प्याजी राज्यको मत ट्रम्पलाई
एक हप्ता पहिले संसारभरका मिडियामा अमेरिकी निर्वाचनको विविधपक्ष र डेमोक्र्याटिकका कमला ह्यारिस र रिपब्लिकनका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी दौडका बारेको चर्चा चुलिँदै थियो । नोभेम्बर ५ अथवा कार्तिक २० मा सम्पन्न निर्वाचनको परिणामको बारेमा भएका विभिन्न अनुमान र अड्कलबाजी मतदानको तीस घण्टा नबित्दै बाहिरिन थाल्यो । निर्वाचनको सङ्घारमा गरिएका थुप्रै मत सर्वेक्षणहरूले ट्रम्प र ह्यारिसको बिचमा साँघुरो मतान्तरले निर्वाचन टुङ्गो लाग्ने अनुमान गरिएको थियो । यसपालिको ७ अनिश्चित स्वीङ राज्यहरूमा रिपब्लिकनका ट्रम्पले आशा गरिएको भन्दा धेरै मत पाएको सुरुवाती सङ्केतपछि निर्वाचन परिणामको अन्तिम टुङ्गो नलाग्दै आफ्नो जीत सुनिश्चित भएको ट्रम्पले घोषणा गरे । नभन्दै १० नोभेम्बरमा सबै अस्थिर राज्यहरूमा (स्वीङ स्टेट्स) ट्रम्पले जितेको नतिजाले देखायो । जम्माजम्मी ५३८ इलेक्टोरल सीटमध्ये २७० ल्याउने उम्मेदवारले जित्नेमा ट्रम्पले ३१२ र ह्यारिसको पोल्टामा २२६ मात्र परे । यसरी ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपति घोषणा गरिए ।
अमेरिकी राष्ट्रपतिको चुनावमा सामान्यतया त्यहाँका ५० राज्यहरूमध्ये अमेरिकाको मध्तगमा रहेका अधिकांश राज्यहरूलाई रेड वा रातो राज्य भनिन्छ जहाँबाट रिपब्लिकन पार्टीलाई मत जान्छ । पूर्वी र पश्चिम किनारका राज्यहरू जसलाई ब्लु वा निलो राज्य भनिन्छ र त्यहाँबाट डेमोक्र्याटिक उम्मेदवारलाई मत जाने गर्छ । अन्य केही राज्यहरू जहाँको मतलाई स्वतन्त्र मानिन्छ र त्यो कुनै पनि पार्टीमा जान सक्ने भएकोले यिनीहरूलाई पर्पल वा प्याजी राज्य अथवा स्वीङ (अस्थिर) राज्य भनिन्छ । प्याजी राज्यको मतले नै जीत र हारको निर्णय हुने भएकोले दुई पार्टी डेमोक्र्याटिक र रिपब्लिकनले आफ्नो चुनावी दौडाह पनि यी स्वीङ राज्यमै केन्द्रित गर्ने गर्छन् । यी स्वीङ राज्यहरू सबै चुनावमा एउटै नहुन सक्छ । यसपालि २०२४ को निर्वाचनमा पूर्वपट्टिका पाँच राज्यहरू जर्जिया, नर्थ क्यारोलिना, पेन्सलभानिया, विसकन्सिन र मिचिगन तथा पश्चिमपट्टिका नेभाडा र एरिजोनालाई प्याजी राज्यहरू मानिएका थिए ।
ट्रम्पका आरोह अवरोहहरू
