बुर्किना फासोली क्रान्ति र सङ्कारा
बुर्किना फासो पश्चिम अफ्रिकी देश हो । यो देश पहिले फ्रान्सको उपनिवेश थियो र यसको नाम अपर भोल्टा (Upper Volta) थियो । यसको क्षेत्रफल २ लाख ७४ हजार वर्ग किलोमिटरभन्दा बढी छ । यहाँ २ करोड २८ लाख १० हजार जनसङ्ख्या रहेको छ ।
बुर्किना फासो भूपरिवेष्ठित देश हो । यसको पूर्वमा नाइजर, पश्चिम र उत्तरमा माली र दक्षिणमा आत्री कोस्ट, घाना, टोगो र डाहोमी पर्छन् । यसको बिचैमा राजधानी वागादुगो (Ouagadougou) छ । दक्षिणको ठुलो सहरको नाम बोबोदुलासो हो ।
सन् १९६० तिर बुर्किना फासो फ्रान्सेली उपनिवेशबाट मुक्त भयो । त्यसबेला त्यहाँका ९८ प्रतिशत बुर्किनाबे जनता निरक्षर थिए । स्वास्थ्य सेवाको कुनै बन्दोबस्त थिएन । सामन्ती सामाजिक बनोट जस्ताको तस्तै थियो । झण्डै ३० हजार सरकारी कर्मचारी र जमिनदारहरूको सानो समूहले देशलाई भ्रष्टाचारमा डुबाएको थियो ।
बुर्किना फासोको क्रान्तिको सुरुआत
१९४९ डिसेम्बर २१ को दिन याको (Yoko) सहरको एक तल्लो दर्जाका उपनिवेशवादी प्रहरीको घरमा एक बच्चा जन्मियो । त्यस केटाले माध्यमिक शिक्षा पाउने सौभाग्य पायो । त्यस केटाको नाम थोमस सङ्कारा राखियो । सङ्कारा सेनामा भर्ती भए र म्याडागास्करमा सैनिक तालिममा जाने अवसर पाए । सन् १९७२ मा त्यहाँ उनले हडताल र जुलुस प्रदर्शनहरूको लहर देखे । यसरी उनको मन र मस्तिष्कमा राजनीतिप्रति उत्सुकता जाग्यो । सैनिक सेवा सँगसँगै उनले मोरक्को र फ्रान्समा तालिम र अध्ययनको अवसर प्राप्त गरे । ती तालिम र अध्ययनकै सिलसिलामा उनी क्रान्तिकारी र माक्र्सवादी विचारहरूबाट प्रभावित भए । उनले आफ्नो देशको वास्तविकतासँग ती विचारहरूको सामीप्यता देखे । उनले सेनाभित्रै विचार मिल्नेहरूसँग मिलेर एउटा साम्यवादी समूह गठन गरे ।
राम्रो वक्ता, आकर्षक र साह्रै उत्साही व्यक्तित्व भएको हुँदा सन् १९८३ को जनवरी महिनामा ज्याँ–बाप्टिस्ट वागादुगोको प्रगतिशील सैनिक सरकारमा सङ्कारा सामेल भए । उनी प्रधानमन्त्री भए । त्यसबेला उनी ३४ वर्षका युवा थिए ।
मे १७ को दिन अर्को सैनिक विद्रोहद्वारा त्यो सरकार फालियो । सङ्कारासँगै उनका घनिष्ठ मित्रहरू हेनरी जोङ्गो (Henry Zongo) र ज्याँ लिँगुइनी (Jean Linguini) पनि केही दिनमा पक्राउ परे । तिनीहरू छुटेपछि त्यस प्रतिक्रियावादी सत्ताको विरोधमा भूमिगत सङ्गठनहरू बनाउन थाले । त्यसबेला सङ्काराका एक घनिष्ठ साथी ब्लेज काम्पोरे (Blaise Compaore) सहित मिलेर पो (Po) नगरको सेनाको विरोधमा गतिविधि सुरु गरे । सङ्कारा लिँगुइनी, जोङ्गो र ठुलो सङ्ख्यामा अन्य समर्थकहरू त्यो नगरमा पुगे ।
