हरिबहादुर श्रेष्ठ
एकपटक रुसी अक्टोबर क्रान्तिका नेता लेनिनले आफूलाई पत्रकार सम्झनुभएको थियो भने चिनियाँ जनताका महान् नेता माओ त्सेतुङले आफूलाई शिक्षक भन्नुभएको थियो । वास्तवमा गुरु, शिक्षक वा प्राध्यापन पेसालाई आज पनि सम्मानित र प्रतिष्ठित सम्झिन्छ । हो, कहिलेकाहीँ दुई चार जना शिक्षण र प्राध्यापकहरूको गैरजिम्मेवारी, बेइमानी र व्यापारिक प्रवृत्तिले सम्पूर्ण शिक्षण पेसा नै लज्जित हुनुपर्ने स्थिति पनि नआएको होइन ।
यसबारे हाम्रो देश र समाजले मात्रै यस्तो स्थिति भोग्नुपरेको भने अवश्य होइन । विश्वकै ठुलो लोकतान्त्रिक मुलुक मानिने भारतमा पनि कम पारिश्रमिक भएको भन्दै बाल शिक्षा पढाउने शिक्षकहरू अध्यापनमा खास रुचि राख्दैनन् । मुख्य सहरका विद्यालयमा शिक्षकहरू बारम्बार अनुपस्थित हुने गरेको पाइन्छ । विहारमा प्रत्येक पाँचमा दुई शिक्षक प्रायःजसो विद्यालयमा अनुपस्थित हुने गर्छन् । (जनधारणा–२५ मङ्सिर २०६६)
मानव समाज सामन्तवादी समाजबाटै पुँजीवादी समाज र त्यसबाट समाजवादी समाजमा रूपान्तर हुँदै जान्छ । समाज परिवर्तनको यो एक सार्वभौम नियम हो । शिक्षा, शिक्षण पेसा र गुरुहरूको स्थिति पनि फेरिँदै गएको देखापर्छ ।
दास युग र सामन्तवादी समाजमा शिक्षा अवश्य पनि धर्म र शासकवर्गको घेरामा थियो । गुरुकुल, विहार–गुम्बा, मस्जिद, चर्च र दरबारमा शिक्षाको आदानप्रदान हुन्थ्यो ।
शिक्षाको उद्देश्य पनि त्यसबेला ती नै शासकवर्गको हितमा ‘स्वर्ग’ वा ‘पाँचतारे’ सुविधा सुरक्षित गर्नु र जनतामाथिको शासन र शोषणलाई निरन्तरता दिन आवश्यक विचारको प्रचार गर्ने र शासनयन्त्रको निम्ति आवश्यक तयारी गरिन्थ्यो ।
पुँजीवादी क्रान्तिले शिक्षा, ज्ञान र विज्ञानलाई धर्म र दरबारको घेराबाट सार्वजनिक जीवनसम्म ल्याइपु¥यायो । पुँजीवादी समाज नाफा र शुभलाभमा चल्ने हुँदा शिक्षा पनि नाफा र शुभलाभको एक माध्यम बन्यो अर्थात् शिक्षा, ज्ञान र विज्ञान–प्रविधिलाई सेवा उद्योगको रूपमा प्रयोग गरियो ।
तर, कहिलेकाहीँ एकै व्यक्ति वा ५० वर्षको बिचमा शिक्षा, शिक्षक र विद्यार्थीको माझमा ठुलो अन्तर आएको देखापर्छ । लामो समयपछि सङ्क्रमणकालमा यस्ता परिवर्तनका लक्षणहरू देखिए ।
