- नारायणमान बिजुक्छेँ (रोहित)
सन् १९०५ को रुसी मजदुर क्रान्तिको भेल बिस्तारै तल झ¥यो । जार सरकारले क्रान्तिलाई पूर्णरुपले दबाएको धाक लगाउँथ्यो । तर, सन् १९०६ मा १० लाख मजदुरले हडतालमा भाग लिए । सन् १९०७ मा ७ लाख ४० हजार मजदुरले हडतालमा भाग लिए । जनतामा लडाकु भावना रित्तिसकेको थिएन ।
मजदुर क्रान्तिको भेल तल झर्न लागेको मात्रै थियो; रुसी समाजवादी जनवादी मजदुर पार्टीमा मतभेद झन् चर्कियो । मेन्शेभिकहरू मजदुरवर्गको क्रान्तिकारी उद्देश्यलाई छोडेर कानुनी–प्रजातन्त्रवादीहरूको बाटो लिँदै गए । तिनीहरू मजदुर पार्टीलाई एक कानुनी र खुला पार्टी बनाउन चाहन्थे । उनीहरूले आठ घण्टाको कामको दिनको माग त्याग्दै गए । सामन्त र जमिनदारवर्गको जग्गा जफत गर्ने माग छोड्दै गइरहेका थिए । तिनीहरू वास्तवमा मजदुर पार्टीलाई मेट्न चाहन्थे । यसकारण, सन् १९०८ डिसेम्बरमा फ्रान्सको राजधानी पेरिसमा मजदुर पार्टीको पाँचौँ सम्मेलन भयो । सम्मेलनले विसर्जनवादको निन्दा र खण्डन ग¥यो ।
त्यस्तै, बोल्शेभिकहरूमध्ये केहीले ड्युमा र अरू कानुनी सङ्गठनभित्र काम गर्न अस्वीकार गरे । ती संस्था र सङ्गठनबाट सबै पार्टी कार्यकर्ता फिर्ता बोलाऊ भनेर फलाको गरे । तिनीहरू कानुनी सङ्गठनबाट गुप्त सङ्गठन बनाउने† किसानहरूमा प्रभाव पार्ने र जारतन्त्रको विरोध गर्ने कुरा स्वीकार गर्दैनथे । तिनीहरू क्रान्तिकारी शक्ति तयार गर्ने र व्यापक जनतालाई नेतृत्व दिने काममा तगारो हाल्थे । यसकारण, सन् १९०९ मा तिनीहरू बोल्शेभिक सङ्गठनबाट निकालिए । वास्तवमा तिनीहरू ‘लुकेका विसर्जनवादीहरू’ थिए । तिनीहरूको अवसरवाद ‘वामपन्थी’ वा क्रान्तिकारी फलाकोमा लुकेको थियो ।
शोषण र कम ज्यालाको विरोधमा सन् १९१० को गर्मीमा मस्कोका मजदुरवर्गको फेरि हडताल भयो ।
पुँजीपतिवर्गको शोषण बढ्दै गएको थियो । मजदुरहरूले कम ज्याला पाउँथे । त्यसकारण, सन् १९१० को गर्मी महिनामा मस्कोका मजदुरहरू हडताल गर्न कम्मर कसे । हडतालको सिलसिला फेरि सुरु भयो । वर्षको अन्त्यसम्ममा पिटर्सबर्ग, मस्को र अरू सहरमा समेत त्यो हडताल राजनीतिक प्रदर्शनको रुपमा विकास भयो । सन् १९११ सुरु हुनासाथ सङ्घर्ष अझ अगाडि बढ्यो । त्यस साल एक लाखभन्दा बढी मजदुर आफ्नो राम्रो जीवनको निम्ति सङ्घर्षको मैदानमा अगाडि बढे । पिटर्सबर्गमा मजदुरहरूका ठुल्ठुला जनसभा भए । ती सभामा बोल्शेभिकहरूले पक्राउ परेका ड्युमाका आफ्ना प्रतिनिधिहरू छोड्न माग गरे । मजदुरवर्ग फेरि उठ्न लागेको देखेर शासकवर्ग काम्न थाल्यो ।
