समाज विकासमा महिला र पुरुषको बराबर भूमिका रहेको हुन्छ । कुनै एकलाई पछाडि पारेमा समाज विकासमा विभिन्न समस्याहरू देखिन थाल्दछन् । समाजको अवस्थाको चर्चा गर्दा पहिला पुरुषको दाँजोमा महिलाहरू कम साक्षर देखिन्थे । यसका विभिन्न कारणहरूमा महिलाहरूको लागि बनाइएका विभिन्न संस्कार र परम्पराहरू पनि हुन् जसले गर्दा महिलाहरू घरभित्रै बस्न बाध्य थिए । तर, अहिले महिलाहरू हरेक हिसाबले सक्षम बन्दै गइरहेका छन् । शैक्षिक क्षेत्रमा महिलाले पाएका अवसरकै कारणले हाल विभिन्न उच्च पदमा महिलाहरू पुग्न सकेका छन् । २०७८ को जनगणनाअनुसार महिलाको साक्षरता प्रतिशत ६९. ४ रहेको छ । यसो हेर्दा महिलाको अवस्था केही सुधार भएजस्तो देखिए पनि अझै कुनाकन्दरातिर महिलामाथि हुने हिंसा र विभेद ज्यूँका त्यूँ छन् । कुल जनसङ्ख्याको झण्डै ५२ प्रतिशत महिलाको जनसङ्ख्या रहेको छ । जनसङ्ख्यामा धेरै प्रतिशत रहे पनि व्यवहारिक काम कुरामा महिलाहरू पछाडि परेका छन् । समय समयमा महिलाका हक अधिकारको निकै चर्चा हुने गर्छ ।
संविधानले महिलाहरूलाई विभिन्न अधिकार दिएर सम्पन्न पारेको छ । तर, यति हुँदाहँुदै व्यवहारिक कुरा गर्ने हो भने महिलाहरू पछाडि परेका छन् । एउटी नारी जन्मजात कमजोर हँुदिनन् । उनलाई कमजोर बनाउन अनेक प्रपञ्च रचिएको हुन्छ । आफ्नै अभिभावकबाट नारीलाई कमजोर हुन सिकाइएको हुन्छ किनकि छोरी भनेपछि अरुको घर जाने जात भनी सोचिएको हुन्छ । यही तीतो यथार्थ हिजो पनि थियो आज पनि छ । छोरी जन्मनासाथ सुरु गरिने गलत शिक्षाका कारण पनि नेपाली नारीहरू अघि बढ्न सकिरहेका छैनन् । आफूलाई निकै आधुनिक भन्ने आमाहरू पनि व्यवहारमा आफ्ना छोरीहरूलाई यस्तै शिक्षा दिइरहेका छन् । बुढापाका भन्छन् नि अरुलाई परे कुरा आउँछ आफूलाई परे ज्वरो आउँछ । अभिभावकहरूले पनि आफ्ना छोरीलाई आत्मनिर्भर बन्नुपर्छ भन्ने कुरा थोरै मात्रले सिकाएका होलान् – यो घर तिम्रो हो यसमा तिमीले आफ्ना दाजुभाइसरह अधिकार पाउनेछौ भनी । यदि कसैले नपढी कुनै व्यापार, व्यवसाय सुरुआत गर्छु भनेमा परिवारका सदस्यहरू पहिला राम्रो पढ नपढेमा विवाह गर्न गा¥हो हुन्छ भनी छोरीलाई सम्झाउनतिर लाग्दछन् । यही कुरा छोराले गरेमा तुरुन्तै पुँजी दिन वा लगानी गर्न राजी हुन्छ । कम पढे पनि कमाए भइगयो नि भनिन्छ । सैद्धान्तिकरूपमा ठुला कुरा गरे पनि व्यवहारमा अझै पनि समानता देख्न पाइएको छैन । यसै क्रममा महिलाले विभिन्न किसिमका भूमिका निर्वाह गरिरहेका छन् । आफ्नो भूमिकाले गर्दा पनि उनीहरू विभिन्न क्षेत्रमा अगाडि बढन सकेका हुँदैनन् । तर, त्यस्तो कुरालाई ध्यान नदिई महिलाहरूले केही गर्ने होइनन् भनी चर्चा हुने गर्दछ । परिवारमा महिला र पुरुषको भूमिका समान हुन्छ तर भावनात्मकरूपमा वा भनाँै सामाजिकीकरणको कारण महिलाहरू आफ्नो घरपरिवार र बालबालिकाप्रति बढी झुकाव भएको देखिन्छ । त्यसैले गर्दा कतिपय परिवारमा महिलालाई समान अवसर दिए पनि महिलाहरू अगाडि बढन