रोजाको चिहानमा ‘रातो झन्डा’
प्रथम विश्व युद्धको कारण युरोपमा उथलपुथल भएको थियो । रुसी क्रान्तिको प्रभाव सारा युरोप र जर्मनीका मजदुरवर्गमा पर्नु स्वाभाविक थियो । सन् १९१८ को अक्टोबरको अन्ततिरै जर्मनीको सेनामा विद्रोहको भावना देखियो । जर्मनीका राजा प्रशियाली वाल्हाइम दोस्रोमाथि गद्दी छोड्न दबाब बढ्दै गयो । ४ नोभेम्बर सन् १९१८ को दिन प्रशियाली सम्राटको गौरव सम्झिएको जलसेनाले विद्रोह गर्यो र ६ सय जहाजी सिपाहीहरू बन्दी बनाइए । राजकुमार म्याक्सले सामाजिक जनवादी पार्टीका नेता फेड्रिक इबर्टलाई चान्सलर नियुक्ति गरेर राजतन्त्रलाई जोगाउने अन्तिम उपाय गरे । सामाजिक जनवादीहरूले त्यही मौकामा गणतन्त्र घोषणा गरे । राजाको पछाडि कोही नभएको बताएपछि राजा गद्दी त्यागेर हल्यान्ड निर्वासित भए ।
म्युनिख र अन्य मुख्य–मुख्य सहरहरूमा मजदुर, किसान र सिपाहीका परिषद्हरू गठन गरिए । सैनिक टुकडीहरू मजदुरहरूसँग मिल्न गए । ६ नोभेम्बरको दिन सहरहरूका छाना र झ्यालहरूमा राता झन्डाहरू फहरिए । १० नोभेम्बर सन् १९१८ को राती १० बजे रोजा लुक्जेम्वर्ग कारागारबाट मुक्त हुनुभयो । एउटा कारबाट उहाँ बर्लिन पुग्नुभयो ।
सामाजिक–जनवादीहरूले गणतन्त्र घोषणा गरेको खबर संसद्मा पुग्नासाथ लिब्ख्नेतले ४ बजे ‘स्वतन्त्र समाजवादी जर्मन गणतन्त्र’ को घोषणा गर्नुभयो । गणतन्त्रको घोषणा गरेर के गर्ने हो भन्ने कुनै व्यवस्थित योजना स्पार्टाकसवादीहरूको वा कम्युनिस्टहरूको थिएन । क्रान्ति भयो, कामदार वर्ग आ–आफ्ना क्षेत्रका सडकमा उत्रे तर त्यो स्वयम्स्फूर्त ढङ्गको थियो । रोजामा माक्र्सवादी सिद्धान्त र क्रान्तिकारी भावना थियो तर रुसका लेनिन र बोल्शेभिकहरूको जस्तो व्यवस्थित सङ्गठन थिएन ।
रोजा लक्जेम्वर्ग ४८ वर्षकी हुँदा कपाल फुल्न लागेको थियो, शरीर कमजोर भइसकेको थियो, मुख फुङ्ग उडेको थियो ।
जनतालाई निर्देशन दिने कुनै पत्रिका स्पार्टाकस समूह र जर्मेनियाली कम्युनिस्ट पार्टीसँग थिएन । तर, सशस्त्र मजदुरहरूले सरकारी कार्यालयहरू दनादन कब्जा गर्दै थिए । आफ्नो प्रेस नहुँदा मजदुरहरूले प्रतिक्रियावादीहरूको एक छापाखाना कब्जा गरे, राजावादीहरूको त्यो छापाखानालाई मजदुरहरूले सर्वहारावर्गको सम्पत्ति घोषणा गरे । जोगिचेस, लिब्ख्नेत र पाउल लेभिले ९ नोभेम्बरको मितिमा ‘बर्लिनमा रातो झन्डा फहरियो’ भन्ने