चुनावमा भाग लिनेबारे
संशोधनवादीहरू चुनावलाई समाजवादको माध्यम सम्झन्थे । रोजाले त्यस विचारलाई अस्वीकार गर्नुभयो । रोजाले भन्नुभयो, “वैधानिक उपायबाट हामी न त प्रजातन्त्रलाई विकास गर्न सक्नेछौँ न त मानव उन्नतिलाई नै अगाडि बढाउन सक्नेछौँ । वैधानिक बाटोले कुनै पनि ठुलो कामको कोसिसलाई बेकार साबित गरिदिनेछ । विधानसभाद्वारा शासन गर्ने व्यवस्था पुँजीवादीहरूलाई आफ्नो हित र सामन्ती हुकुमी राजासँग पुँजीवादको सङ्घर्ष भएसम्म मात्रै त्यसको उपयोगिता रहन्छ । सामन्ती राजतन्त्रमाथि पुँजीवादको विजयपछि पुँजीपतिवर्गको निम्ति वैधानिक बाटोको महत्व घट्न थाल्छ । अब पुँजीवादी देशहरूमा सामन्ती शासनसँग सम्झौता गर्ने प्रवृत्ति बढिरहेको छ । बेलायत, फ्रान्स र जर्मनीमा त्यसको लक्षण प्रस्ट देखिन्छन् ।”
सामन्तवादविरोधी क्रान्तिको बेलामा विजयी पुँजीपतिवर्ग फेरि तल्लो वर्गसँग सङ्घर्षमा उल्झिहाल्थ्यो । सामन्तवर्ग र पुँजीपतिवर्गको सङ्घर्षको बेला तल्लो वर्ग उठ्ने मौका पाउँथ्यो । बेलायत, फ्रान्स र जर्मनीको क्रान्तिमा पुँजीपतिवर्ग सत्तामा आउनासाथै तल्लो वर्ग आफ्नो माग लिएर अगाडि बढ्यो । यसकारण, सामन्तवर्ग एक आपसमा मिल्ने सम्भावना बढ्न थालेको थियो । रोजाले त्यही कुरो भन्नुभयो ।
मजदुर आन्दोलनलाई शिथिल पार्न पुँजीपतिवर्गले शासन सत्तामा मजदुरवर्गका प्रतिनिधि र समाजवादी दलहरूलाई सामेल गराउने नीति लिन थाल्यो । मजदुर आन्दोलन दबाउनका लागि त्यो चास्नी पोतेको गोली थियो । फ्रान्सको पुँजीवादी मन्त्रिमण्डलमा अलेक्जेन्डर मिलेरो भन्ने एक समाजवादी नेतालाई राखियो । फ्रान्सेली समाजवादीहरू त्यसलाई आफ्नो सफलता मान्थे । तर, रोजाले पुँजीवादी मन्त्रिमण्डलमा हिस्सा लिने कुराको विरोध गर्नुभयो र चुनावमा भाग लिने कुरालाई मात्रै स्वीकार गर्नुभयो । चुनावमा भाग लिनुको अर्थ जनतामा समाजवादको प्रचार गर्नु र त्यसको प्रचारको मात्रालाई हेर्नु हो । संसद्मा जानुको अर्थ जनताको मागलाई अगाडि बढाउनु र सकेसम्म जनताको पक्षमा ऐन–कानुन पास गराउन सङ्घर्ष गर्नु हो । यसप्रकार रोजा चुनावलाई प्रचार कार्यको महत्वमाथि मात्रै सीमित राख्नुहुन्नथ्यो ।
संसद्मा मजदुरवर्गको प्रतिनिधि बढ्दै गएपछि पुँजीपतिवर्गको विरोध पनि बढ्दै जानेछ र संसद्बाट मजदुरवर्गको भलाइ गा¥हो हुँदै जानेछ भन्ने कुरा रोजा भन्नुहुन्थ्यो । यसकारण, संसद्बाट मजदुरवर्गको भलो हुन्न भन्ने कुरा बुझेर मजदुरवर्गले संसद्बाहिर क्रान्तिको निम्ति सङ्गठन गर्नुपर्छ भन्ने पक्षमा रोजा हुनुहुन्थ्यो ।
