ध्वस्त पारे र त्यस देशलाई स्थायी गृहयुद्धको दलदलमा धकेले । तर, सन् २००८–०९, सन् २०१४ र अहिले गरी गाजामाथि बारम्बार इजरायली बमबारी हुँदा ‘रक्षा गर्ने दायित्व’ को ‘र’ पनि उच्चारण भएन ।
यसपालि सन् १९४८ (नक्बा, विनाशलीला) मा भन्दा पनि बढी प्यालेस्टिनी जनता मारिएका र विस्थापित भएका छन् । सन् १९४८ मा ‘मानवीय’ शब्दको केही अर्थ थियो होला, तर अहिले त्यो शब्दले अर्थ गुमाएको छ ।
मारिने र विस्थापित हुनेहरूको सङ्ख्या बढ्दै छ । साथमा सन्नाटा पनि बढ्दै छ । पहिले केही सय प्यालेस्टिनीहरू मरे । त्यसमा केही सय थपिए । लगत्तै मर्नेहरूको सङ्ख्या अकासियो । इराकमा अमेरिकाले १० लाख मान्छे मा¥यो । दिमागमै नअट्ने सङ्ख्या हो यो । त्यसमाथि मर्नेहरूको नाम समेत छैन । त्यसैले पनि बाँकी विश्वको लागि त्यो नरसंहार टाढाको विषय बन्यो । मर्ने र विस्थापित हुनेहरूको एकएक कथा नजोडिएसम्म मान्छेको दिमागलाई सङ्ख्याले मात्र घच्घच्याउन गा¥हो हुने रहेछ ।
अन्तर्राष्ट्रिय जगतले हिसाबमा ठुलो अन्याय गरेको छ । यो विद्यमान समस्याको एउटा कारण हो । के अक्टोबर ७ मा मारिएका इजरायलीहरूलाई जति महत्व गाजाबासी प्यालेस्टिनीको जीवनलाई दिइएको छ ? के गाजाबासी जनताको जीवन र मृत्युको पनि मूल्य छैन ? यी मृत्युलाई समान आँखाले हेरिएको छैन । यो विभेदको आलोचनासम्म भएको छैन । यो धारणालाई मान्यता दिइएको मात्र होइन, पश्चिमी देशका नेताहरूले यसखाले प्रचार नै गरिरहेका छन् । तिनीहरू गोरा लासको बदलामा गहुँ गोरा धेरै लास देख्न चाहन्छन् । तिनीहरू गोरो शरीरलाई मूल्यवान र गहुँ गोरो शरीरलाई मूल्यहीन मान्छन् । त्यसैले इजरायललाई मार्ने छुट दिँइदै छ ।
‘मानवीय युद्धविराम’ हुँदा हमास र प्यालेस्टिनी पक्षले ११० इजरायलीलाई छोड्यो । त्यसको सट्टा इजरायलले २४० प्यालेस्टिनी महिला र बालबालिकालाई छोड्यो । धेरै इजरायली पीडितहरू गाजा आसपासका बासिन्दा थिए । उनीहरूका कथा र विदेशी बन्दीहरूका कथा बाहिर आइसकेका छन् । तर, प्यालेस्टिनी बन्दीहरूका कथाहरूको थोरैमात्र छलफल भएको छ । त्यसबारे कम बुझिएको छ । त्यस्तै अक्टोबर ७ पछि इजरायलले ३ हजारभन्दा बढी प्यालेस्टिनीहरूलाई बन्दी बनाएकोमा झन्डै २०० जना बालबालिका मात्र रहेको विषयमा पनि उति ध्यान दिइएको छैन । सम्झौता वार्ताको पहिलो चार दिनमा मात्र इजरायलले आफूले छोडेजति प्यालेस्टिनीहरूलाई बन्दी बनायो ।