ठुलठुलो अक्षरमा ‘रातो झन्डा’ प्रकाशित गरे । दोस्रो अङ्क १० नोभेम्बरको दिन छापियो । तर, प्रतिक्रियावादी छापाखानाका मानिसहरूले सर्वहारावर्गको पत्रिका छाप्न अस्वीकार गरे । क्रान्तिमा मिल्न आएका सिपाहीहरू बिहान एउटा कुरा गर्ने साँझ अर्को कुरा गर्ने गर्थे । कामदार वर्ग र जनतालाई निर्देशन दिने एउटा अखबार नहुँदा जनता अन्योलमा परे ।
रोजा एक होटलमा बसेर आफ्नो कार्यालयको काम गर्न थाल्नुभयो । स्पार्टाकस पक्षका साथीहरूको आपसमा अनेक विषयमा छलफल हुन्थ्यो । आवत–जावत बढ्दै गयो । तर, तिनले छापाखाना भेटाएनन्, जनतासँग सम्पर्क विच्छेद हुँदैगयो । पुराना सरकारी सिपाहीहरू र प्रतिक्रियावादीहरू व्यवस्थितरूपले आफ्नो योजनाअनुसार काम गर्दै थिए । रोजा हड्बडाउनुभयो र साथीहरूसँग भन्नुभयो, “अब ‘रातो झन्डा’ मेरो चिहानमा फहरिने छ ।”
१८ नोभेम्बर सन् १९१८ को दिन ‘सानो पत्रिका’ को छापाखाना भेट्टाइयो र ‘रातो झन्डा’ को तेस्रो अङ्क छापियो । रोजा र कार्ल लिब्ख्नेतद्वय ‘रातो झन्डा’ का सम्पादक हुनुहुन्थ्यो । लिब्ख्नेत सभाहरूमा भाग लिनुहुन्थ्यो, सम्मेलनहरू गर्नुहुन्थ्यो र बोल्नुहुन्थ्यो, रोजा त्यसलाई सम्पादन गर्नुहुन्थ्यो । तेस्रो अङ्कमा उहाँले ‘सुभारम्भ’ शीर्षकमा लेख्नुभयो, “अहिले खुसी हुने समय होइन, न त विजयको नै समय भइसकेको छ । हरेक व्यक्तिलाई सङ्गठित गर्नुपर्छ र हरेक शाक्तिलाई उपयोग गर्नुपर्छ । उपलब्धि सानो छ र खास परिवर्तन भइसकेको छैन । क्रान्तिकारी गणतन्त्रको एकै रातमा प्रतिक्रियावादीहरू समाजवादी हुँदैनन्, अरू देशका मजदुर दाजुभाइलाई गोली हान्ने सिपाहीहरू एकैबाजी शिक्षित र परिवर्तन हुँदैनन्, भावनात्मक परिपक्वता नभएसम्म आदेशहरू वा बलले सामाजिक परिवर्तन हुँदैन । तिनीहरूसँग अनुभवी पत्रकारहरू, लेखकहरू र सम्पादकहरू थिएनन् । जर्मनीको सामाजिक जनवादी पार्टी, पुरानो एसपीडीका सदस्यहरू स्पार्टाकसहरूबाट अलग्ग बसे वा जर्मनीको स्वतन्त्र सामाजिक जनवादीसँग मिल्न गए । तर, स्पार्टाकस लिगसँग तल्लो तहका कार्यकर्ता, युवा र महिलाहरूमात्र थिए । तिनीहरू नेताहरूभन्दा हतारिने र उत्साहित थिए तर गम्भीर थिएनन् ।
रोजा लक्जेम्वर्ग अखबारलाई अझ परिमार्जित गर्न र सम्पादनमा दिनरात खट्नुभयो । उहाँले क्लारा जेट्किन र अरूलाई समेत लेख्न घच्घच्याउनुभयो र कामदारलाई शिक्षित गर्न, उनीहरूको स्तरलाई उठाउन दुई महिनाभित्र उहाँने २७ वटा लेखहरू लेख्नुभयो ।