पुँजीवादी मन्त्रिमण्डलमा मजदुर प्रतिनिधि घुस्नेबारे रोजाले गम्भीरतापूर्वक भन्नुभयो, “मजदुरवर्गको प्रतिनिधि पुँजीवादी सरकारमा आफ्नो वर्गको काम नछोडीकन पनि एउटै सर्तमा मात्रै सामेल हुनुपर्छ, त्यो हो उसले शासनयन्त्रमा कब्जा गरोस् र त्यसको प्रयोग विजयी मजदुरवर्गको हतियारको रूपमा गरोस् । …पुँजीवादी समाजमा समाजवादले विरोधी शक्तिको भूमिकामात्रै लिन सक्छ । पुँजीवादी सरकारको मसानको खरानीमा मात्रै मजदुरवर्ग एक सरकारको रूपमा उभिन सक्छ या समाजवादको निर्माण हुनसक्छ ।”
अन्तमा रोजाको कुरा सत्य साबित भयो । फ्रान्सको पुँजीवादी मन्त्रिमण्डलमा सामेल भएको मजदुर प्रतिनिधि मिलेरोको पतन भयो । उसले पुँजीवादीहरूको धम्की सहनुप¥यो, देश र विदेशमा फ्रान्सेली सरकारले जनताको विरोधमा गरेको दमनको समर्थन गर्नुप¥यो । रुसको राजा जार फ्रान्स आउँदा झुकेर सलाम गर्नुप¥यो । चुनावमा भाग लिने र संसदीय बाटोबाटै समाजवाद आउँछ भन्ने जर्मनीको सामाजिक–जनवादी पार्टी पनि त्यसैबाटै खत्तम भयो । बेलायतको मजदुर पार्टी र उसको नेता सामजे चैकडोनाल त्यही विचारले खत्तम भयो । फ्रान्सको पपुलर फ्रन्ट (जनताको मोर्चा) को सरकार पनि त्यस्तै भयो । सन् १८९८ अक्टोबरमा समाजवादी नेता बाबेललाई पत्र देखेर रोजाले वर्नस्टिनलाई पार्टीबाट निकाल्न जोड दिनुभयो । तर, त्यसबेला पार्टी र सङ्गठनका मुख्य–मुख्य पदहरू संशोधनवादीहरूले हत्याईराखेका थिए ।
माक्र्सवादको पक्षमा
रोजा ३० वर्षकी हुनुहुन्थ्यो । उहाँले आफ्नो उमेरको बढी समय लेखपढमा लगाउनुभयो । संशोधनवादीहरूसँगको सङ्घर्ष चर्किँदै गइरहेको थियो । अनिवार्य आर्थिक सङ्कटबाट पुँजीवादी देशले आफ्नो चिहान आफै खन्छ भनेर माक्र्सले भन्नुभएको थियो । तर, सन् १८७३ देखि १९११ सम्म आर्थिक सङ्कटको बज्रपात भएन । स–साना कम्पनीहरू एक भए अथवा तिनीहरू एक सङ्गठनमा गाँसिए र हानथाप कम भयो । यसैबेला वर्नस्टिनले माक्र्सवाद खोटो साबित भयो भनेर माक्र्सवादमाथि हिलोछ्याप्ने काम गरे ।
रोजाले वर्नस्टिनको ठम्याइलाई छ्यास्दै भन्नुभयो, “उत्पादन बढ्दै जाने पँुजीवादी व्यवस्था र बजारको सीमितताले आर्थिक सङ्कट अनिवार्य छ, आर्थिक सङ्कटलाई केही समयको निम्ति पर सार्न सके पनि त्यसको अनिवार्यतालाई छेक्न सकिन्न बरु त्यो झन् चर्को र व्यापक हुनेछ । पुँजीवादी व्यवस्थाको भित्री बेमेल झन्झन् चकिँदै जाने भएकोले त्यसको नास छिट्टै हुनेछ । साधारण आर्थिक सुधारले आर्थिक सङ्कटलाई रोक्न चाहे पनि त्यो अस्थायी हुन्छ ।” नभन्दै सन् १९११ को वर्षमा एक ठुलो आर्थिक सङ्कटले युरोपको पुँजीवादी जगलाई हल्लाइदियो । रोजाको भविष्यवाणी सही साबित भयो र वर्नस्टिनको सिद्धान्त गलत प्रमाणित भयो ।
