३ माघ,कञ्चन
थारु कल्याणकारी सभा,कञ्चनको आयोजनामा चौंथो माघी महोत्सव तथा २६४५ औं थारु लावा साल विविध सांस्कृतिक कार्यक्रमको प्रस्तुतिसंगै कञ्चनको गजेडी बजारमा शनिवार सम्पन्न भएको छ। थारु भाषा,कला,संस्कृति र परमपराको संरक्षण र सम्वद्र्धनका लागि हरेक बर्ष थारु कल्याणकारी सभाले माघी महोत्सवको रुपमा लावा साल मनाउदै आएको छ।
माघी महोत्सव तथा २६४५ औं थारु लावा सालको उपलक्ष्यमा शुभकामना दिदै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चन विविध जातजाती,भाषा,धर्म,कला,संस्कृति र रिति रिवाजले सजिएको साझा अनि सुन्दर बगैंचा भएको बताएका छन। अध्यक्ष क्षेत्रीले यो साझा बगैंचालाई सम्वद्र्धन र संरक्षण गर्नु हरेक कञ्चनवासीको साझा कर्तव्य र जिम्मेवारी भएको समेत बताएका छन। यदि कञ्चनमा भएका विभिन्न जातजातीको भाषा,धर्म,कला र संस्कृतिलाई संरक्षण गर्न सके कञ्चनलाई सांस्कृतिक पर्यटनको समेत बिकास गर्न सकिने बलियो सम्भावना भएको बताए । कञ्चन गाउपालिकाले थारु समुदायको कला संस्कृति र परमपरालाई जिवन्त बनाउन चालु आ.व.मा थारु संग्रहालय निर्माणको लागि करिब २५ लाख रुपैया बजेट व्यबस्थापन समेत गरेको अध्यक्ष क्षेत्रीले बताए ।
यस्तै कञ्चन गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बहु जाती बहुभाषी,धर्म,कला र संस्कृति भएको सुन्दर कञ्चनको जनप्रतिनीधि भई सेवा गर्न पाएकोमा आफुले गर्व महसुस गरेको बताए । कञ्चन आन्तरिक तथा बाह्य पर्यटनको हिसावले निकै महत्वपुर्ण स्थानिय तह भएको बताउदै वडा अध्यक्ष अधिकारीले कञ्चनका विविध कला र संस्कृति देखाएर मत्र पनि बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन सकिने र त्यही पर्यटकहरुबाट हुने उपलब्ध हुने आम्दानीबाटै त्यही समुदायको बिकास गर्न सकिने बताए ।यसैगरी नेपाली कांग्रेस,जिल्ला समिति,रुपन्देहीका सदस्य देविराम रेग्मीले कञ्चनमा भएका हरेक समुदायको भाषा धर्म,कला र संस्कृतिको समान रुपमा संरक्षण र बिकास गर्नु पर्ने आवस्यक रहेको बताए ।
थारु कला र संस्कृतिको झुमरा,झर्रा,बडका नांच,मयुर नांच प्रदर्शन गरिएको महोत्सवमा मिलन चौधरी,सिताराम थारु,सुप्रिया थारु लगायतले थारु गायन तथा नृत्य प्रस्तुत गरेका थिए । यसैगरी हिमालय महिला कृषक समूह,संगम स्पोटर्स क्लव,थारु संघर्ष युवा क्लव,गायत्री आमा समूह,भैरव युवा क्लव,दुर्गामाई कृषक आमा समूह,जागरण आमा समूह,थारु महिला समूह,श्रृजना आमा समूह,मायादेवी सामुदायिक आमा समूह,जनज्योती आमा समूह,गौतम बुद्ध आमा समूह र थारु नमुना आमा समूहले थारु कला र संस्कृतिको झुमरा नांच,झर्रा,मयुर नांच र बड्का नांच सहित चेतनामुलक सोङ(नाटक) समेत प्रस्तुत गरेका थिए ।
थारु कल्याणकारी सभा,कञ्चनका संयोजक पुर्णवासी थारुको अध्यक्षता तथा उपसंयोजक राधिका चौधरीको स्वागत र स्टेज कभरर तथा रेडियो कञ्चनका कार्यक्रम प्रस्तोता सरस्वती चौधरी र बिष्णु थारुले सम्पन्न कार्यक्रम गरेका थिए ।