१९८३ अगस्ट ४ को दिन ब्लेज काम्पोरे र २०० सिपाहीहरू राजधानी वागादुगोतिर प्रस्थान गरे । उनीहरूले विद्यमान सरकार फालेर थोमस सङ्काराको राष्ट्रपतित्वमा राष्ट्रिय क्रान्तिकारी परिषद् (National Council of the Revolution – CNR) स्थापना गरे ।
सोही दिन राष्ट्रपतिको रूपमा सङ्काराले जनतासँग देशभरि ‘क्रान्तिकारी रक्षा समितिहरू’ गठन गर्न आह्वान गरे । ती क्रान्तिकारी रक्षा समितिहरूले नै राज्य र स्थानीय प्रशासनका अङ्गहरूमाथि प्रत्यक्ष प्रजातान्त्रिक ढङ्गले नियन्त्रण गर्ने अभ्यास सुरु गरे । गाउँ र सहरका जनताबाट तिनीहरू प्रत्यक्ष निर्वाचित भए । देशभित्र मात्र होइन देश बाहिर पनि बुर्किनाबे जनताको माझमा क्रान्तिकारी रक्षा समितिहरूले प्रजातान्त्रिक सरकारको यन्त्रको रूपमा दैनिक कार्य सञ्चालन गर्न थाले ।
क्रान्तिकारी रक्षा समितिहरूबाटै सङ्काराले ‘चेतना जगाऊ’, ‘काम गर’ साधारण जनताले पनि देश चलाउन सक्छन् भन्ने समझदारी बढाउन ‘उत्साहित गर !’ भन्ने नाराहरू दिए । ती नाराहरूले प्रत्येक नागरिकले आफ्नो हातमा शक्ति भएको तथा सबैले आफू पनि सरकारको अङ्ग भएको अनुभव गरे । केही मानवीय गल्ती र कमजोरीहरू स्वाभाविक थियो । हरेक बुर्किनाबे जनताको मुखमा सङ्काराकै भनाइ झुन्डिएको थियो, “हामीले नै आफ्नो भविष्य निर्माण गर्नुपर्छ ।”
बुर्किना फासोको औपनिवेशिक कानुनी बन्दोबस्त जस्ताको तस्तै बाँकी थियो र त्यसले पूर्व शासक वर्गको हितको रक्षा गथ्र्यो । त्यसकारण, सन् १९८४ जनवरीदेखि अदालतहरू र पुराना ऐन–कानुनहरूको ठाउँमा ‘जनताको क्रान्तिकारी अदालत’ (People’s Revolutionary Courts – TPR) स्थापना गरियो । कामदार जनताबाटै सबै न्यायाधीशहरू निर्वाचित भए ।
१९८४ जनवरी ३ को दिन ‘जनताको क्रान्तिकारी अदालत’को पहिलो बैठकमा राष्ट्रपति सङ्काराले भने, “पुराना ऐन–कानुन जान्ने न्यायाधीशहरू आवश्यक छैन, जनताको न्याय गर्ने भावनाबाट तिनीहरू प्रेरित हुनुपर्छ ।” जनताको क्रान्तिकारी अदालतको उद्देश्यबारे उनले प्रस्ट पारे, “जनताको विरोधमा गरिएका अपराधहरूको गुप्त सामाजिक र राजनीतिक पक्षहरूलाई जनताको अगाडि उदाङ्ग्याउनु र तिनलाई सामाजिक, नैतिकता र व्यावहारिक राजनीतिको शिक्षा ग्रहण गर्दा त्यसको परिणामलाई बुझ्न सहयोग गर्नु यी अदालतको उद्देश्य हो ।” जनताको क्रान्तिकारी अदालतमा दर्शक सहभागीहरूले अपराधीलाई पत्ता लगाउने, अपराधीको आनीबानी र भ्रष्टाचारबारे जनतालाई बुझ्न मद्दत गर्ने प्रशंसनीय कार्यमा सफलता प्राप्त गरे तथा समाजवादी समाजमा अपराध र भ्रष्टाचारलाई कुनै ठाउँ नभएको बताए ।