वर्नस्टिनका एक चेला कोनार्ड स्मीडरले त आर्थिक सुधारलाई सा¥है माथिसम्म राखेर अब पुँजीपतिहरू एक प्रबन्धकमात्रै रहन जानेछन् भन्ने कुतर्क पेस गरे । उनको भनाइमा पुँजीवाद स्वतः समाजवादमा फेरिनेछ र क्रान्तिको आवश्यकता छैन । माक्र्सवादलाई अवैज्ञानिक सिद्धान्त साबित गर्ने त्यस खोटो विचारलाई खण्डन गर्दै रोजाले भन्नुभयो, “मजदुर सङ्घहरू पुँजीवादी शोषणको मनपरीतन्त्रलाई रोक्न लड्नेछन्, तिनीहरूले पुँजीवादी नियमलाई र आफ्नो शक्तिलाई बुझ्नेछन्, बिस्तारै युद्धको अनिवार्यतालाई थाहा पाउनेछन् र अन्तमा पुँजीवादसँग आफ्नो अन्तिम लडाइँको तयारी गर्नेछन् ।
यसैबेला रुसमा लेनिन र अरु समाजवादी–प्रजातन्त्रवादीहरू माक्र्सवादी सिद्धान्तमा आधारित एक राजनैतिक पार्टी बनाउन लाग्दै हुनुहुन्थ्यो । रुसी माक्र्सवादीहरू आर्थिक सङ्घर्ष मात्रै गर्न चाहने, राजनैतिक सङ्घर्ष गर्न नचाहने अर्थवादीहरूसँग सैद्धान्तिक सङ्घर्ष गर्दै थिए र लेनिन भने ‘फिलिङ्गो’ (इस्क्रा) भन्ने एक अखबार निकाल्न चाँजोपाँजो मिलाउँदै हुनुहुन्थ्यो ।
जेलबाट बाहिर आउन अस्वीकार
सन् १९१२ मा रोजा जिपाजिगको एक पत्रिकाको सम्पादक बन्नुभयो । त्यस अखबारको लेखाइले त्यहाँ पुुँजीवादीहरू थरथर काँप्न थाले र रोजामाथि विभिन्न किसिमको गालीगलौज सुरु गर्न थाले ।
पत्रिकाका सञ्चालकहरूले रोजाको कलममाथि रोक लगाउन खोजे । रोजाले आफ्नो कलममाथि पर्ने बाधालाई देख्नुभयो, आफ्नो आत्मसम्मान र विचारमा कलङ्क लाग्ने भएको हुनाले उहाँले सम्पादक पदबाटै राजीनामा दिनुभयो ।
सन् १९१४ तिर जर्मनीमा गाभिएको पोल्यान्डको केही भागमा पोलियाली सभ्यता र कला–संस्कृतिलाई नै समाप्त पार्न जर्मन सरकारले त्यहाँ बलपूर्वक जर्मनियाली भाषा र रीतिरिवाजलाई थोपर्न खोजिरहेको थियो । त्यसको विरोधमा एक पुस्तिका लेखेर जर्मनका एक मन्त्रीलाई घोच्दै रोजाले भन्नुभयो, “जर्मनमा मजदुरहरू सुखी छन् भनेर जसले भन्छ उसलाई त्यस विषयमा राम्रो जानकारी नै छैन ।” रोजाको त्यस वाक्यले जर्मन मन्त्रीको ‘बेइज्जत’ ग¥यो भन्ने मुद्दा चल्यो । मुद्दामा रोजालाई तीन महिनाको जेल सजाय भयो । मानहानिको त्यस ३ महिने सजायपछि पनि रोजा जेलबाट छुट्नुभएन । त्यसबेला सेकसनी इलाकाको राजा मरे । राजाको मुत्यु संस्कार र नयाँ राजाको शुभ उत्सवको सिलसिलामा रोजालाई पनि ‘क्षमादान’ को रूपमा माफी दिइयो तर, रोजा राजाको ‘क्षमादान’ वा ‘माफी’ मा जेलबाट छुट्न मान्नुभएन किनभने ३ महिनाको सजाय भोगिसकेपछि माफी र क्षमादानको त कुरै आउँदैनथ्यो । यसकारण, रोजा जेलमै बसिरहनुभयो । तर, जेल अधिकारीहरूले उहाँलाई बलजफ्ती कारागारबाट बाहिर निकाल्ने काम गरे ।
