#भैरव रिसाल
संसारकै एक नम्बरको शक्तिशाली मुलुक संरा अमेरिका गएको बुधबारबाट अफगानिस्तानबाट भाग्यो । यसअघि नै भागिसकेका छन् जमानाका विश्वका बृहद शक्तिशाली राष्ट्रहरू । उन्नाइसौँ शताब्दीमा बेलायत, बिसौँ शताब्दीमा सोभियत सङ्घ, एक्काइसौँ शताब्दीमा संरा अमेरिका । गएको सेप्टेम्बर १ अघि नै भाग्यो खर्बौँ खर्ब डलर, धेरै अमेरिकी युवा गुमाएर प्रत्यावर्तित भयो जो बाइडेनको अमेरिका । जनता जागे भने कसैका बाउको पनि केही लाग्दोरहेनछ, जस्तै ठूलो शक्तिको पनि । यसको स्पष्ट दृष्टान्त हो उन्नाइसौँ शताब्दीदेखिको ज्युँदो इतिहासमा वर्तमान तालिवानले राज्य सञ्चालन गरेको छ । अमेरिका पसेर झन्डै २१ वर्ष अफगानिस्तानलाई गिजल–गाजल पा¥यो र भाग्यो । संरा अमेरिकाको निर्वाचन खर्च सारै धेरै हुनेरहेछ । त्यो सारै ठूलो खर्च कसले व्यहोर्छ भन्ने पक्षको विशेष अध्ययन एवं अनुसन्धान गर्दा प्रायः पैसा अमेरिकी युद्ध सामग्री उत्पादनकर्ता साहुहरूले व्यहोर्ने रहेछन् । संसारका कतै न कतै युद्ध रच्नैप¥यो । लडाइँका सामान सरकारले किनिदिनै प¥यो । यसर्थ, विश्वका कुनै न कुनै कुनामा लडाइँ हुनु अनिवार्य हुन्छ । यो गुह्य माथिल्लो तहमा प्रायः मान्छेलाई गतार्थ हुन्छ, सर्वसाधारणलाई थाहा हुनैपर्छ भन्ने छैन । अफगानिस्तानको धेरै लामो युद्ध लड्नु अरू युद्धको अपवाद होइन, स्वाभाविक हो । अफगानिस्तानमा जति भौतिक, प्राकृतिक एवं सांस्कृतिक सम्पदाको प्रभुता छ । ती ठूलो सम्पदा उपयोग गरेर, देखाएर र दिएर राष्ट्र सम्पन्न हुनसक्छ ।
लिथियमको ठूलो भण्डार पनि ?
अमेरिका त भाग्यो अफगानिस्तान चटक्कै छोडेर । तर, त्यो ठाउँमा अर्को विश्वशक्ति तत्काल प्रवेश गर्ने लक्षण देखा परेको पनि छैन । विश्व शक्तिमध्ये चीन हो अफगानिस्तान पस्न बाँकी । तर, चीन त्यति लाटो छैन ताकि हत्तपत्त हातहतियार लिएर अफगानिस्तान पसोस् । कति धेरै आमाले आफ्ना छोराछोरी गुमाए, कतिले आफ्ना श्रीमान् गुमाए कतिले सपना नै गुमाए भने कति थोरै अमेरिकी युद्धास्त्र उत्पादन गर्ने कम्पनीका मालिकले धेरै कमाए । अफगानिस्तान सुरम्य भूभाग भएको मुलुक हो । टाकटुक गर्दा चार करोड जनसङ्ख्या भएको देश हो र हो भूपरिवेष्ठित पनि । तर त्यसो भएर पनि यति धेरै खाद्य वस्तु उत्पादन हुँदा रहेछ त्यहाँ जसको बजार विश्वभरी नै छ । काबुल वरपर ओखर, बयर, बदाम, सुन्तला, आलुबखडा, स्याउ, कागती, आरू, अनार । अनार यति प्रचुर मात्रामा पैदा हुँदो रहेछ मान्छेहरू अफगानिस्तानलाई अनारको देश पो भन्दा रहेछन् । तर, भुजा, अङ्गुरजस्ता ताजा र सुखा फलफूलहरू १५ लाख टन उत्पादन हुने रहेछन् । प्राकृतिक वैभव अथाह मात्रामा छ रे त्यो अशान्त मुलुकमा । फलाम, सुन, तामा, प्राकृतिक ग्यास, संगमरमर, निकेल, कोइला, कोवाल्ट जस्ता प्राकृतिक स्रोतका दृष्टिले सारै सम्पन्न रहेछ अफगानिस्तान । त्यस अतिरिक्त विश्वमै दुर्लभ मानिने लिथियमको ठूलो भण्डारमध्ये एउटा भण्डार पनि अफगानिस्तानमा छ रे ! हेरौँ कति सम्पन्न रहेछ यो देश !
किन ? किन ? किन ?
