समाजवाद र साम्यवादमुखी सरकारको उद्देश्यअनुरूप आर्थिक गतिविधि सञ्चालन हुन्छ । विचारधारात्मक क्रान्ति, सांस्कृतिक क्रान्ति र आर्थिक क्रान्तिमध्ये विचारधारात्मक क्रान्तिलाई सर्वोपरि राखी यी ३ ओटै क्रान्तिलाई सन्तुलित ढङ्गले अघि बढाउन सकेमात्र समाजवादी निर्माणलाई सफल पार्न सकिने अनुभवले देखाउँछ ।
कोरियाली उद्योगको विकास गर्न कुनै पनि पश्चिमा साम्राज्यवादी शक्तिबाट ‘आर्थिक सहायता’, ‘ऋण’ नलिने निधो भयो । बरु, कोरियाली प्रविधि, स्रोत–साधन, वैज्ञानिक, बुद्धिजीवी, प्राविधिज्ञ र जनता तथा सेनाको भर गरी कोरियालाई औद्योगिक समाजवादी देशमा फेर्ने नीति अवलम्बन गरियो । कोरियामा उखानै छ उधारो लिनु दास बन्नु हो । किम इल सङले भन्नुभयो, “आत्मनिर्भरताको अर्थ अरूले बनाएको यन्त्र प्रयोग गर्ने नमान्नु होइन । यसको अर्थ अरूबाट सिक्ने कुराको विरोध गर्नु र विदेशी सहयोगलाई पूर्ण निषेध गर्नु पनि होइन । आत्मनिर्भरता भनेको कोरियाली जनताका आर्थिक गतिविधिलाई मार्गनिर्देश गर्ने आधारभूत सिद्धान्त हुनुपर्छ ।”
सन् १९४६ अगस्त १० मा सबै कलकारखाना मजदुरलाई भन्ने नाराका साथ उद्योग, यातायात, सञ्चार, बैङ्क आदि राष्ट्रियकरण गर्ने कानुन घोषणा भयो । जापानी साम्राज्यवादका दलाल पुँजीपति, विश्वासघाती र देशघातीहरूका सम्पूर्ण व्यापार–व्यवसाय; खानी, विद्युत् केन्द्र, रेलमार्ग, यातायात, सञ्चार, बैङ्क र सांस्कृतिक प्रतिष्ठानलाई क्षतिपूर्ति नदिई जफत गरियो । त्यो सम्पत्ति कोरियाली जनताको स्वामित्वमा आयो । कोरियाली मजदुरवर्ग उत्पादनका साधनहरूको मालिक बन्यो । पुँजीवादी स्वामित्वलाई पूरै निमिट्यान्न पारिएन । राष्ट्रिय र देशभक्त पुँजीपतिहरूको सुरक्षा र सम्पत्ति संरक्षण गर्ने कुरा कानुनमै लेखियो । यसबाट उनीहरू व्यापार–व्यवसायमा राम्रो गर्न उत्साहित भए । उनीहरूले स्वदेशी अर्थतन्त्रको पुनःरुत्थान र विकासमा टेवा दिए । उनीहरूलाई बैङ्कबाट ऋण दिलाउने बन्दोबस्त पनि भयो । यसबाट उद्योग र व्यापारको विकासमा ठुलो सघाउ पुग्यो । तर, उनीहरूलाई बढी नाफा खान र मजदुरहरूको शोषण गर्न नपाउने गरी नियन्त्रणमा राखियो ।
१९४६ जून २४ मा मजदुर र कर्मचारीको स्थितिमा कायापलट ल्याउन ‘श्रम कानुन’ घोषणा भयो । ८ घण्टा काम, जोखिमपूर्ण श्रम गर्नुपर्ने खानीहरूमा ७ घण्टा काम, महिला र पुरुषलाई समान ज्याला, ७७ दिन सुत्केरी बिदा, बालश्रमको निषेध, सामाजिक बीमा, श्रमको सुरक्षा, स्वास्थ्यको रक्षा आदि सुविधा प्रदान गरियो ।