सकेका हुँदैनन् । कुनै सभा समारोहमा भाग लिने क्रममा पुरुषहरू आज मिटिङ छ भनी खुरुक्क घरबाट निस्कने गर्दछन् तर महिलाहरू घरभान्छाको सम्पूर्ण व्यवस्था मिलाएर मात्र निस्कन सक्छन् । यसले गर्दा महिलाले बाहिरी कार्य वा सामाजिक कार्यमा दिने योगदानमा कमी आएको देखिन्छ, जो महिला त्यस्तो गर्दैनन् उनीहरू समाजमा राम्रो वा उच्च पदमा पुगे पनि उनीहरूको घर व्यवहार बिग्रने गर्दछ । यो एक तीतो यथार्थ हो ।
नेपालको संविधान २०७२ को धारा ३८ मा महिलाको हकबारे यसरी चर्चा गरिएको छ – प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक हुनेछ । हरेक महिलाहरूलाई सुरक्षित मातृत्व र प्रजननको स्वास्थ्यसम्बन्धी हक हुनेछ । महिलाका विरुद्धमा धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोविज्ञान वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिनेछैन । त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ । राज्यका प्रत्येक निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक छ ।
यति हँुदाहँुदै पनि देशमा धेरै छोरी चेलीहरू हिंसा र बलात्कारका सिकार भइरहेका छन् । उनीहरूले वषौँदेखि न्याय पाउन सकेका छैन । महिला त दोस्रो दर्जाको नागरिकको रूपमा ठानिएको भान हुन्छ । दिनरात काममा व्यस्त रहेका महिलामाथि नै विभिन्न किसिमका घरेलु हिंसा भइरहेका छन् । विभिन्न दिवस र उत्सव मनाइरहँदा महिलाका मुद्दाहरू घरका चुलाचौकामा सीमित रहने गरेका छन् । यसरी महिलाहरू दबिनुको पछाडि महिलाका कतिपय कमजोरीहरू देखिन्छन् । जब एक महिलाले विवाह गर्छिन् तब उनको अगाडि नयाँ जिम्मेवारी थपिन थाल्छ । त्यसपछि उनले आफ्नो पढाइ छोडछिन् त्योसँगै आफ्ना रहर, चाहना र लक्ष्यलाई तिलाञ्जली दिने गर्छिन् । जीवनमा आइरहने यस्ता हलचलले महिलालाई मात्र होइन पुरुषलाई पनि असर गरेको हुन्छ । तर पुरुषहरू अगाडि बढिरहेका हुन्छन् । यसको मुख्य कारण उनीहरू आफ्ना कुराहरू खुलेर राख्ने गर्दछन् । यदि यही कुरा महिलाहरूले गर्ने हो भने महिलाहरू पनि पुरुषसरह अगाडि बढ्न सक्दछन् । त्यसैले, हरेक महिलाले आफ्ना जीवनका उतार चढावलाई सकारात्मकरूपमा लिई अगाडि बढे उनको जीवनमा खुसियाली छाउँछ । मानिसको सफलताको मुख्य तङ्खव उसको मनोबल नै हो । उच्च मनोबलसहित सकारात्मक सोचले अगाडि बढे परिवार समाजको उन्नति सुनिश्चित छ ।
२१ औँ शताब्दीमा आएर महिलाहरूले केही साक्षर हुने मौका पाएका छन् । तर पनि उनीहरूको मस्तिष्कमा अरुको घरमा जानुपर्ने, अरुले पाल्ने जात, अरुको सहारामा बस्नुपर्ने, बुबाको सम्पति मेरो होइन, मैले पराइघर जानुपर्छ भन्ने सामाजिक विभेदले महिलाको चेतनाको स्तर नै कमजोर बनाइदिन्छ । अनि ती महिलाहरू आफ्नो कर्तव्य, भाग्यमै यस्तै रहेछ भनी स्वीकार गरी बाँचिरहेका हुन्छन् । त्यसैले महिलाहरू आफ्नो अधिकारभन्दा आफ्नो कर्तव्यलाई सम्झी जीवन बिताइरहेका हुन्छन् । उनीहरूको आफूमाथि भएका नराम्रा कुराहरूको विद्रोह गर्न