इजरायली कैदबाट रिहा गरिएका दुई–तिहात्न्दा बढी प्यालेस्टिनीहरूमाथि कुनै आरोप थिएन । उनीहरूलाई सैन्य कानुनअन्तर्गत ‘प्रशासनिक थुना’ मा राखिएको थियो । यसप्रकार इजरायलले प्यालेस्टिनीहरूलाई अनन्तकालसम्म थुनामा राख्दै आएको छ । यसको लागि पक्राउ गरिएका प्यालेस्टिनीहरूमाथि मुद्दा चलाउनुपर्दैन । न त उनीहरूले कुनै कसुर नै गरेको हुनुपर्छ । उनीहरूले वर्तमान र भविष्यमा कतै कानुन उल्लङ्घन गरेको वा गर्ने सोचेको हुनुपर्छ भन्ने छैन । ‘प्रशासनिक थुना’ को यो परिभाषा इजरायली मानवअधिकारवादी संस्था बेत्सालमको हो । केही मानिसहरू कहिल्यै नफर्किने गरी इजरायली कालकोठरीहरूमा हराएका छन् । उनीहरूलाई बन्दी प्रत्यक्षीकरणको मौलिक अधिकार पनि छैन । उनीहरूलाई अदालतमा ल्याइँदैन, वकिल भेट्ने हक छैन । उनीहरूलाई आफूविरुद्ध दिइएका दलिल थाहा पाउने अधिकार पनि छैन । इजरायली कारागारहरूमा अहिले ७ हजारभन्दा बढी प्यालेस्टिनी राजनीतिक बन्दी छन् । तीमध्ये धेरै वामपन्थी छन् । बन्दीहरूमा प्यालेस्टिनी मुक्तिका लागि जनमोर्चा र प्यालेस्टिनी मुक्तिका लागि प्रजातान्त्रिक मोर्चाजस्ता राजनीतिक दलका नेता–कार्यकर्ताहरूको बाहुल्य छ । ‘प्रशासनिक थुना’ मा २ हजारभन्दा बढी कैदीहरू छन् ।
अधिकांश प्यालेस्टिनी कैदी बालबालिका छन् । तीमध्ये धेरैले इजरायली ‘थुना’ मा वर्षौँवर्ष बिताएका छन् । ‘थुना’ मा राखिएको हुनाले तिनलाई छुटाउन कुनै मुद्दा हाल्न पनि सकिन्न । ‘बालबालिका प्रतिरक्षा इन्टरनेसनल’ को प्रतिवेदनअनुसार इजरायलले प्रतिवर्ष ५००–७०० बालबालिकालाई कैदी बनाउँदै आएको छ । सन् २०१५ को राष्ट्र सङ्घीय बालकोष (युनिसेफ) ले एउटा सनसनीपूर्ण प्रतिवेदन प्रकाशित ग¥यो । सो प्रतिवेदन अनुसार इजरायलले राष्ट्रसङ्घको बालअधिकार अभिसन्धि (सन् १९९०) को पूर्ण उन्मूलन गरेको छ । अभिसन्धिको धारा ३७ अनुसार ‘बालबालिकालाई पक्राउ गर्ने, हिरासत वा कैदमा राख्ने कार्य कानुनबमोजिम गर्नुपर्छ र सकेसम्म त्यसलाई अन्तिम अस्त्रको रूपमा प्रयोग गर्नुपर्छ र गरे पनि छोटो अवधिका लागि गर्नुपर्छ ।’ तर धेरै घटनामा इजरायलले यो कानुनलाई पहिलो अस्त्रको रूपमा प्रयोग गरेको छ र बालबालिकालाई दीर्घकालका लागि थुनामा राख्दै आएको छ ।
फैज अहमद फैज
‘बालबालिका प्रतिरक्षा इन्टरनेसनल’ ले सन् २०१६ जनवरी १ देखि २०२२ डिसेम्बर ३१ सम्म अतिक्रमित पश्चिम किनाराबाट थुनामा रहेका ७६६ बालबालिकाको मुद्दाको अध्ययन गरेको थियो । त्यसबाट निम्न निष्कर्ष निस्कियो :
– ७५ प्रतिशत बालबालिकाले शारीरिक हिंसा भोगेको ।
– ८० प्रतिशतलाई नाङ्गै पारेर खानतलासी लिइएको ।
– ९७ प्रतिशतलाई परिवारको सदस्य नै नराखी केरकार गरिएको ।
– ६ प्रतिशतलाई तिनको हकअधिकारबारे राम्ररी नबताइएको ।
– ५५ प्रतिशतलाई हिब्रु भाषामा लेखिएको कागजातमा हस्ताक्षर गराइएको । प्यालेस्टिनी बालबालिका हिब्रु भाषा लेखपढ गर्न जाँदैनन् ।