फैज अहमद फैज उर्दू भाषाका एक मूर्धन्य कवि हुन् । उनी एक छात्र, पछि एक वामपन्थी प्राध्यापक भए । उनी भावना र संवेदनशीलताका प्रतीक हुन् । उनी आफ्नो विद्यार्थीकालमा विद्यार्थी र शिक्षकको सम्बन्धबारे भन्छन्, “…… हाम्रो जमानामा स्कूलका मास्टरहरूद्वारा विद्यार्थीहरूमाथि अत्यन्त पिटाइ हुन्थ्यो । हाम्रो जमानामा शिक्षकहरू हत्याराजस्तै डरलाग्दा थिए ।”
सियालकोट कलेजको उर्दू प्रोफेसर युसुफ सलीम चिरतीले कवि सम्मेलनमा फैजको कविता सुनेर उनलाई उत्साहित गर्दै भने, “तिमी निरन्तर कविता लेख्दै गर, तिमी भविष्यमा ठुला कवि बन्न सक्नेछौ ।”
फैज अगाडि भन्छन्, “सरकारी कलेज लाहोरमा पढ्दा धेरै विद्वान् र दयालु प्रोफेसरहरूसित पढ्न पाइयो । त्यहाँ प्राध्यापक एवं विद्यार्थीहरूमाझ साहित्यको माध्यमद्वारा मित्रवत् व्यवहार हुन्थ्यो । गुरुहरूको सङ्गत र कृपाले गर्दा मैले धेरै कुराहरू सिक्न सकेँ ।”
तर, फैज प्राध्यापक हुँदा परिस्थिति र भावनामा ठुलो परिवर्तनको अनुभव हुन्छ । उनी भन्छन्, “पहिलोपल्ट मैले पढाउने मौका पाउँदा मलाई अत्यन्त सुखको अनुभव भयो । आफ्ना विद्यार्थीहरूसित दिनदिनै भेट्ने सुख, तिनीहरूसित मित्रता बढाउने सुख, तिनीहरूलाई पढाउने सुख तथा तिनीहरूबाट केही सिक्ने सुख । तिनीहरूसँगको मेरो मित्रता अझै कायम छ । साथै, अमृतसरमै गम्भीरतापूर्वक कविताहरू लेख्न प्रारम्भ गरेँ ।”
तर, ६०–७० वर्ष पुरानो गुरु–चेलाको त्यो यातना दिने सम्बन्ध नेपालमा आज पनि कायम भएको सुन्दा र पढ्दा उदेक लाग्छ ।
३१ जेठको २०६६ को इटहरीको युनिभर्सल बोर्डिङ स्कूल, सुनसरीको समाचारको शीर्षक थियो, “बेहोस नहुन्जेल उठबस गराइयो १३ विद्यार्थीलाई ।” (१ असार २०६६, राजधानी)
राजधानीकै ‘कालिमाटीस्थित जेसी आरती कलेजमा १२ कक्षा पढ्दै गरेको १९ वर्षीया छात्रा ख्याती श्रेष्ठ’ उनकै शिक्षकबाट अपहरणपछि विभत्स ढङ्गले हत्या भयो । (नेपाल समाचारपत्र, ८ असार २०६६)
अर्को समाचार यस्तो छ – ‘शिक्षकको यातनाका कारण बालक बेपत्ता’ (गोरखापत्र, १५ भदौ २०६६)
यस्तो समाचार पहिलो पनि होइन र अन्तिम पनि । तर, यी समाचारहरूले शिक्षक असहिष्णु, घमण्डी र अपराधी भन्ने साबित हुन्छ । विद्यालयको नाम ‘युनिभर्स’ (ब्रह्माण्ड) र छात्राको हत्या हुन्छ– पैसाको निम्ति । पैसा कमाउने उद्देश्यकै निम्ति विद्यालय खोल्ने, पैसाकै निम्ति विद्यालयको नाम प्रचार गरी बढी विद्यार्थी जम्मा गरी बढी नाफा बटुल्ने, त्यसको निम्ति परीक्षाका प्रश्नपत्रहरू गुप्तरूपले प्राप्त गर्ने, शिक्षा