भोजराज बस्नेत, खोटाङ
शिक्षा त्यो औजार हो जसले हरेक व्यक्तिभित्र रहेको क्षमता प्रस्फुटन गराई उसको बौद्धिक, शारीरिक, नैतिक, सामाजिक आदि समग्र पक्षको विकास गर्दछ । शिक्षाले ज्ञान, सीप र अभिवृत्ति प्रदान गर्दछ ।
नेपालको संविधान २०७२ ले समाजवादउन्मुख राज्यको कल्पना गरेकोले नेपाल समाजवादतर्फ अगाडि बढ्नुपर्ने हो । शिक्षालाई किसान, मजदुर, आर्थिक एवम् भौगोलिकरूपमा पछाडि परेको सबैको पहुँच पुग्ने गरी व्यवस्था गर्नुपर्ने हुन्छ । राज्यले धनी र गरिब, गाउँ र सहर, दुर्गम र सुगम सबैलाई न्याय सङ्गतरूपमा समान शिक्षा पाउने व्यवस्था मिलाउनुपर्छ । नेपालमा जतिसुकै समान शिक्षाको नारा दिए पनि व्यवहारमा त्यस्तो छैन । राज्य शैक्षिक क्षेत्रको जिम्मेवारी लिने काममा अग्रसर हुनुपर्नेमा झन् गैरजिम्मेवार बन्दै गएको छ । कामदार मजदुर, किसान, गरिब र पिछडिएका सबैलाई समान शिक्षा दिन र देशको बृहत्तर हितको लागि समाजवादी शिक्षा आवश्यक छ । समाजवादी शिक्षा व्यवस्था लागु गर्न समाजवादी राज्य व्यवस्था चाहिन्छ । समाजवादी शिक्षामा व्यक्तिगत स्वार्थ होइन सामूहिक हित गर्ने शिक्षा दिइन्छ । यसमा सबै बालबालिकालाई सार्वजनिक र निःशुल्क शिक्षाको व्यवस्था गरिन्छ । श्रम वा उत्पादनसँग जोडिने व्यक्तिभित्र सामूहिकतावादी चरित्र निर्माण गर्ने र श्रमजीवीवर्गको हितको निम्ति दिइने शिक्षा नै समाजवादी शिक्षा हो ।
समाजवादी शिक्षाका लागि छिमेकी मित्र राष्ट्र चीनमा भएका केही प्रयोगलाई हेर्नुपर्ने हुन्छ । चीनमा समाजवादी राज्य व्यवस्था निर्माण गर्ने प्रक्रियामा सबै प्रयोगमध्ये शिक्षालाई पनि समाजवादी बनाउने प्रयोग सबैभन्दा बढी महत्वपूर्ण प्रयोग हो । समाजवादी व्यवस्था र स्थापनापछि चीनमा यो प्रयोगले समाजवादी सत्ता र मजदुर किसानवर्गको हितलाई रक्षा गर्ने शिक्षा व्यवस्थालाई जन्म दिइएको पाइन्छ । चीनको समाजवादी शिक्षा व्यवस्थाको गहन अध्ययन गरी शिक्षामा ठोस परिवर्तन ल्याउन क्रान्तिकारी शिक्षाको व्यवस्था गर्नु आजको आवश्यकता हो । चीनमा क्रान्ति सुरु भएपछि त्यहाँका कुलीनवर्गका मानिसहरूले ‘शिक्षाको कुनै वर्ग हुँदैन, शिक्षावर्ग र वर्गसङ्घर्षभन्दा टाढाको विषय हो’ भन्दै हल्ला फैलाएका थिए । तर, त्यहाँका क्रान्तिकारी शिक्षा व्यवस्थापकहरूले त्यस्तो हल्लाको सशक्त विरोध गरी बुर्जुवा विचारधाराविरुद्ध तीव्र सङ्घर्ष गर्दै क्रान्तिकारी समाजवादी शिक्षा लागु गरे ।
चीनमा प्रवेश परीक्षा लिने र त्यो परीक्षाबाट उच्च घरानियाँ, कुलीनवर्ग र पुँजीपतिवर्गका विद्यार्थीले मात्र पढ्न पाउने व्यवस्था थियो । त्यो व्यवस्थाको अन्त्य गरी नयाँ प्रणालीअनुसार सहिद, गरिब किसान र मजदुरका छोरा छोरीहरूलाई प्राथमिकता दिई शिक्षामा समान पहुँचको व्यवस्था गरियो । त्यसपछि पढाइ लेखाइका साथै श्रम र उत्पादनमा जोड दिन थालियो । यसरी चीनमा बुर्जुवा शिक्षाको अन्त्य भयो, विज्ञान प्रविधि र अनुसन्धानको क्षेत्रमा चीनले फड्को मा¥यो । धेरै वैज्ञानिक र अनुसन्धानकर्ताको जन्म भयो । शारीरिक श्रम र मानसिक श्रमबिचको अन्तर मेटाउने क्रममा बुद्धिजीवी, वैज्ञानिक र अनुसन्धानकर्ताले सहयोग गरे । शिक्षा उत्पादनसँग जोडियो । फलस्वरूप आज चीन महाशक्ति राष्ट्रको दौडमा छ ।
हाम्रो देश नेपालमा शिक्षा आम जनताको समान पहुँचमा छैन । समाजवादी शिक्षाको व्यवस्था भएको देशमा द्वैध शिक्षा नीति हुँदैन । पुँजीवादी देशहरूमा द्वैध शिक्षा नीति हुने भएकोले फरक फरक क्षमताका जनशक्ति उत्पादन हुन्छन् ।
नेपालमा आज दूरदराज गाउँ बस्तीमा भत्केको भवनमा अध्ययन गर्नुपर्ने दुरवस्था छ भने सहरमा भर्ना शुल्क लाखौँ र मासिक शुल्क हजारौँ असुल्ने निजी विद्यालयहरू छन् । यी दुई विद्यालयबिचको शैक्षिक दुरी कति फरक होला त्यो सजिलै पत्ता लगाउन सकिन्छ । धनीका छोरा छोरीहरू महँगा निजी विद्यालयमा पढ्ने तर पछाडि परेका गाउँबस्तीका गरिब किसान मजदुरका छोरा छोरीहरू सामुदायिक विद्यालयमा समयमा पाठ्यपुस्तक नपाएर रित्तो झोला बोक्न बाध्य छन् । सरकारी तथ्याङ्कअनुसार वि.सं. २०७८ मा कक्षा एकमा भर्ना भएका एघार लाख एकहत्तर हजार नौ सय सो¥ह (११,७१,९१६) जना विद्यार्थी वि.सं. २०७९ मा एस.ई.ई. परीक्षामा पाँच लाख सो¥ह हजार पाँच सय सतहत्तर (५,१६,५७७) जना सामेल भए । यसले शैक्षिक अवस्था कस्तो छ भन्ने देखाउँछ ।
पछिल्लो दिनमा नेपाली विद्यार्थीको विदेश मोह अत्यधिक बढ्दै गएको छ । यसले नेपालका कलेजहरू रित्तिँदै जाने र नेपालको पुँजी विदेश पलायन भइरहेको अवस्था छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार विगत दस वर्ष (आ.व. ७०/७१ देखि आ.व. ८०/८१ को वैशाख महिनासम्ममा) ३ खर्ब ६५ अर्ब रकम उच्च शिक्षा अध्ययनको लागि बाहिरिएको छ ।
यो कहालीलाग्दो शैक्षिक अवस्था रोक्न सामूहिकता, सामुदायिक र समभावको आधारमा व्यक्तिको व्यक्तित्व विकास गर्ने समाजवादी शिक्षा आवश्यक छ । शिक्षाको प्रमुख दर्शन समाजवाद नै बन्नुपर्छ ।
(लेखक बस्नेत श्रीधारापानी मावि खोटाङका निवृत्त शिक्षक हुनुहुन्छ ।)
स्रोत : शैक्षिक अनुभव, पूर्णाङ्क १३, कार्तिक २०८०