– ५९ प्रतिशतलाई रातमा पक्राउ गरिएको ।
– ८६ प्रतिशतलाई पक्राउ गर्नुको कारण नबताइएको ।
– ५८ प्रतिशतमाथि छाडा शब्द प्रयोग गरिएको, अपमानित गरिएको र पक्राउ गर्नुअघि र पछि डरधम्की देखाइएको ।
– २३ प्रतिशतलाई दुई वा सोभन्दा बढी दिनका लागि कालकोठरीमा राखेर केरकार गरिएको ।
प्यालेस्टिनी बालबालिकामाथि गरिएको क्रूर व्यवहारका अगणित र अकथनीय कथाहरू छन् । तीमध्ये एक अहमद मनास्रा हुन् । उनलाई १३ वर्षको उमेरमा २०१५ अक्टोबर १२ मा अतिक्रमित पूर्वी जेरुसेलमबाट पक्राउ गरिएको थियो । उनीमाथि दुई इजरायलीहरूमाथि छुरा प्रहार गरेको आरोप थियो । तीमध्ये योसेफ बेन–शालम २० वर्षीय सुरक्षा गार्ड थिए भने नाओर शालेभ बेन–इज्रा १३ वर्षीय किशोर थिए । नाओर शालेभ उपचारपछि बाँचेका थिए । सुरुमा इजरायली अदालतले अहमदलाई दोषी ठह¥यायो । तर पछि अदालतले आफ्नो फैसला उल्ट्याएर उनकै १५ वर्षीय दाजु हसन खालिद मनास्रालाई दोषी करार ग¥यो । हसनलाई घटनास्थलमै गोली ठोकी मारिएको थियो । ती दुई इजरायलीको हत्यामा अहमदको हात रहेको वा उनले सघाएको एउटा पनि ठोस प्रमाण छैन । तर पनि उनले इजरायली कारागारमा साढे ९ वर्ष बिताइसकेका थिए ।
अहमद अहिले २१ वर्षका भए र अझै पनि कारागारमै छन् । उनलाई एक महिनादेखि कालकोठरीमा एक्लै राखिएको छ । पछिल्लो दुई वर्षको धेरै अवधि कालकोठरीमा बिताएका उनलाई गत सेप्टेम्बरमा मानसिक अस्पतालमा लगिएको एमनेस्टी इन्टरनेसनलका खलुद बादावीले बताए । इजरायली कारागार सेवाले अहमदको एकान्तबास अझै ६ महिना लम्ब्याउन सरकारसँग माग गरेको थियो । यो अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन हो । खासमा १५ दिनभन्दा बढी समय कालकोठरीमा राख्न पाइन्न । कानुनअनुसार यातना, क्रूर व्यवहार, अमानवीय वा अपमानजनक व्यवहारमाथि रोक छ – खलुदले भने ।
खलुदले भने – अहमदको मुद्दा सुरु हुँदा ‘छुरा प्रहार’ को लहरजस्तो थियो । जवान प्यालेस्टिनीहरूमाथि इजरायली सैन्य चौकीमा छुरा लिएर पस्ने र तिनलाई इजरायली सैनिकले गोली ठोकी मार्ने खबर छ्यापछ्याप्ती आउँथ्यो । सोही बेला मैले यी हमलाबारे सोधखोज गरेको थिएँ । धेरैजसो त इजरायली सैनिकले भनेकै भरमा यस्ता आरोपहरू लाग्थे । उदाहरणको लागि २०१५ डिसेम्बर १७ मा हुवारा चौकीका केही इजरायली सिपाहीहरूले १५ वर्षका अब्दुल्लाह हुसेन अहमद नसास्रालाई गोली ठोकी मारे । प्रत्यक्षदर्शीका अनुसार ती किशोरको हात हावामा उचालिएको थियो । त्यति नै बेला उनलाई गोली हानिएको थियो । प्रत्यक्षदर्शीमध्ये एक नासेरले मलाई भने अनुसार उनको हातमा छुरा थिएन । बरु उनलाई मारेको नासेरले देखेका थिए । उनको हत्या भएलगत्तै एक एम्बुलेन्स चालक घटनास्थलमा आइपुगे । कमाल बाद्रान कबालन नाउँका ती चालकले अब्दुल्लाहको लास गाडीमा राख्न खोज्दा इजरायली सिपाहीहरूले रोके । उनीहरूले लास मात्र लिएनन्, त्यससँग जोडिएको कथा पनि आफै रचे ।
