२५ मंसिर, कञ्चन
नेपाल बहु भाषी बहु जातिय मात्र नभै बहु धार्मिक र बहु सांस्कृतिक भएको देश हो।यहाँ हरेक दिन विशेष दिन र पर्व पर्छन ।नेपाली पात्रो पल्टाएर हेर्ने हो भने कुनै न कुनै तिथि र लग्नहरु परेकै हुन्छ।कतिपय तिथि र लग्नहरु विशेष हुन्छन त्यति मात्रै फरक हो।कुनै कार्यको थालनी गर्नु पर्यो भने दिन हेराइन्छ।त्यति मात्र होइन घर छाउने खर काट्नको लागि पनि कुन दिनबाट सुरु गर्दा राम्रो हुन्छ भनि दिन हेराइने चलन छ।बाला चतुदर्शी मेला पनि एक हो ।
आज देशका बिभिन्न शिबालय मन्दिर, नदीको किनारहरुमा तोरण तार्ने र शतबिज छर्ने मेला लागिरहेको छ। यसै क्रममा गुल्मीको हिले सिद्धबाबा मन्दिर र बागलुङ र गुल्मीको सिमानामा पर्ने घुमाउनेमा र रुपन्देहीको कञ्चन गाउपालिका वार्ड नं २ र ४ को बिचमा पर्ने कञ्चन नदी अर्थात भैरमघाटमा यस बर्षको बाला चतुर्दशी अर्थात शतबिज छर्ने मेला आज लाग्दैछ।यो मेलामा यस बर्ष उत्पादन भएका धान, मकै, कोदो, गहु,जौ, फापर लगायतको मिश्रण बनाएर नदीको किनार र मेला स्थलमा छर्ने गरिन्छ ।आजैकै दिन काठमाण्डौमा रहेको पशुपति क्षेत्रमा पनि शतबिज छरिन्छ।
बाला चतुर्दशीलाइ विशेष गरि मृत बुवा आमा तथा आफ्ना, सन्तान र पितृहरुका सम्झनामा तोरण तार्ने र विभिन्न अन्नबालीहरुको मिश्रण बनाएर नदिको किनार वा मेला स्थलमा शतबिज छर्ने दिनको रुपमा मनाइएने गरिन्छ। यसरी शतबिज छर्नाले मृत पितृहरुको आत्माको शान्ति हुने र पितृहरुको आशिर्बादले अर्को बर्षमा पनि अन्नबाली राम्रो हुने जन बिश्वास छ। शतबिजमा नयाँ अन्नहरुको मिश्रण बनाएर छर्ने गरिन्छ।शतबिज छरेपछि बेलाबेलामा गोडमेल पनि गर्नु पर्ने मान्यता रहदै आएकोछ।
गुल्मीको हिले शिद्धमा शतबिज छर्न गुल्मीका विभिन्न ठाउ,पाल्पा,स्याङजा लगायतका स्थानहरुबाट आउने गर्छन भने पुर्तिघात घुमाउनेमा बागलुङ,पर्बत,स्याङजा र पोखराबाट शतबिज छर्न र तोरण तार्न आउने गर्छन भने रुपन्देहिको भैरमघाटमा छिमेकी मुलुक भारत लगायत नवलपरासी,कपिलबस्तु,दाङ,अर्घाखाचीबाट शतबिज छर्न आउने गर्छन।
बालाचतुर्दशीमा गुल्मीको हिले र घुमाउनेमा यसैबेला देखि मेला लाग्ने र शतबिज छर्न कहिले देखि शुरु भयो भन्ने यकिन नभए पनि त्यहाका ८०र९० बर्षका बुढापाकाहरुले उनिहरुले जान्दा देखिनै मेला लाग्ने गरेको बताउछन रुपन्देहीको भैरमघाटमा भने २०४५ साल मा कञ्च ३ निवासी स्वर्गीय तोयनाथ उपाध्ययले वहाका सबै परिवार ६ महिना फलहारि (शुद्ध फलफुल मात्र खाइ) बसि मङ्सिर महिनामा सप्ताहा पुजा गरेका थिए। सप्ताह सम्पन्न भएपछि बाला चतुर्दशीका दिन बाजागाजा सहित कञ्चन नदीमा तोरण तारेका थिए। त्यसै