आफ्नो सैद्धान्तिक परिपक्वता, सुझबुझ र राजनैतिक अडानले गर्दा जर्मनको राजनैतिक दबुलीमा रोजा एक चर्चाको विषय बन्नुभयो । त्यसबेला रुसमा मजदुर हडताल चल्दै थियो । जारतन्त्रको विरोधमा भएको मजदुर आन्दोलनलाई सेनाबाट दबाइयो । तर, मजदुर आन्दोलनको असर किसानहरूमा प¥यो । किसानहरूले जमिनदारहरूको जग्गा कब्जा गर्थे, तिनीहरूको घरघरमा आगो लगाइदिन्थे र गाउँका अत्याचारी पुलिस अधिकारी र जमिनदारलाई ज्यानको बदला लिन थाले । मजदुर आन्दोलन र किसान आन्दोलनको प्रभाव विद्यार्थीहरूमा प¥यो । विद्यार्थीहरूले प्रदर्शन र हडतालहरू गर्न थाले । सरकारले विश्वविद्यालय बन्द ग¥यो, विद्यार्थीहरूलाई जेल सजाय दियो र साधारण सिपाहीहरूलाई जस्तै सेनामा पठाउने योजना बनायो । त्यसले सङ्घर्ष झन् चक्र्यो र विश्वविद्यालयका ३० विद्यार्थीहरूले हडतालमा भाग लिए । उदार पुँजीपति र जमिनदारवर्ग आफ्ना छोराछोरीहरूमाथि भएको दमनको ‘ज्यादती’ को ‘विरोध’ मा उत्रे ।
दोस्रो जेल यात्रा
९ जनवरी सन् १९१५ को दिन रुसको पिटसवर्गका १ लाख ४१ हजार मजदुरहरू आफ्नो गए गुज्रेको स्थिति सुधारको निम्ति राजा जारलाई बिन्तीपत्र दिन राजदरबारतिर गएका थिए । जार निकोलस दोस्रोले बिन्तीपत्र दिन आएको धार्मिक भावना भएका निःशस्त्र मजदुरहरूमाथि गोली चलाएर एक हजारभन्दा बढी मजदुरको हत्या ग¥यो र दुई हजारभन्दा बढीलाई घाइते बनायो । त्यस हत्या काण्डको विरोधमा सारा मजदुरवर्ग र प्रजातन्त्रवादीहरू उठे, सशस्त्र भिडन्त र विद्रोहहरू सुरु भयो ।
सन् १९१५ को त्यस रुसी क्रान्तिको सन्देश लिएर रोजा मजदुरहरूको सङ्गठनहरूमा जानुभयो । जर्मनीका मजदुरवर्गको समर्थन रुसी क्रान्तितिर बढ्दै गएको देखेर जर्मनीको सरकारले मजदुरहरूको स्थितिमा केही सुधार गर्न खोज्यो । पछि पूर्वी जर्मनीमा पर्ने लिप्जिगको दक्षिण पश्चिममा रहेको जेना भन्ने सहरमा कार्तिक महिनामा जर्मनी समाजवादी प्रजातान्त्रिक पार्टीको एक बैठक बस्यो । त्यस बैठकमा रोजाले रुसको बाटो लिने प्रस्ताव राख्नुभयो । बैठकले उहाँको प्रस्तावलाई काँटछाँट ग¥यो ।
प्रस्तावको काँटछाँटमाथि रोजालाई चित्त बुझेको थिएन । यसकारण, सुधारवादी नेताहरूलाई घोच्दै उहाँले भाषणमा भन्नुभयो, “राजनैतिक ठुल्ठुला हडतालहरूबारे दिइएका भाषणहरू सुनेर के हामी साँच्चै रुसी क्रान्तिको बेलामा छौँ कि भनेर बारम्बार सोचेँ । बितेका क्रान्तिहरूमध्ये खास गरेर सन् १८४८ को क्रान्तिले के प्रस्ट गरिदिएको छ भने क्रान्तिकारी परिस्थतिमा जनतामाथि होइन बरु जनता र क्रान्तिलाई जुनसुकै बेलामा पनि धोका दिनसक्ने सुधारवादी र वकिलहरूमाथि रोक लगाउनुपर्ने हुन्छ । यस हुतिहारा वातावरणमा हामीले ‘मजदुरहरू’ ले सिक्रीबाहेक अरु केही गुमाउनुपर्दैन र जित्नको निम्ति सारा संसार छ’ भन्ने माक्र्सको भनाइ बैठकहरूमा दोहो¥याउने वस्तुमात्र होइन, बरु त्यसलाई काममा लगाउन इच्छुक र दृढ छौँ भनेर ठुलो स्वरमा भन्नुपर्छ ।”