अर्को कथा हेब्रोन सहरका १२ वर्षीय अनास अल–अत्रासको हो । अनास र उनका भाइ इस्माइल जेरिकोमा एक हप्ता काम गरेर घर फर्किँदै थिए । उनीहरू चढेको गाडी तरकारी र फलफूलले भरिएको थियो । नाकामा इजरायली सिपाहीले गाडीबाट ओर्लिन भनेपछि अनास तल ओर्ले । यत्तिकैमा एक इजरायली सिपाहीले उनलाई गोली हानी मा¥यो । भोलिपल्ट इजरायली मिडियाले इजरायली सैनिकलाई मार्न खोजेको हुनाले अनासको मृत्यु भएको समाचार लेखे । बेन इरेनराइख नामक एक पत्रकारले घटनाको गहिराइमा जाने प्रण गरे र उनी अनासको परिवारलाई भेट्न गए । परिवारले भन्यो – अनासलाई राजनीतिमा चासो थिएन बरु उनी लेखा विषय लिएर पढ्दै थिए र छिट्टै बिहे गर्ने सोचमा थिए । इजरायली सैनिक र गुप्तचरहरूले अनासका भाइ इस्माइललाई दाजुको हातमा छुरा थियो भनी मनाउन धेरै प्रयास ग¥यो । तर, हतियार नै नभएपछि इस्माइलले स्वीकार्ने कुरा भएन । जे होस् अनासको विभत्स हत्या भयो । एक प्रत्यक्षदर्शीले इरेनराइखसँग भने – यो बर्बर देश हो, तिनीहरूसँग लाजसरम भन्ने केही छैन । उनलाई इजरायली सैनिकहरूबारे त्यसो भनेका थिए ।
इजरायली कब्जाको व्याकरण सिधा छ – प्यालेस्टिनी जनतालाई हिंसामा उत्रिने गरी दबाउने, त्यसपछि उनीहरू छुरा वा अन्य यस्तै हतियार लिएर हमला गर्न आउँछन् र त्यही निहुँमा प्यालेस्टिनीहरूलाई पशुझैँ लघार्ने र तिनको भूमिमा अवैध बस्ती बसाल्ने । गत अक्टोबर ७ पछिको घटनाक्रमले यो इजरायली नियमलाई पुष्टि गर्दै छ । अनास, अब्दुल्लाह र अहमद सबैको हकमा तिनले अपराध गरेको फर्जी कथा रचियो र त्यसलाई निहुँ बनाएर प्यालेस्टिनी घर भत्काउने र अवैध इजरायली बस्ती फैलाइयो । यो वास्तवमा सन् १९४८ कै नक्बा (विनाशलीला) को निरन्तरता हो ।
दश वर्षअघि मैले प्रोफेसर नादेरा शालहौब–केभोर्किनलाई भेटेको थिएँ । उनी जेरुसेलमस्थित हिब्रु विश्वविद्यालयमा पढाउँथिन् । उनको अध्ययनअनुसार इजरायलको कब्जाकारी नीतिका कारण प्यालेस्टिनीहरूले दैनिक हिंसा भोग्नुपर्छ । बाटोमा हिँड्दा होस् वा रातमा सुतिरहेको बिस्तरामा होस्, प्यालेस्टिनीहरू हिंसाको सिकार बन्नुपर्छ । उनले सन् २०१५ मा प्रकाशित गरेको पुस्तक ‘सुरक्षा धर्म, निगरानी र त्रासको राजनीति’ मा भयको उद्योगले कसरी काम गर्छ भनी प्रकाश पारिएको छ । प्यालेस्टिनीहरूलाई इजरायली बस्तीबासी र सैनिकहरूले हरेक दिन त्रासमा राख्छन् । दैनिक हिंसाकै रूपमा यो अगाडि