दिन देखि कञ्चन नदीलाइ (जहाँ तोरण तारियो) भैरमघाट नामाकरण गरिएको र सोही दिन देखि बर्षेनी मेला लाग्न शुरु भएको स्थानीय बताउनु भएकोछ। गुल्मी र बागलुङका मानिसहरुले बाला चतुरदर्शीका दिन ग्रह शान्ति गरेर, एकाहा, सप्ताह या यज्ञ गरि सकेपछि यज्ञमा प्रयोग भएको फुलपाती प्रसाद अनि तोरण सेलाउन कालीगण्डकीमा लैजान्थे तर तराइमा यसको समस्या थियो।यसैको अभावलाइ पूरा गर्न बि.सं. २०४३ सालमा कञ्चन नदीमा मौलाको स्थापना गरि त्यस स्थानमा तोरण तार्ने र शतबिज छर्न शुरु गरिएको कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बताउन भयो।
कतिपय जानकारहरु पञ्चायत कालिन समयमा बहुदल र निर्दलको आन्दोलन भैरहेको र त्यतिबेला बहुदलबादीहरुले भुमिगत रुपमा आन्दोलन गर्थे ।सो आन्दोलनमा लागेर आफ्नो नाति (भुमिश्वर ढकाल) भुमिगत भै बेपत्ता भएको र आफ्नो नाति जे जस्तो अवस्थामा भए पनि घर आओस र मुख हेर्न पाउ भनि फलफुल मात्र खाइ छ महिना फलहारी बसी यज्ञ गरेको र पुजामा प्रयोग भएको सामग्री र तोरण सेलाउन कञ्चन नदीमा साहिला पण्डितको नामले चिनिएका प्रेम प्रसाद उपाध्यायले बाजागाजा सहित ल्याएका थिए। सोही दिन देखि कञ्चन नदीमा मन्दिर पनि बनाइ पुजा आजा गर्ने गरेको र बबर्षेनी बाजागाजा सहित तोरन ल्याउने र शतबिज पनि छरी मेला लाग्न शुरु गरेको बताउछन। ३५र३६ सालतिर हो कि समय त्यति ख्याल भएन बहुदल र निर्दलको आन्दोलन हुदा साहिला पण्डितले आफ्नो कुन छोरा हो हराएको रैछ त्यही हराएको छोरा मर्दो छ कि ज्युदो जे जस्तो भए पनि उ घर आओस भनि एक हप्ता सम्म महा यज्ञ गरेको र यज्ञ सकेपछि कञ्चन खोलामा सेलाउन ल्याएको र छोरा भेटियोस भनि मन्दिरको रुपमा मौला पनि गाडेको र हरेक बर्ष बाला चतुर्दशीमा भजन कृतन र बाजागाजा सहित तोरन टार्न आउने गरेदेखि मेला लाग्न शुरु भएको ९० बर्षिय हर्क बहादुर सिंजालीले स्मरण गर्नु भयो।
अहिले पनि तोरण तार्न र शतबिज छर्न आउने भक्तजनहरुले तोरण तार्नु र शतबिज छर्नु भन्दा अगाडी र पछि सोही मौलाको पुजा गर्छन र मौलाको वरिपरि बसी भजन कृतन गर्ने गर्छन। गजेडी रुद्रपुर सडक खण्ड अन्तर्गत कञ्चन २ र ४ बिचमा पर्ने कञ्चन नदी अर्थात भैरबघाटमा पक्की पुल बने पछि सो मौला जिणोद्वारको गरिकोछ।
हजारौं भक्तजनहरु आउने भैरमघाटको मेला ब्यबस्थापन गाउपालिका स्तरबाटै हुनु पर्ने देखिन्छ।रुपन्देहीमै हजारौको संख्यामा लाग्ने मेला यस क्षेत्रकै ठुलो र आन्तरिक र बाह्य पर्यटकहरु आकर्षण गरि पर्यटनको बिकास गर्न सकिने सम्भावना रहेको भैरमघाट मेलाको ब्यबस्थापन स्थानिय कञ्चन आमा समुहले गर्दै आइरहेकोछ।
मेलाको उचित ब्यबस्थापन गरिनु पर्ने