क्रान्तिको पहिलो दिवसमै देशको नाउँ ‘अपर भोल्टा’ बाट बुर्किना फासो राखियो । स्थानीय भाषामा त्यसको अर्थ हो – सदाचारी जनताको भूमि ।
दोस्रो वर्ष सङ्कारा संरा अमेरिकाको भ्रमणमा गए ।
न्युयोर्कको हार्लेममा उनले भने, “‘अपर भोल्टा’ नितान्त औपनिवेशिक नाम हो, नयाँ नामबाट देशले पुनर्जीवन प्राप्त ग¥यो ।” युरोपेली साम्राज्यवादीहरूले पूरै अफ्रिकामा भेदभाव गरेर विभाजन गरेको बारे उनी सचेत थिए । साँचो अर्थमा अफ्रिकी देशहरूमा उचित सीमा थिएनन् । तर, उपनिवेशभन्दा पहिलेको स्वर्ण युगको बेलाको कुनै काल्पनिक सीमा निर्धारण गर्न सकिन्न र आजको वास्तविकताको आधारलाई केन्द्रित गरेर नयाँ सीमाहरू कायम गर्न सुरु गर्नुपर्छ भन्ने सङ्काराको दृष्टिकोण थियो ।
बुर्किनाबे क्रान्तिको मुख्य नारा ‘तलैदेखि सुरु गरौँ’ हो ।
‘राष्ट्रिय क्रान्तिकारी परिषद्’ ले कहिले पनि महत्वाकाङ्क्षी र प्रतिष्ठा हासिल गर्ने योजनाहरू प्रस्तुत गरेन । सानो बजेटबाट केही समयभित्रै तल्लो स्तरका प्राविधिक योजनाहरूबाटै जनताको जीवनमा सबैभन्दा बढी उन्नति गर्नमा केन्द्रित ग¥यो । त्यस देशसँग एकैबाजि सम्पूर्ण बालबालिकालाई विद्यालय पठाउने स्रोतहरू थिएन । यसकारण पढ्न–लेख्न जान्ने हरेक व्यक्तिले अरू केही जनतालाई पढ्न–लेख्न सिकाउने अभियान अगाडि बढाइयो । क्रान्तिको २ वर्षमा ८ प्रतिशत साक्षरताबाट २२ प्रतिशत अर्थात् तेब्बर जनतालाई साक्षर बनाइयो । ३५ हजार वयस्कहरूलाई साक्षरता प्रशिक्षकहरूको रूपमा तालिम दिइयो ।
स्वास्थ्य उपचारमा सफलता
सन् १९८३ मा बुर्किना फासोमा ४८ हजार जनतामा एकजना चिकित्सक थियो र संसारमा सबभन्दा बढी मृत्युदर भएको देश थियो । ‘राष्ट्रिय क्रान्तिकारी परिषद्’ ले हरेकलाई आधारभूत वा प्राथमिक स्वास्थ्य सेवा प्रदान ग¥यो । पहिलोपटक प्रसूति र बाल स्वास्थ्य सेवाका केन्द्रहरू स्थापना ग¥यो । सम्भवतः सबभन्दा ठुलो सफलता भनेको खोप कार्यक्रम सञ्चालन गर्नु थियो । सन् १९८५ को दुई हप्ताभित्र स्वयंसेवी स्वास्थ्य कार्यकर्ताहरूले २५ लाख केटाकेटीलाई दादुरा, मेनेन्जाइटिस र कमलपित्तको खोप दिए । बुर्किनाबे जनताले मात्र खोप लिन पाएका होइनन् बरु छिमेकी देशका जनताले पनि त्यो उपचार पाए । सन् १९८५ भित्र बाल मृत्युदर १००० बाट २०८ हुँदै १४५ मा झ¥यो ।
