हिजो दशैंको फूलपाती । बिहानैदेखि मन्दिरहरुमा भीड छ । सर्वसाधारण किनमेलमा रमाएका छन् । दशैं मनाउन लाखौं आफ्नो जन्मथलो फर्किसके भने अन्य फर्किँदै छन् । दशैं सबैको चाड हो । तर, सडकमा मागेर खानेलाई दशैंले छोएन् । मठमन्दिर छेउछाउ बिहानैदेखि माग्न बसेका छन् । कसैले दिए खाऊला भनेर उनीहरु उज्यालो भएदेखि माग्न बसेका हुन् ।
दशैं त उनीहरुको पनि चाड हो । घर परिवारविहिन उनीहरुले दशैं भन्न पाएनन् । हुन त उनीहरु पनि देशका नागरिक हुन् । तर, राज्य उनीहरुको हकमा पन्छियो । एउटा नागरिकतासमेत दिइएको छैन् । विभिन्न जिल्लाका सिडियो कार्यालयले चिनियाँ नागरिकलाई नागरिकता दिएको हामी स्वयंले सुनेका छौं ।
पैसा लिएर उनीहरुले नागरिकता बेचेका छन् । चार लाख रुपैयाँसम्ममा नागरिकता बेचिएको छ । एकातिर गैरनागरिकले नागरिकता पाइरहँदा अर्कोतिर नागरिक अनागरिक भएर बस्नुपरेको छ । बाटोमा मागेर खानेलाई पनि नागरिकता दिइँदिए उनीहरुले पनि राज्यबाट पाउने भत्ता पाउँथे ।
सडक बालबालिका यत्तिकै छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफू सडक बालबालिका देख्न नसक्ने बताउँछन् । आगामी आर्थिक वर्षसम्म सडक बालबालिका हटाइसक्ने उनको घोषणा छ । तर, जसरी यसअघि उनले ‘सडक मानव’ व्यवस्थापन गर्ने घोषणा गरेर अलपत्र छोडेका थिए, यो घोषणा पनि त्यस्तै हुने होला ।
सडक मानव र सडक बालबालिकाको हकमा राज्यले त हात उठायो, मानवले पनि हेर्ने दृष्टिकोण राम्रो भएन् । मानवमा मानवीयता हराउँदै गयो । घरमा पालेको कुकुरमाथि मासिक हजारौं खर्च गर्नेले सडकमा मागेर खानेलाई पाँच रुपैयाँ पनि दिँदैन् । उनीहरुको दाँतबाट पसिना निस्किन्छ ।
खान नसकेर टोकरीमा लगेर फ्याकिन्छ तर गरिबलाई खान दिइन्न । मान्छेलाई मान्छेले नै मान्छे गन्न छोडेका छन् । उपत्यकाभित्र छ्याप्छ्याप्ती माग्ने मान्छेहरु देखिन्छन् । तर, सरकारले देख्दैन् । नेपालको संविधानले हरेक नागरिकको मौलिक हकको संरक्षण गरेको छ । हरेक नागरिकताले गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्योपचार पाउनुपर्छ ।
हुन त संविधान पनि हुनेखाने र पहुँचवालको हकमा मात्र लागू भएको छ । बोल्न नसक्ने, आर्थिक अवस्था कमजोर भएकाहरु हिजो पनि हेरेको हेर्यै, आज पनि उही अवस्थामा । उनीहरुलाई खान–बस्नको व्यवस्थापन सरकारले मिलाइदिनुपर्ने हो । विडम्बना, सरकार त्यसो गर्दैन् ।
किन कि सरकारले उनीहरुलाई आफ्नो नागरिक नै सोच्दैन् । सरकार त पूँजीपतिहरुको मात्र न हो । देश बेच्नेहरु सत्तामा, देशको रक्षा गर्नेहरु सडकमा । देश लुटेर मोज गर्नेहरु अहिले सरकारमा छन् । यस्तो सरकार भएको ठाउँमा नागरिकले राम्रो जिन्दगी पाउँछन् ? आफ्नो हकअधिकारको प्रयोग गर्न पाउँछन् ?
उनीहरु सडकमै सुत्छन्, सडकमै खान्छन् । न उनीहरुलाई घाम हुन्छ न पानी । न गर्मी हुन्छ न जाडो । नेपालमै जन्मेर नेपाली भएर बाँच्न पाएका छैनन्, उनीहरुले । नेपालको भूमिमा नेपाली आमाको कोखबाट जन्मिएपछि नागरिकता पाउनुपर्छ । तर, सरकारले नागरिकताका लागि आर्थिक अवस्था हेर्यो ।
देशमा लाखौंले मागेर गुजारा गरिरहेका छन् । उनीहरुलाई दशैं आएको वास्तै छैन् । कसैले दयाले दिए खान्छन्, नदिए भोकै सुत्छन् । उनीहरुसँग लगाउने लुगा छैन् । छोप्नुपर्ने अंगसमेत छोप्न लुगा छैन् । अहिले कसैमा सहयोगी भावना छैन् । त्यस्तो मान्छे देखिहाले भनेपनि टाउको अन्ततिर फर्काउँछन् ।
यस्ता बेसहारालाई राख्न सरकारसँग एक टुक्रा जग्गा पनि भएन् । सरकारी, गुठी, सार्वजनिक जग्गा राजनीतिक दल र तिनका आसेपासेले कब्जा गर्दै ठीक भइहाल्यो । अनि निमुखाहरुलाई कसले हेथ्र्यो ? राज्य नै बिकाऊ छ । देश बेच्ने दलाली हो । देश धितो राखेर झण्डै २७ खर्ब ऋण ल्याइसक्यो ।
गैरनागरिकलाई नागरिकता बेच्छ । अपराधिक क्रियाकलाप गर्नेलाई पुरस्कृत गर्छ । अनि, मागेर खानेलाई लखेट्छ । मागेर खान कसैको रहर हुँदैन् । पेट पाल्नकै लागि अर्काको सामुन्ने हात फैलाउन कसलाई रहर लाग्छ ? तर, भोकको अगाडि केही नलाग्दो रहेछ । मान्छेलाई सडकमा मागेर खानुपर्ने बाध्यताका पछाडि तीन–चार वटा कारण छ ।
पहिलोः बैंक–फाइनेन्सका कारण । दोस्रोः मीटरब्याज । तेस्रोः अभिभावकविहिन । चौथौंः स्वास्थ्योपचारमा सबै जायजेथो स्वाहा हुनु । उनीहरु सडकमा माग्न पुगेका हुन् । काँग्रेसका सभापति शेरबहादुर देउवाले केही दिनअगाडि भने,‘अहिलेको सरकारबाट जनता खुशी छन् ।’ त्यसो भए सडकमा माग्नेचाँहि को नि ?