रोजा आदर्श र व्यवहारलाई मिलाउन चाहनुहुन्थ्यो र क्रान्तिको रक्षा गर्न जर्मनीमा सर्वहारा लाल रक्षकहरू र मजदुर मिलिसियाको निर्माण गर्न चाहनुहुन्थ्यो । भोक र अभावलाई मेटाउन उहाँ स्थानीय मजदुरहरू र सिपाहीहरूको परिषद्हरू बनाउन चाहनुहुन्थ्यो । उहाँ त्यसबेला मस्कोमा गठन हुनलागेको तेस्रो अन्तर्राष्ट्रियको विरोधमा हुनुहुन्थ्यो । धेरै सम्भव उहाँ रुसको वर्गसङ्घर्ष र लडाइँमा मजदुरवर्ग बोल्शेभिकहरूको दृढतालाई गलत सूचनाका आधारमा आतङ्क र दमन सम्झनुहुन्थ्यो ।
रोजा र लिब्ख्नेतहरू क्रान्तिलाई जोगाउन जर्मनीका मजदुरवर्गलाई शिक्षित र छिटोछरिटो बनाउन व्यस्त हुनुहुन्थ्यो उता प्रतिक्रियावादी सरकार र शोषकवर्ग बर्लिनमा सेना जम्मा गर्दै थिए । तीनहजार सिपाहीहरू, चान्सलरका गणतान्त्रिक गार्डहरू, जन–सेना, बिजुली गार्ड र अर्धसैनिक स्वयम्सेवक दलहरू बर्लिनमा केन्द्रित हुँदै थिए ।
त्यतिले मात्र नपुगेर विघटित सेनाका सिपाहीहरू र अफिसरहरू, बेरोजगार मजदुरहरू, असन्तुष्ट सिपाहीहरू, अन्धराष्ट्रवादीहरू र महत्वाकाङ्क्षी सबैले आ–आफ्ना सङ्गठन, पोशाक र पहिचानका साथ मैदानमा आउन बर्लिनमा पुगे । तिनीहरूले आ–आफ्ना सैनिक नेताहरू निर्वाचित गरे । तिनीहरू सबै क्रान्ति र गणतन्त्रलाई कुल्चन चाहन्थे ।
२८ नोभेम्बर सन् १९१८ को दिन रोजाले होटलको हो–हल्ला र होटल मालिकको नकारात्मक व्यवहार र होटलको चारैतिर उहाँको विरोधमा र ‘यहुदी समाजवादी’ भनेर हेला गरिएको र निन्दा र गाली गरेका कागतपत्रहरूबाट प्रहारको तारो बन्दै गएको थाहा पाउनुभयो । यसकारण, उहाँ २–३ वर्ष अगाडि बसेको आफ्नो पुरानो डेरामा सर्नुभयो । त्यो होटल बर्लिनको मुख्य चोकनेर थियो । तर, त्यहाँको वातावरण अत्यन्त नराम्रो थियो ।
सन् १९१८ को डिसेम्बर महिनाको सुरुमै जर्मनीको आकाश कालो बादलले घेरियो । ६ डिसेम्बरको दिन एक जानकार र विश्वस्त सुत्रअनुसार जर्मनीमा बोल्शेभिक हमला हुने हल्ला चल्यो र सिपाहीहरूले सहरहरूमा फहरिरहेका सबै राता झन्डाहरू झिके वा च्याते र आगो लगाईदिए । प्रतिक्रियावादी गठबन्धन मिलेर जर्मनी सरकारलाई मजदुर र सिपाहीहरूको परिषद्हरूलाई भङ्ग गर्न र घेराबन्दी गरी आक्रमण गर्न दिए । सरकारी सिपाहीहरूले ‘रातो झन्डा’ को कार्यालयमा धावा बोले, त्यसको विरोधमा मजदुरहरूको सशस्त्र दस्ताले प्रतिरोध गर्यो । स्पार्टाकस समूहको विरोध प्रदर्शनमाथि सेनाले गोली चलायो ।