सक्दैनन् । उनीहरूको मनस्थिति नै कमजोर हुन पुग्दछ । यो स्वाभाविक पनि हो किनभने हाम्रो समाजले महिलाहरूलाई अधिकार होइन कर्तव्यमा बाँच्न सिकाएको छ । जब उनीहरू आफ्नो अधिकारको लागि लड्न अघि सर्छन् तब महिलाहरू समाजको विरोधी हुन्छन् । यस्ता साहसी महिलाका विरुद्धमा गाउँ छिमेकमा विभिन्न नकारात्मक कुरा काटेको हुन्छ । यति हुँदाहँुदै केही साहसी महिला आर्थिक, सामाजिकरूपमा निकै अगाडि बढेर अन्य महिलाको लागि उदाहरण बन्न पुगेका छन् । तमाम बाधा अड्चनलाई पन्छाएर जुनसुकै परिस्थितिमा पनि अगाडि बढ्नुको विकल्प नरहेको कुरा महिला अधिकारकर्मीहरू बताउँछन् ।
संविधानले महिलालाई सशक्त पार्न विभिन्न व्यवस्थाहरू गरेको छः– सरकारी कोटामा ३३ प्रतिशतको व्यवस्था, प्रजननको अधिकार, पैतृक सम्पत्तिमा अधिकार, हरेक उच्च पदहरू १ मा महिला हुनैपर्ने, विधुवा विवाह, अन्तरजातीय विवाह, आमाको नामबाट नागरिकता व्यवस्था इत्यादि । यस्ता व्यवस्थाहरू हुँदाहँुदै धेरै महिलाहरू पीडित हुँदै आएका छन् । सामाजिकरूपमा मात्रै हैन, आर्थिकरूपमा पनि महिलामाथि भेदभाव भएको छ । समान काम गरे पनि महिला भएकै हुनाले उनले पुरुषले भन्दा कम ज्याला पाउने गरेको देखिन्छ । महिलाले जन्मेपछि मात्र होइन जन्मने क्रममै पनि भेदभाव भोग्नुपरिरहेको छ । गर्भमा छोरी भएको थाहा हुनेबित्तिकै गर्भपतन गर्नेहरूको सङ्ख्या पनि बाक्लै देखिन्छ । छोरी जन्मेपछि पालनपोषण मात्र होइन विवाहमा दाइजो दिनुपर्ने प्रथाका कारण पनि यो कुप्रवृत्ति बढ्दै गएको देखिन्छ । पढेलेखेका मानिसहरू यस्ता कुरालाई बढावा दिइरहेका छन् । पहिला लुकीछिपी गैरकानुनीरूपमा गर्भपतन गरिन्थ्यो । हाल यसले कानुनी मान्यता पाएसँगै छोरीको भु्रण हत्या गर्ने क्रम पनि बढेको देखिन्छ । महिलाले केही व्यापार व्यवसाय गर्छु भन्दा सहजै ऋण सुविधा नहुनेजस्ता धेरै समस्याका जालोमा महिलाहरू फसिरहेका छन् । महिलाको अवस्था सुधार गर्न भनिबनेका नियम कानुनले झनै महिलाहरू पीडित भएको भान हुन्छ । जस्तोः– विधवा विवाह गर्नेलाई सरकारले केही रकमको व्यवस्था गरिएको छ, कतिपय पुरुषहरूले एकल महिलासँग विवाह गर्ने, रकम लिने र केही समयपछि ती महिलालाई छोडी दिने समाचार बनिरहेका छन् । महिलाका कपालदेखि लवाइसम्मका कुराको चर्चा गर्ने गरिन्छ । जुन महिलाका नितान्त व्यक्तिगत हुन् । त्यसैले, महिलाका लागि बनेका नियम कानुन महिलाको लागि ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात्’ जस्तै भएको छ ।
नारी र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन् । कुनै एक पाङ्ग्रामा समस्या भयो भने रथ अघि बढ्न सक्दैन । यसै कुरालाई मनन गर्दै महिला र पुरुषलाई समान हक अधिकार दिनुपर्दछ । यसै क्रममा समानतासँगै समतामुखी विकासको नीति तथा कार्यक्रमको तर्जुमा हुनु जरुरी छ । हरेक क्षेत्रमा महिला सहभागी हुने खालको वातावरण बनाउन आवश्यक छ । समान सहभागिताले मात्र समग्र देशको विकास हुन सक्दछ ।