मजदुरवर्गको सङ्घर्षको छाल गाउँसम्म फैलियो । सारा श्रमिक र किसान जनता फेरि उठ्न थाले । गाउँहरूमा सामन्त र जमिनदारका महलहरूमा आगो लाग्न थाल्यो । किसानहरूले जमिनदारहरूलाई जग्गा नदिए ज्यान लिने धम्की दिन थाले । गाउँको वर्गसङ्घर्ष गहिराइसम्म पुग्यो । गरिब र मध्यम किसानहरू धनी किसानको विरोधमा उठ्न थाले । अरू इलाकामा पनि ‘समानता र स्वतन्त्रता’ को नारा राष्ट्रिय सङ्घर्षको रूपमा फैलिन थाल्यो । रुसमा क्रान्तिको नयाँ लहर उठ्न थाल्यो । सन् १९१२ जनवरी महिनामा चेकोस्लोभाकियाको राजधानी प्रागमा रुसी मजदुर पार्टीको सम्मेलन भयो । सम्मेलनले सरकारसँग मिल्न खोज्ने सबै सम्झौतावादी र अवसरवादीहरूलाई पार्टीबाट निकालिदियो । बोल्शेभिक पार्टी अब अलग क्रान्तिकारी मजदुर पार्टीको रुपमा स्थापित भयो । मेन्शेभिक र अरू गुट फ्याँकिए । यसप्रकार रुसी मजदुरहरूको पार्टीमा सैद्धान्तिक शुद्धता देखियो ।
रुसको पूर्वमा साइबेरिया भन्ने ठुलो एसियाली इलाका छ । त्यस इलाकामा लेना नामको एक नदी उत्तरतिर बग्छ । त्यस नदीको किनारमा सुनका खानी छन् । ती खानीमा बेलायती र रुसी पुँजीपतिहरूले पुँजी लगाएका थिए । तिनीहरूले वर्षमा ७० लाखभन्दा बढी रुबल नाफा कमाउँथे । तर, त्यो नाफा खानीका मजदुरहरूकै शोषण थियो । दिनको १२ वा त्योभन्दा बढी घण्टा काम गर्न लगाइन्थ्यो । बिहानदेखि बेलुकासम्म काम गराइन्थ्यो । तर, ज्याला भने साह्रै कम थियो । मजदुरहरू बस्ने ठाउँ साह्रै फोहर, चिसो, ओसिएको र साँघुरो थियो । भित्ता र भुइँ हिउँजतिकै चिसो भए पनि सुत्नुपथ्र्यो । साह्रै अप्ठ्यारो थियो । आधा रातसम्ममा तिनका भिजेका जुत्तामा हिउँ जमिसकेका हुन्थे । खानीमै खानीमालिकले पसल खोल्न दिएका हुन्थे । ती पसलमा गुणस्तरहीन खानेकुरो बेच्न लगाइएको हुन्थ्यो । मजदुरले ज्याला समयमा पाउँदैनथे । कामको ठेक्का नसिद्धिएसम्म एक पैसा पनि दिइन्नथ्यो । यसप्रकार लेना नदीका खानी मजदुरको अवस्था साह्रै खराब थियो । ती ठाउँमा बोल्शेभिक कार्यकर्ताहरू काम गर्दै थिए । तिनले मजदुरहरूको अवस्था र त्यसको मुक्तिको बाटो देखाउँथे । तिनीहरूले मजदुरहरूको सङ्गठन बनाउँदै थिए ।
एक दिन ती पसलहरूमा कुहिएको कीरा परेको मासु बेचिएको थियो । त्यसले त्यहाँ महामारी फैलियो । तर, उपचारको व्यवस्था थिएन । त्यसकारण, मजदुरहरूमा ती पसल र खानेकुराको विरोधमा असन्तोष फैलिन थाल्यो । ती मानिसहरू हेपेर भन्थे, “खानीका मजदुर सुङ्गुर रहेछन्; तिनीहरू जे पनि खान्छन् ।” त्यस्तो जवाफले मजदुरहरू झन् रिसाए र त्यस सुन खानीको व्यवस्थालाई ‘नयाँ भूदास ऐन’ भने । मजदुरहरू आपसमा सरसल्लाह गर्न थाले । मजदुर समिति बनाएर पशुलाई जस्तो गरिने त्यस व्यवहारको विरोधमा हडताल गरे । ती हडतालीहरूले मजदुरहरूको नयाँ समिति चुन्यो । त्यसमा धेरै बोल्शेभिकहरू थिए । तिनीहरूले ८ घण्टाको काम, बढी ज्याला, महिनावारी ज्याला दिने र बस्ने घरको राम्रो बन्दोवस्त होस् भनेर माग राखे । पसलमा बेचिने खानेकुरामा समानता होस्; पुँजीपतिहरूको जुठो रोटीमा पालिएका पिछलग्गूहरूद्वारा मजदुरहरूमाथि गरिने अत्याचारको अन्त्य होस् र मजदुरहरूलाई राम्रो व्यवहार गरियोस् भनेर माग राखे ।
एउटा खानीको हडताललाई सबै खानीका मजदुरले समर्थन गरी हडताल गरे । सारा सुन खानीमा काम बन्द भयो । ६ हजार मजदुरले हडतालमा भाग लिँदै थिए । तर, खानीका मालिकहरूले मजदुरका मागहरू मान्न अस्वीकार गरे । हडताल भङ्ग गर्न मालिकहरूले सरकारसँग पुलिस मागे ।
