बीआरआईमार्फत चीनले युरेसिया र बाहिर कनेक्टिभिटी बढाउने विविध पहलहरूलाई समर्थन गरेर विदेशी विकासलाई सबल बनाउँदै आर्थिक र सुरक्षा हितलाई बलियो बनाउन खोजिरहेको छ । सन् २०१७ को मे महिनामा पेइचिङमा भएको पहिलो बेल्ट एन्ड रोड मञ्चमा चिनियाँ राष्ट्रपति सी चिनफिङले बेल्ट एन्ड रोड इनिसिएटिभलाई पछ्याउँदै चीनले विकासको आधारभूत मुद्दामा ध्यान केन्द्रित गर्नुपर्ने बताएका थिए । विभिन्न देशहरूको आर्थिक वृद्धि गराउने र आर्थिक एकीकरण तथा अन्तरसम्बन्धित विकास हासिल गर्ने कुरामा जोड दिँदै यसले सबैलाई फाइदा पु¥याउनुपर्ने कुरामा उनले जोड दिएका थिए ।
बीआरआई एउटा छाता हो, जसले सामान, लगानी र मानिसहरूको प्रवाहलाई प्रवद्र्धन गर्ने उद्देश्य बोकेको छ । बीआरआईद्वारा बढाइएका नयाँ जडानहरूले सम्बन्धहरूलाई पुनः ताजगी गर्ने आर्थिक गतिविधिलाई पुनः मार्गनिर्देशन गर्ने र राज्यहरूभित्र र आपसमा शक्ति परिवर्तन गर्ने कार्य हुन्छ । सन् २०१५ को मार्चमा चिनियाँ परराष्ट्र मन्त्रालयले बीआरआईको विशिष्ट नीतिगत लक्ष्यहरूलाई स्पष्ट पार्ने कार्य योजना (राष्ट्रिय विकास तथा सुधार आयोगद्वारा जारी गरिएको) सार्वजनिक गरेको थियो । उक्त कार्य योजनामा समावेश भएका बुँदाहरू यस प्रकार थिए :
– आर्थिक विकास रणनीति र क्षेत्रीय सहयोगका लागि योजनाजस्ता उच्चस्तरीय सरकारी नीतिहरूलाई राम्रोसँग मिलाउन अन्तरसरकारी सञ्चार सुधार गर्ने,
– यातायात प्रणाली र पावर ग्रिडहरूजस्ता कडा पूर्वाधार नेटवर्कहरूलाई राम्रोसँग जोड्न पूर्वाधार योजनाहरूको समन्वयलाई सुदृढ पार्ने,
– व्यापार सम्झौताहरूमा हस्ताक्षर, नियामक मापदण्डहरूको पङ्क्तिबद्धता र वित्तीय एकीकरण सुधार गर्नेजस्ता नरम पूर्वाधारको विकासलाई प्रोत्साहन गर्ने,
– विद्यार्थी, विशेषज्ञ र सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवद्र्धन गरेर जनस्तरको सम्बन्धलाई सुदृढ पार्ने ।
बीआरआई साझेदार देशहरूले बीआरआईको सबैभन्दा आकर्षक तत्व – यसको कडा पूर्वाधारको प्रावधान भएको पाएका छन् । एसियाली विकास बैङ्कले अनुमान गरेअनुसार एसियाका विकासशील देशहरूलाई सामूहिक रूपमा विकासलाई दिगो बनाउन पूर्वाधार लगानीमा २६ ट्रिलियन डलर आवश्यक पर्नेछ । बीआरआईमार्फत चीनले विश्वभर यी पूर्वाधार परियोजनाहरूलाई वित्तपोषण र सञ्चालन गर्न आफ्नो पर्याप्त आर्थिक स्रोतहरू प्रयोग गर्न खोजेको छ । बीआरआईको पहिलो १० वर्ष (२०१३ देखि २०२३) मा चीनले बीआरआई देशहरूसँग लगभग एक ट्रिलियन डलरको लगानी र निर्माण सम्झौताहरूमा हस्ताक्षर गरेको छ ।