बाला चतुर्दर्शी मेला धार्मिक आस्थाको मेला हो।मानिसहरु आफ्नो मन र आत्म सन्तुष्टीको लागि धर्मकर्मका अनेक नित्यकर्महरु बेला तिथि र लग्न पारेर गर्ने गर्छन यसैको एउटा मेला भने पनि पर्व भने पनि आफ्ना मृत पितृहरुको सम्झनामा टारिने तोरण र शतबिज रोपण भैरमघाटका लागि प्रदेश सभा सदस्य भुमिश्वर ढकालको जीवन संग जोडिएको मेला भएकोले पनि स्थानियहरु यो मेलालाइ प्रदेश स्तरकै मेलाको रुपमा बिकास गर्नु पर्ने आवस्यक रहेको बताएका छन । यो बाला चतुरदर्शी मेलामा कसैले प्रचार प्रसार नगरे पनि भक्तजनहरु आउने भएकोले ती भक्तजन तथा दर्शकहरुलाइ ब्यबस्थित गरि थप आकर्षणका कार्यक्रमहरु ब्यबस्था गर्न सकिए गाउपालिकाले आम्दानीको श्रोत बढाउन सक्ने अस्नैया टोल बिकास संस्थाका अध्यक्ष ठाकुर गौतमले बताउनु भएको छ। मेलामा खास गरि भर्खर उत्पादन भएको सुन्तला र बडम (ममफुली)को व्यापार हुने गर्छ।त्यस बाहेक सखरखण्ड,समुन्द्री तरुल (सिंगडा), तरकारीहरु मेलामा राखिएका हुन्छन।मेलालाइ उचित ब्यबस्थापन गर्न सकिने हो भने कृषकहरुका लागि उपयोगी हुने नयाँ नयाँ प्रबिधी र कृषि औजारहरुको प्रदर्शन गरि ब्यबसायिक फाइदा लिन सकिने सम्भावना प्रबल छ तर स्थानियहरुको संकुचित सोच र गाउपालिकाको उचित ध्यान पुग्न नसक्दा मेला अब्यबस्थित हुँदै आइरहेकोछ।
हरेक बर्ष मेलाको अवसर पारेर स्थानीयहरुले फुटबल प्रतियोगिता संचालन गर्दै आइरहेकोछ।सो प्रतियोगिता गर्नको लागि कहिबाट सहयोग नहुने भएकोले मेलामा आएका ब्यापारीहरुसंग सहयोग संकलन गर्दै आइरहेका छन।एक दिनको मेला भए पनि लाखौको कारोबार हुने गर्दछ।बिगत १० बर्ष देखि मेलामा होटल संचालन गर्दै आएका आरुङखोला नवलपरासीका पदम श्रेष्ठले हरेक बर्ष एक दिनको मेलाबाट एक लाख नाफा कमाउने गरेको बताएका छन। यो मेला कम्तिमा ५ देखि एक हप्ता सम्म लाग्ने हो भने यस ठाउको व्यापक प्रचार संगै महत्व बढ्ने होटल ब्यबसायी श्रेष्ठले सुझाव दिएका छन।
यसै गरि यस बर्षको लागि सुन्तलाको व्यापार गर्न भनि स्थान बुकिङ गर्न आएकी पाल्पा सत्यवतीकि निर्मला गाहाले पनि गत बर्ष दुइ क्विण्टल सुन्तला ल्याएको तर मान्छेको भिड लाग्ने बेलामा सुन्तला सबै सकिने बताउदै यदि दुई तीन दिनको मेला हुन्थ्यो भने सुन्तलाको व्यापार राम्रो हुने थियो तैपनि मैले राम्रै नाफा कमाएको थिए।
मर्चवारका देबेन्द्र कलवारले पनि यो मेलाको लागि भनेर सय किलो सिंगडा ल्याएका छन। तर मेलाको राम्रो ब्यबस्थापन हुन नसकेको गुनासो गरेका छन। तत्काल गाउपालिका स्तरबाटै विशेष योजना बनाइ मेलाको ब्यबस्थापन गर्नु समग्र गाउपालिकाको पनि हितकर हुनेछ।