‘अमेरिका पहिलो’, ‘अमेरिकालाई फेरि महान् बनाउने’, ‘आप्रवासीलाई निरुत्साही गर्ने’ जस्ता घरेलु मुद्दाहरूबाहेक अमेरिका भित्रिने विदेशी सामानमा चर्को कर लगाउनेदेखि नाटोको खर्चको हिस्सा युरोपेली देशहरूले पनि बोक्नुपर्नेजस्ता विदेश नीतिसमेतलाई चुनावी नाराहरू बनाएर पहिलोपल्ट सन् २०१६ मा ट्रम्पले निर्वाचन जितेका थिए । तर, कोभिडको अप्रत्यासित विपद्लाई व्यवस्थापन गर्न चुकेको, चीनसँग व्यापार युद्ध सुरु गरेको, साथै युरोपेली देशहरूसँग पनि व्यापारको मुद्दालाई लिएर सम्बन्ध बिगारेको, एसिया प्रशान्तमा चीनलाई घेर्ने नीतिअन्तर्गत क्वाड, पाँचआँखा, हिन्द प्रशान्त रणनीतिजस्ता सम्झौताहरू स्थापना गरी क्षेत्रीयरूपमा अशान्ति मच्चाउनेजस्ता नीतिबाट ट्रम्पले आफ्नो प्रभाव गुमाउँदै गयो । पत्रकारहरूलाई अभद्र व्यवहार गर्ने, जोसुकै माथि जाइलाग्ने, सामाजिक सञ्जालमा आफ्नो मर्यादाको ख्याल नगरी टिप्पणी गर्दै हिँड्ने बानीले मतदाताहरू वाक्कदिक्क हँुदै गएका थिए ।
आफ्ना धेरै अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू जस्तै जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता र विश्व शक्तिहरूसहित समावेश भएको इरानको आणविक सम्झौताबाट हात झिक्ने, विश्व स्वास्थ्य सङ्गठनबाट पछि हट्ने, मध्यपूर्वको संवेदनशीलताको पर्वाह नगरी इजरायलले तेलअभिवबाट आफ्नो राजधानी जेरुसेलममा सार्ने कार्यलाई समर्थन गर्ने, इरानका उच्च सैनिक नेता कासिम सुलेमानी तथा आणविक ऊर्जा वैज्ञानिक मोहसेन फखारजादेहको कायरतापूर्वक गरेको गैरन्यायिक हत्याका श्रृङ्खलाहरूले विश्व र अमेरिकाकै अरेबेली र मुसलमानी समुदायलाई ट्रम्पले बिच्काउने कार्य गरे । परिणामस्वरूप ट्रम्पले दोस्रोपटकको सन् २०२० को निर्वाचनमा बाइडेनसँग हार बेहोर्नुप¥यो । दोस्रो पटकको निर्वाचनमा हार्ने धेरै थोरै राष्ट्रपतिका उम्मेदवारहरूमध्ये ट्रम्प एक बन्न पुगेको थियो । चुनावी नतिजालाई पनि सहजरूपमा स्वीकार्न नसकेका ट्रम्पले क्यापिटल हिलमा आफ्ना समर्थकहरूबाट तोडफोड, गुण्डागर्दी र अशान्ति मच्चाउने कार्यहरूसमेत गर्न हिच्किचाएनन् । यी र यस्ता उटपट्याङ कार्यहरूबाट महाअभियोगसमेत खेप्नुपरेका ट्रम्पले २०२४ को चुनावमा फेरि बाजी मार्न सफल भए । कसरी ?
