२५ फागुन, एजेन्सी।
चर्चित चलचित्र निर्माता तथा अभिनेता सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ । कौशिकका भतिजा निशानले बीबीसी हिन्दीलाई बताएअनुसार कौशिक होली मनाउन गुरुग्राममा एक साथीको घर गएको र त्यहाँ हृदयघात भएको थियो । त्यसपछि उनलाई फोर्टिस अस्पताल लगिएकोमा त्यही उनको निधन भयो ।
बेफिक्री कौशिक
सन् २००५ को कुरा हो । दुई वर्षअघि सतिश कौशिकले निर्देशकको रूपमा आफ्नो सबैभन्दा ठूलो हिट फिल्म ‘तेरे नाम’ दिएका थिए । उनको नयाँ फिल्म ‘वादा’ बक्स अफिसमा रिलिजको तयारीमा थियो । त्यतिबेला म ‘स्टार न्यूज’ च्यानलको सबैभन्दा जुनियर रिपोर्टर थिए । मेरो पोस्टिङ केही महिना मुम्बईमा थियो । त्यो समय बिहानको सम्पादकीय बैठकमा आफूसँग समाचारको बिषय नभए डेस्कले असाइनमेन्ट दिन्थ्यो । त्यो असाइनमेन्ट साँझसम्म पूरा गर्नुपर्ने हुन्थ्यो ।
त्यो दिन मलाई सतीश कौशिकको अन्तर्वार्ता लिने जिम्मा दिइएको थियो । राजीव मसन्द बलिउड कभरेज टोलीका प्रमुख थिए र उनले एक घण्टामा हाम्रो लागि यो अन्तर्वार्ता तय गरे । मुम्बईको जुहु क्षेत्रमा सतीश कौशिकसँग भेट भएको थियो । ‘मिस्टर इन्डिया’ को ‘क्यालेन्डर’ भेट्दा मेरो मनमा अनौठो खुसी थियो ।
दिउँसो करिब एक बजे उनको कार्यालयको रिसेप्सनमा पर्खिदै थिएँ । त्यो समय चर्नी रोडको चर्चित ‘तिवारी मिठाई’ का दुईवटा ठूला बट्टा बोकेका एकजना व्यक्ति भित्र पसे । पाँच मिनेटपछि भित्र बोलाएर सतीश कौशिकले भन्नुभयो, ‘छोरा, पहिले केही खाऊ, त्यसपछि आरामसँग कुरा गरौंला ।’ टेवलमा सफा सिसाको दुई–तीन प्लेटमा खास्ता र कचोरी राखिएको थियो, जसलाई सतिश कौशिकले सुक्खा आलुको तरकारीसँग खाँदै पनि हुनुहन्थ्यो ।
उहाँले त्यो हामीलाई पनि खुवाउनुभयो र कुराकानी आफैंले सुरु गर्नुभयो, ‘साथी, म पञ्जाब–दिल्लीको हो । अहिले मुम्बईमा त्यही ठाउँको खाना खोज्छु । दिल्लीको किरोरी मल कलेजमा पढ्दा पनि हरेक हप्ता करोलबागको ‘रोशन दी कुल्फी’मा बसबाट जान्थें । त्यहाँ चना–भटुरा खान्थे । त्यहाँ यो कस्तो स्वादिलो बन्छ यार !’
‘जाने भी दो यारों’का लागि जिते ट्रफी
उहाँको अफिसमा वैष्णोदेवीको तस्विर राखिएको थियो । त्यसको पछाडि ‘तेरे नाम’ फिल्मको एक पोस्टर थियो । साथमा थियो ‘जाने भी दो यारों’ बाट जितेको ट्रफी पनि ।
उहाँले भन्नुभयो, ‘जब मैले ‘जाने भी दो यारो’ का लागि संवादहरू लेखेको थिएँ, त्यो समय मलाई थाहा थिएन कि यसले यस्तो क्लासिक स्टेटस पाउनेछ । म त्यो काम गर्दैछु जुन एनएसडी वा एफटीआईआईमा सिकेको थिएँ ।’
त्यसबेला मैले उहाँलाई भनेको थिएँ, ‘मैले ६–७ पटक ‘मिस्टर इन्डिया’ हेरें । त्यसमा तपाईंको क्यालेन्डर र अमरीश पुरीको मोगाम्बो चरित्र गजबको छ ।’
कौशिक हँस्नुभयो र भन्नु भयो, ‘यार, म त्यो अभिनय गर्न खोज्दै थिएँ । जुन सलीम–जावेद साहेबले लेखेको थिए । म मुम्बई फिल्म उद्योगमा कमेडियन बन्नै आएको थिएँ । किनभने मलाई महमूद र जोनी वाकर एकदमै मनपथ्र्याे । मेरो मनमा कतै विश्वास थियो कि, म पनि मानिसहरूलाई हसाउँन सक्छु । निर्देशक त पछि भएँ म । मेरो पहिलो प्रेम कमेडी नै हो साथी ।’
सलिम–जावेदको संयुक्त रुपमा त्यो नै अन्तिम काम थियो । भनिन्छ कि त्यसपछि यी दुईबीच तिक्तता पैदा भएको थियो ।
दिल्लीको खाना निकै रुचाउँथे सतीश
सतीश कौशिकको एउटा विशेष यस्तो थियो । उहाँ छिन छिनमा दिल्लीमा बिताएका समयहरु सम्झिरहनु हुन्थ्यो । मैले पनि दिल्लीमा अध्ययन गरेको थाहा पाएपछि उहाँले सोध्नुभयो, ‘खान, पिउन रुचि छ ?
मैले भने, ‘छ’ ।
त्यसपछि उहाँले सोध्नुभयो, ‘दिल्लीको पाँचवटा मनपर्ने रेस्टुरेन्टको नाम बताउनुहोस् ।
मैले गन्नुअघि उहाँ आफैले भन्नु भयो, ‘भयो छोड । मेरो कुरा सुन । नेशनल स्कूल अफ ड्रामाका दिनहरूमा म पुरानो दिल्लीबाट वा पहाडगञ्जका होटलहरूबाट प्याक गरेर खाना ल्याउँथें । क्या राम्रो बनाउँथे यार । माथिबाट देशी घीउ राख्थे । आज पनि मौका मिल्यो भने दिल्लीमा कसैले थाहा नपाउने गरेर अर्डर गरेर खान्छु साथी । अब मलाई यो नभन्नु नि मेरो तौल सोही कारण बढेको हो ।’ यसो भन्दै सतीश चर्को स्वरमा हाँस्नुभयो ।
संयोग भनौ वा के भनौ १८ वर्षअघिको त्यो भेटपछि उहाँसँग ३ पटक भेट भयो, त्यो दिल्ली एयरपोर्टमै मात्रै भयो ।
गत वर्ष म असमको लागि उड्नु थियो । सदस्य लाउन्जको कुनामा बसेर प्रशंसकहरूसँग सेल्फी खिच्दै थिए । दश मिनेट पर्खिएपछि मैले उहाँलाई ‘वादा’ को समयको अन्तर्वार्ता पनि सम्झाएँ
सतीशले भन्नुभयो, ‘अरे त्यो सबै छाड्नुहोस् । म ‘तेरे नाम–२’ बनाउने सोचमा छु । दिल्लीमा पनि सुटिङ भयो भने झनै रमाइलो हुनेछ ।’
दिल्लीप्रति उनको माया असीमित थियो । यसै दिल्लीमा उहाँले अन्तिम सास फेर्नु भयो ।
शोक व्यक्त गर्दै ट्वीट
कौशिकको असामयिक निधनले बलिउडमा शोक छाएको छ । कौशिकसँगै एनएसडीमा अध्ययन गरेका साथी अनुपम खेरले शोक व्यक्त गर्दै ट्वीट गरेका छन्, ‘मृत्यु नै यो संसारको अन्तिम सत्य हो । तर म जीवित रहँदा मेरो सबैभन्दा मिल्ने साथी सतीश कौशिकको बारेमा यो लेख्नेछु । सपनामा पनि सोचेको थिइन, ४५ वर्षको मित्रतामा यसरी अचानक पूर्ण पूर्णविराम ! तिमी बिनाको जीवन अव कहिल्यै पहिले जस्तो हुने छैन । ओम शान्ति !’
त्यस्तै प्रसिद्ध फिल्म निर्माता मधुर भण्डारकरले शोक व्यक्त गर्दै लेखेका छन्, ‘अभिनेता तथा निर्देशक सतीश कौशिक जीको निधनले म स्तब्ध छु । कौशिक एक ऊर्जावान व्यक्ति थिए । उनलाई उनका लाखौं फ्यान र फिल्म उद्योगले मिस गर्नेछ । मेरो तर्फबाट विनम्र श्रद्धाञ्जली ।’
कौशिक दुई दिनअघि चर्चित गीतकार जावेद अख्तरको घरमा होली खेलिरहेको देखिएका थिए । उनले होली खेल्दै गरेको तस्विर सामाजिक सञ्जालमा पोस्टसमेत गरेका थिए । कौशिकको जन्म १३ अप्रिल १९५६ मा भएको थियो । कौशिक अभिनेता, निर्माता, हास्यकलाकार र पटकथा लेखक समेत थिए । उनले किरोडी मल कलेजबाट स्नातकपछि नेशनल स्कूल अफ ड्रामामा अध्ययन गरेका थिए । कौशिकले राम लखन, साजन चले ससुराल, जाने भी दो यारों र मिस्टर इन्डिया जस्ता बहुचर्चित फिल्ममा अभिनय गरेका छन् ।
-बीबीसी हिन्दी