प्रोफेसर रिचर्ड वुल्फ
(विश्व चर्चित अर्थशास्त्री प्रोफेसर रिचर्ड वुल्फसँग अलजजिराले लिएको यो अन्तर्वार्ताले वर्तमान भू–राजनीतिक द्वन्द्व र यसले विश्व अर्थतन्त्रमा पारेको गहिरो प्रभावलाई सूक्ष्म रूपमा केलाएको छ । विशेष गरी अमेरिका, इजरायल र इरानबिचको तनावले कसरी इन्धनको मूल्य वृद्धि, मलको अभाव र खाद्यान्न सङ्कट निम्त्याउँदै सामान्य मानिसको भान्छासम्म असर पु¥याउँछ भन्ने तथ्यलाई यसले उजागर गर्दछ । विगत सात दशकदेखि विश्व राजनीति र अर्थतन्त्रमा हाबी रहेको अमेरिकी साम्राज्य अहिले आन्तरिक ऋण र वित्तीय असन्तुलनका कारण पतनको मार्गमा रहेको वस्तुपरक विश्लेषण यस अन्तर्वार्तामा अर्थशास्त्री वुल्फले गरेका छन् । यसै सन्दर्भमा, अमेरिकाको एकछत्र प्रभाव घट्दै जाँदा चीन, रुस र भारतजस्ता उदीयमान शक्तिहरू र ‘ब्रिक्स’ (BRICS) को बढ्दो सान्दर्भिकताले नयाँ विश्व व्यवस्थाको सङ्केत गरेको छ । सैन्य औद्योगिक कम्प्लेक्सको मुनाफाको खेल र राजनीतिक नेतृत्वले जनताको ध्यान मोड्न प्रयोग गर्ने युद्धको रणनीतिका बिच यो सामग्रीले ‘बाँच र बाँच्न देऊ’ को सिद्धान्तमा आधारित बहुध्रुवीय विश्वको आवश्यकतालाई जोड दिन्छ भन्ने कुराको बोध अन्तर्वार्ता पढ्दा हुन्छ । विश्व राजनीतिका जटिल रणनीति र तिनले नागरिक जीवनमा पार्ने प्रभाव बुझ्न चाहनेका लागि यो अन्तर्वार्ता एक पठनीय दस्तावेज हो ।)
अलजजिरा : अमेरिका र इजरायलले इरानमाथि युद्ध सुरु गरेदेखि हामीले तेलको मूल्यमा वृद्धि, बजारमा अस्थिरता देखिरहेका छौँ । केही अर्थशास्त्रीहरूले सम्भावित मन्दीको चेतावनीसमेत दिएका छन् । यो युद्धले विश्व अर्थतन्त्रमा कति नराम्रो प्रभाव पारेको छ ?
बुल्फ : आजको विश्वमा हामी सबै एउटै ठुलो अर्थतन्त्र हौँ भन्ने भावना झन् झन् बलियो हुँदै गएको हामीजस्ता मानिसहरूका लागि यसले कस्तो प्रमाण प्रस्तुत गर्छ भन्ने कुरा आश्चर्यजनक छ । यो ग्रह लामो आपूर्ति शृङ्खलाहरू, व्यापार र लगानीको तीव्र गतिका माध्यमबाट एकआपसमा जोडिएको छ र सबै अवरोधहरूका बाबजुद पनि यसको मजबुतीकरण अझ बढी हुँदै गएको छ । यसको सान्दर्भिकता यो हो कि करिब एक महिनाजति मात्र पुरानो यो युद्धले पहिले नै तेल, प्राकृतिक ग्यास, मल आदिको मूल्य वृद्धिमार्फत ठुलो प्रभाव पारिरहेको छ । त्यसैले यसले हरेक महादेश र शाब्दिक रूपमा हरेक उद्योगलाई कुनै न कुनै रूपमा असर गरिरहेको छ । उदाहरणका लागि, एउटा परिणाम के देखिन्छ भने धेरै छोटो समयमा यी मूल्य वृद्धिका कारण विश्वलाई पुगेको क्षतिले ट्रम्प र नेतन्याहूमाथि उनीहरूले अनुमान गरेभन्दा धेरै बढी दबाब सिर्जना गरिरहेको छ । किनकि उनीहरूले पनि हामीमध्ये धेरैजस्तैले अहिलेको विश्व अर्थतन्त्र कसरी काम गर्छ भन्ने कुरा पूर्ण रूपमा बुझ्न सकेका थिएनन् ।
अलजजिरा : त्यसो भए यो केवल मूल्य वृद्धि मात्र होइन जसले बढ्दो आर्थिक दबाब थपिरहेको छ । गत साता मात्र डोनाल्ड ट्रम्पले यो युद्धको वित्तीय व्यवस्थापनका लागि थप २०० अर्ब अमेरिकी डलर माग गरेका छन् । यसले अमेरिकी जनतालाई कसरी असर पार्नेछ ?
