काठमाडौ
चालिसौँ नेपालभाषा साहित्य तःमुंज्या बिहीबार सम्पन्न भयो । कोभिड–१९ महामारीको जोखिमलाई ध्यानमा राखी यो वर्षको तःमुंज्या अनलाइनमार्फत भएको थियो । सम्मेलनका वक्ता, साहित्यकार र सहभागीहरू आ–आफ्नो घर र कार्यस्थलबाटै सहभागी बन्नुभएको थियो । जुम एपलगायत भादगाउँ टीभी, अनलाइन मजदुर, भक्तपुर रेडियो, रेडियो जनसञ्चार, नेपालभाषा साहित्य तःमुंज्या र भक्तपुर नगरपालिकाको फेसबुक पेजमार्फत सयौँ दर्शकहरूले तःमुंज्यामा सहभागिता जनाउनु भएको थियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कोरोना भाइरस संसारबाट तुरून्तै हट्ने अवस्था नभएकोले स्वास्थ्यप्रति सावधान र सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सङ्क्रमण भइसकेका व्यक्तिहरू पनि जथाभावी हिँड्न नहुने भन्दै शरीर कमजोर हुनेबित्तिकै फेरि पनि स्वास्थ्य समस्या देखिन सक्ने बताउनुभयो ।
नेपाली समाजमा विगतमा प्रयोगमा रहेका कतिपय चलन वैज्ञानिक र उपयोगी भएको हुँदा त्यस्ता चलनलाई ब्युँताउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
नारायणमान बिजुक्छेँ (रोहित)
अध्यक्ष बिजुक्छेँले भविष्यमा आउनसक्ने यस्ता महामारी नियन्त्रणमा सहज बनाउन एउटा जिल्लाको स्थायी बासिन्दालाई अर्को जिल्लामा घर बनाउन नदिने व्यवस्था लागु गर्नुपर्ने विचार राख्नुभयो । “त्यसो गर्न सके एक जिल्लाबाट अर्को जिल्लामा गर्ने अपराधमा पनि कमी आउनेछ”, उहाँले भन्नुभयो ।
उहाँले भ्रष्टाचारी र अपराधी गिरफ्तार गर्दा प्रहरीले उनीहरूआबद्ध वा निकट रहेको राजनीतिक दलको पनि अभिलेख राख्नुपर्ने बताउनुभयो ।
नेमकिपाका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेपालमा कोभिड सङ्क्रमण फैलिनुमा भारतसँगको खुला सीमा पनि प्रमुख कारण भएको चर्चा गर्दै नेपाल–भारत सीमा बन्द गर्नु दुवै देशका जनताको हितमा रहेको बताउनुभयो । उहाँले जनस्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने सरकारले अर्बपति–खर्बपतिको दबाबमा लकडाउन खुकुलो गर्दा जनतामा सङ्क्रमण अझ तीव्र भइरहेको बताउनुभयो ।
उहाँले सरकारले सम्पन्न व्यक्तिलाई मात्र कोभिडको परीक्षण गर्न पैसा उठाउने भनेको तर नेपालका ९५ प्रतिशत जनता विपन्न भएकोले सरकारको निर्णय व्यवहारिक छैन भन्नुभयो ।
सांसद सुवालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्सा सार्वजनिक गरे पनि अझै देशको कुल क्षेत्रफल सार्वजनिक गर्न नसकेको उल्लेख गर्नुभयो । सुगौली सन्धिविपरीत महाकाली सन्धिमा शासक दलहरूले महाकाली नदीलाई साझा नदी बनाएको प्रकाश पार्दै उहाँले महाकाली सन्धिमा शासक दलहरूले राष्ट्रघात गरेको बताउनुभयो ।
प्रेम सुवाल
उहाँले नेमकिपाले २०४८ सालदेखि नै सांसदहरूले पाउने कुनै पनि सहुलियत नलिएको प्रस्ट पार्दै दसैँ भत्ता पनि नेमकिपाका सांसदहरूले नलिएको स्पष्ट पार्नुभयो ।
शासक दलका एकाध सांसदहरूले भत्ता फिर्ता गरे पनि अधिकांश सांसदहरूले लिएको चर्चा गर्दै भन्नुभयो, “उनीहरू बदमासी गर्ने मौका नपाएर इमानदार बनिरहेका छन् ।”
नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सभा सदस्य सृजना सैंजूले देशको सर्वोच्च पदमा महिला भए पनि नेपालका महिलाका समस्या अझै समाधान नभएको बरू महिलामाथिको अत्याचार अझ बढ्दै गएको धारणा राख्नुभयो । उहाँले पुँजीपति वर्गले श्रमिक महिलालाई कहिल्यै पनि माथि उठ्न नदिने भन्दै महिलामाथिको शोषणको मुख्य कारण पुँजीवादी व्यवस्था भएको बताउनुभयो ।
सृजना सैंजू
“महिलालाई राजनीतिक र वर्गीयरूपमा सचेत नबनाउँदासम्म महिला अधिकार नारामा मात्र सीमित हुनेछ”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा सरकार जिम्मेवारीबाट पन्छिँदा निजी स्वास्थ्य संस्थाहरूले जनतालाई लुट्ने मौका पाएको बताउनुभयो ।
कृष्णकुमार वैद्य
वरिष्ठ पत्रकार भैरव रिसालले मानिसले पृथ्वीका अन्य प्राणीलाई निषेध गरी आफ्नो एकलौटी गर्न खोज्दा संसारमा अनेक विपत्ति आएको बताउनुभयो । मानिसलाई जस्तै सबै प्राणीलाई पृथ्वीमा बाँच्ने अधिकार भएको चर्चा गर्दै उहाँले सहअस्तित्व र सहजीवनलाई जोड दिनुपर्ने बताउनुभयो । समसामयिक राजनीतिक परिस्थितिबारे टिप्पणी गर्दै रिसालले कूटनीति र राजनीतिको सट्टा नेपालले गुप्तचरी र सैनिक बाटो खोज्नु विडम्बना भएको उल्लेख गर्नुभयो ।
भैरव रिसाल
सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारतसँग नेपालको मिचिएको भूमि फिर्ता गर्न सरकारले विज्ञहरूको सुझाव र सल्लाह मान्न तयार नभएको बताउनुभयो । उहाँले देशको सिमाना नक्साङ्कन गर्दा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि र स्थानीय जनतालाई पनि जानकारी दिनुपर्ने बताउनुभयो । चीन र नेपालको सीमा निर्धारणको क्रममा भूमि साटफेर हुँदा चीनतिर परेका भूमिमा ‘बाबुबाजेदेखि चौरी चराउँदै आएको ठाउँ’ भनी नेपालले सीमा मिचेको भन्न नहुने सीमाविद् श्रेष्ठको भनाइ थियो ।
बुद्धिनारायण श्रेष्ठ
“लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो भूमि भएको विषयमा नेपालसँग जति बलियो प्रमाण छन्, भारतसँग त्यत्ति प्रमाण नभएको हुँदा वार्ताको लागि भारत पछि हटिरहेको हुनसक्छ”, उहाँले भन्नुभयो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले ऋण तथा वित्तीय क्षेत्रमा काम गर्ने सहकारी संस्थाहरूले घर–जग्गामा लगानी गर्दा जनताले मिहिनेत गरेर कमाएको पैसा डुब्ने गरेको बताउनुभयो । उहाँले ओरेन्टल कोपरेटिभ लिमिटेडलगायत केही सहकारी संस्था डुब्दा थोरै थोरै पैसा सङ्कलन गरेका धेरै जनताको पैसा डुब्दा मर्कामा परेको बताउनुभयो ।
गौरीबहादुर कार्की
ओरेन्टल सहकारीसँग पैसा असुली गर्ने नाममा उसका सबै सम्पत्ति लिलाम गर्दा बैङ्कहरूले अर्को ठगीको काम गरेको उहाँको भनाइ थियो ।
कार्कीले भ्रष्टाचार निवारण गर्ने संस्थामा शासक दलहरूबीचको भागबन्डाको कारण भ्रष्टाचारमा कमी नआएको बताउनुभयो ।
“अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स–साना कर्मचारीलाई भ्रष्टाचारको दोषी देखाउने र ठूला भ्रष्टाचारलाई जोगाउने काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।