सरकारी सिपाहीहरूले ‘रातो झन्डा’ कार्यालय कब्जा गरे र सिपाहीहरूको गोलीले १८ जना स्पार्टाकसवादीहरू मारिए र ३० जना घाइते भए । त्यसको बदला लिन ७ डिसेम्बरको दिन स्पार्टाकसहरूको प्रदर्शनमा पहिलोचोटि सशस्त्र मजदुरहरूले भाग लिए ।
भोलिपल्ट क्रिसमसको दिन थियो, दुवैतर्फबाट ठुलठुला प्रदर्शनीहरू भए । सरकारी सैनिक टुकडीहरू र क्रान्तिकारी जहाजी सैनिकहरूबिच गोली हानाहान भयो र ११ जना जहाजी सिपाही र ५६ अन्य सिपाहीहरू मारिए ।
बर्लिनको भिडन्तको खबरले देशभरि मजदुरहरू र सिपाहीहरूको भिडन्त भयो । हडतालहरूको लहरले सारा देश बन्द भयो, जनतामा शङ्का र सन्त्रास फैलियो, जनताको समर्थन प्राप्त गर्न सामाजिक जनवादी पार्टी र स्पार्टाकस लिगको बिचमा क्रान्तिलाई विश्वासघात गरेको आरोप–प्रत्यारोप चर्कियो ।
१६ डिसेम्बर सन् १९१८ को दिन प्रदर्शनहरू, हो–हल्ला र भद्रगोलको माझमा मजदुर र सिपाहीहरूको परिषद्हरूको पहिलो महाधिवेशन सुरु प्रयो । त्यसमा रोजा र लिब्ख्नेत समेत चुनिनुभएन । ४८९ प्रतिनिधिहरूले सामाजिक–जनवादीहरूलाई निर्वाचित गरे । त्यसबाट स्पार्टाकसहरूमा निराशा र सामाजिक–जनवादीहरूमा खुसी छायो । सडकहरूमा क्रिसमसको झिलीमिली र उत्सवको वातावरण देखियो । कतैकतैमात्र सिपाहीहरू देखिए ।
सरकारी प्रधानसेनापति क्रिसमसमा रमाइरहेको बेलामा स्पार्टाकसहरूले सरकारमाथि धावा बोले । रणनीतिकरूपले तिनीहरू अत्यन्त अपरिपक्व साबित भए । किनभने त्यसबेला बर्लिनमा सिपाहीहरू सा¥है कम बाँकी थिए ।
जनवरी सन् १९१९ को सुरुमा रोजा लक्जेम्वर्ग, लिब्ख्नेत र लेभि अर्थात् ३ एलको शासन हुने भयो भनी खुब चर्चा चल्यो । ‘क्रान्तिको प्रवचन’ र ‘स्पार्टाकस लिग के चाहन्छ’ भन्ने पुस्तिकाको सहलेखन रोजा र लेभिले लेख्नुभएको थियो ।
बर्लिनको प्रहरी प्रमुख वा सभापति स्वतन्त्र समाजवादी थिए, सरकारबाट स्वतन्त्र समाजवादीहरू हटेपछि उनले परिवर्तनवादी मजदुरहरूको पक्ष लिए र गतिविधि गर्न दिए । ४ जनवरी सन् १९१९ को दिन गृहमन्त्रालयले उनको पदमा नयाँ व्यक्ति नियुक्ति गर्यो । उनले त्यो पद छोड्न मानेनन् ।
आइतबार ५ जनवरीको दिन हजारौँ मजदुरहरू सडकमा उत्रे, सामाजिक–जनवादी पार्टीको मुखपत्र ‘अग्रदूत’ को भवन कब्जा गरे ।
५ र ६ जनवरीको दिन जर्मनी कम्युनिस्ट पार्टी र स्वतन्त्र सामाजिक जनवादी मिलेर एक क्रान्तिकारी समिति बनाए ।
६ जनवरीको दिन तिनीहरूले अस्थायी सरकारको घोषणा गरे । त्यस समितिले ११ बजे देशव्यापी हडतालको आह्वान गर्यो । कार्ल लिब्ख्नेतले त्यो निर्णयबारे जर्मन कम्युनिस्ट पार्टीको नेतृत्वसँग स्वीकृति नलिई अनुमोदन गरे तथा रोजा त्यसबारे बेखबर हुनुहुन्थ्यो ।
६ जनवरीको राती जर्मन कम्युनिस्ट पार्टी र स्वतन्त्र सामाजिक जनवादीसँग सरकारको वार्ता भयो । तर, टुङ्गो लागेन, विपक्षले लडाइँको तयारी गर्ने समय पायो र ८ जनवरीको दिन विद्रोहको विरोधमा पूर्णरूपले आक्रमण सुरु गर्यो ।
७ जनवरी सन् १९१९ को दिन स्पार्टाकसहरू र सरकारी सेनाबिच गोली हानाहान सुरु भयो । ११ जनवरीको दिन गोली हानाहान, बमको पड्काइ र तोपको गोलाबारीसँगै रोजा र लिब्छनेत क्रान्तिको बारे गम्भीर हुनुहुन्थ्यो ।
रोजाको स्वयम्स्फूर्त आन्दोलन सिद्धान्त र व्यवहारबिच मेल खाएन । स्पार्टाकसहरूको विद्रोह स्वस्फूर्त थियो, त्यससँग नेता र सङ्गठन थिएन । क्रान्तिकारी समितिले शक्ति हत्याउने पक्षमा मतदान गर्यो, केही आयोगहरू बनायो, समय खाली छलफलमा बितायो ।
रोजाले ‘कर्तव्यको बेवास्ता’ शीर्षकमा लेख्नुभयो “कुरा नगर ! सल्लाह नगर ! सम्झौता नगर !”
१२ जनवरी सन् १९१९ को दिन स्पार्टाकसहरूले छानाछानामा गएर शत्रुहरूको तोप र मेशिनगनको विरोधमा लड्दै गए । अन्तमा विद्रोहीहरूको किल्लाका बाँकी सबै मजदुरहरूलाई प्रहरी केन्द्रमा ल्याइयो र बर्लिन पूरै कब्जा गरियो । हरेक गल्ली, चोक र घुम्ती राइफल, सङ्गीन र बम गोलाले घेरिएको थियो ।
१४ जनवरी सन्१९१९ को राती ९ बजे रोजा लक्जेम्वर्गको डेराको ढोकामा घन्टी बज्यो । रोजाले जुत्तामा किला ठोकेको सिपाहीहरूका बुटको ग्रमग्रम आवाज सुन्नुभयो । उहाँले तुरुन्तै लुगा लगाउनुभयो र आफ्नो झोला बोक्नुभयो । एकछिन घरपतिसँगको अवरोधको कुराकानी सुन्नुभयो, ढोका खुल्यो, बन्दुक काँधमा बोकेको व्यक्तिले रोजालाई कोट फुकाल्न र खुट्टा देखाउन भन्यो । उहाँ रोजा नै हुनुहुन्थ्यो भनी निश्चित गर्न चाहन्थ्यो ।
तल मोटर थियो । रोजालाई पछाडि बसाल्यो र इडन होटलमा गएर मोटर रोकियो । त्यहाँ चारैतिर सिपाहीहरू र प्रहरीहरू थिए । उहाँ घेरिएर होटलभित्र पस्नुभयो । त्यहाँ सबै सतर्क र उत्तेजित थिए । माथिल्लो तल्लामा उहाँलाई लगियो । तल केही जवानहरूले उहाँलाई कुटीनी बूढीजस्ता अभद्र शब्दहरूले गाली गर्दै थिए ।