स्वाधीन अर्थतन्त्रको जग (सन् १९४५–४६)
जर्मनी, बेलायत र फ्रान्सजस्ता युरोपका विकसित पुँजीवादी देशको सेरोफेरोमा रहेर कार्ल माक्र्स र एङ्गेल्सले सर्वहारावर्गले पुँजीवादी शासन यन्त्र ध्वस्त गरेपछि पुँजीवादबाट समाजवादमा सङ्क्रमणको अवधि छोटो हुने विश्लेषण गर्नुभयो । रुसी वस्तुस्थितिको अध्ययन गरी लेनिनले अर्धसामन्ती र अर्ध–पुँजीवादी रुसमा समाजवादसम्मको सङ्क्रमणकाल लामो हुने बताउनुभयो । त्यसैगरी, किम इल सङले औपनिवेशिक, सामन्ती र अति पिछडिएको कोरियामा समाजवादमा पुग्ने सङ्क्रमणकाल अझ लामो हुने बताउनुभयो ।
सन् १९४५–४६ मा समाजवादउन्मुख स्वाधीन अर्थतन्त्रको जग हालियो । समाजवादसम्म सङ्क्रमणको पहिलो चरणमा साम्राज्यवाद र सामन्तवादविरोधी प्रजातान्त्रिक क्रान्तिबाटै निजी स्वामित्वमा आधारित उत्पादनका सबै साधनलाई हटाउनुपर्ने† शोषण, दमन र गरिबीका सामाजिक स्रोतलाई पूर्ण उन्मूलन गर्नुपर्ने† श्रमिक जनताको सिर्जनशील जीवनको लागि छिटोभन्दा छिटो आर्थिक र सांस्कृतिक क्षेत्रमा फड्को मार्नुपर्ने थियो । त्यसैगरी, उत्पादन सम्बन्धको समाजवादी रूपान्तरण तथा अविराम क्रान्ति र निर्माणको माध्यमबाट सबैखाले वर्गभेद पनि त्यसै अवधिमा हटाइने भयो । समाजमा शोषक नै नरहेपछि र मजदुर किसानबिचको भेद हटेपछि मात्र समाजवादको पूर्ण विजय हुने थियो ।
यसबिच देशकै स्रोत–साधन र प्रयत्नबाट स्वदेशी आवश्यकता पूरा गर्ने साधनहरू उत्पादन गर्न सक्षम अर्थतन्त्रको विकासमा जोड दिइयो । राज्यनियन्त्रित अर्थतन्त्रको छहारीमा सहकारी र निजी अर्थ व्यवस्था चालु राखियो । समय अनुकूल भएपछि त्यसलाई राज्यको नियन्त्रणमा ल्याउने नीति लिइयो । अन्य सहयोगी पार्टीहरूसँगको संयुक्त मोर्चालाई झन् कसिलो बनाउँदै आर्थिक निर्माणमा सहभागी हुन इच्छुक जनसमूहलाई समेट्ने कुरामा निकै ध्यान दिइयो ।
कोरियाबाट पछि हट्दा जापानी साम्राज्यवादीहरूले कोरियाली फलाम कारखाना र विद्युत् केन्द्र नष्ट गरेका थिए । प्योङयाङ रासायनिक उद्योगलगायत ४७ ओटा ठुल्ठुला उद्योग–व्यवसायका मुख्य–मुख्य ज्यासल र भौतिक पूर्वाधारलाई आगो लगाएर ध्वस्त पारेका थिए । यस्तो कठीन अवस्थामा पनि पार्टीको निर्देशनमा कृषि औजार र विद्यार्थीका लागि सीसाकलम उत्पादन गरियो । किम इल सङ ‘ह्वाङ हाइ’ (Hwang Hae) फलाम कारखाना र अन्य मुख्य– मुख्य