रणजित मल्लको पारिवारिक स्थिति
भक्तपुरमा अन्तिम राजा रणजित मल्लको पारिवारिक स्थिति अथवा अवस्था अति नै कलहपूर्ण देखापर्छ । उनका मठ्या छोराहरू ‘सात बहालेका’ संज्ञाले त्यतिखेर अत्यन्त चर्चित पाइन्छन् । तिनीहरूकै कारणले भक्तपुरमा पृथ्वीनारायण शाहको हमला सहज भएको निष्कर्ष पनि पाइन्छ । गरूडनारायण गोँगलको प्रस्तुत संस्मरणले पनि त्यस्तै गतिविधिहरूको सङ्केत अवश्य दिन्छ ।
रणजित मल्लका अन्तिम समयमा भक्तपुर दरबारमा ३ जना मठ्या रानीहरू भएको प्रसङ्ग गरूडनारायणले चर्चा गरेका छन् । तिनमा कान्छी रानी उनकै साथ काशीवासमा सँगै लगिएकी र काशीमा नै तिनले छोरीलाई जन्म दिए पनि गङ्गालाभ भएर पछि त आफै पनि उहीँ दिवङ्गत भएको कुरा प्रस्तुत संस्मरणमा नभए पनि भाषा वंशावलीबाट जानकारी मिल्छ । त्यसबाट रणजित मल्लले अन्तिम समयमा भक्तपुर छँदै कान्छी रानीलाई मात्र साथ लिन चाहेको रहस्य खुलेको छ ।
अब रणजित मल्लका मठ्या छोराहरूमा ३ जना धनजुजु, डाटिम्ह जुजु (अच्युत सिंह) र मेल डाटि भक्तपुर पतन हुँदादेखि कैदमा राखिएको भनेर गरूडनारायण गोँगलले लेखेका छन् । यिनै ३ जना छोराहरूमध्ये धनजुजु (धनसिंह मल्ल) र डाटिम्ह जुजु (अच्युत सिंह मल्ल) ले आफ्ना बाबुलाई आत्मसमर्पण गराउने भूमिका समेत निर्वाह गरेको देखिन्छ । अर्को छोरा मेल डाटि (दोस्रो माहिला) को नामसमेत दिएका छैनन् गरूडनारायणले । उनले चर्चा नगरेको अवधूतसिंहको उल्लेख माथि प्रसङ्गवश भइसकेको छ । यसरी रणजित मल्लका ४ जना छोराहरूका अतिरिक्त अन्य ३ जनाको विषयमा पनि अध्ययन हुन सकेको छैन ।
आफ्ना चर्चित ३ जना छोराहरूको बन्धन मुक्तिका लागि बुढा राजा रणजित मल्लले नेपाल छाड्ने बखत पृथ्वीनारायण शाहसित अनुरोध गरेको कुरा गरूडनारायणले यहाँ चर्चा गरेका छन् । तर, पृथ्वीनारायण शाहले यसमा स्वीकृति नदिँदा नेलसहित आफ्ना बाबुको बिदाइ दर्शन गर्न भक्तपुरदेखि काठमाडौँ वसन्तपुर दरबारसम्म ल्याइएका कुराले भने यहाँ स्थान पाएका छन् । तर, त्यस क्रममा डाटिम्ह अच्युत सिंह मल्लको नेल हतकडीमै काठमाडौँमा मृत्यु भएको घटना एकदम हृदयस्पर्शी छ । त्यसैले रणजित मल्ल काशी गएपछि धनसिंह र मेल डाटिलाई बन्धन फुक्का गरिदिएको पृथ्वीनारायण शाहकै पत्र पाइएको छ ।
रणजित मल्लका छोराहरूमात्र होइन छोरीतर्फका ज्वाइँसमेत भक्तपुरमा प्रभावशाली देखिएका छन् । तिनमा गोर्खाली हमला भइराखेका बेला चौकोट दरबारमा सुरक्षित पुग्ने सभासद्हरूका पङ्क्तिमा ‘धोकम्ह जीलचा’ भनेर रणजित मल्लकी जेठी छोरी ज्वाइँको उल्लेख गरूडनारायणको संस्मरणमा पाइन्छ तर उनको नाउँ भने खुल्दैन त्यहाँ । यसरी बुढा राजाको जेठी छोरी र ज्वाइँको चर्चा आउनुमा पनि उनी त्यतिखेर त्यहाँ शासन सत्ताकै एउटा सदस्य रहेको हुनुपर्छ । माथि चर्चित पृथ्वीनारायण शाहको लालमोहरमा रणजित मल्लका छोराहरूका साथ ज्वाइँ जयनारायणको पनि उल्लेख हुनाले यसतर्फ पनि विचार गर्नुपर्ने सङ्केत मिल्छ । यसरी रणजित मल्लको शासकीय सत्ता छँदा भक्तपुरमा उनका ज्वाइँ जयनारायणको प्रभाव पनि अनुमानगम्य नै हुन्छ ।