कोठामा बसेको एक अफिसरले सोध्यो, “के तिमी नै फ्राउ रोजा लक्जेम्बर्ग हौ ?” “तिमी आफै सोच,” रोजाले उत्तर दिनुभयो । उसले भन्यो, “तस्बिर हेर्दा तिमी नै हौ ।” उहाँले भन्नुभयो, “तिमी त्यसो भन्छौ भने ।”
अफिसरले एक लेफ्टिनेन्टलाई सँगै लैजान आदेश दियो । उसले रोजालाई सिधै कारबाट जेल लैजान आदेश दियो । उहाँ केही नबोली त्यस कोठाबाट बाहिरिनुभयो । तल्लो तलाको ठुलो कोठामा पुग्दा धेरै किसिमका सिपाहीहरू बारैतिर झुम्मिए । बैठक कोठाको बिचमा उहाँ पुग्दा नपुग्दै एक सिपाहीले आफ्नो बन्दुकको कुन्दाले रोजाको टाउकोमा जोडले हिर्कायो । उहाँ कार्पेटमा लड्नुभयो फेरि उहाँको कञ्चटमा अर्को सिपाहीले राइफलले बायाँ कञ्चटमा हान्यो । उहाँको मुख, नाक र कानबाट रगत बग्दै थियो । थप हान्न खोज्दा ‘यतिले नै काम पुग्छ’ भनी अर्कोले रोक्यो ।
रोजालाई उठाएर मोटरको पछाडि दुई जना सिपाहीको बिचमा राखियो, मानिसहरूलाई पन्छाएर मोटर अगाडि बढ्यो । त्यस होटलको सय मिटर टाढा लगेर लेफ्टिनेन्ट भोगेलले उहाँको बायाँ कञ्चटमा गोली हानेको आवाज सुनियो । उहाँको जिउमा एउटा ओढ्ने ओढाइयो । स्त्री नदीको किनाराको नजिकै कार पुग्यो र लेफ्टिनेन्ट भोगेलले ‘तिनलाई निकाल’ भन्ने आदेश दियो । एकजना सिपाहीले उहाँको शरीरलाई तानेर बाहिर ल्यायो र नदीतिर गयो । बाटोमा भोगेललाई घुम्ती रमनले रोक्यो, उसले आफ्नो परिचयपत्र देखायो र छोड्यो । उहाँको शरीरलाई एक नहरको नजिकै फाल्न भोगेलले आदेश दियो । सिपाहीले आदेशको पालना गर्यो ।
१६ जनवरीको टेलीग्राफ एजेन्सीका दिवा र साँझको अङ्कमा छापेअनुसार कार्ल लिब्ख्नेतलाई इडन होटलबाट एक सैनिक गाडीमा लगी बाटोमा पुग्दा मोटरबाट निकाली भाग्न खोजेको भनी टाउकोमा गोली हानेर मारियो ।
३१ मई सन् १९१९ को दिन एक नहरको नजिक रोजाको लास भेटिएको हल्ला भयो । गृहमन्त्रालयले हत्या स्वीकार्यो । त्यहाँबाट लासलाई नगरको मूर्दाघरमा लगियो । १३ जून सन् १९१९ को दिन रोजा लक्जेम्वर्गको अन्तिम संस्कारमा उहाँको तस्वीरसँगै उहाँको अन्तिम लेखका शब्दहरू लेखिएको प्लेकार्ड बोकिएका थिए, “म थिएँ, म छु र म हुनेछु ।”
१३ जुन सन् १९१९ कै दिन फेडयरख फेल्डको चिहानमा रोजालाई समाधिस्थ गरियो ।
समाप्त
साभार : विश्वका क्रान्तिकारी महिलाहरू