उद्योग, कोइला खानी र विद्युत् केन्द्रको स्थलगत निरीक्षणमा जानुभयो । उहाँले देशको आर्थिक योजना पूरा गर्न अपनाउनुपर्ने तरिकाहरूबारे मजदुरहरूसामु कुरा राख्नुभयो । उत्पादन बढाउन उत्साहित गर्नुभयो र जटिल समस्याको गाँठो फुकाइदिनुभयो । विकट पहाडी गाउँहरूमा पुगेर उहाँले किसानहरूलाई अझ राम्रो खेतीका लागि पहाडको उपयोग गर्ने तौरतरिका सिकाउनुभयो । कोरियामा त्यसलाई ‘सुनौला पहाडहरू’ मा नयाँ इतिहासको आरम्भ मानिन्छ ।
विभिन्न कृषि र औद्योगिक कार्यक्रमको थालनी भयो । यस अभियानमा २,२०० उद्योगका ५ लाख मजदुर परिचालित भए । राज्यबाट सञ्चालित उद्योगहरूको उत्पादन १०२.५ प्रतिशतले बढ्यो । कृषिमा ब्याड क्षेत्रमात्र बढेर ०.५ प्रतिशत पुग्यो । गहुँको उत्पादन बढेर १ लाख ८० हजार टन पुग्यो । रेलमार्ग १३८ प्रतिशत लम्बियो । विद्यालयको सङ्ख्या ४० प्रतिशत र विद्यार्थीको सङ्ख्या ३० प्रतिशत बढ्यो । १७ ओटा नाट्य संस्था र ८ ओटा सङ्गीत विद्यालय तथा थुप्रै अस्पताल खुले । यसरी सन् १९४७ को ‘राष्ट्रिय आर्थिक योजना’ पूर्णरूपले सफल भयो ।
सन् १९४७ को दर्बिलो आर्थिक जगमा टेकेर सन् १९४८ को राष्ट्रिय आर्थिक योजनामा औपनिवेशिक कालको औद्योगिक असन्तुलनलाई हटाइयो । उद्योगहरूमा मेसिन, औजार, पुर्जा जस्ता दैनिक उपभोग्य वस्तुको निर्माण थालियो । जापानी साम्राज्यवादले ध्वस्त पारेका उद्योग–व्यवसायलाई पुनःस्थापना गरियो । कृषिमा विशेषगरी गहुँ उत्पादनमा जोड दिइयो । हलुका उद्योगलाई चाहिने कच्चा पदार्थ आपूर्तिको लागि औद्योगिक बालीनालीमा ध्यान पु¥याइयो । सन् १९४८ मा मात्रै ६ लाख टन अन्न उत्पादन भयो । कुल औद्योगिक उत्पादन अघिल्लो वर्षको भन्दा ५०.६ प्रतिशत बढ्यो । यसरी सन् १९४७–४८ को २ वर्षे आर्थिक योजना पनि सफल भयो ।
प्रजग कोरिया र कोरिया युद्ध
साम्राज्यवादीहरूको कठोर दमनबिच पनि दक्षिणमा निर्वाचन भइछाड्यो । ऐतिहासिक उत्तर–दक्षिण आम निर्वाचन हुँदा ६७ लाख ७३ हजार ४०७ मतदाताले भाग लिए† ७७.५२ प्रतिशत जनताले मत खसाले । १ हजार ८० जना जनप्रतिनिधि चुनिए । जननिर्वाचित प्रतिनिधिहरू उत्तरी कोरियाको हाइजु नगरमा भेला भए । दक्षिणी कोरियाका जनप्रतिनिधिहरूको चुनाव अगस्त २१ देखि २६ सम्म भयो । प्रत्येक ५० हजार जनताबाट १ प्रतिनिधिको अनुपातमा ३६० जना प्रतिनिधि निर्वाचित भए । १९४८ सेप्टेम्बर २ गते प्योङयाङमा सर्वोच्च जनसभाको पहिलो ऐतिहासिक बैठक बस्यो । त्यसमा उत्तर र दक्षिणबाट जम्माजम्मी ५७२ प्रतिनिधि थिए । जनसभाबाट कामरेड किम इल सङ प्रधानमन्त्री एवम् राष्ट्रप्रमुख निर्वाचित हुनुभयो ।