कार्यालयका कर्मचारीहरूसँग मिलेर आफ्नै स्कूलसँग मिल्ने विद्यालयमा ‘होम सेन्टर’ वा परीक्षा केन्द्र मिलाउने, आफ्नै मानिस आफ्ना विद्यार्थीहरूको परीक्षा केन्द्रमा इन्भिजिलेटर वा सुपरिवेक्षक राख्न लगाउने, नियमविपरीत आफ्ना विद्यालयका विद्यार्थीहरूलाई कापी सार्न हुने गरी लहरै मिलाएर राख्ने, परीक्षाका कापीहरू कुन परीक्षक कहाँ पुग्ने पत्ता लगाउने आदि अनियमित र अनैतिक कार्यहरू पैसामुखी शिक्षकहरू वा पुँजीवादी शिक्षकहरूले गर्दै आएको व्यापक प्रचार भइरहेको विषय जगजाहेर छ ।
नाफाकै निम्ति दस जोड दुईका उच्च माध्यमिक विद्यालय खोल्ने पुँजीपतिसँग गुप्त वा दलाली भाग लिई आफ्ना विद्यार्थीहरू त्यस उच्च माविमा शिक्षकहरूले नै पठाउँछन् । पढाइको नाममा छात्र–छात्राहरूको ‘तस्करी’ गर्नेहरूले घर–जग्गाका दलालहरू र छात्रछात्राहरूलाई समेत प्रयोग गरेको व्यापक चर्चा घरघरमा हुने गर्छ ।
तर, अत्यन्त बहुमत शिक्षक–शिक्षिकाहरू यस्ता फोहर खेल र अनियमितताबाट टाढै छन्, यो राम्रो कुरा हो । तर, दुःखलाग्दो अर्को विषय ६ साउन २०६६ को ‘कान्तिपुर’ मा ‘उति पढ्दैनन् शिक्षकहरू’ भन्ने शीर्षकमा एक शिक्षक लेख्छन्, “…. बीस प्रतिशत जति शिक्षकहरू पढ्न मन गर्छन्† पचास प्रतिशत शिक्षकहरू पत्रपत्रिका पढेर सबै जानेका गफ दिन्छन्† बाँकी तीस प्रतिशत पढ्दै पढ्दैनन् ।”
शिक्षकहरूकै यस मूल्याङ्कनले निश्चय पनि अभिभावकहरूलाई चिन्तित पार्नेछ । यस्तो कहालीलाग्दो स्थितिबाट जोगिने उपायतिर शिक्षक–शिक्षिका र शिक्षक सङ्गठनहरूले छलफल चलाउनैपर्छ । यसबारे प्रधानाध्यापक बढी संवेदनशील हुनैपर्ने देखिन्छ । योग्य, असल र नैतिकवान् प्रधानाध्यापकहरूलाई तलका विषयमा ध्यानाकृष्ट गराउन पाए समस्याका समाधानहरू पहिल्याउन र समस्याबाट छुट्कारा पाउन सजिलो हुनेछ । ती उपायहरू हुन् –
क) प्रधानाध्यापकले आफ्ना छोरा–छोरी वा भाइबहिनीलाई पदमा राख्नको निम्ति शिक्षा कार्यालयका कर्मचारीहरूसँग मिलेर लाइसेन्स भएको नाममा अयोग्य शिक्षक भर्ना गर्नुहुन्न ।
ख) प्रधानाध्यापकहरू सरकारी ऐन–नियमभित्र बसी शिक्षक शिक्षिका एवं अन्य सहयोगीहरूको वृत्ति विकास र व्यक्तित्व विकासको निम्ति व्यापक अध्ययन तालिम वा अन्य सहुलियत दिने विषयमा सचेत हुन आवश्यक छ ।