रोजाको त्यस भाषणले पुराना नेताहरू र सरकारी वकिल पनि डराए । सरकारी वकिललाई त्यसमा क्रान्तिको गन्ध आयो । मुद्दा लाग्यो, एक वर्षपछि रोजालाई दुई महिनाको जेल सजाय भयो । यो उहाँको दोस्रो जेल यात्रा थियो । तर, रोजाको अडानले जर्मनीका मजदुरहरूमा राम्रो प्रभाव प¥यो । पार्टीको मुखपत्र ‘अग्रदूत’ (वोखार्ट) बाट ६ जना सुधारवादी सम्पादकहरू हटाइए । त्यसको ठाउँमा रोजा र अरु क्रान्तिकारीहरू राखिए । रोजाले एकपछि अर्को सैद्धान्तिक र व्यावहारिक सफलताहरू हासिल गर्दै जानुभयो ।
क्रान्ति आइपुग्यो हामी के गरौँ
सन् १९१५ को रूसी क्रान्तिको लहर पोल्यान्डमा पुग्यो । पिल सयुस्की र डासिंस्की जस्ता नेताहरू पोल्यान्डमा स्वतन्त्रता मात्रै चाहन्थे र रूसी मजदुर आन्दोलनलाई समर्थन गर्न चाहँदैनथे । अन्धराष्ट्रवादको भासमा फसेका ती नेताहरू पोल्यान्डलाई पुँजीपतिवर्गको हातमा सुम्पन चाहन्थे । तर, पोल्यान्डको लोड्ज, राडोम र सील्क सहरमा हडताल भइसकेको थियो । लोड्ज, बिल्ना, कौवनो र बैलीस्टोक आदि ठाउँहरूमा मजदुरहरू र सरकारको बीचमा सशस्त्र भिडन्त सुरू हुन थाल्यो । तर, पोलियाली समाजवादी नेताहरू रूसको शत्रु जापानको राजासँग हात हतियार माग्दै थिए, मजदुर आन्दोलनको ठाउँमा राष्ट्रिय आन्दोलन चलाउन चाहन्थे ।
क्रान्ति सुरू भइसकेको हुनाले तिनीहरूले आफ्नो स्वर फेर्न थाले । विदेशबाट हतियार किन्ने, बम बनाउनुपर्छ र बन्दुक हातमा आउनासाथ क्रान्ति सफल हुन्छ भन्ने टुङ्गोमा पुगे । तर, रोजाले “क्रान्ति आइपुग्यो हामी के गरौँ” भन्ने तीन वटा पुस्तिकाहरू लेखेर ती विचारहरूको खण्डन गर्नुभयो । रोजाले भन्नुभयो, “जनतासँग सम्बन्ध नभएको र मुखले मात्र जनताको कुरा गर्नेले मात्रै हतियार किन्ने कुरा गर्छ । राज्यसत्ताको अन्त सशस्त्र विद्रोहले हुन्छ भन्ने कुरामा शङ्का छैन तर त्यसको निम्ति हतियार किन्ने होइन बरु जति सक्छ उति सेना र पुलिससँग जुझेर हतियार खोस्नुपर्छ र हातहतियारको ढुकटीमाथि धावा बोलेर लिनुपर्छ । यस्ता काम जनता आफैँ गर्छन् ।”