सन् २०२४ को निर्वाचनमा अमेरिकी रातो, निलो र प्याजी राज्यहरूको अवस्थिति
बाइडेनको अस्वस्थता र दुई ठुला युद्ध
हो, चुनाव नजिकिँदै गर्दा बाइडेनका मानसिक र शारीरिक स्वास्थ्यलाई लिएर नयाँ आशङ्काहरू उब्जिए । विभिन्न स्थान र समारोहहरूमा पटकपटक लोट्ने र बोली लर्बरिने र कहिले उल्टोसुल्टोसमेत बोल्ने भएपछि बाइडेन शारीरिक र मानसिक दुवै पक्षबाट २०२४ को लागि डेमोक्र्याटबाट राष्ट्रपतिको उम्मेदवारको लागि उपयुक्त नभएको कुरा बाहिरियो । गत जूनको २८ मा ट्रम्प र बाइडेनबिच टीभीमा भएको आमनेसामने प्रश्न उत्तर कार्यक्रममा बाइडेनको प्रस्तुति ट्रम्पको अगाडि निकै फितलो भएपछि उनको आलोचना निकै बढी भयो । यसपछि नै बाइडेनले उम्मेवारी त्याग्ने निर्णय गरे तथा पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई नयाँ उम्मेदवारको रूपमा अगाडि सारेको थियो ।
हुन त अमेरिकाका यी दुई मुख्य पार्टी डेमोक्र्याटिक र रिपब्लिकनका नीति, सिद्धान्त र राजनैतिक दर्शनमा तात्विक भिन्नता नरहेको स्पष्ट छ । विदेश नीतिमा त झनै केही फरक नहुने देखिँदै आएको सर्वविदित्तै छ । युद्ध भड्काउने र थोपर्ने, हतियार व्यापार गर्ने, संसारका सबै देशलाई मानव अधिकार र प्रजातन्त्रको नाममा आफ्नो हैकम लाद्ने, आफूसँग असहमत नेता र सरकारहरूलाई अनेक निहुँमा सत्ताच्युत गरी आफ्नो कठपुतली सरकार बनाउनेजस्ता निन्दनीय, गैरकानुनी, अमानवीय र अरुको आन्तरिक मामलामा हस्तक्षेप गर्ने कार्यहरू नै संयुक्त राज्य अमेरिकाको दुवै पार्टीको नीति रहिआएको छ । अझ समाजवादी देशहरूविरुद्ध गैरसरकारी संस्थाहरूमार्फत छद्मयुद्ध गर्ने र हरहमेसा तिनीहरूको विरुद्ध षडयन्त्रहरू गर्ने गर्दै आएको छ । यस्ता कार्यकै परिणाम थियो सन् १९९१ मा सोभियत सङ्घको विघटन, सन् १९९० मा चीनको तियनमेन चोकको उपद्र, सन् २०१९ हङकङको दङ्गाफसाद र विद्रोह । कर्णेल गद्दाफि र सदाम हुसेनको निर्मम हत्या, इराक, लिबिया र सिरियालाई अस्थिरताको भुङ्ग्रोमा पार्ने कार्यहरू अमेरिकाको यही नीतिअन्तर्गत थियो ।
यही सिलसिलामा जो बाइडेनका पालामा युक्रेनलाई नाटोमा सदस्यता दिन उक्साउने कार्यले गर्दा रुससँगको द्वन्द्व अहिले ३ वर्ष पुग्न लागेको छ । यो लडाइँमात्र रुस र युक्रेनबिचमा सीमित छैन बरु सिङ्गो नाटो र अमेरिकाको रुसविरुद्धको छद्मयुद्ध थियो । यही युद्धको कारण आज युरोपमा इन्धनको भाउ तीन दोब्बरसम्म उक्लियो र अन्य बजार भाउ कहिले नभएको जस्तो आकासियो । आज रुस र युक्रेन द्वन्द्व उनीहरूको लागि निल्नु न ओकल्नु भइरहेको छ । यता मध्यपूर्वमा इजरायलले प्यालेस्टिनी जनताको नरसंहार र जातीय सफायाविरुद्ध विश्वभर निन्दा भयो । तर, बाइडेन सरकारले इजरायललाई हमासको हमलाबाट