बुर्किना फासोमा उष्ण प्रदेशमा लाग्ने कालो झिँगाको टोकाइबाट छालामा सर्ने एक प्रकारको अन्धोपनको रोग (River Blindness) को बिगबिगी थियो । त्यो रोग नदीको प्रवाहजस्तै अति छिटो सङ्क्रमण हुन्थ्यो । त्यो परजीवी किटाणु आँखामा परेपछि मानिस अन्धो हुन्थ्यो । त्यस रोगलाई प्राविधिकरूपले ओन्कोसर्सियसिस (Onchocerciasies) भनिन्छ । दुई वर्षभित्र त्यो रोग पनि निर्मूल गरियो ।
खाना पकाउनको निम्ति बुर्किना फासोका जनताले खुला चुलो प्रयोग गर्थे । त्यसको ठाउँमा माटोको चुलो बनाउने नयाँ प्रविधि चालु गरियो । त्यस देशको उत्तरी भाग सहारा मरुभूमिको किनारमा पर्छ । साहेल (Sahel) भन्ने त्यो भाग पानी नपर्ने वा साह्रै कम पानी पर्ने ठाउँ हो । खाना पकाउनको निम्ति डरलाग्दो ढङ्गले वन विनास बढ्दै थियो । माटोको नयाँ चुलोको प्रयोगले दाउराको उपभोग घट्यो ।
त्यसबाहेक वृक्षरोपणको व्यापक अभियान चालेर वातावरण संरक्षणको उपाय अपनाइयो । १५ महिनाभित्र १ करोड रुख रोपियो । गाउँ र बस्तीमा हरेक परिवारले प्रतिवर्ष १०० रुख रोप्ने र त्यसको स्याहार गर्ने अभियान चलाइयो । नगर क्षेत्रमा जिम्मा दिइएको रुखहरूको हेरचाह गरिएन भने तिनीहरूले घरको लालपुर्जा पाउँदैनथे । गाउँहरूमा वनको जिम्मा स्थानीय जनतालाई नै दिइयो ।
बुर्किनाबे जनताको अत्यन्त ठुलो बहुमत कृषिमा आधारित थियो, तर जमिनको बन्दोबस्त सामन्ती ढङ्गको थियो । जमिनदारहरूले जोताहा किसानहरूलाई बिनापैसा ज्यामी लगाउँथे अर्थात् झारा वा बेठ–बेगारी लिन्थे । उनीहरूले जोताहा किसानहरूबाट रकम वा बाली पनि असुल गर्थे । राष्ट्रिय क्रान्तिकारी परिषद्ले भूमिमा सामन्ती अधिकारलाई उन्मूलन ग¥यो । राष्ट्रिय कृषक सङ्घ स्थापना गरियो । बुर्किना फासोमा सुक्खा मौसमको बेला पानी र सिँचाइ पहिलेदेखिको समस्या थियो । कोषको अभावका कारण त्यहाँका जनताले स्थायी वा सिमेन्टको घर बनाउन सक्दैनथे । यसकारण, गाउँका जनता सबै मिलेर माटोकै बाँध बनाए । कृषि उत्पादनमा वृद्धि भयो । पहिलो पटक जनताको आवास योजना बनाइयो । दुई–दुई कोठे माटो र इँटाका घरहरू बनाइए । ती सबै काम स्थानीय क्रान्तिकारी रक्षा समितिहरूले बन्दोबस्त गरे । पहिले भए त्यो कुरा कल्पना गर्न सकिने कुरा थिएन ।
महिला मुक्ति कसरी सम्भव ?