बढेको छ । बच्चा जन्माउँदा होस् वा कोही मर्दापर्दा होस्, प्यालेस्टिनीहरूले दैनिक हिंसाको सामना गर्नुपर्छ । हिंसा र असुरक्षाको गहिराइ निकै ठूलो छ । लेखिका लेख्छिन् – यसकारण प्यालेस्टिनी महिलाहरू इजरायली सैनिकले ‘घाँटी समाएको, सास थुनेको वा मुखमा कपडा कोचेको’ जस्ता अत्याचारबारे खुलेर बोल्न सक्ने भएका हुन् । इजरायली सैनिकको यही हर्कतका कारण धेरै प्यालेस्टिनी बालबालिकाहरू बाँच्न रहर गर्दैनन् – लेखिका लेख्छिन् । प्यालेस्टिनी समाज रन्थनिएको छ । यसलाई शालहौब–केभोर्किन ‘समाजसंहार’ वा सामाजिक मृत्यु भन्छिन् ।
इजरायलले प्यालेस्टिनलाई कब्जामा लिएको ५० वर्ष नाघिसकेको छ । यसले गर्दा अनौठो परिस्थिति उत्पन्न भएको छ । इरेनराइख र शालहौब दुवैको अध्ययनले इजरायली पागलपनको झलक दिन्छ । शालहौब जेरुसेलममा बस्छिन् । उनले एउटा उदाहरण सुनाइन् – प्यालेस्टिनी महिलाहरूले टोलटोलमा समूह बनाएका हुन्छन् । प्रत्येक दिन ती समूहले छोराछोरीलाई पाठशाला पु¥याउँछन् किनभने इजरायली प्रहरी र बस्तीबासीहरूअघि उनीहरूलाई एक्लैदुक्लै छोड्नु खतरनाक हुन्छ । परिवारका अन्य सदस्य वा साथीहरूसँग पनि केटाकेटीहरू पाठशाला जान मान्दैनन् । ८ वर्षकी मराहले शालहौबसँग भनिन् – तिनीहरूले मलाई तर्साउँछन् ।
बालबालिकाले पाठशालामा चित्र कोर्छन् । तीमध्ये एउटा बालकले जोकरको चित्र बनायो । शालहौबले ९ वर्षको त्यो बालकसँग प्यालेस्टिनी जोकर कस्तो हुँदो रहेछ भनी सोधिन् । बालकले भन्यो – यो प्यालेस्टिनी जोकर हो र हाम्रो जोकर रुन्छ ।
सन् १९७७ मा पाकिस्तानमा सैनिक विद्रोह भयो । त्यसपछि पाकिस्तानी शायर फैज अहमद फैज बेरुत जानुभयो र त्यहाँ ‘लोटस’ नामक पत्रिका सम्पादन गर्न थाल्नुभयो । उहाँले प्यालेस्टिनीहरूको पीडा र सङ्घर्षको त्रासदीबारे लेख्नुभएको छ :
एउटा प्यालेस्टिनी मारिँदा
चह¥याउँछन् सयौँ घाउहरू
फैजले प्यालेस्टिनी बालबालिकाको लागि एउटा कविता पनि लेख्नुभयो । यो कविता सन् १९८२ मा इजरायलले लेबनानमाथि हमला गर्दाताकाको हो । यसमा प्यालेस्टिनी बालबालिकाले आज भोगिरहेकै पीडा पोखिएको छ । कविता यसप्रकार छ :
नरोऊ नानीबाबु,
तिम्री आमा रुँदारुँदै सुतिन् ।
नरोऊ नानीबाबु,
तिम्रा बुबा पिल्सिँदापिल्सिँदै मरे ।
नरोऊ नानीबाबु,
तिम्रा दाजुभाइ परदेशमा छन् ।
तिम्रा दिदीबहिनी परदेशमा छन् ।
नरोऊ नानीबाबु,
मृत घाम पानीमा डुबिसकेको छ
र, जुन आँगनमा पुरिएको छ ।
नरोऊ नानीबाबु,
तिमी रोयौ भने
तिम्रा आमाबुबा, दाजुभाइ र दिदीबहिनी
र घाम र जुनले
तिमीलाई अझ रुवाउला ।
तर तिमी मुस्कायौ भने
सायद तिनीहरू एक दिन फर्केलान्
र तिमीसँगै खेल्लान् ।
(एमआर अनलाइनबाट)