आत्मरक्षाको अधिकार भएको भन्दै आँखा चिम्लेर अमेरिकी करदाताहरूको रगत पसिनालाई प्यालेस्टिनी जनता मार्न हतियारको आपूर्ति निरन्तर गर्दै रह्यो । विश्वभर यसको निन्दा भयो । संयुक्त राष्ट्र सङ्घको हरेक अनुरोध र आदेशलाई इजरायलले बेवास्ता गर्दै गयो जसलाई बाइडेन सरकारले अन्धो समर्थन गर्दै गयो । अमेरिकाको करिब सयवटा कलेज र विश्वविद्यालयहरूमा प्यालेस्टिनी जनताको समर्थन र इजरायलको विरोधमा नाराबाजी, धर्ना र विरोध प्रदर्शनहरू भए । यी प्रदर्शनीहरूमध्ये धेरैलाई प्रहरीले निर्ममतापूर्वक दबाए ।
आफन्तहरूको लास बोक्नु प्यालेस्टिनीहरुको नियति बनिसक्यो
युद्ध रोक्ने ट्रम्पको चुनावी मुद्दा र मत विश्लेषण
विश्वले निन्दा गरेको इजरायलको प्यालेस्टिनी जनतामाथिको बर्बरता र रुस–युक्रेन द्वन्द्वलाई नै ट्रम्पका चुनावी अभियन्ताहरूले आफ्नो चुनावी मुद्दाहरूको सूचीमा समावेश गर्ने नीति नै आज ट्रम्पको जीतको एउटा कारण बन्न गएको हो भन्दा अतिशयोक्ति नहोला । आफ्नो चार वर्षको पहिलो कार्यकालमा कुनै देशसँग युद्ध नभएको र आफू राष्ट्रपति पदमा निर्वाचित भए २४ घण्टामा युक्रेन युद्ध रोक्ने र मध्यपूर्वमा पनि युद्धविराम गराउने आश्वासनले सम्पूर्ण अरब र मुसलमान समुदायको मन जित्न ट्रम्प सफल भयो । चुनावमा खसेका मतहरूको केही विश्लेषणले यही कुराको पुष्टि गरेको देखिन्छ ।
यसपल्टको अस्थिर (स्वीङ) राज्यमध्ये मिचिगन पनि एक हो । अरेबेली अमेरिकीहरूको उल्लेख्य सङ्ख्या रहेको यस राज्यको डिएरबोर्न सहरका जनताले सन् २०२० को निर्वाचनमा जो बाइडेनलाई मत दिएका थिए । आज ट्रम्पले कमला ह्यारिसभन्दा यहाँबाट ६ प्रतिशत मत बढी पायो । यहाँका जनताको प्यालेस्टिनी वा इजरायली जनतासँग केही पारिवारिक वा अन्य कुनै साइनो थिएन । युद्ध, बर्बरता, अन्याय, अत्याचार जहाँ भएको भए पनि त्यसको विरोध र निन्दा गरिनु स्वाभाविक हो । हिजो दक्षिण अफ्रिकाको रङ्गभेद नीति र भियतनाम युद्धको पनि विरोध गर्ने संसारभरका न्यायप्रेमी जनतामा अमेरिकी जनता पनि थिए । गत जून महिनामा मतदानपूर्व गरेको एउटा सर्वेक्षणले ६५ वर्ष नाघेका गोरा मतदाताहरूले मात्र इजरायललाई अमेरिकाले हतियार पठाएकोमा सहमति जनाए, जबकि ३० वर्षमुनिका गोरा मतदाताहरूमध्ये करिब ३३ प्रतिशतले विरोध जनाए । त्यस्तै, गोरा मतदाताहरूमध्ये करिब ५६ प्रतिशतले इजरायललाई हतियार बेचेकोमा विरोध जनाए भने अश्वेत मतदाताहरूमध्ये ७५ प्रतिशतले विरोध गरे । यसपालिको निर्वाचनमा २९ वर्षमुनिका युवाहरूबाट कमला ह्यारिसले जो बाइडेनले सन् २०२० मा भन्दा कममात्र मत पाए । त्यसरी नै सीएनएन, फक्स न्युज र वासिङटन पोस्टजस्ता सञ्चार संस्थाले गरेको मतदान पूर्वको सर्वेक्षणले पनि कमला ह्यारिसलाई अत्यधिक युवा र अश्वेत मदाताहरूले नरुचाएको देखाएको थियो । (न्युयोर्क टाइम्स, नोभेम्बर ९–१०)