श्री बुल्फ :यो हामी यहाँ संयुक्त राज्य अमेरिकामा सामना गरिरहेको एक वित्तीय विपत्ति हो । म यसलाई तपाईंलाई एकदम स्पष्ट रूपमा संक्षेप गर्न सक्छु । इरानमाथिको युद्ध हुनुअघि नै राष्ट्रपतिले केही यस्ता अभिव्यक्तिहरू गरेका थिए जसबारे तपाईंका दर्शकहरू अवगत हुनुहुन्छ भन्ने मलाई लाग्छ । ग्रिनल्याण्ड आफ्नो नियन्त्रणमा लिने, क्यानडालाई स्वतन्त्र देशबाट ५१ औँ राज्यमा रूपान्तरण गर्ने, पनामा नहर पुनः आफ्नो नियन्त्रणमा लिने, जबकि त्यो स्वतन्त्र देश हो । यसरी उनले रक्षा बजेट वा अहिले हामीले युद्ध विभागको बजेट भनेर चिन्ने रकमलाई हालको वार्षिक ९०० अर्ब डलरबाट अर्को आर्थिक वर्ष २०२७ सम्म १.५ ट्रिलियन पु¥याउने माग सार्वजनिक गरेका थिए । म विशेष रूपमा जोड दिन चाहन्छु, ९०० अर्बको आधारमा ६०० अर्बको वृद्धि । अहिले, यो शान्तिकालीन वा कथित शान्तिकालीन इतिहासमा अमेरिकी इतिहासकै सबैभन्दा ठुलो रक्षा खर्च वृद्धि हो, र त्यसपछि उनीहरू इरान युद्धका लागि थप २०० अर्ब मागिरहेका छन् । र राजस्व बढाउने उनका प्रमुख प्रस्ताव, अर्थात् उनका शुल्कहरू, केही हप्ताअघि सर्वोच्च अदालतले असंवैधानिक घोषणा गरिसकेको छ । त्यसैले एक मात्र वृद्धि समाप्त भएको छ । कम्पनीहरूले आफूले तिरेका शुल्कहरूको फिर्ता माग गरिरहेका छन् । उता उनले बजेटको सैन्य पक्ष मात्र ६०० प्लस २०० अर्थात् ८०० अर्बले बढाउने बाचा गरेका छन् ।
संयुक्त राज्य अमेरिका पहिले नै विश्वको सबैभन्दा ठुलो ऋणी देश हो । अहिले हाम्रो घाटा एक ट्रिलियन डलरभन्दा बढी छ । हामी यस्तो समयमा विशाल परिमाणको वित्तीय सङ्कटतर्फ हेरिरहेका छौँ, जब विश्वका तीन प्रमुख क्रेडिट रेटिङ एजेन्सीहरू स्ट्यान्डर्ड एण्ड पूअर्स, मूडीज र फिचले अमेरिकी सरकारको क्रेडिट योग्यता ट्रिपलएबाट डबल एमा घटाइसकेका छन् । विश्वका अन्य देशहरू वा अमेरिकीहरूले सरकारले अहिले प्रतिबद्ध भएको काम गर्न आवश्यक पैसा उधारो दिनेछन् वा छैनन् भन्ने स्पष्ट छैन । यो सम्भावना अत्यन्त भयावह छ कि अमेरिकी अर्थतन्त्रको आन्तरिक एकता पनि हामीले पहिले कहिल्यै नदेखेको तरिकाले दबाबमा परेको छ ।
अलजजिरा : जब सरकारले यो युद्धको वित्तीय व्यवस्थापनका लागि थप २०० अर्ब अमेरिकी डलर माग गर्छ, यसबाट सबैभन्दा बढी कसलाई असर पुग्छ ?