सन् १९४८ सेप्टेम्बर ९ को दिन उहाँले संसारसामु प्रजातान्त्रिक जनगणतन्त्र कोरिया स्थापना भएको घोषणा गर्नुभयो र सरकारको योजना प्रस्तुत गर्नुभयो । प्रजग कोरिया सिङ्गो कोरिया थियो र किम इल सङ त्यहाँका प्रधानमन्त्री तथा राष्ट्रप्रमुख हुनुहुन्थ्यो ।
सन् १९४९–५० को २ वर्षे आर्थिक योजनाले सन् १९४४ को क्रान्तिअघिको दाँजोमा उत्पादनका सबै क्षेत्रमा ठुलो फड्को मार्ने लक्ष्य अघि सार्यो । सरकारी उद्योगको सङ्ख्या सन् १९४९ मा ४३.२ र १९५० मा ९४.१ प्रतिशतले बढाउने योजना बनाइयो । सिँचाइ आयोजना विस्तार गरेर सन् १९५० मा गहुँको उत्पादन ३० लाख टन पु¥याउने तयारी भयो । यो २ वर्षे आर्थिक योजना पनि पूरा सफल भयो ।
सन् १९५० मा अमेरिकी साम्राज्यवादले प्रजग कोरियामाथि हमला गर्यो । युद्धको ३ वर्षभरि उद्योग, हातहतियार निर्माण र कृषिलाई सँगसँगै भूमिगतरूपले अघि बढाइयो । अमेरिकी साम्राज्यवादले उत्तर कोरियाको प्रत्येक १ वर्ग किलोमिटरमा १८ ओटा बम खसाल्यो । सबै सहर र गाउँबस्ती धुलोपिठो भए । उद्योग, कृषि, रेलमार्गलगायत अर्थतन्त्रका सबै शाखा, शैक्षिक र सांस्कृतिक क्षेत्रका सबै प्रतिष्ठान ध्वस्त भए । ८,७०० उद्योग–व्यवसाय खरानी भए । औद्योगिक उत्पादन ६४ प्रतिशत, विद्युत् २६ प्रतिशत, कोइला ११ प्रतिशत र फलाम उत्पादन १० प्रतिशतले घट्यो । कृषि उत्पादन ७६ प्रतिशतले घट्यो । २ करोड ८० लाख वर्गमिटर क्षेत्रफल ओगटेका घरघडेरी, ५ हजारभन्दा बढी विद्यालय, १ हजारभन्दा बढी अस्पताल र क्लिनिक, २६० ओटाभन्दा बढी नाच र चलचित्रघर तथा हजारौँ सांस्कृतिक र जनकल्याण प्रतिष्ठान धुलोपिठो भए । अर्थतन्त्रमा ४२० अर्ब ओन (कोरियाली पुरानो मुद्रा) बराबरको क्षति भयो । युद्धको इतिहासमा यो सबैभन्दा ठुलो विनाश थियो । युद्धविराम सम्झौताको बेला साम्राज्यवादीहरूले कोरिया अब १०० वर्षमा पनि आफ्नो खुट्टामा उभिन सक्दैन भने । कोरियाप्रति सहानुभूति राख्ने धेरैले युद्धपछि कोरियाली कम्युनिस्टहरूले कृषि र उद्योगको पुनःनिर्माण तथा क्रान्ति र समाजवादी निर्माणलाई अघि बढाउनेमा शङ्का गरे ।
युद्धविरामपछिको लडाइँ