कमला ह्यारिसलाई युवावर्ग र अश्वेतहरूले नरुचाउनुमा उनी र बाइडेनको इजरायलप्रतिको अन्ध समर्थन नै थियो भन्ने देखिन्छ । डेमोक्र्याट पार्टीका धेरै सांसदहरू पनि यस नीतिप्रति सकारात्मक नभएको जनाइन्छ । गाजामा नरसंहार मच्चाई सकेर पनि लेबनानमा त्यस्तै आक्रमणको सुरुवात गर्दा पनि कमला ह्यारिसले बाइडेनकै बाटो पछ्याउँदै केही आपत्ति जनाएनन् । उनी राष्ट्रपतिको उम्मेवार नबन्दै नेतान्याहुको अमेरिका भ्रमणमा गाजामा महिला र बालबालिकाको संहारलाई हामीले गम्भीरतापूर्वक हेरेका छौँ भनेका थिए । तर, उम्मेदवार घोषणा भइसकेपछि भने इजरायललाई आत्मरक्षाको अधिकार भएको भन्दै इजरायलको प्यालेस्टिनी जनताको क्रूर र निर्मम हत्यालाई स्वीकृत गरेकोमा मतदाताहरू उनीसँग स्तब्ध भएको देखिन्छ । साथै, गत अगस्त महिनामा सम्पन्न डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनमा प्यालेस्टिनी सर्मथकहरूले गरेको प्रदर्शनलाई पूर्णरूपमा बेवास्ता गर्नु र उल्टै उनीहरूका प्रतिनिधिलाई एक शब्द पनि बोल्नबाट रोक्नुले मतदाताहरू बिच्किएका थिए ।
एउटा चुनावी सभामा आफ्नै युद्धविरोधी समूहले उनको भाषणमा अवरोध गर्दा उनले, ‘तपाईँहरूलाई ट्रम्पलाई जिताउन चाहनुहुन्छ भने यस्तो भन्नुस्’ भनेर रिसाएका थिए । मिचिगन राज्यमा भएको उनको अर्को सभामा पूर्वराष्ट्रपति बिल क्लिन्टनले हमासले त्यहाँका प्यालेस्टिनी जनतालाई मानव ढाल बनाएर इजरायले मार्न बाध्य पारेको भनी बोले । कमला ह्यारिस र डेमोक्र्याटका नेताहरूले इजरायलले गरेको नरसंहारलाई समर्थन गरेको कुरालाई यता ट्रम्पले आफ्नो चुनावी मुद्दा बनाउन सफल भयो । अमेरिकी इतिहासमा यस्तो घटना पहिला पनि भएका थिए । भियतनाम युद्धताका राष्ट्रपतिका उम्मेदवार रिचर्ड निक्सनको प्रमुख मुद्दा नै युद्धलाई रोक्नु थियो । आज ट्रम्पले पनि मध्यपूर्वमा साँच्चिकै शान्ति ल्याउने नारालाई चुनावी मुद्दा बनाए । युक्रेन युद्धलाई त २४ घण्टाभित्र रोक्ने भने । धेरै अस्थिर (स्वीङ) राज्यहरूमा ट्रम्पले अत्यधिक मत पाउनुको कारण विश्वभरका शान्तिकामी जनता र अमेरिकी मतदाताहरूले गाजाको नरसंहारलाई रोक्न गरेको अपिल उनको चुनावी मुद्दा बनाउन सफल हुनु हो ।
ट्रम्पको नाटोको नाफा घाटाको हिसाब गराइले युक्रेन युद्ध रोक्ने पहल त गर्ला भने आशा गर्न सकिएला । तर, मध्यपूर्वमा विगतमा लिएका नीतिलाई मूल्याङ्कन गर्दा उनले साँच्चिकै इजरायललाई न्याख्ला र अरबेली जनतालाई शान्तिको सास फेर्न देला भन्ने कुरामा भरपर्ने आधार एकदम कममात्र देखिन्छ । नेपाली भनाइ छ – आश गर्नु भर नपर्नु ।
२४ कार्तिक २०८१