अफगानिस्तानको भूगोलको पाना पल्टाएर हेर्ने हो भने बाबरको बगैँचा बाग–ए बाबर विश्व सम्पदा सूचीमा दर्ता भइसकेको छ । यो बगैँचा सन् १८४२ को भूकम्पमा क्षतविक्षत भएको थियो । युनेस्कोले जीर्णोद्धार ग¥यो लामो समय लगाएर । त्यसपछि सन् २००८ मा मात्र खुला भयो यो बगैँचा । यो बगैँचालाई चुम्बकीय आकर्षणयुक्त गन्तव्य मानिँदो रहेछ । सन् २०१६ मा बाग ए बाबरको दस लाख मान्छेले भ्रमण गरे रे । अफगानिस्तानको काबुल त भयो भया । त्यस अतिरिक्त कन्दहार, मजार, ए–सरिफ, जलाहवाद, बाख, हेराल फैजावादको आफ्नै नाम छ, सुगन्ध छ, इतिहास छ । यी प्रायः सबैमा प्राचीन एवं पुरातात्विक र ऐतिहासिक आधिकारिक गवेषणा (अन्वेषण) का आँखाले सारै सारै महत्वका प्राचीन सभ्यताका सङ्केतहरू पाइन्छन् । यी सबै र यसभन्दा पनि प्रभूत सभ्यताका बेलाका डोबहरूयुक्त पामिर, हिन्दकुश पर्वत श्रृङ्खला, विविध आकार–प्रकारका भूखण्ड, भूभागको पदयात्रा आफैमा अद्वितीय अनौठो अनुभूति एवं अनुभव वर्णन लायक सम्पदा हुन आउँछ । अढाइ हजार मिटरको उचाइमा रहेको बमियान उपत्यका यति सुन्दर रहेछ जसको अर्थ रहेछ ईश्वरको उपत्यका । त्यो उपत्यका कति परम सुन्दर होला, कति हेरौँ हेरौँ, बसौँ बसौँ लाग्दो होला । सो उपत्यकामा ईश्वीको पाँचौँ शताब्दितिर जुन कालखण्डमा आधुनिक यन्त्र एवं उपकरणहरू उपलब्ध थिएनन् । यस्तो अभावको जमानामा पनि पहाडलाई खोपेर ५५ मिटर र ३८ मिटरका अग्ला दुइटा बुद्ध मूर्तिले विश्वको ध्यान तानेको थियो । तर सन् २००१ मा तालिवानले नष्ट गरे । किन ? किन ? किन ?
उज्यालो पावस्
अफगानिस्तान प्रकृतिले आफ्नो न्यानो काखमा लिएको भूतल हो । पानीजस्तो शक्ति नहुँदा हुँदै पनि पाखा पर्वतमा हुने उपभोग्य वस्तु प्रशस्त उत्पादन गराएर आफ्ना तीन–चार करोडबीचका सन्तानहरूलाई इज्जत एवं सम्मानसाथ राखेरै आएको थियो । यस विहंगम दृष्टिबाट अफगान जनतालाई संसारले सम्मान गथ्र्यो, इज्जत गथ्र्यो । तर, युरोप र एसिया जोड्ने भरपर्दो गल्छेडो भएकोले पनि अफगान जनताले धेरै पहिलेदेखि सुख पनि पाए र दुःख पनि पाए । इतिहासको पाना पल्टाउने हो भने अफगान जनताले सयौँ वा हजारौँ वर्षदेखि सुख र दुःख पाएका छन् । अब धार्मिक विद्यार्थीहरूको सङ्गठन तालिवानहरूले गरेको अविश्राम सङ्घर्षबाट बेलायत, सोभियतहरूलाई मात्र पलायन गराएनन् संरा अमेरिकासमेतलाई आफ्नो देशबाट भगाए । अब झन् बुद्धिको खाँचो छ । अब त अफगानी आकाशमा युद्धक हवाईजहाजमात्र उड्ने होइन शान्तिका प्रतीक पनि स्वतन्त्र एवं निर्धक्क भई बेगमान बेग मार्न पाउने हुनुप¥यो । तालिवान शक्ति युद्धमा मात्र कुशल छ, युद्धोपरान्तको जनजीवनको शान्तिपूर्ण रूपान्तरण गर्ने काममा कुशल छैन भन्नैप¥यो भने अफगानिस्तान उज्यालो भविष्यतिर जान सक्दैन । कुनै पनि मुलुकका लागि भविष्य त उज्यालै चाहिन्छ । तालिवान पनि उज्यालोको लागि लडेको हो भन्ने दुनियाँलाई थाहा छ । तसर्थ, अबको तालिवान उज्यालो खोज्छ । हामी कामना गरौँ, उज्यालो पावस् ।
२०७८ भदौ २१
(लेखक रिसाल बरिष्ठ पत्रकार हुन)