युद्धविरामपछि केही वैचारिक समस्या देखाप¥यो । आफ्नै देश, जनता र तागतमा विश्वास नगरी अन्य शक्ति राष्ट्र र ठुलो देशको मुख ताक्ने चाकडीवाद, अन्य देशका अनुभवलाई सूत्र मानेर जस्ताको त्यस्तै लागु गर्न खोज्ने हठ, कम महत्वको विषयमा एकोहोरो ढिपी कसेर फुटमा जोड दिने गुटबन्दी, भविष्यको वास्तै नगरी अहिलेको सानो स्वार्थ र फाइदालाई महत्व दिने अवसरवाद तथा समाजवाद–साम्यवादको सार र मर्मलाई समाप्त पार्ने संशोधनवादविरुद्ध छिनोफानो गरी सङ्घर्ष गर्नुपर्ने थियो । त्यसो नगरे समाजवादी निर्माण र क्रान्तिलाई अघि बढाउन सम्भव थिएन ।
युद्धविराम सम्झौतापछि बहसको अर्को मोहडा देखापर्यो । एकातिर, ‘युद्धविराम सम्झौताबाट शान्ति कायम गर्न नहुने र तुरुन्तै युद्ध सुरु हुने भएकोले समाजवादी निर्माणमा ध्यान दिन हुन्न भन्नेहरू पनि थिए । अर्कोतिर, ‘युद्धविराम सम्झौताबाट शान्ति कायम हुने भएकोले युद्धको तयारीमा ध्यान नदिई विकास कार्यमा लाग्नुपर्छ’ भन्नेहरू पनि थिए । यी दुवै प्रवृत्तिको पनि विरोध गर्न जरुरी थियो । समाजवादी निर्माणका साथै युद्धको तयारी पनि गर्नु थियो ।
सन् १९५३ अगस्तमा कोरियाली मजदुर पार्टीको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक बस्यो । बैठकले आर्थिक निर्माणको कार्यदिशा पहिल्यायो । पुनःनिर्माण र समाजवादी निर्माण कहाँबाट सुरु गर्ने र कुन–कुन कुरालाई प्राथमिकता दिने भन्ने तय भयो । बैठकमा किम इल सङले भन्नुभयो, “युद्धपछिको आर्थिक निर्माणमा हामीले पुनःनिर्माण गर्नुका साथै कृषि एवम् हलुका र भारी उद्योगको विकासलाई प्राथमिकतामा राख्नुपर्छ, अनिमात्र हाम्रो देशको आर्थिक जगलाई छिट्टै सबल पारी जनताको जीवनस्तर उकास्न सकिन्छ ।”
सन् १९५३–५६ को ३ वर्षे योजनामा २४० भन्दा बढी ठुल्ठुला उद्योग–व्यवसायको पुनःनिर्माण भयो । ८० भन्दा बढी थप आधुनिक उद्योगको निर्माण भयो । ३ हजार पसलको पुनःनिर्माण एवम् स्थापना भयो । ४७ लाख वर्गमिटर क्षेत्रफलमा आवास गृहहरू निर्माण भयो । सन् १९४५ सँग दाँज्दा औद्योगिक उत्पादन १.५ गुणा र अन्न उत्पादन १.२ गुणा बढ्यो । सन् १९५९ सम्ममा उद्योगको सङ्ख्या १० हजार पुग्यो । अमेरिकी साम्राज्यवादीहरू ह्वाङ हाइ फलाम कारखाना पुनःसञ्चालन गर्न र हुङनाम (Hungnam) मल कारखाना पुनःनिर्माण गरी त्यसबाट मल उत्पादन गर्न २५–३० वर्ष लाग्ने भन्दै बर्बराएका थिए । तर, पार्टीको अगुवाइमा बेगिलो ‘छोल्लिमा र स्वयंसेवी भावना’ का कारण १ वर्षभित्रै प्राविधिक र मजदुरहरूले ती कारखानाबाट उत्पादन सुरु गरे । कोरियामा दिनको ५ सय किलोमिटर उड्ने वायुपङ्खी घोडालाई छोल्लिमा भनिन्छ । ‘छोल्लिमा भावना’ भनेको कामलाई तीव्रता दिनु हो । ‘स्वयंसेवी भावना’ भन्नाले पैसामुखी नभई क्रान्तिकारी उत्साहका साथ रचनात्मक भएर सङ्घर्षमा अघि बढ्ने भावना हो ।