ग) विद्यालयको प्रगतिमा व्यवस्थापन समितिको ठुलो हात हुन्छ, तर व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरू प्रधानाध्यापकको ‘हुन्छ बहादुरहरू’ वा निस्क्रिय पात्रहरू हुनुहुन्न । त्यस स्थितिले राम्रो उद्देश्यका भए पनि प्रधानाध्यापकलाई व्यवहारले ‘तानाशाह’ बनाउँछ, त्यस प्रवृत्तिले विद्यालयमा गुटबन्दी हुन थाल्छ र अन्तमा प्रधानाध्यापक नकारात्मक पात्र बन्न पुग्छ र अवकाशपछि चित्त दुखाउनुपर्ने स्थिति आउँछ ।
घ) आजसम्मका सरकारहरू अनियमितता र अनैतिकतामा हुर्केका विष वृक्षहरू हुन् । तिनीहरू शैक्षिक क्षेत्रमा आ–आफ्नो दलको प्रभाव कायम गर्ने उद्देश्यले शिक्षा परिषद्देखि शिक्षा कार्यालयसम्मका हाकिम र कर्मचारीसमेतमा भागबन्डा गर्छन्, आ–आफ्नो मान्छे राख्छन् वा सरुवा गर्छन् । तिनीहरूमार्फत नै विद्यालयका प्रधानाध्यापक, शिक्षक वा व्यवस्थापनका पदाधिकारीहरूले पद, पुरस्कार र सहुलियतको लोभ देखाएर राम्रोसँग चलिरहेका विद्यालयहरूमा समेत फूट ल्याई भाँडभैलो मच्चाउँछन् ।
ङ) त्यस्ता जालसाजीबाट बच्ने मुख्य उपाय हो– प्रधानाध्यापक र शिक्षक–शिक्षिकाहरू अति व्यक्तिगत महत्वाकाङ्क्षाबाट जोगिनु र सामूहिक निर्णयबाट विद्यालयलाई अगाडि बढाउनु ।
शिक्षा क्षेत्रमा देखा परेका सारा भाँडभैलोको दोष शिक्षक– शिक्षिकाहरूलाई दिनु हुन्न । सबै नीतिको राजा राजनीति भएको हुँदा पञ्चायत कालदेखिका सबै सरकारहरू अर्थात् प्रधानमन्त्री, शिक्षामन्त्री र शिक्षा मन्त्रालयका सचिवदेखि महानिर्देशक तथा शिक्षा अधिकारीसम्मलाई दोष दिनुपर्छ वा व्यक्तिगतरूपमा पदाधिकारीहरू राम्रा भए पनि पुँजीवादी व्यवस्था यसको दोषी हो । खुला सिमानाका कारण भारतले यहाँ प्रभाव पार्नु स्वाभाविक हो । शिक्षामा नीतिगत व्यवस्था गर्न नसकेकोमा र पक्षपात गरी मुख्य मुख्य पदमा आफ्ना मान्छे राखेकोमा प्रधानमन्त्री, मन्त्री र सचिव दोषी छन् भने शिक्षक, शिक्षिकाको नियुक्तिमा पक्षपात गरेको र अनियमितता गरेकोमा डाइरेक्टरदेखि शिक्षा अधिकारी र कार्यालयका कर्मचारीहरू पनि दोषी छन् ।
हो, तीमध्ये एकदुई जना दाग नलागेका कर्मचारीहरू पनि नभएका होइनन् । प्रवेशिका परीक्षा बोर्डका माथिदेखि तलसम्मका मुख्यमुख्य कर्मचारीहरू कुनै न कुनै रूपले पतित छन् । उत्तीर्ण विद्यार्थी अनुत्तीर्ण भएका, अनुत्तीर्ण हुने विद्यार्थीहरू प्रथम श्रेणीमा र प्रथम वा विशिष्ट श्रेणीमा आउने विद्यार्थीहरू अनुत्तीर्ण गरिएका उदाहरण कति छन् कति !