४ अप्रिल १९१२ को दिन ३ हजार मजदुरहरू आफ्ना माग लिएर खानीको कार्यालयमा मागपत्र दिन गइरहेका थिए । बाटो साँघुरो थियो । त्यसकारण, ६–६ जना मिलेर शान्तिपूर्वक हिउँमा हिँडिरहेका थिए । पुलिसले तिनीहरूलाई बाटोमा रोक्यो । सेना आइपुग्यो र शान्तिपूर्ण जुलुसमा दनादन गोली चलाइयो । २७० जना मजदुर प्रदर्शनकारीहरू ठहरै मरे र २५० घाइते भए । लास र घाइतेहरू हिउँमा जहाँतहाँ तितरबितर भए; मजदुरवर्गको रगतले लेनाको हिउँ रातो भयो ।
शान्तिपूर्ण जुलुसमाथि गोली चलाएर हत्याकाण्ड मच्चाएकोमा सारा विवेकशील रुसी जनता साह्रै रिसाए । सरकारले लेनाको गोली काण्डबाट जनतालाई तर्साउन खोजेको थियो । तर, पिटर्सबर्ग, मस्को र अरू औद्योगिक सहरमा मजदुरहरूले ठुल्ठुला हडताल, प्रदर्शन तथा सभाहरू गरेर हत्याकाण्डको विरोध एवम् निन्दा गरे । पिटर्सबर्गका मजदुरले राजनीतिक हडताल सुरु गरिदिए । जनताले भने, “हत्याकाण्डमा जार सरकार जिम्मेवार छ ।” ‘निरङ्कुश राजतन्त्र मुर्दावाद’ को नारा लगाए । ड्युमामा मजदुर प्रतिनिधिले गोली काण्डको जाँच गर्न र जिम्मेवार अधिकारीहरूलाई सजाय दिन माग गरे । तर, जार सरकारको गृहमन्त्री याकारोभले घमण्ड गरेर भन्यो, “सरकारको यो नीति चालु रहनेछ ।” मजदुरवर्गले प्रदर्शन गरेर जवाफ दियो ‘त्यस नीतिलाई बन्द गर्नैपर्छ ।’ पिटर्सबर्गका मजदुरहरूको राजनीतिक हडतालले एक प्रस्ताव पारित ग¥यो, “हामी मजदुरहरू लेनाका हत्याराहरूलाई मात्रै दोष दिन्नौँ । बरु मजदुरवर्ग सारा पुलिसराजकै निन्दा गर्छ । अत्याचारको सिकार भएका सहिदहरूको निम्ति हामी एक होऔँ र हाम्रो एकतालाई अझ बलियो बनाऔँ !” पिटर्सबर्ग, मस्को, एकातेरि–नोस्ताभ, ओडेसा, खारकोभ, किभ, लुगान्स्क, सामारा, सारातोभ, रिगा, किसिनेभलगायत सहरका ३ लाखभन्दा बढी मजदुरले हडताल गरे; विरोध जुलुस र विरोध सभा गरे । स्थितिलाई साम्य गर्न सरकारले ‘जाँचबुझ’ गर्ने प्रतिज्ञा ग¥यो र प्रधानमन्त्री फेर्ने वचन दियो । तर, मजदुरवर्ग त्यस जालझेल र ललाइ–फकाइमा फसेन ।
१ मे, १९१२ को दिन आयो । ४ लाख मजदुरले हडताल गरे । विरोध प्रदर्शनहरू भए । मजदुरवर्गको एकताको अगाडि दमन र अत्याचार टिक्न सकेन । जुलुसमा मजदुरहरूले रातो झन्डा बोक्थे र क्रान्तिकारी गीत गाएर अघि बढ्थे; मनपरीतन्त्रलाई उखेल्न जनतालाई आह्वान गर्थे । यसप्रकार रुसमा मजदुरवर्गको राजनीतिक चेतना र क्रान्ति बढ्दै गयो । मजदुर आन्दोलन गाउँ र ब्यारेकसम्म पुग्यो । गाउँका किसानले जमिनदारवर्गमाथि धावा बोल्न थाले । सेनामा पनि विद्रोह सुरु भयो । तुर्किस्तानमा सशस्त्र विद्रोहको जन्म भयो । बाल्टिक समुद्रको सेना र सेभास्तोपोलमा पनि विद्रोहको आगो सल्कियो ।
