१४ फागुन,बुटवल
नेपाली मौलिकतालाई जीवन्त तुल्याउन विभिन्न प्रयत्नहरु भएका छन् । पछिल्लो पुस्तालाई मगर संस्कृतिको अवगत गराउदै त्यसको संरक्षण गर्न भएका प्रयास मध्येको एउटा प्रयास हो ‘मगर किचन’ । बुटवलको मिलनचोकमा सञ्चालन हुन लागेको ‘मगर किचन’ मगर समुदायको जातिय पहिचानसँग जोडिएको सञ्चालक सञ्जय काउचाले बताउनु भयो ।
लोप उन्मुख मगर खानाहरु सवैका लागि उपलव्ध गराउदै नयाँ पुस्तालाई संस्कृतिको चिनारी गराउन ‘मगर किचन’को अवधारणा अघि सारेको काउचाले जानकारी दिनु भयो । मगर किचन’ परम्परागत शैलीमा निर्माण गरिएको छ । मगर वस्तीमा हुने मौलिक शैलीको घर, त्यहा रहेको मकैको सुली,लोप भएर गएको ढिकी,जाँतो, घरको कौसी,घरको अगाडी रहेको तगारो आदिले पहाडको कुनै मगर घरको झल्को दिन्छ । त्यहा सजाइएका ठेकी मदानी,मकैको सुली र कौशीमा राखिएका फर्सीका डल्लाले पहाडी संस्कृतिलाई जिवन्त तुल्याएको छ ।
घरमै पालिएको लोकल कुखुरा,आँटो,डिडो,गुन्द्रुकको अचार,वटुक(वारा),सेल,चुकाउनी जस्ता खानाहरु र शुद्ध नेपाली खानाको परिकारहरु उपलव्ध गराउन ‘मगर किचन’ तयार रहेको सञ्चालक काउचाले बताउनु भयो ।काउचा आफैमा चलचित्रको माध्यमबाट कथा भन्ने कुशल कथाकार हुनुहुन्छ । उहाँले धेरै नेपाली तथा मगर भाषाको चलचित्र समेत निर्माण एवम निर्देशन गर्नु भएको छ ।
पृथक काम गरेर समाज परिवर्तनमा योगदान दिन चाहाने उहाँले व्यावसाय मात्रै भन्दा पनि सामाजिक दायित्व पुरा गर्न समेत ‘मगर किचन’ को अवधारणा अघि सारेको बताउनु हुन्छ ।‘मगर किचन’ मा विभिन्न व्राण्डेड होटेल तथा रेष्टुरेण्टमा काम गरेका सेफहरुले नेपाली मौलिक खानाको परिकारहरु बनाउने छन् । आफ्नै आँखा अगाडी काटेको कुखुरा र पकाएका खानाका परिकारहरु ‘मगर किचन’ उपलव्ध गराईने छ ।
त्यसै गरि विभिन्न सभा,सम्मेन,गोष्ठी तथा कार्यक्रमहरु समेत मगर किचनमा सञ्चालन गर्न सकिने छ । परम्परागत शैलीको मगर घरमा मौलिक शैलीका आधारमा ग्राहकलाई सेवा प्रदान गर्न आफुहरु तयार रहेको सञ्चालक काउचाले बताउनु भयो । काउचा भन्नुहुन्छ ‘व्यवसाय नै मात्र गर्ने हो भने त अन्य व्यवसाय गर्न सकिन्थ्यो । मौलिकतालाई पनि जोगाउन थोरै भए पनि योगदान दिने उद्धेश्यले ‘मगर किचन’ शुरु गरेका छौ ।’ मगर किचनको फागुनको तेश्रो हप्ता देखि शुभारम्भ गरिने भएको छ ।
समाचार श्रोत:- फरक न्युज अनलाइनबाट