तिनीहरूमध्ये कुनै मानवीय कमजोरीले भएका होलान् भने कति बेवास्ताले र कहिलेकाहीँ जानीजानी विभिन्न किसिमका अनियमितता गरेका छन् । असंवेदनशील र विद्यार्थीहरूको जीवनसँग खेलवाड गर्ने यस्ता हाकिमहरू र कर्मचारीहरू अपराधी हुन् र तिनीहरू सबै कारबाहीका भागिदार हुन् ।
माथि यस्ता समस्यामा विश्वविद्यालयदेखि समाधानको खाँचो छ । ३० वर्ष अध्यापन गर्ने एक प्राध्यापककै भनाइअनुसार ‘एक लाख डलर बाँडियो’, ‘प्रमाणपत्र तह फेज आउट’ भएन । सन् १९५० को दशकको पाठ्यक्रम सन् १९९३ मा ……. पनि परिवर्तन भएको छैन । यसकारण, उनी भन्छन्, “आर्थिक रूपलाई मात्र नहेरी बौद्धिकरूपमा गरिब बनाउनुहुँदैन ।”
“…. त्रिविमा पढाउने प्राध्यापक, सह–प्राध्यापक, उपप्राध्यापकमा ७० प्रतिशतको आफ्नै निजी विद्यालय र कलेज छन् । त्रिविमा काम गर्नुपर्दैन, हाजिर गरे तलब पाइन्छ । जाँचको एकदिन अगाडिसम्म फारम भराउने को हो ? त्यही स्वतन्त्र विद्यार्थी युनियनहरू होइनन् (?) पढेकै छैन, भर्ना भएको छैन, कक्षामा आएको छैन तर जाँचको मुखमा भर्ना हुने प्रचलन छ । अनि गुणस्तर कहाँ खोज्ने ?”
यसमा विद्यार्थी र शिक्षकहरू दुवै दोषी छन् । अन्य अनियमितताबारे उनी भन्छन्, “त्रिविले स्नातक मात्र पास गरेका, एउटा पनि मास्टर्स नगरेका मान्छेलाई पनि प्रोफेसर बनाएको छ । त्रिविले आफ्नो खुट्टामा आफैँले बन्चरो हान्दै छ । राजनीतिक भागबन्डाका आधारमा त्रिवि सेवा आयोगले प्रतिशतमा भागबन्डा गरेको घटना छ । …….. यहाँ स्नातक तहकालाई प्रोफेसर बनाइन्छ ।” (साँघु २६ साउन, २०६६)
भागबन्डा किन गरियो भन्ने पक्षमा सोधपुछ गर्दा उत्तर तत्काल आउँछ– पञ्चायतकालमा पञ्चायत समर्थकहरू मात्र राखियो, २०४६ सालपछि काङ्ग्रेस र वाममोर्चाका समर्थकहरूलाई भागबन्डामा राखियो, नत्र एउटै पार्टीको मात्रै योग्य र अयोग्य राखिने भयो अथवा शिक्षा क्षेत्रमा एउटै राजनीतिक दलको एकहट्टि हुने भयो । त्यो हानथापमा लाग्न नचाहनेहरू नै मिलेर निजी महाविद्यालय र विश्वविद्यालयको स्थापना गरेका हुन् ।
भागबन्डाकै कारण विश्वविद्यालयका विद्यार्थीहरूले उपकुलपतिलाई कालोमोसो दले । उपकुलपति आफ्नो पक्षको होइन । तर, कुलपति आफ्नै मातृ पार्टीको प्रधानमन्त्रीले निर्णय गरेको विश्वविद्यालयको त्यही दलका विद्यार्थी सङ्गठनले विरोध गर्नु के राजनीतिक नैतिकताले दिन्छ भन्ने जस्ता प्रश्नहरू पनि उठेकै छन् । यसरी नीतिगतभन्दा पदको भागबन्डाको ठाउँमा अरू उपाय अवलम्बन गर्नु उपयुक्त हुन्छ भन्नेबारे छलफल गर्नैपर्छ ।