महिला मुक्तिको क्षेत्रमा सङ्काराको विचार झन प्रभावशाली बन्यो । सङ्काराले एङ्गेल्सको समाज उत्पत्तिसम्बन्धी रचनाहरू अध्ययन गरेका थिए । ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’ जस्ता कृतिबाट उनी प्रभावित थिए । बुर्किना फासोका स्वास्नीमानिसहरू मनोरञ्जनको कुनै पनि अधिकारबिना सबभन्दा बढी शारीरिक काम गर्न बाध्य थिए । नव–उपनिवेशवादी समाजहरूमा स्वास्नीमानिसहरू दोहोरो रूपमा शोषित भएको कुरा उनले सिकाए । पहिलो, आइमाईहरूले लोग्नेमानिसहरूले जस्तै दुःखको अनुभव गर्छन् । दोस्रो, तिनीहरू लोग्नेमानिसहरूबाट पनि थप दुःखका शिकार छन् । सङ्काराले भने, “स्वास्नीमानिसहरू घरबाहिर र भित्र शोषित छन् । तिनीहरूलाई भूमिकारहित र आवाजविहीन बनाइएका छन् । मुख्य मानिस नै बाँधिएका छन् । महिला भनेको पुरुषको छायाँ मात्रै हो भनिएको छ ।”
स्वास्नीमानिसलाई पनि निर्णय गर्ने थलो र सार्वजनिक प्रशासनमा पूर्णरूपले सहभागी बनाउन सङ्काराले राष्ट्रिय परिषद्मा महिलालाई पनि सामेल गराए । उनले भने, “स्वास्नीमानिसको साँचो मुक्ति भनेको आइमाईहरूलाई पनि जिम्मेवारी सुम्पनु र विश्वास गर्नु हो । तिनीहरूलाई उत्पादन कार्यमा सहभागी गराउनु तथा जनताले जुझ्ने हरेक कठिन सङ्घर्षहरूमा तिनीहरूलाई पनि सामेल गराउनु हो ।”
बुर्किनाबे महिलाहरू पनि ‘क्रान्तिको निम्ति रक्षा समिति’ (CDR) मा सामेल भएर मन्त्री र प्रान्तीय गभर्नर वा अञ्चलाधीश भई शक्तिशाली भूमिका प्रदर्शन गरे । जबरजस्ती विवाह, बहुविवाह र यौन अङ्गछेदन जस्ता विकृतिहरूलाई निषेध गरियो र परिवार नियोजन लागू गरियो ।
परराष्ट्र नीति
क्रान्तिकारी बुर्किना फासोको संसारका सबै प्रगतिशील सरकारहरूसँग घनिष्ठ सम्बन्ध थियो । कुनै पनि राज्यसँग झुकाव नराखी असंलग्न राष्ट्रहरूको एक सदस्य रह्यो । सन् १९८६ को अक्टोबरमा सङ्काराले सोभियत सङ्घको भ्रमण गरे । उनको घनिष्ठ अन्तर्राष्ट्रिय सम्बन्ध निकारागुआ र क्युवासँग थियो भने अफ्रिकामा मोजाम्बिकसँग थियो । सामोरा मशेल सङ्काराका नायक थिए । तिनीहरू दुवै मिल्ने साथी थिए । दक्षिण अफ्रिकी जातिवादी सङ्गठनका दलालहरूबाट हवाईजहाज विस्फोट गराई सामोरा मशेलको हत्या गरिएको थियो । सङ्काराको निम्ति यो घटना सा¥है दुःखद थियो ।