संविधानविद् डा. भीमार्जुन आचार्यले नेपालको राष्ट्रियता नेपालको इतिहासमा अहिलेजस्तो कमजोर कहिल्यै नभएको र आर्थिक समृद्धिको कुरा पनि झूट साबित भएको बताउनुभयो । भारतको गुप्तचर विभाग प्रमुखलाई नेपालको प्रधानमन्त्रीलाई भेट्नु जस्तो दुर्भाग्य र लज्जा कहिल्यै पनि नभएको उहाँले बताउनुभयो । “राजनीतिक तहको कुरा राजनीतिक रूपमै हुुनुपर्छ । कुनै गुप्तचरमार्फत गर्नुहुन्न”, आचार्यले भन्नुभयो ।
डा. भीमार्जुन आचार्य
नेकपाभित्रको गुटगत झगडाको कारण प्रचण्ड र माधव नेपालभन्दा आफू भारतसँग नजिक भएको देखाउन पनि प्रधानमन्त्रीले भारतको गुप्तचर प्रमुखलाई भेटेको हुनसक्ने आशड्ढा उहाँले गर्नुभयो ।
संस्कृतिविद् प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठले नेपालको इतिहासमा जनताले पटक पटक भोगेका विभिन्न प्राकृतिक विपत्ति र महामारीबारे प्रकाश पार्नुभयो ।
प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठ
चिकित्सक डा.सरोज धितालले कोभिडबाट सुरक्षित रहन सबैलाई शुभकामना दिनुभयो ।
डा.सरोज धिताल.सुलोचना मानन्धर
भक्तपुुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा.ऋषिनारायण श्रेष्ठले जनचेतना फैलाउन सके ३३ प्रतिशत क्यान्सर निको पार्न सकिने बताउनुभयो । कोभिडको प्रतिकूल परिस्थितिमा पनि भक्तपुर क्यान्सर अस्पतालले बिरामीको नियमित सेवा गरिरहेको चर्चा गर्दै क्यान्सर रोगले नेपालमा पारिरहेको प्रभावबारे प्रकाश पार्नुभयो ।
डा.ऋषिनारायण श्रेष्ठ
चिकित्सक डा.सत्यनारायण सुवालले मानिसमा लाग्ने नसर्ने विभिन्न रोगबारे जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागका प्रमुख ओमकारेश्वर श्रेष्ठले नेपालभाषाको अध्यापन अब बीएडअन्तर्गत पनि हुनुपर्ने बताउनुभयो ।
डा.सत्यनारायण सुवाल
तःमुंज्याको दोस्रो दिनको सभापतिको आसनबाट कीर्तिपुर पाँगास्थित जनसेवा माविका पूर्वप्रधानाध्यापक नन्दकुमारी महर्जनले तःमुंज्या एउटा विद्यालय भएको बताउँदै प्रगतिशील साहित्य यथार्थवादीमात्र भएर नपुग्ने बरू परिवर्तन र क्रान्तिको बाटो पनि देखाउन सक्नुपर्ने बताउनुभयो ।
उहाँले आफ्नो शिक्षण अनुभवको प्रसङ्ग जोड्दै विद्यार्थीलाई पिटेर र गाली गरेर नभई माया र हौसलाले सिकाउनुपर्ने बताउनुभयो ।
डा. राजदास श्रेष्ठले नेपालको आर्थिक विकासको आधार कृषि र जलस्रोत हुनसक्ने बताउनुभयो ।
डा. राजदास श्रेष्ठ
साहित्यकार अभय श्रेष्ठले रूसी साहित्यकार एन्टोन चेखभ र प्रा.डा. जट्टाधर झाले साहित्यकार मेक्सिम गोर्कीका साहित्यबारे चर्चा गर्नुभयो । झाले गोर्कीको सम्मानमा रूसी भाषाको कविता वाचन गर्नुभयो ।
तःमुंज्यामा कवयित्री सुलोचना मानन्धर, बेबी झा, सुस्मा सापकोटा, आशाकुमार चिकंबञ्जार, लक्ष्मीनारायण दुवाल, डा. कोमल फुयाल सुन्दरराम श्रेष्ठ, रूपकेशरी उलक, विकल प्रजापति, इन्द्रमान महर्जन, पुण्यराम कवां, रामकृष्ण प्रजापति, कृष्णप्रसाद दुमरुलगायतले आ–आफ्ना साहित्यिक रचना वाचन गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ काभ्रे जिल्ला समितिका कलाकारहरूले तामाङ गीत प्रस्तुत गर्नुभएको थियो ।