सम्भवतः भागबन्डा र पक्षपातकै कारण भोजपुर बहुमुखी क्याम्पसका प्रमुख पर्वतकुमार राईमाथि अखिल क्रान्तिकारी विद्यार्थीहरूले कुटपिट गरी घाइते बनाए । (नेपाल समाचारपत्र – १० कार्तिक २०६६)
यदि समयमै घटनाका कारण र ती कारणहरूलाई समाधान गर्ने उपायहरू खोजिएन भने यस्ता घटनाहरू अरू क्याम्पसहरूमा हुँदै जाने सम्भावना छ ।
२
केही सार्वजनिक विद्यालयका शिक्षकशिक्षिकाहरूले आ–आफ्नो कर्तव्य सम्झेर तथा नयाँ पुस्तामार्फत देशलाई नयाँ दिशा दिने उद्देश्यले विशेष कक्षा सञ्चालन गरेर प्रवेशिका परीक्षामा शतप्रतिशत उत्तीर्ण गराउने वा राम्रो श्रेणीमा उत्तीर्ण गराउन थप मेहनत पनि गरिरहेको सुन्नमा आउँछ ।
त्यस्तै नयाँ पुस्तालाई परिवर्तनवादी वा प्रगतिशील बनाउन गरिबका छोराछोरीहरूलाई पनि विशिष्ट श्रेणीमा उत्तीर्ण गराई महँगा माथिल्लावर्गका छोरा–छोरीहरूलाई शासक बनाउने विद्यालयहरूसँग प्रतिस्पर्धा गर्न कष्टसाध्य काम गर्ने विद्यालयहरू र शिक्षक शिक्षिकाहरू पनि छन् । महँगा विद्यालयहरूले महिनामा ५–१० हजार रूपैयाँ लिने गर्दा शिक्षा प्रचार र गरिब जनताको सेवाको निम्ति दुई हजार लिई अध्यापन गर्ने शिक्षकहरूले साँचो अर्थमा एक विद्यार्थीलाई एक महिनामा कमसेकम तीन हजार त्याग गरेको हुन्छ ।
शिक्षकशिक्षिकाहरूकै लगनशीलता र निरन्तरको मेहनतले केही विद्यार्थीहरू विशिष्ट श्रेणीमा पनि उत्तीर्ण हुन्छन् । त्यस्ता विद्यार्थीहरूलाई महँगा उच्च माध्यमिक विद्यालयहरूले छात्रवृत्ति दिँदै वा दलालहरूसमेत लगाएर आ–आफ्नो विद्यालयमा तान्छन्, पढाइको जग राम्रो भएका छात्र– छात्राहरू राम्रो श्रेणीमा उत्तीर्ण हुनु स्वाभाविक छ ।
राम्रा विद्यार्थीहरूको परीक्षाफलको कारण महँगा विद्यालयहरूको प्रचारप्रसार बढी हुन्छ र त्यसले ती विद्यालयहरूमा छात्र–छात्राहरूको सङ्ख्या बढ्नु पनि आश्चर्यको कुरा होइन । तर, त्यस्ता केही विद्यालयहरूका धेरै सेक्सनहरूमध्ये एकदुई ओटा सेक्सनका छात्र–छात्राहरूको मात्रै परीक्षा परिणाम विशिष्ट श्रेणीको हुन्छ ।
सुरुका गरिब विद्यालयका छात्रछात्राहरू, पछि महँगा विद्यालयबाट राम्रो श्रेणीमा उत्तीर्ण हुँदा विभिन्न कारणबाट विदेशमा पनि पढ्ने अवसर पाउँछन् र ती ठाउँमा पनि तिनीहरूले विशिष्ट श्रेणीमै उत्तीर्ण गर्छन् । अध्ययनपछि आफ्नो देश फर्कँदा तिनीहरूले आ–आफ्ना सुरुका विद्यालयका शिक्षक शिक्षिकाहरू वर्षाैँदेखि ती नै विद्यालयमा कार्यरत देख्दा आफू नै ‘टायलेन्ट’ भएको अनुभव गर्छन् । पहिलेका शिक्षक–शिक्षिकाहरूका मेहनत र चिन्तालाई तिनीहरू स्मरणसम्म पनि गर्दैनन् । आफ्ना गुरु र गुरुआमाहरूलाई कम मूल्याङ्कन गरी आफ्नो अति मूल्याङ्कन गर्न पुग्छन् ।