३ वर्षभित्र सामानको मूल्य झन्डै ५४ प्रतिशत घट्यो र जनतालाई अबौँ–अर्ब ओनको फाइदा भयो । मजदुरहरूको ज्याला ५८ प्रतिशत बढ्यो । श्रमिक जनताको सामाजिक र सांस्कृतिक स्तर उठाउन मात्रै साढे २९ अर्ब ओन खर्च भयो । सरकारले किसानलाई २६ लाख टनभन्दा बढी खाद्यान्न र बीउ बिजन तथा ६ अर्ब ओन ऋण दियो ।
युद्धको बेला अन्नको रूपमा ऋण लिएबापत किसानले सरकारलाई तिर्नुपर्ने १ अर्ब ४० करोड ओन मिनाहा गरियो । २ लाख गरिब किसान परिवारको जीवनस्तर मध्यम किसानको तहमा पुग्यो । १ करोड ३४ लाख वर्गमिटर क्षेत्रफलमा आवास गृहहरूको निर्माण भयो । त्यसमध्ये ५१ लाख वर्गमिटरमा सरकारले आफ्नै खर्चमा आवास गृहको निर्माण गरेको थियो । यसपछि सहर र गाउँमा धेरै हदसम्म आवासको समस्या हट्यो । ५,४५५ विद्यालय चालु भए । त्यसमा ३८२ विद्यालय युद्धअघिका थिए । सन् १९५६ बाट प्राथमिक शिक्षालाई अनिवार्य गरियो । गाउँ र सहरमा शिक्षा, कला–संस्कृति र जनस्वास्थ्यमा उल्लेखनीय प्रगति भयो ।
३ वर्षको अवधिमा कृषि सहकारी आन्दोलनबाट गरिब किसानहरूको नेतृत्वमा मध्यम र धनी किसानलाई निजी खेतीभन्दा सामूहिक खेतीपातीमा बढी फाइदा हुने यथार्थलाई देखाएर अनुभव चरण राखी समाजवादी सामूहिक खेतीको लागि अनुकूल वातावरण तयार पारियो । निजी व्यापार र उद्योगमा पनि त्यसै गरियो । त्यसबेला ज्यालादारी गरिब किसान ४० प्रतिशत, मध्यम किसान ५९.४ प्रतिशत र धनी किसान ०.६ प्रतिशत थिए । कृषि सहकारी आन्दोलनप्रति तिनीहरूको धारणा फरक–फरक थियो । ज्यालादारी गर्ने गरिब किसानले सुरुदेखि नै कृषि सहकारी आन्दोलनलाई सक्रिय समर्थन गरेका थिए । कृषिबाट जीवनस्तर सपारेका कतिपय धनी किसानले यस आन्दोलनलाई समर्थन गरे भने कतिपयले ‘पर्ख र हेर’ भन्ने नीति लिए । केही घनी किसानले यसलाई कर्के नजरले हेरे; विरोध गरे । यस्तो परिस्थितिमा गरिब किसानहरूमा भर परी मध्यम किसानसँगको मिलाप बलियो पार्दै धनी किसानहरूलाई समाजवादी विचारमा प्रशिक्षित गरेर कृषि सहकारी आन्दोलन अघि बढाउने सिद्धान्तमा जोड दिइयो ।
साभार : आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास