सुरेश बखुन्छेँ
थालनी : संस्कृति र चाडपर्वबाट
सामान्यतया मानव समाजले गर्ने विभिन्न क्रियाकलाप, चालचलन, जीवनपद्धति, रहनसहन, भेषभूषा, कलाकृति आदिलाई हामी संस्कृति भन्दछौँ । अर्थात्, संस्कृति भनेको मानव समाजको क्रियाकलापको उपज हो । यही क्रियाकलापकै क्रममा मानव समाजले चाडपर्वको पनि विकास गरेको हुन्छ । संस्कृति, सभ्यता र चाडपर्व मानव समाजले नै निर्माण गर्ने भएकाले झट्ट हेर्दा यिनीहरू उस्तै लाग्छन् वा देखिन्छन् । यथार्थतः यिनीहरू अलग अलग तर अन्तरसम्बन्धित विषयवस्तु हुन् । सभ्यता र संस्कृतिका बारेमा जनकलाल शर्मा भन्छन्, “संस्कृति वंश, परम्परा वा आफ्नो सामाजिक परम्पराबाट उत्तराधिकारमा प्राप्त हुने वस्तु हो भने सभ्यता आफैले विभिन्न समाज वा व्यक्तिबाट सिक्नुपर्ने वा आर्जित गर्नुपर्ने गुण हो । संस्कृति आध्यात्मिक वस्तु हो भने सभ्यता वैज्ञानिक आविष्कार, उत्पादनका साधन अर्थात् आर्थिक विकास, देशको राजनीतिक दर्शन वा व्यवस्था आदिका आधारमा टिकेको हुन्छ ।” त्यस्तै, समाजशास्त्री चैतन्य मिश्र व्यक्त भन्छन्, “संस्कृतिभित्र आस्था, आदर्श, मूल्य–मान्यता र कार्य–प्रक्रिया सबै निहित हुन्छन् । आस्था र आदर्श भनेको वैचारिक वा भावनाका कुरामात्र होइनन् । यिनले स्थूल र भौतिकरूपमा गरिने कर्मलाई निर्देशित पनि गर्छन् । संस्कृति कर्म पनि हो र आस्था पनि हो ।” यसरी संस्कृतिलाई जसरी अथ्र्याए पनि हामी एउटै निचोडमा पुग्न सक्छौँ– संस्कृति मानव समाज निर्मित संरचना हो ।
सामान्य अर्थमा चाडपर्व भन्नाले धार्मिक, पौराणिक, सामाजिक र ऐतिहासिक लोकधारणा, लोक विश्वास र उत्सव विशेष आदि बुझिन्छ । विशेषतः कुनै दिन विशेषलाई आधार मानी मानव समाजले गर्ने वा मनाउने उत्सव, दिवस वा पर्व नै चाडपर्व हो । नेपाली बृहत् शब्दकोशमा पनि ‘कुनै पूजा–आजा, उत्सव वा धार्मिक कार्य गर्ने दिन’ भनेर चाडपर्वलाई परिभाषित गरिएको छ । मानिसले दैनिक जीवनयापन गर्ने क्रममा विभिन्न प्रचलन, व्यवहार गर्छन् र यस्ता आनीबानीहरू क्रियाकलापका रूपमा प्रकट गर्छन् । यस्ता क्रियाकलापको समष्टिगत रूप संस्कार हो र एवम्रीतले चाडपर्वको पनि निर्माण भएको हुन्छ । मानिसले कुनै दिन विशेषलाई आधार मानी मनोरञ्जन वा अन्य उत्सव मनाउने भनी गरिने क्रियाकलाप नै चाडपर्व हो । यसर्थ, चाडपर्व पनि मानव समाजकै व्यवहार र क्रियाकलापकै उपज हो वा भनौँ चाडपर्व पनि सामाजिक संरचना हो ।
दोस्रो ठुलो चाडको रूपमा स्थापित पर्व तिहारलाई हेरौँ । यो पर्वमा काग, कुकुर, गाई, गोरुलगायतका पशुपक्षीको पूजा गर्नुका साथै अतिरिक्त मिठाइका परिकार पनि खुवाउने चलन छ । मानव सभ्यताको विकासमा यी माथि उल्लिखित पशुपक्षीबाहेक अन्य पशुपक्षीको महत्वपूर्ण योगदान रहेको हामी पाउँदछौँ । सभ्यताको विकासक्रमसँगै प्रकृतिमा रहेका जीवजन्तुले मान्छेलाई फाइदा दिएको हुनाले यिनको पूजा गर्ने संस्कृति बन्यो र कालान्तरमा तिहार चाडका रूपमा स्थापित भए । सुरुमा एक दुई गर्दै धेरैले मान्न थालेपछि कुनै पर्व वा चाड कालान्तरमा संस्कृति बन्दछ । यसर्थ, सभ्यता, संस्कृति र चाडपर्व एक अर्कासँग सम्बन्धित तर फरक–फरक विषय हुन् । चाडपर्व र संस्कृति अलग–अलग पाटा हुन्, यद्यपि उस्तै देखिन्छ जसरी सभ्यता र संस्कृति अलग–अलग भएर पनि उस्तै देखिन्छ । सारमा भन्ने हो भने सभ्यता मानव समुदायको सामाजिक–भौतिक चिनारी हो भने संस्कृति सामाजिक मूल्य–मान्यता, वैभव, सुख–दुःख प्रस्फुटन गर्ने परिपाटी हो ।
हाम्रा संस्कृति र चाडपर्वको ऐतिहासिकता
नेपालको संस्कृति तथा चाडपर्वको इतिहास खोतल्दै जाने हो भने हामी प्रागऐतिहासिक कालसम्म पुग्न सक्दछौँ । नेपालमा परापूर्वकालदेखि नै विभिन्न जाति–समुदाय आए, गए र ती जातिहरूले आ–आफ्ना सभ्यता अनि संस्कृतिलाई छोडेर गए । नेपालमा बसोबास गर्ने सम्पूर्ण जातिलाई नेग्रिटो, आग्नेय (निषाद्), मङ्गोल (किरात), भूमध्यसागरीय (द्रविड), पश्चिमी (बर्तुलमुण्ड) र नार्डिक (आर्य) गरी छ भागमा विभाजन गर्न सकिन्छ । यी नै जातिहरूले स्थापना गरेर गएका वा निर्माण गरेका संस्कृति, सभ्यता, भाषा, कला, परम्परा, संस्कार आदि नै नेपालको वर्तमान चाडपर्व र संस्कृतिका स्रोत हुन् । जनकलाल शर्माका अनुसार यस क्षेत्रमा सबैभन्दा पहिले आएको जाति नेग्रिटो हो । पूरा पाषाण युगमा आएको यो जातिले बोटविरुवाको पूजा गर्ने प्रचलन ल्याए, जुन अहिले पनि हामीले मान्दै आएका छौँ । त्यसपछि नव पाषाण युगमा आग्नेय जातिको प्रवेश भयो, जसले खेतीपाती गर्ने, माटाका भाँडा बनाउने, विवाहमा सिन्दुर हाल्ने, झारफुक गर्ने, नदीको पूजा गर्ने आदि संस्कार र संस्कृति छोडेर गए । त्यसपछि आएको अर्को जाति द्रविड हो, जसले नगर सभ्यता, मातृशक्तिको पूजा गर्ने प्रचलन भित्याए । पूजा गर्दा फूल चढाउने प्रचलन पनि हामीलाई यही द्रविड जातिले सिकाएर गए । त्यसपछि आएका बर्तुलमुण्ड, मङ्गोल र आर्य जातिले पनि आ–आफ्ना संस्कृति, सभ्यता र चाडपर्व सिकाए । विभिन्न जातिहरूले सिकाएको वा छोडेर गएको संस्कृति, सभ्यता र चाडपर्व नै वर्तमान नेपालको संस्कृति तथा चाडपर्व हुन् । विभिन्न जाति–जनजातिसँगको संसर्ग, समिश्रण र घुलनशीलता आदिका माध्यमबाट नै नेपालको चाडपर्व र संस्कृतिको निर्माण भएको हो ।
यसर्थ, नेपालको चाडपर्व तथा संस्कृति निर्माण एकैबाजी नभएर लामो ऐतिहासिक कालक्रमिक विकास तथा उतारचढाव एवम् विविध जातिको अन्तरघुलन प्रक्रियाकै माध्यमबाट विकास भएको हो, न कि कुनै जाति, भाषा वा धर्मका आधारमा भएको हो ।
चाडपर्वको निर्माणको आधार : उत्पादन प्रणाली
हाम्रो संस्कृति तथा चाडपर्वको निर्माणमा यहाँ बसोबास गरेका विभिन्न जाति, समुदाय तथा परापूर्वकालमा आएका जातिहरूको भूमिका रहेको कुरा माथि नै चर्चा भइसकेको छ । विशेष गरेर ती जातिहरूले संस्कृति तथा चाडपर्व निर्माण गर्ने क्रममा उत्पादनको स्रोत र साधनलाई आधार मानेको देखिन्छ । अर्थात्, हाम्रो संस्कृति र चाडपर्व निर्माणको स्रोत उत्पादन पद्धतिको उपज हो । समाजशास्त्री डा. मिश्र व्यक्त भन्छन्, “नितान्त वा निख्खर त्यस्तो आर्थिक जगत्को कल्पना गर्न सकिन्न, जहाँ राजनीति र संस्कृति हुँदैन । यसको अर्थ संस्कृतिमा आर्थिक र राजनीतिक पाटो निहित रहेकै हुन्छ ।” मान्छेले आफूलाई हित गर्ने प्राकृतिक तथा कृत्रिम जुनसुकै वस्तुलाई सम्मान एवम् आदर गर्दै आइरहेका छन् । सुरुमा मान्छेले प्रकृतिबाट नै आफूलाई हित हुने वस्तुहरू चिने र त्यसको प्रयोग गर्न थाले । उदाहरणका लागि विभिन्न पशुपक्षी, सूर्य, हावा, वनजङ्गल, वर्षा, पहाड, खोला आदिलाई पुजे । मानिसले आदिम कालदेखि प्रकृतिलाई पुज्दै आएको र प्राचीन धर्म भनेको प्राकृतिक धर्म हो ।
मान्छेलाई हित गर्ने वस्तुको पूजा, बन्दना गर्ने क्रममा बोटबिरुवा, अन्नबाली तथा पशुपक्षीको पूजा गर्ने प्रचलन प्रागऐतिहासिक कालदेखि नै चल्दै आएको र त्यसैको परिणाम वा अभिव्यक्ति स्वरूप मान्छेले चाडपर्व मनाउन थाले । जस्तो कि धान तथा जौले मान्छेलाई कार्वोहाइडे«ट दिने वा शक्ति दिने भएकाले नै तिनको पूजा गर्न थालेको हो, अझ नयाँ अन्न भित्रिएको खुसीयालीमा विभिन्न जनजातिहरूले ‘न्वागी’ खाने प्रचलन अहिले पनि मान्दै आएको छ । प्राचीन कालको उत्पादनको स्रोत भनेको वनजङ्गल र कृषि थियो । कृषि युगको थालनीसँगै औजारको कमीका कारण सामूहिकरूपले काम गर्ने गर्थे । थकाइ मार्ने र रमाइलो गर्ने क्रममा विभिन्न उत्सव मनाउने गरेको र पछि त्यही उत्सवका माध्यमबाट नै चाडपर्वको विकास भएको देखिन्छ । हाम्रो नेपाली समाजमा रहेका चाडपर्वहरू दसैँ, योमरी पूर्णिमा, धान नाच आदि यसका उदाहरण हुन् । त्यस्तै विस्तारै मान्छेले कृषि कार्यका लागि र मासुबाट प्रोटिन प्राप्त गर्न पशुपालनको सुरुवात गरे । विभिन्न पशुहरू जस्तै गाई, गोरु, कुकुरलगायतका पशुहरूले मान्छेलाई फाइदा पु¥याएको आधारबाट नै तिनीहरू पुजिए । तिहारमा हामीले काग, कुकुर, गाई, गोरुलगायतका पशुपक्षीलाई पुज्नाको कारण पनि यही हो । अतः मानव निर्मित चाड तथा संस्कृति उत्पादन प्रणालीको विकास एवम् विस्तार हुने क्रममा नै विकास भएको हो ।
मार्विन ह्यारिसका अनुसार भारत (गङ्गा मैदान) मा कृषिलाई बढी प्राथमिकता दिने गरिन्छ । खेतबारीमा हाल्नको लागि मल चाहिने र खेत जोत्नका लागि गोरु चाहिने भएकोले नै त्यहाँ गाई–गोरुको वध गरिँदैन । त्यसबाहेक गाईबाट दूध पनि पाउने हुँदा गाई पुजिएका हुन् । त्यस्तै, विश्वव्यापीरूपमा मनाउने पर्व ‘मे दिवस’ (मजदुर दिवस) लाई हेर्ने हो भने पनि उत्पादनका स्रोत र साधनकै आधारमा पर्व निर्माण भएको देखिन्छ । समग्रमा भन्नुपर्दा मानव सभ्यताको विकाससँगै मानव समाजले उत्पादनका स्रोत र साधनको उपयोग र तिनको श्रद्धा तथा सम्मान गर्ने क्रममा नै चाडपर्व तथा संस्कृतिको विकास भएको हो भन्न सकिन्छ ।
अन्त्यमा,
हाम्रो संस्कृति तथा चाडपर्व यहाँ बसोबास गरेका विभिन्न जाति, समुदायले निर्माण गर्ने क्रममा र त्यसलाई अनुसरण गर्ने क्रममा परिवर्तित हुँदै आएको र नयाँ नयाँ संस्कृति तथा पर्वको उदय हुँदै आएको छ । नेपालजस्तो परिवार नै समाजको एकाइको रूपमा रहेको समाजमा चाडपर्व र संस्कृतिले विशेष अर्थ राख्दछ । नेपाली समाजमा परिवारको एकजनाको अभावले पनि सिङ्गो चाडपर्व नै खल्लो जस्तो लाग्ने गर्दछ । यसर्थ, चाडपर्वले सामाजिक बन्धनलाई कसिलो बनाएको पाइन्छ ।
मान्छेलाई हित गर्ने वस्तुको पूजा, बन्दना गर्ने क्रममा बोटबिरुवा, अन्नबाली तथा पशुपक्षीको पूजा गर्ने प्रचलन प्रागऐतिहासिक कालदेखि चल्दै आएको र त्यसैको परिणाम वा अभिव्यक्ति स्वरूप मान्छेले चाडपर्व मनाउन थाले । नेपालको संस्कृति, चाडपर्व आदि निर्माणमा यहाँका विभिन्न जातजाति, भाषा समुदाय, धार्मिक समुदाय आदिको भूमिका महत्वपूर्ण रहेको छ जुन जाति विशेषतः प्रकृतिपूजक थिए । कालान्तरमा विभिन्न जाति समुदायसँगको अन्तरक्रिया, सम्बन्ध र घुलनशीलताकै कारण वर्तमान चाडपर्व तथा संस्कृतिको विकास भएको हो । यसरी लामो समय पार गरेर बनेको संस्कृति तथा पर्व नै हाम्रो वर्तमान संस्कृति तथा पर्वहरू हुन् । विशेषतः उत्पादन पद्धतिको विकाससँगै विकास भएको हाम्रो संस्कृति र चाडपर्वले विशिष्ट तथा मौलिक पहिचान बोकेको छ ।
तर, चाडपर्व सधैँ उस्तै रहिरहँदैन । जसरी आदिम साम्यवाद हुँदै मानिस वर्तमान पुँजीवादी समाजसम्म पुगे, त्यसरी नै मानव निर्मित चाडपर्व र संस्कृतिले पनि उत्पादनका स्रोत र साधनका आधारमा रूप फेर्दै आएको छ । कृषिमा आधारित दसैँ–तिहारजस्ता चाडमा प्रयोग हुने प्राकृतिक फूलको सट्टा प्लास्टिक वा कागजको फूलले ठाउँ ओगट्न थालेको छ भने प्रेमविवाह नयाँ पुस्ताका लागि सामान्य हुन थालेको छ । यहाँसम्म कि सामाजिक मूल्यमान्यता, चालचलनलगायतका पक्षहरू खरिद बिक्री हुन थालेको छ । केही समयअघिसम्म हामीले संसारमा सबै चिज किन्न सक्छौँ । तर, आमा किन्न सक्दैनौँ भन्ने कुरा मानिआएकोमा हिजोआज ‘सेरोगेसी’ का माध्यमबाट भाडामा आमा पनि किन्ने गरेको देख्न थालेका छौँ । पहिला हाम्रै समाजमा ऐँचोपैँचो, मेलापर्म रहेको संस्कृतका ठाउँमा त्यस्ता चालचलन विस्तारै हट्न गई पैसा वा अर्थका माध्यमबाट हेर्ने संस्कारका रूपमा विकसित हुँदै छ । यो सब उत्पादन पद्धतिमा देखिएको फेरबदल वा समाज विकासको चरणसँगै देखापरेको संस्कृति र चाडपर्व हुन् ।
यसर्थ, समाजको परिवर्तनसँगै चाडपर्व र संस्कृतिलगायतका पक्षमा पनि विभिन्न समयसापेक्ष, देशकाल, वातावरण तथा परिस्थितिका कारण विस्तार, प्रसार एवम् परिवर्तन हुने गर्दछ । हरेक सामाजिक घटना, चालचलन, क्रियाकलापलगायत संस्कृति र चाडपर्व पनि परिवर्तनशील छन् । स्वयम् परिवर्तनबाहेक संसारमा केही पनि स्थिर छैन । न त मानव समाज नै स्थिर थियो न त संस्कृति र चाडपर्व नै स्थिर रहनेछन् ।