बुल्फ : यसको जवाफले हामीलाई हाम्रा नेताहरूले गर्ने अधिकांश कार्यहरूले गर्नेसरह नै असर गर्नेछ । यो माथिल्लो तहमा रहेका मानिसहरू र कम्पनीहरूमा शेयर भएकाहरूका लागि राम्रो छ । संयुक्त राज्य अमेरिकाका सबैभन्दा धनी १० प्रतिशत मानिसहरूसँग शेयर बजारको ८० प्रतिशत हिस्सा छ । त्यसैले जब तपाईं शेयर बजार बढिरहेको पढ्नुहुन्छ, यो शीर्ष १० प्रतिशतका लागि खुसीको खबर हो । तर धेरैजसो अमेरिकीहरूका लागि यो धेरै नराम्रो खबर हो । यसका केही कारणहरू यहाँ छन् । किनभने मल पेट्रोलियमबाट बन्छ, मलको मूल्य अत्यधिक बढिरहेको छ । दोस्रो कुरा, पेट्रोलियमबाट बनेको धेरैजसो मल स्ट्रेज अफ हर्मुजको बाटो भएर ढुवानी हुने गर्दथ्यो । अहिले त्यो सम्भव छैन । त्यसैले तपाईंसँग बढ्दो मूल्य र घट्दो आपूर्ति छ ।
यो ठ्याक्कै अहिले वसन्त ऋतुमा, जब संसारका वा विश्वका धेरै भागका किसानहरूले बाली लगाउने समयमा भइरहेको छ । विश्वले नै मलको बढ्दो मूल्य उनीहरूले कति धान्न सक्छन् भन्ने कुरा पत्ता लगाउने प्रयास गरिरहेका छन् । के उनीहरूले यो पाउनेछन् त ? त्यसैले तपाईंलाई थाहा छ यसको अर्थ के हो ? त्यो हो– खाद्यान्नको बढ्दो मूल्य ।
यहाँ दोस्रो कुरा डिजेलको मूल्य छ । डिजेल तेल सबै ट्रकहरूले प्रयोग गर्छन् । एक अमेरिकी र वास्तवमै संसारभरका धेरै मानिसहरूले आफ्नो स्थानीय पसलमा किन्ने हरेक चीज ट्रकको माध्यमबाटै त्यस पसलमा आउँछ । त्यो ट्रक डिजेलबाट चल्छ । इरानमा युद्ध हुनुभन्दा अघि डिजेलप्रति ग्यालन लगभग साढे तीन डलर थियो भने अहिले पाँच डलर पुगेको छ । यस प्रकारको परिवर्तनको अर्थ हरेक चीजको मूल्य बढ्दै जान्छ । तपाईंसँग जति थोरै पैसा हुन्छ, बढ्दो मूल्यले तपाईंलाई त्यति नै धेरै चोट पु¥याउँछ ।
तपार्इँं भाग्यमानी हुनुहुन्छ र तपाईंको युनियन छ भने पनि, आफ्नो तलब बढाउन युनियन सम्झौता प्राप्त गर्न लामो समय र धेरै सङ्घर्ष लाग्छ । श्रमिक वर्गलाई यस स्थितिसँग मेल खान समय लाग्नेछ । यसैबिच, उनीहरूको पहिले नै कठिन आर्थिक अवस्था अझ खराब हुनेछ । र यो संयुक्त राज्य अमेरिकाको यस्तो यथार्थ हो जसले रिपब्लिकन पार्टीलाई नोभेम्बरको चुनावको बारेमा धेरै चिन्तित बनाएको छ ।
अलजजिरा : हामीले देख्यौँ कि कसरी यो युद्धले सम्पूर्ण विश्व र खाडीका अन्य देशहरूलाई असर गरेको छ । कतारको बारेमा थोरै कुरा गरौँ । कतार इनर्जीका सीईओ साद अल काबीले भने कि विश्वको सबैभन्दा ठुलो तरल प्राकृतिक ग्यास उत्पादन केन्द्र रास लाफानमा इरानको आक्रमणले पु¥याएको क्षतिले उनीहरूको सञ्चालन क्षमताको १७ प्रतिशत नष्ट गरेको छ र मर्मत गर्न ५ वर्षसम्म लाग्न सक्छ । त्यसैले भोलि नै बमबारी रोकियो र हर्मुज पूर्ण रूपमा खोलिए भने पनि, के यो भन्नु उचित हुन्छ कि हामीले आउने वर्षौंसम्म यस युद्धको प्रभाव महसुस गर्नेछौँ ?