यसरी गुरु र गुरुआमाहरूको त्याग र मेहनतले उठेका गरिबका छोराछोरीहरूमा समेत आत्मकेन्द्रित भावना, व्यक्तिवादी र स्वार्थी भावना पलाएको देखापर्छ । तिनीहरूले परिवार, समाज र आफ्नै देशलाई समेत अवमूल्यन गर्छन् । यस परिस्थितिले ती शिक्षक र शिक्षिकाहरूमा एक प्रकारको निरासा, विद्यार्थीहरूप्रति नै नकारात्मक सोच र शिक्षण पेसाप्रति नै वितृष्णा उत्पन्न गर्दै छ ।
अन्य पेसाकर्मीहरू जस्तै शिक्षक–शिक्षिकाहरू पनि अवकाश पाउँछन् । तिनीहरूका आ–आफ्ना शरीरका अङ्गहरू शिथिल हुन थाल्छन्, एक्लै बस्दा आफ्ना जीवनका भोगाइहरूबारे समीक्षा गर्दा माथि उल्लेख गरेका, सानामा माया गरी पढाएर छात्र–छात्राहरूको चिन्तन र व्यवहारले कता कता शिक्षण पेसा नै कृतघ्न पेसा हो कि भन्ने शङ्का गर्न पुग्छन् ।
तर, महँगा विद्यालयहरूले कुनै त्याग र चिन्ता नलिई आफ्नै भाउमा ‘शिक्षा सेवा’ प्रदान गरेको वा बेचेकोमा विद्यालयका मालिकहरूलाई कुनै प्रकारको पछुतो हुने छैन किनभने तिनीहरूले नयाँ पुस्तालाई नाफाको उद्देश्यबाहेक परिवर्तनवादी, प्रगतिशील वा नैतिकवान् बनाउने उद्देश्य नै लिएका हुँदैनन् । साथै महँगा विद्यालयहरूमा पढाउने शिक्षकशिक्षिकाहरूले नयाँ पुस्ताप्रति कुनै उद्देश्यबिना खाली मजदुरहरूले कारखानामा काम गरी आफ्नो ‘ज्याला’, ‘पारिश्रमिक’ र ‘तलब’ लिए सरह लिने गरेका हुन्छन् । छात्र–छात्राहरूको भविष्यप्रतिको चिन्ताले तिनीहरूलाई चिन्तित बनाउँदैनन् ।
राम्रो वा विशिष्ट श्रेणीमा उत्तीर्ण छात्र–छात्राहरूमध्ये १० जनामा ८ जना विदेश जान्छन् भने दुई जनामात्रै विभिन्न कारणले आफ्नै देशमा कुण्ठा र हीनताबोधले पीडित भएर बस्छन् । नेपाली विद्यालय र विश्वविद्यालयका शिक्षाको स्तर नहुँदा वा समयोचित नहुँदा नेपाली समाचार पत्रहरूमा विदेशी विद्यालय र विश्वविद्यालयका विज्ञानपहरू छ्यास्छ्यास्ती छापिन्छन् । त्यस्ता विज्ञापनहरूले नेपाली शिक्षा व्यवस्था, शिक्षा नीति तथा शिक्षा प्रणालीलाई नै हाँक दिइरहेका छन् ।
यस परिस्थितिको गम्भीरताले विदेशमा गई पढ्नको निम्ति खर्च गरिने रकमबाट सबै संवेदनशील नेपाली झस्काउँछ । १० कार्तिक २०६६ को ‘कान्तिपुर’ दैनिकले ‘वैदेशिक शिक्षाको लहर’ शीर्षकमा ‘शिक्षा आर्जन गर्न २० अर्ब बाहिरियो’ भनी लेख्यो । त्यसले लेख्यो, “शिक्षामा बाहिरिएको रकम रेमिट्यान्सको १० प्रतिशत छ ।”
३
देशको शिक्षा व्यवस्थाको यो बेहालको कारण विश्वविद्यालय, शिक्षाविद्हरू वा शिक्षालयहरू मात्र होइनन् बरु देशमा विस्तारै भित्रिएको पुँजीवादी व्यवस्था र पुँजीवादी संस्कृति हो । हिजोका शिक्षा र संस्कृति तथा नैतिकता आज पैसाको खनखन र नाफामा नापिन्छ । साथै भूमण्डलीकरण, विश्व व्यापार सङ्गठन, विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष, एसियाली विकास बैङ्क आदि नवउपनिवेशवादकै रूप र ज्यावलहरू हुन् । जसरी नाफाकै निम्ति व्यापार र लगानीमा एजेन्टहरूको प्रयोग हुन्छ त्यस्तै शिक्षा, सहयोग, अध्ययन भ्रमण आदिमा समेत एजेन्टहरूको प्रयोग हुन्छ ।
सरकारी क्षेत्रमा कर्मचारीतन्त्रमार्फत सत्तासीन दल र त्यसका नेताहरू विदेशी पुँजीका ‘सिकार’ हुन्छन् भने सांस्कृतिक क्षेत्रका गैरसरकारी संस्थाहरूलाई ‘बल्छी’ बनाउँछन् र आर्थिक क्षेत्रमा नेपाली बैङ्कहरू वित्तीय संस्थाहरूलाई ‘जाल’ मा पार्छन् । यसलाई सारमा नवउपनिवेशवाद भनिन्छ ।
नवउपनिवेशवादको चङ्गुलबाट बच्ने उपाय हो देशलाई आर्थिक र सांस्कृतिक (शिक्षा, संस्कृति, नैतिकता, लवाइखवाइ आदि) रूपले मुक्त पार्नु, देशको अर्थतन्त्रलाई फस्दै जाने परनिर्भरताबाट जोगाउँदै जानु, साहित्य र कलामार्फत विदेशी फोहर साहित्यबाट जनतालाई जोगाउनु ।
नयाँ पुस्तालाई विद्यालयस्तरबाटै देशप्रेमको भावना जगाउनु, शोषणको विरोध गर्न सिकाउनु तथा साम्राज्यवाद, नयाँ र पुरानो उपनिवेशवादको विरोधमा शिक्षित गर्दै जानु नै देश र जनतालाई विदेशी प्रभुत्वबाट जोगाउने एउटै मात्र उपाय हो ।
यस उपायलाई सशक्त बनाउन स्वतन्त्रता, स्वाधीनता र मुक्तिको निम्ति सङ्घर्ष गरेका देशहरूको अनुभवबाट पनि नयाँ पुस्तालाई जानकारी दिनु ती देशका लेखक, कवि, कलाकार, नेता, महापुरुष र वीर–वीरङ्गनाहरूको जीवन चरित्रबारे जानकारी दिनु आवश्यक छ । यस पुनित कार्यमा विद्यालय र शिक्षक– शिक्षिकाहरू नै सबभन्दा योग्य र प्रभावकारी संवाहक हुनेछन् र त्यसैलाई विशिष्ट श्रेणीको मापदण्ड बनाइनु उपयुक्त हुनेछ, नत्र नयाँ पुस्ताका लागि चिन्ता लिने र मेहनत गर्ने शिक्षक र शिक्षिकाहरू बहुराष्ट्रिय कम्पनीहरूका ‘मानव तस्कर’ वा ‘म्यानपावर कम्पनी’ का मौन समर्थक वा अज्ञानी दलाल साबित हुनेछन् ।
यसकारण, विद्यालयहरूका छात्रवृत्ति र पुरस्कारको बन्दोबस्तमा किताबी विषयको मात्रै होइन, टोल र गाउँको सरसफाइको आन्दोलनमा सहभागी हुने, समाजसेवाका कार्यमा समेत सक्रिय हुने, ज्येष्ठ नागरिकहरूको सेवामा ध्यान दिने, साहित्यिक गतिविधि, खेलकुद, नाचगान, वक्तृत्व प्रतियोगिता आदि विषयमा पनि सक्रियता देखाउनेबारे पनि मूल्याङ्कन गर्नुपर्नेतिर शिक्षा क्षेत्रको ध्यान जानुपर्ने तड्कारो आवश्यकता देखिँदै छ ।
स्रोत : आदर्श आजाद स्वर्ण जयन्ती स्मारिका २०६६ बाट साभार