नेपाल त माग्नेको देश भइसकेको छ । सार्वजनिक यातायातमा माग्नेहरु यत्तिकै चढ्छन् । माग्छन्, तर कसैले दिँदैन् । सडकमा माग्नेको संख्या उकालो लागेको छ । पुलमा मागेर बस्नेहरु छ्याप्छ्याप्ती देखिन्छन् । अनि अझैंपनि देश विकास भयो । देश गरिबीको रेखाबाट हट्यो । जनता खुशी छन् भन्न लाज लाग्दैन् ?
भ्रष्टाचार गर्न पाएर उनीहरुचाँहि खुशी होलान् तर जनता छैनन् । नेपालमा गरिबी घट्नुको साटो बढ्दै गएको त देखि नै सकिएको छ । झुठ बोलिरहनुपर्ने आवश्यकता नै छैन् । अनाथ बालबालिका पाल्छौं, ज्येष्ठ नागरिकलाई राखेका छौं भन्ने आश्रमहरु यहाँ अनगिन्ती छन् । तर, तिनको धन्दा भनेर डलरको खेती हो ।
गरिबको गरिबी बेचेर तिनले खाइरहेका छन् । गरिब लगेर पालेकोजस्तो गर्ने अनि झ्वाम्मझ्वाम्म विदेशी डलर पचाउने । सबैभन्दा ठूलो धर्म मानवीय धर्म हो । हामी धर्मकर्मका नाममा लाखौं खर्च गर्छौं तर भोकोलाई एक पेट खान दिन सक्दैनौं । त्यस्तो पनि धर्म हुन्छ ?
भगवान्लाई चढाउनुको साटो भोकालाई खान दियो भने धर्म हुन्छ । उनीहरुले आशिष दिन्छन् । पैसाले मात्र सबथोक हुँदैन् । भनिन्छ नि,‘कि मान्छेले पढेर जान्नुपर्छ कि परेर ।’ हामीकहाँ त साक्षर दर त बढ्यो तर व्यवहारिकता सिकाइएन् । मान्छेले मान्छेलाई गर्नुपर्ने व्यवहार सिकाइएन् ।
न घरपरिवारले नै सिकाए । सरकारले सरकारी कर्मचारीलाई दशैं पेश्की दिन्छ । तर, त्योबाट केही कटाएर गरिबहरुलाई बाँडेको भए हुनेथियो । उनीहरुले पनि दशैं मनाउने थिए । पछिल्लो समय गरिबलाई आफूमाथि चढ्ने सिँढी बनाइएको छ । गरिबलाई केही दिएकोजस्तो गर्ने अनि फोटो खिच्ने ।
सामाजिक सञ्जालमा भाइरल । त्यसपछि अभियन्ता बन्ने कि राजनीतिज्ञ ? डलरको खेती पो गर्ने हो कि ? यो क्रम पछिल्लो समय व्यापक छ । सामाजिक सञ्जालमा हामी त्यस्ता रिल, पोष्टहरु छ्याप्छ्याप्ती भोग्छौं । ती व्यक्तिहरु केही सहयोग गरेझैं गरेर चर्चामा आइरहेका छन् ।
दशैंमा राजनीतिक पार्टीहरुले विभिन्न कार्यक्रम गर्छन् । लाखौं खर्च गर्छन् । नाँच्छन्, गाउँछन् । त्यसको साटो गरिबलाई बोलाएर खान दिएको भए हुने थियो । भ्रष्टाचार गर्दागर्दै बुद्दि भ्रष्ट भइसकेकाहरुमा यस्तो सोच के आउँथ्यो ? अहिले देशमा तीन तहको सरकार छ । तीनै तहमा जनप्रतिनिधि छिन् ।
तर, कुनैपनि तहको सरकार मगन्ते र सडक बालबालिकाको जिम्मा लिन तयार छैन् । नेपाली सेना, प्रहरीले पनि दशैं मनाउँछन् । उनीहरुले पनि गरिबलाई दशैं मनाइदिए राम्रो हुने थियो । राजनीतिक दलहरुले गरिबको नाम बेचे । गरिबको हकमा लड्छौं भने । उल्टै देशचाँहि डुबाए ।
गरिब हिजोपनि गरिब थिए, आज पनि गरिब नै छन् । देशमा लोकतन्त्र गणतन्त्र आयो तर गरिबका लागि आएन् । राज्यले अब सडक बालबालिका र मगन्तेको विवरण संकलन गरोस् । उनीहरु नेपाली हुन् भने संविधानले दिने हकअधिकार दिऔं, अर्काे देशको नागरिक हुन् भने त्यतै पठाइदियौं ।
भक्तपुर