चिनियाँ राज्य परिषद् सूचना कार्यालयले तेस्रो बीआरआई मञ्चको एक हप्ताअघि सन् २०२३ को अक्टोबरमा चीनको बीआरआई महत्वाकाङ्क्षाका बारेमा नयाँ श्वेतपत्र जारी गरेको थियो । उक्त श्वेतपत्रका अनुसार बीआरआईको पहिलो दशकको सफलताको रूपरेखा प्रस्तुत गर्दै बीआरआईको भविष्यको ध्यान दिगो विकासका परियोजनाहरूमा केन्द्रित भएको छ ।
त्यस्ता परियोजनाहरूमा हरित विकास, विज्ञान र प्रविधि सहयोग र डिजिटल कनेक्टिभिटीमा रहेका छन् । मञ्चमा चिनियाँ राष्ट्रपति सीको सम्बोधनले बीआरआईका यी नयाँ विशेषताहरूप्रति चीनको प्रतिबद्धतालाई पनि उत्तिकै प्रकाश पारेको थियो । उनले चीनका लागि प्रतिबद्धताका आठ क्षेत्रहरू प्रस्तुत गरेका थिए । ती आठ क्षेत्रहरूमा बहुआयामिक बीआरआई कनेक्टिभिटी नेटवर्क निर्माण, खुला विश्व अर्थतन्त्रलाई समर्थन, व्यावहारिक सहयोग, हरित विकासको प्रवद्र्धन, वैज्ञानिक र प्राविधिक नवप्रवर्तनलाई प्रोत्साहन, जनता–जनता आदानप्रदानलाई समर्थन, अखण्डतामा आधारित बीआरआई सहयोगलाई प्रवद्र्धन र अन्तर्राष्ट्रिय बीआरआई सहयोगका लागि संस्थागत निर्माणलाई सुदृढ रहेका छन् ।
उल्लेखित आठ प्रतिबद्धताहरूको एक भाग कृत्रिम बुद्धिमत्ता (एआई) शासनका लागि नयाँ ग्लोबल इनिसिएटिभ हो, जसले आदानप्रदान र संवादमार्फत ‘विश्वमा ध्वनि, व्यवस्थित र सुरक्षित एआई विकास’ का लागि प्रयास गर्छ । चिनियाँ अधिकारीहरूका अनुसार एआईमा ध्यान केन्द्रित गर्नाले चीनका अन्य तीन व्यापक पहलहरू, विश्वव्यापी विकास पहल, विश्वव्यापी सुरक्षा पहल र विश्वव्यापी सभ्यता पहललाई पनि अगाडि बढाउनेछ । यी लक्ष्यहरू चिनियाँ हितहरूलाई राम्रोसँग समर्थन गर्ने विश्वव्यापी व्यवस्थाका लागि नयाँ रूपरेखाहरू सिर्जना गर्ने हुन् । तिनीहरू सीको कार्यकालको नयाँ पहिचान बनेका छन् ।
पछिल्लो समय सन् २०२५ को अगस्ट अन्तमा थिआनचिनमा आयोजित शाङहाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा सी चीनफिङले विश्वव्यापी शासन व्यवस्था पहल नामक नयाँ पहल अगाडि सारेका छन् ।
बीआरआईका केही नमुना परियोजनाहरू
बीआरआई परियोजना प्राचीन सिल्क रोडको आधुनिक संस्करण हो । यसले युरेसिया, अफ्रिका र युरोपलाई व्यापार, पूर्वाधार ढाँचा र सांस्कृतिक आदानप्रदानमार्फत जोड्ने महत्वाकाङ्क्षा राखेको छ । सन् २०१५ मा चीनले आधिकारिक रूपमा बीआरआईको रूपरेखा जारी ग¥यो, जसमा जमिनबाट जोडिने क्षेत्र (युरेसियाली सडक नेटवर्क) र समुद्री मार्ग समावेश गरिएको छ । सन् २०१७ मा चीनले पहिलोपटक बीआरआई मञ्च आयोजना गरेको थियो जसमा १३० भन्दा बढी देशले सहभागिता जनाएका थिए ।