माथि चर्चित पृथ्वीनारायण शाहको लालमोहर यस्तो छ :
श्री दुर्गाज्यू
स्वस्तिश्री मन्महाराजधिराजकस्यरूक्का –
आगे रंजीत मलका छोरा धनजुजु मल, डाटी, जुवाइ जैनारायण कन भादगाऊंका अठार हजारका सरहको सलामी पनी सर्कार चहा¥यौ, पोता पनी तिर्दैछौ तम्रो घर खेत वारी घट्ट जो हीजो तम्रा वावाले सुना विर्ता गरी दीयाको हामीले पनी थामी बक्स्याको छ, षातिर्जम्मासंग भोग्य गर, इति सम्वत् १८२९ वैशाख सुदी ११ रोज ४ मुकाम कांतीपुर राजधानी शुभं
‘पूर्णिमा’ पूर्णाङ्क ७७ (पृष्ठ १७), संशोधन मण्डल ।
संस्मरणको साहित्यिक मूल्य
गरूडनारायण गोँगलले आफ्नो समसामयिक भक्तपुरमा राजनीतिक दृष्टिले पराजित पक्षको मानसिकता उद्घाटन गर्न निकै सफलता प्राप्त गर्न सकेको छ । भक्तपुर राजकुल तूं चोक संझ्याल बैठकमा भएको रणजित मल्ल र पृथ्वीनारायण शाहका बिचको परिसंवाद अत्यन्त मार्मिक लाग्छ । पृथ्वीनारायण शाहले रणजित मल्लसित आखिरी इच्छा सोधनी गर्दा त्यसलाई व्यक्त गर्न कति गा¥हो परेको रहेछ सो कुरा गरूडनारायणले आफू दृष्ट साक्षी भएर संस्मरणमा घतलाग्दो पाराले व्यक्त गरेका छन् ।
आफू पराजित पक्ष हुनाले आफ्नो आखिरी जो इच्छा हो त्यसलाई विजेताले पूरा गरिदेला भन्ने बुढा राजा रणजित मल्ललाई कुनै विश्वास थिएन होला । न त एउटा हारेका राजाले त्यस्तो माग गर्ला भनेर विजेता पृथ्वीनारायण शाहले सोच्न सकेका थिए । त्यसैले, माग्ने र दिने दुवै पक्षले अन्तमा (माग पूरा हुँदा) आ–आफ्नो हाँसो हाँसेका छन् । प्रकारान्तरले रणजित मल्लको काशीवासको इच्छा पूरा हुनु भनेको हार्ने पक्षका लागि एउटा मुक्ति नै हो जुन त्यति खेरको राजनीतिक परिप्रेक्ष्यमा सोच्न अलि गा¥हो पर्छ । यही नै यस संस्मरणको उच्च साहित्यिक मूल्य ठहर्छ ।
बुढा राजा रणजित मल्लको रूजु सेवार्थ त्यतिखेर जीवित तीनैजना रानीहरूलाई पठाइदिने प्रस्ताव पृथ्वीनारायण शाहले राख्ता त्यसलाई बुढा राजाले कतै स्वीकार नगर्नु र अन्त्यमा धेरै जोड गरेपछि कान्छी रानीलाई मात्र साथमा राख्ने इच्छा व्यक्त हुनु पनि वृद्ध मानसिकताकै चित्रण भन्नु पर्छ तर त्यसको पनि खास कारण रहेछ जुन काशीवासको अवस्थाबाट बुझ्न सकिन्छ ।
त्यस्तै, निवृत्त राजाले आफ्नो सेवामा लेखक गरूडनारायण गोँगललाई लिएर जाने कुरामा भएका परिसंवाद र अन्त्यमा युवक गरूडनारायण गोँगलको आकाङ्क्षा पूरा नहुने तारतम्य जुट्नु पनि एउटा नाटकीय घटनाक्रमझैँ देखापर्छ । यिनै पक्षले प्रस्तुत संस्मरणको धेरै भाग ओगटेका छन् । यिनै चर्चित प्रसङ्गले गर्दा संस्मरणको साहित्यिक मूल्याङ्कनको पक्षमा उभिन हामीलाई उक्साउँछ ।
भक्तपुर राज्यको विशेषता : जानपद प्रभाव