बुर्किना फासोको सम्बन्ध पोलिसरियो मोर्चा (Polisrio Front) सँग पनि थियो । पोलिसरियो मोर्चा स्पेनको सहारामा मोरक्कोको नियन्त्रणबाट स्वतन्त्र हुन चाहन्थ्यो । त्यस्तै सङ्कारा प्यालेस्टिनी मुक्तिका पनि समर्थक थिए । छिमेकी घानाको जेरी रलिङ्स (Gerry Rowlings) को सरकार र बुर्किना फासोको मित्रवत् र संयुक्त सैनिक गतिविधि पनि हुन्थ्यो । तर, पश्चिम अफ्रिकाका अन्य देशहरूसँग भने सम्बन्ध चिसो थियो । बुर्किना फासोप्रति तिनीहरू शत्रुवत् थिए । सन् १९८५ को क्रिसमसको दिन सीमा विवादलाई लिएर छिमेकी देश मालीले बुर्किना फासोमाथि आक्रमण ग¥यो ।
अफ्रिकाको शोषण गर्नमा तल्लीन युरोप र उत्तर अमेरिकी देशहरूबाट ‘क्रान्तिकारी राष्ट्रिय परिषद्’ ले केही आशा गरेको थिएन । सङ्काराले प्रस्टरूपले साम्राज्यवादी देशहरूले दिने सहायतालाई अस्वीकार गरे । उनले उठ्दो स्थानीय अर्थतन्त्रलाई ध्वस्त पार्ने ऋण र परनिर्भर हुने संस्कृतिको विकास हुनेबारे प्रस्ट पारे ।
उनले भने, “बुर्किना फासो आफ्नो देशका जनतालाई खुवाउन सक्षम छ, खालि आफ्नै घरलाई व्यवस्थित गर्नु आवश्यक छ । क्युवाजस्ता मैत्रीपूर्ण देशहरूबाट आउने प्राविधिक र सामाजिक सहयोग राम्रो विषय हो । राष्ट्रिय क्रान्तिकारी परिषद् साम्राज्यवादीहरूको कुनै पनि सहयोग नराम्रो उद्देश्यबिना हुँदैन भन्नेबारे सधैँ सचेत छ ।”
फ्रान्सका राजनीतिज्ञहरूले सङ्कारालाई सधैँ फ्रान्सबाट पाएको सहयोगको निम्ति पश्चिमी अफ्रिकीहरू आभारी हुनुपर्छ भन्थे । बुर्किनाबे नेता सङ्काराले उत्तर दिए, “पेरिसका सडकहरू र त्यहाँका भूमिगत रेलमार्गहरू सफा राख्ने अफ्रिकीहरूप्रति फ्रान्सेलीहरू कृतज्ञ हुनुपर्छ ।”
क्रान्ति कहाँनेर चुक्यो ?
बुर्किनाबे क्रान्ति यसरी सफल भएको थियो भने विराम कहाँनेर भयो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । क्रान्तिको चौथो राष्ट्रिय दिवसमा सङ्काराले ठीक राजनीतिक व्यवस्था स्थापना गर्न समय चाहिने कुरा स्वीकारे । क्रान्तिकारी सुरक्षा समितिहरूले रामै्र काम गर्दै थिए । ती समितिहरू राजनीतिक पार्टीका सङ्गठन थिएनन् । राजनीतिक शिक्षाको स्तर तल थियो ।
सङ्काराले हरेक समिति र कार्यकर्तामा क्रान्तिकारी उत्साह थप्दै माक्र्सवादी–लेनिनवादी पार्टीमा राम्रोसँग शिक्षित गर्न समयको उपयोग गर्दै थिए । तर, परिणामको कुनै वास्ता नगरी केही अतिवादी वामपन्थीहरू बुर्किना फासोको क्रान्तिभन्दा अगाडिका पुराना स्वार्थी र बाँकी–बक्यौताहरूलाई तुरुन्तै फाल्न चाहन्थे । त्यस्ता व्यक्तिलाई केहीले ‘माओवादी’ भन्ने कल्गी लगाउँथे । तिनीहरू वास्तवमा त्रोत्स्कीवादी वा अराजकतावादीहरू थिए । तिनीहरू हरेकलाई र हरेक विषयलाई निन्दा गर्थे र तुरुन्तै समाधानको माग गर्थे । अराजकतावादीहरू जनता सचेत र सङ्गठित नहुँदै क्रान्ति गर्न चाहन्थे । जनतालाई तिनको इच्छाको वास्ता नगरी जबरजस्ती क्रान्तिमा होम्न चाहन्थे ।