अन्तर्राष्ट्रिय व्यापार बढाउनका लागि यातायात, ऊर्जा र डिजिटल पूर्वाधार ढाँचा विकास गरेर युरेसियाली व्यापारलाई सुगम बनाउनु बीआरआईको पहिलो उद्देश्य हो । चीनको विकास र पुँजी वितरण गर्दै विकासोन्मुख मुलुकको आर्थिक तथा सामाजिक उन्नति गर्नका लागि चिनियाँ उद्योग, प्रविधि र मुद्रा
(युआन) को वैश्विक प्रभाव बढाउने उद्देश्य पनि बीआरआईले बोकेको छ । त्यसैगरी, बीआरआईमार्फत सबै देशहरूसँग चीनको रणनीतिक सम्बन्ध सशक्त बनाउने उद्देश्यलाई पनि अगाडि सारिएको छ ।
बीआरआईका ठुला परियोजनाहरूमा चीन पाकिस्तान इकोनोमिक करिडर (सिपेक)लाई उदाहरणको रूपमा लिन सकिन्छ । सिपेकमार्फत पाकिस्तानमा ग्वादर बन्दरगाह र राजमार्ग निर्माण गरिएको छ ।
त्यसैगरी, दक्षिणपूर्व एसियामा लाओस चीन रेलवे सेवा र इन्डोनेसियामा जाकर्ता बान्डुङ उच्च गतिको रेलवे सेवा पनि बीआरआईकै परियोजना हुन् । बीआरआईका परियोजना अफ्रिकी महादेशमा पनि थुप्रै छन् । उदाहरणको रूपमा इथियोपिया जिबुती रेलवे र मोम्बासा नैरोबी रेलवेलाई लिन सकिन्छ । एसिया र अफ्रिकामा मात्र नभई युरोपमा पनि बीआरआईका परियोजनाहरू रहेका छन् । ग्रिसको पिराइयस बन्दरगाहमा चिनियाँ लगानी रहेको छ ।
बीआरआईले गर्दा पूर्वाधार ढाँचाको विकासअन्तर्गत निर्माण, ऊर्जा र यातायात क्षेत्रमा व्यापक प्रगति भएको छ । नेपाल, पाकिस्तानजस्ता देशहरूमा चीनले लगानी वृद्धि गर्दा रोजगारी बढेको छ । बीआरआईले सांस्कृतिक आदानप्रदानसँगै शैक्षिक, पर्यटन र प्रविधि सहयोग बढेको छ ।
बीआरआई परियोजनाअन्तर्गत दक्षिण अमेरिकाको पेरुमा चीनको निकै ठुलो लगानी रहेको छ । सन् २०२४ को नोभेम्बर १४ का दिन चिनियाँ राष्ट्रपति सी र पेरुका राष्ट्रपति डिना बोलुआर्टेले लिमास्थित राष्ट्रपति भवनबाट ‘रिमोट’ दबाएर चानकेई बन्दरगाहको उद्घाटन गरेका थिए । लिमादेखि करिब ६० किलोमिटर दूरीमा रहेको चानकेई बन्दरगाह चीनबाट करिब १७ हजार किलोमिटरको दूरीमा छ । यो बनिसकेपछि ल्याटिन अमेरिकाकै महत्वपूर्ण ‘हब बन्दरगाह’ बन्ने छ ।