गरूडनारायण गोँगलको यस संस्मरणले भक्तपुर राज्यको राजनैतिक वैशिष्टयलाई पुनः एकपटक अन्तिमरूपमा स्पष्ट पारेको छ । जनसाधारणको राय नै त्यहाँको राजनीति सञ्चालित हुने कुरामा थप पुष्टि मिलेको छ । कान्तिपुरबाट राजा जयप्रकाश मल्ल उम्केर भक्तपुरमा पुग्दा नगरवासीहरूको राय बुझेरमात्र उनलाई बुढा राजा रणजित मल्लले राजनीतिक शरण दिने आफ्नो निर्णय अम्मल गरेका थिए । त्यसको परिणाम जे हुन्छ त्यो कुरा राजा र सभासद्हरूका साथ जनताले पनि अड्कल नगरेको भने अवश्य होइन । तर, सबैजना नियतिलाई भोग्न तयार भए । भक्तपुर राज्यको यस विशेषताले इतिहास दर्शनमा जानपद प्रभावलाई अध्ययन गर्न पनि सघाउ पु¥याउँछ । यसको पक्षमा हाम्रो यहाँ कमैमात्र चर्चा पाइन्छ ।
संस्मरण विधामा ज्येष्ठ कृति
गरूडनारायण गोँगलको प्रस्तुत संस्मरण नेपालमा उपलब्ध आजसम्मका संस्मरण साहित्यमा सबैभन्दा जेठो कृतिका रूपमा गणना हुन्छ । अझ, पृथ्वीनारायण शाहको भक्तपुर युद्धलाई आफ्नै आँखाले देखेर गरेको बयान हुनाले यसले समकालिक इतिहासकै मूल्याङ्कन गर्ने क्षमता पनि राख्तछ । यसको छविचित्र (Facsimile) अहिले प्रकाशित गर्ने तारतम्य जुरेकाले यसको ऐतिहासिक मूल्यमा अझै वृद्धि हुन्छ । ग्रन्थकारको यस अपेक्षालाई आउँदा राजनीतिक तथा सामाजिक अध्ययनले जनाउने छ ।
हुन त पृथ्वीनारायण शाहले आफ्नो अन्तिम घडीमा नुवाकोटमा रहँदा बोलेका उपदेशमा उनका तीता मीठा संस्मरणहरू घोलिएर रहेका पाइन्छन् । तर, त्यो उपदेशकै रूपमा एउटा सफल शासकको नीति निर्देश प्रधान राजनीतिक दस्ताबेज हो । विशुद्ध संस्मरण साहित्यको विधाभित्र पर्दैन । अनि, गरूडनारायण गोँगलको प्रस्तुत संस्मरणले भने निख्खर साहित्यिक मूल्य बोकेर नेपाली भाषामा नै झुल्केको छ भन्दा अत्युक्ति हुँदैन ।
पृथ्वीनारायण शाहको उपदेशभन्दा मात्र १५ वर्षले कान्छो यो संस्मरण नेपालमा मल्ल राज्यहरूको दिनान्त भएर एकीकृत नेपालको पुनर्जगेर्ना भएको २० वर्षपछि लेखिएको छ । शासकीय स्तरबाट होइन, सामान्य जनस्तरबाट लेखिएको यही कृतिले नेपालीमा गद्यको सुप्रभात ल्याएको छ भने नेपालमा राजनीतिक चेतनायुक्त यथार्थवादी संस्मरण साहित्यको त श्रीगणेश नै गरिदिएको छ ।
गरूडनारायण गोँगलको यस संस्मरणले उत्तर मध्यकालिक इतिहासको लागि एउटा थप स्रोत पनि निःसृत गरिदिएको छ । त्यो पनि राजनीतिक इतिहासकै शुद्धीकरणमा प्रशस्त योगदान गर्न सक्षम, मध्यकालिक आखिरी युद्धकै चश्मदीद प्रवक्ता भएर उभिनाले यस संस्मरणको उपलब्धि अथवा खोजकै मूल्याङ्कन बहुविधरूपमा धेरै पछिसम्म भइरहनेछ ।
पं. ललितावल्लभको ‘भक्त विजय’ काव्य सङ्क्षिप्त चर्चा
पृथ्वीनारायण शाहले भक्तपुरमाथि आफूले विजय गरेको उद्घोष स्वरूप आफ्ना सभासद् पं. ललितावल्लभद्वारा ‘भक्त विजय’ का नामले एउटा काव्य लेखाएका छन् । यो काव्य नेपालीमा अनुवादसहित सं. २००८ सालमा चौ. फतेजङ पराक्रम साहद्वारा प्रकाशित गरिएको छ । १०८ श्लोकमात्र भएको यो सानो काव्यको रचना भक्तपुर हमलाको लगत्तै लेखेर सं. १८२६ फागुनमा नै पूरा गरेको देखिन्छ ।