ती अतिवादी–वामपन्थीहरूले सामन्ती, जमिनदारहरू र पुराना शासक परिवारहरूसँग साँठगाँठ गरे । पहिलेकै दिन फर्काउन चाहने र भ्रष्टाचार गर्न पल्केका सरकारी कर्मचारीहरूको तारिफमा तिनीहरू फसे । त्यो साँठगाँठमा छिमेकी नवउपनिवेशवादी नेताहरू सरिक थिए । खास गरेर आत्री कोस्टका होफौट–बोइगी (Houphouet Boigny) सामेल थिए । तिनीहरू बुर्किनाबे क्रान्ति निर्यात होला भनी डराउँथे र फ्रान्सको मितेराँ सरकार पनि एउटै ड्याङका मुला थिए । निकारागुआ र क्युवासँग बढ्दै गएको सम्बन्धले पनि बुर्किना फासो संरा अमेरिकाको आँखाको धुलो भयो ।
सन् १९८० तिर बुर्किना फासोमा विमानस्थलबाट राजधानी लाने राम्रा कारहरू थिएनन् । त्यहाँका शिक्षा मन्त्रीको तलब एक शिक्षकको तलब बराबर थियो । संयुक्त राष्ट्रसङ्घमा बुर्किनाबे कूटनीतिज्ञहरूले पैसा बचाउन अरूसँग सस्तो होटेलमा बस्थे ।
विकसित देशमा जस्तो राम्रा–राम्रा पसल, होटेल र बैङ्कहरूको बन्दोबस्त थिएन । तैपनि त्यसले भविष्यप्रतिको विश्वास र आशाको किरण आफ्नो एकता, शक्ति र प्रतिष्ठालाई बचाएको थियो ।
सङ्काराको प्रस्टता र हरेक कुरामा देखाएको पारदर्शिता र इमानदारीले पनि उनको पतनमा योगदान ग¥यो । उनको सरल जीवनशैलीबाट खुसी भएका सैनिक साथीहरूबाहेक केही व्यक्तिगत बलिदान गर्न नचाहनेहरू उनीमाथि इष्र्यावश बदला लिने टुङ्गोमा पुगे । सङ्कारा कहिलेकाहीँ उनकै मूल्य र मान्यतामा हिँडेको सजिलै स्वीकार्थे । सुरुका वर्षमा प्रतिक्रान्तिकारी अडान लिँदा खोसिएका केही शिक्षकहरूलाई सङ्काराले पुनः नियुक्ति गरे । रामै्र उद्देश्यका लागि उनी शिक्षकहरूसँग बदला लिन चाहन्नथे । तर, ‘राष्ट्रिय क्रान्तिकारी परिषद्’ का उनका विरोधीहरूले त्यस निर्णयको विरोध गरी उनलाई आक्रमण गर्ने निहुँ बनाए ।
१९८७ अक्टोबर १५ को दिन ब्लेज काम्पारेको नेतृत्वमा सङ्कारा र १२ जना साथीहरूलाई गोली हानेर मारियो । काम्पारेले तत्काल सत्ता कब्जा गरे । उनले ‘राष्ट्रिय क्रान्तिकारी परिषद्’ लाई विघटन गरे । रक्षात्मक सङ्घर्ष केही दिन चल्यो । तर, क्रान्तिको हार भयो । त्यसैबेलादेखि कम्पारे सत्तामा रहे । उनले २७ वर्ष बुर्किना फासोमा शासन गरे ।
साभार : स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा