१७ माघ,कञ्चन
नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाको पाचौं साधरण सभा सम्पन्न भएको छ।कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा उपशाखाको बार्षिक प्रतिवेदन २०७६/७७ पारित गर्नुको साथै आगामी २०७८/०७९ को बार्षिक कार्य योजना प्रस्तुत गरिएको थियो।
गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले साधरण सभामा सहभागी स्वयमसेबी रेडक्रसकर्मीहरुलाई सम्बोधन गर्दै निस्वार्थ रुपमा आपत बिपदमा राहत लिएर सेवा गर्ने रेडक्रसकर्मीहरुको आस्था र बिस्वास प्रति आभार ब्यक्त गर्दै कञ्चन उपशाखाले बनाउन लागेको रेडक्रस भवन निर्माणको लागि गाउपालिकाबाट ५ लाख रुपैया आर्थिक सहयोग गरेको र आगामी बर्षमा पनि भवन निर्माणका लागि थप बजेट व्यबस्थापन गर्नमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए। फरक प्रसंगमा आफ्नो धारणा राख्दै कञ्चनमा भएका भुमिहिन दलित,भुमिहिन सुकुमबासी र अव्यबस्थित बसोबासीहरुको व्यबस्थापनका लागि गाउँ गाउमा लगत संकलनको कार्य अन्तिम चरणमा पुगेको र लगत संकलन पछि आवस्यक कागजात पुन परिक्षण पश्चात् नापी गरि सके सम्म असार मसान्त भित्रै कञ्चनबासीलाई भोगचलनको अधिकार सहित लालपुर्जा बितरण गरिने समेत बताएका थिए।
यस्तै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्देहीका कार्य समिति सदस्य तथा वुटवल रक्त संचार केन्द्रका अध्यक्ष दल बहादुर थापाले जहाँ आपत र बिपद त्याह नेपाल रेडक्रस भन्ने मुल भावना सहित जनताको सेवामा लाग्ने निस्वार्थपुर्ण स्वयम् सेवकहरुको साझा संस्था नेपाल रेडक्रस भएको उल्लेख गरे। यदि संसारमा रेडक्रसको परिकल्पना नगरिएको भए सायद मानवता,स्वाधिनता,निष्पक्षता,एकता,तटस्थता,स्वयमसेवा र विश्व व्यापकताको भावनाको बिकास नहुने बताउदै सन १८६३ मा स्विजरल्याण्डको जेनेभामा जाँ हेनरी ड्युना र उनका सहयोगीहरुले रेडक्रसको सात सिद्धान्तको प्रतिपादन सहित संस्था स्थापना गरेको हाल विश्वभर करिब ९ करोड ७० लाख जना स्वयसेबी सदस्य भएको समेत बताए।
यस्तै हरैया बहुमुखी क्याम्पसका निबर्तमान क्याम्पस प्रमुख चुडामणी शर्माले रेडक्रसको सात सिद्धान्तको पालना गरेमात्र पनि कुनै पनि झैझगडा नहुने र एक आपसमा एकताको भावना बिकास हुने उल्लेख गरेका थिए। कार्यक्रममा गुल्मी नेपाल रेडक्रस सोसाइटी बलेवा उपशाखाका कोषाध्यक्ष केहरसिंह थापाले दुई उपशाखा बिचको अनुभव साट्न पाएकोमा खुशी ब्यक्त गर्दै रेडक्रसमा लाग्नुको अर्थ मानव सेवामा समर्पित भई समाजमा मानवता,स्वाधिनता,निष्पक्षता,एकता,तटस्थता,स्वयमसेवा र विश्व व्यापकताको बिकास गर्ने सिपाई बन्नु भएको बताए।
उपशाखाका सचिब तुल बहादुर थापाले उपशाखाको बार्षिक कार्य प्रतिबेदन तथा कार्य योजना प्रस्तुत गरिएको कार्यक्रममा संस्थाका उप सभापति गंगालाल पौडेलको स्वागत तथा रेडक्रसको ७ सिद्धान्त उपशाखाका सह कोषाध्यक्ष हिमा बेलबासेले पाठ गरेका थिए भने कार्यक्रमको अध्यक्षता तथा धन्यबाद ज्ञापन सभापति लिला कुमारी पौडेलले गरेका थिए।