रोजाको विचारमा पार्टी समिति, प्रभावशाली नेता, षड्यन्त्रकारी दल आदि कुरा क्रान्तिका निर्णायक शक्ति होइनन् बरु व्यापक जनताले कहाँसम्म आफ्नो रगत बगाउन तयार छन् भन्ने कुरा निर्णायक हुन्छ । समाजवादी भनाउँदा यी नेताहरू जनताले तिनीहरूको आदेश लिऊन्, तिनीहरूकै मातहतमा सैनिक तालिम लिऊन् भन्ने चाहन्छन् तर क्रान्तिको बेलामा जनताले आफ्नो बाटो आफैले बनाउनेछन् र आफूलाई चाहिने वस्तु आफै बन्दोबस्त गर्नेछन् भन्ने नेताहरूले देख्नेछन् ।
बम बनाउनु, बन्दुक जम्मा गर्नु र सैनिक तालिम दिने कुरालाई नै रोजा क्रान्तिको तयारी सम्झनुहुन्नथ्यो । त्यही आधारमा मजदुरहरूलाई सङ्घर्षमा हामफाल्न दिन चाहनुहुन्नथ्यो । क्रान्तिको तयारीबारे उहाँको विचार थियो, “हामी गाउँ–गाउँमा घुस्नुपर्छ र त्यहाँ किसानहरूलाई आकर्षक देशभक्तिको कुरो मात्रै सिकाउने होइन, तिनीहरूको अगाडि आफ्नो राजनैतिक र आर्थिक कार्यक्रम पनि छर्लङ्गसित राख्नुपर्छ । समाजवादीहरूको प्रारम्भिक काम सैनिक जमात कायम राख्नु होइन, सेनामा घुसेर आन्दोलन गर्नु हो । पोल्यान्डमा राखिएको रुसी फौजमा वर्ग स्वार्थलाई लिएर आह्वान गरेमात्र विद्रोहको भावना उठ्छ ।”
रोजाले खबरदारी गर्नुभयो “होस् गर मजदुरहरूसँग भएको ठुलो हतियार हो आर्थिक र राजनैतिक ज्ञान ।” जापानले जार शासनमाथि प्रहार गर्न आजको चीनको उत्तर पूर्वी प्रदेश मञ्चुरियातिर धावा बोल्यो । अब रुसी जार क्रान्ति र विदेशी आक्रमणको चपेटामा पर्यो । रोजाले आफ्नो बाटोलाई प्रस्ट्याउनुभयो, “मजदुरवर्गको बाटो अर्कै छ त्यो हो सामूहिक विद्रोह ।” मजदुरहरूले ठुल–ठुला हडतालहरू गरेर कलकारखाना बन्द गरून्, रेल र मोटरहरू ठप्प पारून् । व्यापार बन्द होस्, सेनाले विद्रोह गरून् । यी कामहरूको अगाडि बम फ्याँक्नु त लामखुट्टेको टोकाइजस्तो तल्लो र सानो कुरा हुन्छ । राजनैतिक ज्ञान नभएकाहरूमात्रै आतङ्कवादको क्षणिक प्रभावलाई महत्व दिन्छन् । जारशाही सामूहिक विद्रोहदेखि डराउँछ । सामूहिक विद्रोहले ठुलो हेरफेर ल्याउनेछ, पुरानो शक्तिलाई ध्वस्त पार्नेछ र नयाँ शक्तिहरू सङ्गठित हुनेछन् । किसानहरू आन्दोलनको पक्षमा आउनेछन् । फौजमा अनुशासन हुनेछ, जनतालाई मैदानमा जान प्रेरणा प्राप्त हुनेछ । सडकहरूमा लडाइँका किल्ला (छेकबार) कायम गरिनेछन्, पुलिस र सेनाबाट हतियार लुटिनेछ, पहिले स–साना विजय, त्यसपछि सारा जनता सङ्घर्षमा हामफाल्नेछन् र जारशाहीको गद्दी पल्टाइदिनेछन् ।”
क्रान्तिकारी र समाजवादी सम्झिएका कति नेताहरू जनतालाई मूर्ख सम्झन्थे र जनतामा विश्वास गर्दैनथे । तर, रोजाको विश्वास पूर्णतया जनतामा थियो । रोजाको त्यस विश्वास र नीतिले गर्दा विरोधीहरू पनि उहाँको पक्षमा गए । सन् १९१५ मा समाजवादी पार्टीको महाधिवेशन भयो । बैठकमा फूट देखियो र त्यसको वामपन्थी तत्व रोजाको समाजवादी प्रजातान्त्रिक पार्टीमा सामेल भयो ।