बुल्फ : हो, सबै कुरा चमत्कारिक रूपमा अहिले नै रोकियो भने पनि, यसका परिणामहरू प्रतिस्थापन गर्न पक्कै पनि वर्षौं लाग्नेछ । म यो जोड दिन चाहन्छु यो अझै प्रारम्भिक चरणमा रहेकोले यसको राजनीतिक र आर्थिक संयोजन के हुनेछ भन्ने कुरा हामीले अझै बुझ्न सकेका छैनौँ ।
म तपाईंलाई केही उदाहरणहरू दिन्छु ।
कतार वा संयुक्त अरब इमिरेट्स वा धेरै खाडी देशहरूले मूलतः १९७० र ८० को दशकमा आफ्नो माटो मुनिबाट तेल र ग्यास निकाल्ने, यसलाई आवश्यक पर्ने विश्वभर ढुवानी गर्ने र आफूले कमाएको पैसा वा डलर पुनः प्रयोग गर्ने सम्झौता गरेका थिए किनभने उनीहरूले ती सबै डलरमा बेचेका थिए । उनीहरूले सङ्कलन गरेको धेरैजसो अतिरिक्त डलर संयुक्त राज्य सरकारलाई ऋण दिएर र अन्तमा आफ्नो माटोमा अमेरिकी सैन्य अड्डाहरूलाई स्वागत गरेर यो सम्झौता गरेका थिए, किनभने त्यसले उनीहरूको लगानीको रक्षा गर्नेछ भन्ने तर्क थियो ।
यो पछिल्लो एक महिनाको युद्धले देखाएको छ– त्यस व्यवस्था वा सम्झौताका लगभग हरेक पक्ष अब लागू हुँदैनन् । उदाहरणका लागि, उनीहरूले अब अमेरिकी अड्डाको उपस्थिति सुरक्षा होइन तर तपाईंलाई निशाना बनाउने माध्यम बन्दछ भन्ने थाहा पाएका छन् । यसले लगभग उल्टो प्रभाव पारेको छ । यसले इरानबाट ती मिसाइलहरू तान्यो जसले कतारमा क्षति पु¥यायो जसको बारेमा तपाईंले भर्खरै कुरा गर्नुभयो । र इरानीहरूसँग भएका ड्रोन र मिसाइलहरूको मात्रा र गुणस्तरमा कुनै सीमा छ भन्ने सङ्केत देखिएको छैन । र यदि इरानमा ती कुराहरूमा सीमा लगाइयो भने पनि, रूसीहरूसँगको उनीहरूको लामो सीमा र रूसीहरूले चिनियाँहरूसँग उपभोग गर्ने लामो सीमाको अर्थ यो हो कि रूसीहरूका लागि उपलब्ध सधैं असीमित मात्रामा हातहतियार र मिसाइलहरू उत्पादन गर्न सक्ने चिनियाँ उत्पादन संयन्त्रले इरानीहरूका लागि उपलब्ध गराउन सक्छन् ।
सबै खाडी देशहरूका लागि उनीहरूले गरेको सम्झौतालाई व्यापक रूपमा पुनः विचार गर्नुबाहेक अर्को कुनै बाटो छैन, र यो त हामीले स्ट्रेट अफ हर्मुजमा इरानी नियन्त्रण र इरानीहरूले अब आफूले अस्तित्वको खतरा मानेको कुरा हटाउनका लागि असाधारण बमबारी, सजाय र क्षति सहन स्पष्ट रूपमा इच्छुक रहेको समस्यामा पुग्नु अघिको कुरा हो । र त्यो अस्तित्वको खतरा भनेको खाडीमा आर्थिक, राजनीतिक र सैन्य रूपमा संयुक्त राज्य अमेरिकाको उपस्थिति हो । त्यो माग हो । र यो एक ऐतिहासिक परिवर्तन हो जुन हामीले बुझ्न सुरु गरेका छैनौँ, यसका प्रभावहरू देख्ने कुरा त टाढै छ ।
अलजजिरा : त्यसोभए, संसार यस भद्रगोलबाट कसरी बाहिर निस्कन्छ ? पुनरुत्थान कस्तो देखिन्छ ?
