पालना गर्नै पर्ने कुरा : अब कसैले कसैलाई अटेर नगरौं। आ-आफ्नो ठाउ र क्षेत्रमा एक आपसमा सहयोग र समन्वय गरौं ।लकडाउन बारे बहस नगरी घरमै बसी पालना गरौं।नेपालमा एकैदिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ पुग्यो
गोविन्द नाथ योगी, सुर्खेत
प्रदेश नं. ५ को नेपालगन्जमा संक्रमितको संख्या थपिदै गर्दा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर लगायत समग्र प्रदेश कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ। कोरोना संक्रमणको सबैभन्दा बढी जोखिम तरकारी बजारको भिडभाड नै हुनसक्छ । हाल प्रदेश भन्दा बाहिरबाट तरकारी फलफूल आयात बन्द गर्ने निर्णय हप्तौं अगाडी भएको भएपनि सुर्खेत स्थित केहि फलफूल तथा तरकारी व्यवसायीहरुले अति आवश्यक खाद्यान्नको गाडीहरूमा भित्री भागमा लुकाएर फलफूल तरकारी ल्याउने क्रम रोकिएको छैन त्यसैगरी दाङ तुल्सिपुर हुदै मालारानी,बोटेचौर बाट भित्री बाटो प्रयोग गरि तरकारी फलफूल भित्र्याउने क्रम रोकिएको छैन।
साच्चै आवश्यक नै हो भने किन लुकिछिपी ल्याउने ? बन्द गर्ने निर्णय किन गरेको ? कतै यो संकटको बेला पोखरी सुकाएर माछा मार्ने पहुँच वालाहरुकै मिलेमतो त छैन ? कर्णाली प्रदेशका विभिन्न ठाउँमा कृषकहरुको उत्पादन बिक्री नभएको समाचार आइरहेका छन । २ दिन अगाडिमात्र दैलेखको आठबीस नगर पालिकामा कृषकहरूको तरकारी बिक्री नभएको समाचार आयो । यो त कृषकहरू प्रति अन्याय भयो नि ।
त्यतिमात्र होइन लकडाउनलाइ व्यवस्थित गराउन भन्दै सम्बन्धित सरोकारवाला पक्ष र कर्णाली प्रदेश सरकारले सुर्खेतमा खाद्य लगायत अति आवश्यक बस्तुहरु एक दिन बिराएर र फलफूल तरकारी र दूधजन्य बस्तुहरु बिहान ७ देखि ९ बजे सम्म तथा मेडिकलहरु नियमित खोल्ने निर्णय गरेको भएपनि तरकारी बजार भने दैनिक बिहान ४ बजेदेखि नै खोल्ने र ११ बजे सम्म अत्यधिक भिडभाड हुने क्रम रोकिएको छैन ।
प्रहरी प्रशासनले यो महामारीको अबस्थामा भए गरेका निर्णयहरुको कार्यान्वयन गर्ने गराउने हो ।तर विडम्बना प्रहरी प्रशासन यस्तो संबेदनसिल बिषयमा बेखबर छ। यो आम नागरिकको सार्वजनिक सरोकारको विषयमा प्रहरी प्रशासनको गुप्तचर बिभागले काम गर्न नसकेको हो ? वा अरु केही रहस्य छ।
यदि संक्रमणको उच्च जोखिमको संभावना भएको स्थानहरुमा सरकार र प्रहरी प्रशासनको ध्यानाकर्षण हुदैन भने सामान्य नागरिकहरुलाई घर भित्र हुल्ने र चोक चोकमा कडाइ गरेको जस्तो देखाउनु के लकडाउनको नाममा नाटक मंचन गरेको हो? आम नागरिकको प्रश्न छ।
कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमित भेटिएको छैन ।
यो एक संयोग मात्र होकि वा जति तिब्र गतिमा परिक्षण गर्नुपर्ने थियोे त्यो हुननसक्नुको कारण हो। समयले साबित गर्ला । कर्णाली प्रदेशमा चैत्र मसान्त र नँया बर्ष पछाडि सरकार र जनप्रतिनिधिहरुले सस्तो लोकप्रियताकालागि ठुलो संख्यामा भारतबाट आएका मजदुरहरुलाई लापरबाही साथ सामान्य स्वास्थ्य जाच समेत नगरी गाउँ गाउँमा पठाइएको र कतिपय स्थानीय तहहरुले क्वारेन्टाइनमा समेत नराखी सिधै घर पठाएको अवस्था छ।त्यस्तै बैशाख दोस्रो हप्ता संखुवासभा, काठमाडौ लगायत देशका विभिन्न ठाउँहरुबाट कर्णाली प्रदेशमा सरकारको सम्पर्क वाटै आएका दर्जनौं मजदुरहरुलाई क्वारेन्टाइनमा नराखी घर पठाएको छ। कर्णाली प्रदेशका केही स्थानीय तहहरुमा त कुखुराको खोरलाई क्वारेन्टाइन गराएको समाचार प्रसारण भयो।
के मान्छेलाई क्वारेन्टाइनको नाममा कुखुराको खोरमा हुल्नु भनेको सरकारले मानवअधिकारको हनन गरेको होइन ? त्यस्तै सुर्खेतको पश्चिमको चौकुनेमा राहतको नाममा १/१ पोका नुन र साबुन वितरण गरेको र कतिपय ठाउँमा गुणस्तरहिन राहत सामाग्री वितरण गरेको समाचार सार्वजनिक भयो । के यो महामारीको समयमा सरकारले मानवीय संवेदना गुमाएको हो ?यो सरकारको बिरोध होइन आलोचना हो।आलोचना लाई गाली वा बिरोध संझनुभन्दा सुझाव संझेर समयमै महामारी विरुद्धको लडाइँमा पुर्ण जिम्मेवारी र कर्तव्यबोधका साथ भुमिका निर्वाह गर्नु सरकार र जनप्रतिनिधिहरुको बुद्धिमानि हुनेछ ।