सन् २०१९ देखि बनाउन थालिएको चानकेई बन्दरगाह चीन र पेरुको संयुक्त लगानी र विकासमा आधारित छ । यो बीआरआईको एक महत्वपूर्ण परियोजना हो । यसको तीन अर्ब ५० करोड अमेरिकी डलर लगानीमध्ये ६० प्रतिशत चीनको र ४० प्रतिशत पेरुको छ । यो बन्दरगाह बनिसकेपछि चीन र ल्याटिन अमेरिकाबिच एक नयाँ भूमि समुद्री करिडोर बन्नेछ । ‘चानकेईदेखि शाङहाईसम्म’ नारा लिएर सञ्चालन हुने यो बन्दरगाह चीन र पेरुको साझा विकास बढाउने मार्ग कहलिनेछ ।
बन्दरगाह खुलेपछि दुई देशबिच एकतर्फ समुद्री ढुवानी समय २३ दिनले घट्नेछ । कम्तीमा २० प्रतिशत लागत बचत हुनेछ । प्रत्येक वर्ष चार अर्ब ५० करोड अमेरिकी डलरको कारोबार गर्नेछ । पेरुका लागि ८ हजारभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ ।
बीआरआईले विश्व व्यापारको ४० प्रतिशत हिस्सा लिएको छ । अर्थ सञ्जालमा यसले प्रत्यक्ष रूपमा युरोप, एसिया र अफ्रिकालाई जोडेको छ । यो परियोजनाले चीनलाई ‘विश्व विकासको इन्जिन’ का रूपमा स्थापित गरेको छ ।
बीआरआई नेपालका लागि पनि महत्वपूर्ण छ । नेपालले हिमालय सीमापार रेलवे र सडक सञ्जालमार्फत चीनसँग थप जोडिने मौका पाएको छ । बीआरआई विश्वको सबैभन्दा ठुलो पूर्वाधार ढाँचा परियोजना हो, जसले आर्थिक विकास र भूराजनीतिक प्रतिस्पर्धालाई परिवर्तन गरिरहेको छ । यसले एसिया, अफ्रिका, युरोप र अन्य क्षेत्रहरूलाई जोडेर वैश्विक अर्थतन्त्रलाई थप चलायमान बनाएको छ । विशेषगरी एसिया र अफ्रिकामा बीआरआईले व्यापार, यातायात, ऊर्जा र डिजिटल कनेक्टिभिटीमा ठुलो परिवर्तन ल्याएको छ । यसले विकासशील देशहरूलाई आर्थिक वृद्धिको अवसर दिएको छ ।
एसियामा बीआरआईले यातायात, ऊर्जा र वाणिज्य क्षेत्रमा विकास गरेर क्षेत्रीय एकीकरणलाई बढावा दिएको छ । उदाहरणको रूपमा सिपेकलाई लिन सकिन्छ । चीन–पाकिस्तान–इकोनोमिक करिडर अर्थात् सिपेक परियोजनाअन्तर्गत ग्वादर बन्दरगाहले मध्यपूर्व अफ्रिका र युरोपसम्म चीनको व्यापारिक मार्ग छोटो बनाएको छ । यही परियोजनामा कोइला, जलविद्युत् र सौर्य ऊर्जा संयन्त्रहरूले पाकिस्तानको विद्युत् आपूर्तिमा ठुलो सुधार आएको छ । यसले पाकिस्तानको अर्थतन्त्रमा पनि व्यापक प्रभाव परेको छ । पाकिस्तानको जीडीपीमा वृद्धि गराएको छ ।
यसैगरी, लाओस चीन रेलवेको विश्लेषण गर्न सकिन्छ । ६ अर्ब अमेरिकी डलरको लागतमा निर्मित यो रेलवे सेवाले लाओसलाई दक्षिणपूर्व एसियाली देशहरूसँग जोडेको छ । यसले लाओसलाई भूपरिवेष्ठितबाट भू–जडित मुलुक बनाएको छ ।