बुल्फ : मलाई डर छ कि यहाँ इरानीहरूसँग बलियो पकड छ । मलाई थाहा छ कि यो धेरै मानिसहरूका लागि एक आघात वा सायद अप्रिय विचारको रूपमा आउनेछ, तर के भइरहेको छ भनेर बुझ्न खोज्ने हामीमध्ये धेरैजना यो विचारमा पुगेका छौँ कि संयुक्त राज्य अमेरिकाको साम्राज्य पतनको मार्गमा छ भन्ने कुरा अब प्रश्नको विषय हुनु हुँदैन । प्रश्न अब यो मात्र हो कि यो पतन भयानक हुनेछ वा यो सहज र व्यवस्थित हुनेछ ? के संयुक्त राज्य अमेरिकाले चीन, रुस, भारत र विश्वका अन्य धेरै भागहरूसँग मिलेर विश्व अर्थतन्त्रलाई समायोजन गर्दै ‘बाँच र बाँच्न देऊ’ को बाटो खोज्नेछ ?
गत ७५ वर्षदेखि संयुक्त राज्य अमेरिका प्रभुत्वशाली थियो । अब यो त्यस्तो रहेन । र यो कुरा बुझ्नु आवश्यक छ । र इरानीहरू पक्कै पनि संयोगवश अहिले मुख्य विन्दुमा आइपुगेका छन् । उनीहरू भनिरहेका छन् कि हामी सुरक्षित हुनुपर्छ । हामी अब ब्रिक्सको हिस्सा हौँ । हामी अब चिनियाँ आर्थिक वृद्धिको अनुभवसँग जोडिएका छौँ र हामी एउटा आक्रामक संयुक्त राज्य अमेरिका र अझ बढी आक्रामक इजरायलसँग मिलेर बस्न सक्दैनौँ । यसलाई मौलिक रूपमा पुनर्गठित गरिनुपर्छ । तपाईंले त्यसो गर्नुभएन भने, हामीले खतरा महसुस गर्नेछौँ र हामी त्यो खतरालाई कम गर्न उपलब्ध सबै कदमहरू चाल्नेछौँ ।
त्यसैले तपाईंको प्रश्नको मेरो जवाफ यो हो कि संयुक्त राज्य अमेरिकाले कि खाडी राष्ट्रहरूको परामर्शमा, इरानसँगको र फलस्वरूप सम्पूर्ण विश्वसँगको आफ्नो सम्बन्धलाई आमूल परिवर्तन गर्नुपर्नेछ । र यसको अर्थ संयुक्त राज्य अमेरिकाको शक्ति र स्थितिमा कटौती हुनु हो । संयुक्त राज्य अमेरिका र इजरायलले अस्वीकार गरे भने, यो युद्ध फेरि भड्किनेछ । यद्यपि यो भन्नु सही होला कि अहिलेका लागि यो केही मत्थर भएको छ । तर हामी एउटा अन्तहीन डरलाग्दो मुठभेड हेरिरहेका छौँ । युद्धरत पक्षहरूसँग भएका आणविक हतियारहरू यस कथाको हिस्सा बने भने कुनै पनि समयमा हाम्रो सभ्यताको अन्त्य हुन सक्छ ।
अलजजिरा : जनताको ध्यान भड्काउने एउटा तरिका हो । उनीहरूले केबाट ध्यान भड्काइरहेका छन् ?
