२८ पुष,कञ्चन
लहर सामाजिक उधमी महिला सहकारी संस्था,कञ्चन१,गजेडीको छैठौं साधारण सभा मंगलवार सम्पन्न भएको छ। कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले सो साधारण सभाको उद्धघाटन गर्दै कञ्चनको समृद्धका लागि कञ्चनका महिलाहरु पनि सक्षम र नेतृत्वको हिसावले पनि सवल रहेको बताउनु भएको छ।
प्रमुख अतिथिको रुपमा रहनु भएका गाउपालिकाका उपाध्यक्ष तरामुले अव श्रीमान वा पुरुषहरुको निर्भरमा नभई कुनै न कुनै ब्यबसायिक कार्यमा लागेर होस या परम्परागत रुपमा गर्दै आइरहेको कृषि पेसालाई व्यबसायिक बनाएर भएपनि अव हरेक महिलाहरु आत्म निर्भर हुनुपर्ने बताउदै समृद्ध कञ्चन निर्माणका लागि कञ्चनका हरेक महिलाहरु सवल र सक्षम भएको समेत बताउनु भएको छ। कञ्चनका सरकारी वा गैर सरकारी संस्थाहरुको नेतृत्व ४० प्रतिशत भन्दा बढी महिलाहरुले गरेको देखिन्छ तर त्यसलाई संस्थागत र प्रभावकारी बनाउनु जरुरी भएको कुरालाई उपाध्यक्ष तरामुले जोड दिनु भएको थियो ।
लहर सामाजिक उधमी महिला सहकारी एउटा उदाहरण भएको उल्लेख गर्दै उपाध्यक्ष तरामुले लहरले महिलाहरुलाई आत्म निर्भर र व्यबसायिक बनाउन नियमित बचत र दुग्ध संकलन गरी आफैले उत्पादन गरेको दुध जन्य बस्तुहरुको बिक्री वितरणबाट पनि सहकारीले नाफा कमाउने भएकोले पनि सहकारीलाई दिगो बनाउन सकिने समेत बताउनु भएको छ।महिलाहरुले संचालन गर्ने उधमशिलताका हरेक कार्यक्रम र योजनाहरुलाई गाउपालिकाबाट पनि आवस्यक सहयोग गर्दै आइरहेको आगामी दिनहरुमा सो सयहोगलाई निरन्तरता दिइदै जाने समेत उपाध्यक्ष तरामुले प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
यस्तै कृषि शाखाका कृषि बिकास अधिकृत राम मगरेपाल गडरियाले कुनै पनि योजना तयार गर्दा ब्यक्तिगत भन्दा सामुहिक र सहकारी पद्धतीमा बनाउन सके ती योजनाहरु अझ प्रभावकारी हुने बताउनु भएको छ।गाउपालिकामा आउने प्राय योजनाहरु कृषि तथा पशु बिकास प्रबद्र्धन र किसानहरुलाई व्यबसायिक बनाउने उद्धेशयका साथ योजना प्रस्ताव माग गरिएको हुने कृषि बिकास अधिकृत गडरियाले बताउनु भएको थियो ।
संस्थाको छैठौ साधरण सभा तथा तेश्रो अधिबेशनले पुन राधिका चौधरीको अध्यक्षतामा ९ सदस्यिय नया कार्य समिति निर्वाचित गरेका छ । अधिबेशनवाट उपाध्यक्षमा तुलसी भण्डारी,सचिवमा ओमकला थापा,कोषाध्यक्षमा ममता श्रीस र सदस्यहरुमा प्रमिला चौधरी,बसन्ती पन्थी,कोपिला क्षेत्री र निरमाया बोहोरा क्षेत्री निर्वाचित भएका छन। कार्यक्रममा संस्थाका अध्यक्ष राधिका चौधरीलाई कञ्चन जेसिज बर्ष २०२१ का लागि अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा सम्मान समेत गरेको थियो ।
संस्थाका अध्यक्ष राधिका चौधरीको अध्यक्षता,सचिव ओमकला थापाको संचालन र ममता श्रीसको स्वागतमा सम्पन्न भएको कार्यक्रममा माउण्ट एभरेष्ट सामाजिक संस्था,कपिलबस्तुका कार्यकारी निर्देशक दीपक खनाल र कञ्चन गाउपालिकाका पशु प्राबिधिक ध्रुव ज्ञवालीले समेत शुभकामना ब्यक्त गर्नु भएको थियो । उक्त सहकारी संस्थाको शेयर पुंजी ३८ लाख,नियमित तथा मासिक बचतमा १ करोड ४६ लाख नब्बे हजार सहित ४ करोड ४५ लाख तेत्तिस हजार रुपैया बार्षिक कारेवार रहेको छ।