इन्डोनेसियामा जाकर्ता बान्डुङ उच्च गतिको रेलेवे सेवा पनि बीआरआईकै परियोजना हो । ७ अर्ब ३० करोड अमेरिकी डलरमा चीनले निर्माण गरेको इन्डोनेसियाकै पहिलो उच्च गतिको यो रेल सेवाले ३ घण्टा लाग्ने समयलाई घटाएर ४० मिनेटमा झारेको छ । यसले पर्यटन र व्यापार बढाएको छ ।
अफ्रिकाको सामाजिक तथा आर्थिक अवस्था सुधार गर्न बीआरआईले अहम् भूमिका निर्वाह गरेको छ । अफ्रिकामा बीआरआईले बन्दरगाह, रेलवे सेवा र ऊर्जा परियोजनाहरूमार्फत आर्थिक विकासलाई गति दिएको छ ।
इथियोपिया जिबुती रेलवे सेवा ४ अर्ब अमेरिकी डलरमा निर्माण भएको हो । यो रेलवे सेवाले इथियोपियालाई समुद्री बन्दरगाह (जिबुती) सँग जोडेको छ । यसले इथियोपियाको निर्यात समयलाई तीन दिनबाट १२ घण्टामा झारेको छ ।
केन्यामा निर्मित मोम्बासा नैरोबी रेलवे सेवालाई अर्को उदाहरणका रूपमा लिन सकिन्छ । ३ अर्ब २० करोड डलर लागतको यो रेलवे सेवाले केन्याको यातायात प्रणाली सुधारेको छ । बीआरआई परियोजनाअन्तर्गत नै मिश्रको नयाँ राजधानी परियोजना निर्माण भइरहेको छ । चीनले ३ अर्ब डलर लगानी गरेर नयाँ प्रशासनिक राजधानी निर्माण गरिरहेको छ । यसले सो क्षेत्रमा रोजगारी दर बढाएको छ ।
अङ्गोला र जाम्बियामा बन्दरगाह र सडक निर्माणको काम पनि बीआरआई परियोजनाअन्तर्गत भइरहेका छन् । अफ्रिकाको लोबिटो बन्दरगाह (अङ्गोला) ले अफ्रिकी खनिज निर्यात बढाएको छ । जाम्बिया तान्जानिया रेलवे सेवाले तामा निर्यात गर्न सजिलो बनाएको छ ।
उल्लेखित उदाहरणबाट के स्पष्ट हुन्छ भने बीआरआई परियोजनाले विश्व अर्थतन्त्रमा व्यापक योगदान दिएको छ । बीआरआईले युरोप, एसिया र अफ्रिकालाई जोडेर वैश्विक व्यापारको ४० प्रतिशत समेटेको छ । पूर्वाधार ढाँचा विकास गरेर विकासोन्मुख देशहरूलाई सडक, रेलवे र बन्दरगाहजस्ता आधारभूत संरचना प्रदान गरेको छ ।
यी योगदानसँगै चिनियाँ मुद्रा युआनलाई अन्तर्राष्ट्रिय मुद्राका रूपमा बढावा मिलेको छ । फलस्वरूप अमेरिकी प्रभाव घट्दै गएकाले अमेरिकी गठबन्धन मुलुकहरूले बीआरआईलाई रुचाएका छैनन् । त्यसैले, उनीहरूले चीनलाई बदनाम गर्नको लागि बीआरआईलाई ऋणको पासो भनेर अपव्याख्या गरिरहेका छन् । श्रीलङ्का, जाम्बियाजस्ता देशहरूमा भएको प्रशासनिक कमजोरी र व्याप्त भ्रष्टाचारका कारण बीआरआई परियोजनाको ऋण तिर्न ती मुलुकलाई कठिन भएको भनिएको छ । अमेरिका, भारतजस्ता देशहरूले बीआरआईलाई चीनको ‘रणनीतिक विस्तार’ र चीनको प्रभुत्व भनेर चीनमाथि हिलो छ्याप्ने काम गरिरहेका छन् ।
(मकालु ग्रुप अफ कम्पनीद्वारा प्रकाशित चेतनाथ आचार्यको ‘चिनियाँ दृष्टिकोण’ पुस्तकको अंश ।)