बुल्फ : यस देशका तीनवटा ठुला समस्याहरू छन् । एउटा वित्तीय सङ्कट हो । हामी एउटा यस्तो देश हौँ जसले आफ्ना जनताबाट कर उठाएको भन्दा धेरै पैसा खर्च गर्छ र यसले उदाहरणका लागि खाडी राष्ट्रहरूका साथै चीन, जापान र अन्य धेरै ठाउँहरूबाट ऋण लिने बानी बसालेको छ । विश्वका ती भागहरू संयुक्त राज्य अमेरिकालाई निरन्तर कोष उपलब्ध गराउने अवस्थामा छैनन् ।
यो ७५ वर्ष अघिको दोस्रो विश्वयुद्धपछिको अनौठो स्थितिको प्रतिक्रिया थियो जब सम्पूर्ण विश्वको अर्थतन्त्र ध्वस्त भएको थियो र सन् १९३० को महामन्दी र दोस्रो विश्वयुद्धको बिचमा संयुक्त राज्य अमेरिकाको अर्थतन्त्र मात्र शक्तिशाली रूपमा बाँकी थियो । त्यसैले स्वाभाविक रूपमा डलर विश्वव्यापी मुद्रा बन्यो । संयुक्त राज्य अमेरिकाले बेलायत र अन्य सबै युरोपेली देशहरूलाई औपनिवेशिक वा अर्ध–औपनिवेशिक स्थितिमा प्रतिस्थापन ग¥यो । तर अब त्यो समाप्त भएको छ । यो बुझ्नुपथ्र्यो कि यो धेरै समय टिक्नेवाला थिएन । यद्यपि अन्य देशहरूले संयुक्त राज्य अमेरिकालाई भेट्टाइसकेका छन्, जर्मनी र जापानले तुरुन्तै, बाँकी युरोपले लगभग, चीनले नाटकीय रूपमा, भारतले नाटकीय रूपमा र यस्तै अन्य ।
यी ठुला परिवर्तनहरू हुन्, तर अब संयुक्त राज्य अमेरिकाले आफ्नो पकड कम गरेर यिनलाई समायोजन गर्नुपर्छ । बाँकी विश्वले यसलाई स्वीकार गर्ने छैन । त्यसैले त्यो यथार्थबाट ध्यान अन्यत्रतिर मोड्नु महत्वपूर्ण छ । धेरै विमानहरू र जलिरहेका भवनहरूको भिडियोहरूका साथ हामीले चाँडै जित्न सक्ने युद्ध यस ठुलो ऐतिहासिक समस्याबाट तपाईंलाई विचलित गर्ने एउटा तरिका हो । र त्यसपछि हामीसँग यहाँ संयुक्त राज्य अमेरिकामा दुईवटा धेरै गम्भीर र तात्कालिक समस्याहरू छन् ।
एउटा, अमेरिकी इतिहासकै सबैभन्दा खराब यौन दुव्र्यवहार काण्ड हो । जेफ्री एपस्टाइनसँग जोडिएको यो मामिलाले राष्ट्रपति ट्रम्प, पूर्व राष्ट्रपति क्लिन्टन, र हाम्रो संस्कृतिका सबैभन्दा धनी र शक्तिशाली पुरुषहरूको एक विशाल समूहलाई छुन्छ, जसले ती सबैको राजनीतिक करियरलाई खतरामा पार्छ । क्लिन्टनको करियर त सकिइसक्यो, तर श्री ट्रम्प त्यो कार्यालयमा बसिरहनुभएको छ र कसलाई थाहा छ यो सबैलाई दबाउन खोजिरहेको यस सरकारबाट अन्ततः अझै कति नामहरू बाहिर आउनेछन् । जनतामा नाम र फाइलहरू निरन्तर प्रकट भइरहँदा पनि उनीहरूलाई यी सबैबाट ध्यान भड्काउनु आवश्यक छ ।
फेरि पनि अन्तिम कुरा अर्थतन्त्र हो ।