लेनाको हत्याकाण्डले रुसको मजदुरवर्गलाई फेरि उठाइदियो । हडताल र प्रदर्शनकारीहरूको निम्ति त्यो एक इसारा थियो । मजदुर आन्दोलन बढ्दै गएको हुनाले मजदुरहरूको एक कानुनी पत्रिका निस्क्यो । त्यसको नाम ‘प्राभ्दा’ अथवा ‘सत्य’ थियो । त्यसको ४० हजार प्रति छापिन्थ्यो । त्यो लाखौँ मजदुरले पढ्थे । देशका ८० प्रतिशत सङ्गठित मजदुरले त्यसलाई आफ्नै पत्रिका सम्झेर पढ्थे । त्यसमा मजदुरहरूको दुःख र सङ्घर्षको समाचार रहन्थ्यो । सरकारले त्यसलाई बरोबर जरिवाना गथ्र्याे र बन्द गरिदिन्थ्यो । तर, तुरुन्तै त्यस्तै नामबाट अर्को पत्रिका निस्किहाल्थ्यो । पत्रिकाको जरिवाना तिर्न वा नयाँ पत्रिका निकाल्न मजदुरहरूले चन्दा जम्मा गरेर पठाइदिन्थे । त्यसबेला ७,००० मजदुर मण्डली थिए । तीमध्ये ५,६०० मण्डलीले ‘प्राभ्दा’ का निम्ति चन्दा उठाउँथे । १,४०० मण्डलीले मात्रै मेन्शेभिकहरूको पत्रिकाको निम्ति चन्दा उठाउँथे । बोल्शेभिकहरू ‘प्राभ्दा’ समर्थक थिए ।
बोल्शेभिकहरूले ‘८ घण्टाको कामको दिन, ज्याला बढाउने, जमिनदारी जफत गर’ भन्ने माग लिएर हडताल र प्रदर्शन गर्दै थिए । मेन्शेभिकहरू सरकारलाई दर्खास्त र बिन्तीपत्र मात्रै दिन्थे । सन् १९१३ मा पनि मजदुर आन्दोलन चर्कँदै गयो । पिटर्सबर्गका मजदुरहरू सबभन्दा अगाडि थिए । आन्दोलन बाल्टिक प्रदेश, मस्को सहर, मस्को प्रान्त, भोल्गा प्रदेश र दक्षिणी रुससम्म फैलिएको थियो । हुँदाहुँदा रुसको पश्चिमी प्रदेश, पोल्यान्ड र कारोरासमा समेत फैलियो । सन् १९१३ मा जम्मा १२ लाख ७२ हजार मजदुरले हडतालमा भाग लिए ।
सन् १९१३ मा मस्को प्रान्तमा मात्रै पुँजीपतिवर्गले ५० हजार मजदुरलाई कामबाट निकालिदियो । सन् १९१४ मा एकै दिनमा पिटर्सबर्गमा ७० हजार मजदुर कामबाट निकालिए । त्यसको विरोधमा अरू कारखानाका मजदुरहरूले हडताल गरेर निकालिएका मजदुरहरूलाई सहानुभूति देखाए । तिनीहरूले चन्दा उठाएर बेकारी मजदुर र हडताली मजदुरहरूलाई मद्दत गर्थे ।
सन् १९१४ को आधाआधीसम्म १५ लाख मजदुरले हडतालमा भाग लिए; मजदुरहरूको त्यो आन्दोलन गाउँ र ब्यारेकसम्म पुग्यो । मे महिनामा पिटर्सबर्ग, बाकु आदि ठाउँमा ठुल्ठुला हडताल र प्रदर्शन भए । सन् १९१३–१४ को स्थिति सन् १९०५ को स्थिति जस्तै हुन थाल्यो । किसानहरूले गाउँगाउँमा धनी किसान र जमिनदारहरूको विरोध सुरु गरे† तिनीहरूको गोदाम र जमिनदारीमाथि हमला गरे । सन् १९१० देखि १९१४ सम्ममा १३,००० पटक विद्रोह भए । हरेक विद्रोह र भिडन्तमा बोल्शेभिकहरू अगाडि रहन्थे । लेनिन र स्तालिन ती आन्दोलन र विद्रोहलाई ठीक बाटो देखाउँदै हुनुहुन्थ्यो ।
त्यसैबेला युरोपमा साम्राज्यवादी युद्ध सुरु भयो । साम्राज्यवादीहरू दुई गुटमा विभाजित थिए । पहिलो गुटमा जर्मनी, अस्ट्रिया, हङ्गेरी र इटली थिए । अर्को गुटमा बेलायत, फ्रान्स र रुस थिए । तिनीहरू आपसमा स–साना देशमाथि कब्जा जमाउन चाहन्थे । १ जुलाई, १९१४ मा जर्मनी र रुसको लडाइँ सुरु भइहाल्यो । लडाइँ सुरु भएपछि इटली पहिलो गुट छोडेर दोस्रो गुटमा गयो । यता बुल्गेरिया र टर्की पहिलो गुटको समर्थनमा गए ।
क्रमशः
साभार : अक्टोबर क्रान्ति र यसको महत्