भक्तपुर विजयले पृथ्वीनारायण शाहको २५ वर्षको चिर अभिलाषा पूरा भएकोले यसलाई उनले ठूलो महत्व दिनु त स्वाभाविक पनि थियो । त्यसैको फलस्वरूप ‘भक्त विजय’ काव्यले मूर्त रूप लिएको हो । परन्तु, यस काव्यले भक्तपुरमा गोर्खाली हमलाको यथार्थ चित्रण गर्दैन । गरूडनारायणले जस्तो आफ्नै आँखाले देखे, भोगेका युद्धस्थलको वर्णन गर्न सक्ने अवस्थामा ललितावल्लभ थिएनन् पनि होला ।
भक्तपुर दरबारमा गोर्खाली हमला हुँदा केही हदसम्म प्रतिकार गर्ने पक्षमा जयप्रकाश मल्लका नगरकोटी सिपाहीहरू मात्र थिए । यस कुरामा गरूडनारायणको आँखा देखालो बयान र ललितावल्लभको कथन केही मेल खान्छ । तर, जयप्रकाश मल्ललाई युद्धवीरको रूपमा जस्तो चित्रण गरिएको छ त्यो भने विजेताको स्वार्थ अनुकूलमात्र भन्न सकिन्छ :
जयप्रकाशस्य मनस्विनो s पि
तथैव तत्रा s दलि तो न को s पि ।
धीर सः मल्लो मुमुधे s त्य मर्षी
संग्राम शीर्षे s मित शस्त्र वर्षी ।। [५१]
[स्वाभिमानी जयप्रकाशका पनि घाइते नभएका वीर त्यहाँ कोही भएनन् । ती धीर मल्ल राजा पनि अति रिसाएर युद्धमा प्रशस्त शस्त्र बर्साउँदै लड्न लागे ।] अनि जयप्रकाशको सैनिक परिचालनभन्दा केही अघि भक्तपुर दरबारमा रहेका भोटे सुरक्षा बलले केही बेर गोर्खालीहरूमाथि जवाफी हमला गर्दै रहेको बयान गरूडनारायणले गरेका छन् । यही कुरालाई कवि ललितावल्लभले पनि सङ्केत गरेको पाइन्छ :
तत्र प्रजघ्नुः करवाल हस्ताः
काम्बोजकाः कोटिश आशु शस्ताः
गोरक्ष वीराः परवीर सङ्घम्
चक्रुः क्षणान्तं दलितो रूजङ्घम् ।। [५०]
[त्यहाँ तरबार हातमा लिएर असङ्ख्य योग्य काम्वोज (भोटे) सेनाले झटपट प्रहार गर्न थाले, तिनलाई गोर्खालीहरूले उत्तिखेरै खुट्टा भाँचेर लडाइदिए ।] यसरी, ललितावल्लभको काव्य भक्तपुर युद्धको सम्झनामा उत्तिखैरै काल्पनिक ढङ्गमा काठमाडौँमा बसेर लेखिएको देखापर्छ । तर, गरूडनारायणले आफ्नो संस्मरण लेख्ता यो घटना बितेको २० वर्ष भइसकेको हुन्छ । तैपनि, गरूडनारायण गोँगलको संस्मरण इतिहासको कसीमा खरो उत्रन्छ, न कि ललितावल्लभ ।
ललितावल्लभको काव्यले गोँगलको संस्मरण अध्ययन गर्न खास केही सहयोग पु¥याउँदैन । यसबाट पनि भक्तपुरमा हमला गर्ने गोर्खाली सेनामा स्वयं पृथ्वीनारायण शाहको उपस्थिति रह्यो । तर, युद्ध सञ्चालन उनका कान्छा भाइ शूरप्रताप शाहले गरेका थिए । गोर्खाली सेनातर्फ सक्रिय रहेका सर्दार केहरसिंह बस्नेत, प्रभु मल ठाकुर (प्रभुनारायण मल्ल), सुवेदार वली बानिया, सुवेदार कीर्तिसिंह, सुवेदार विश्राम (खत्री ?), सुवेदार अतिवल विष्टहरूको चर्चा गरूडनारायणले गरेका छन् । तर, ललितावल्लभले यस युद्धमा जाने धेरै सेनापतिहरूको चर्चा गरेका छन् । तिनको पुष्टि गर्ने ऐतिहासिक दस्ताबेज भने अब भेटिँदैन । गरूडनारायणले भनेका सुवेदार वली बानिया, अतिवल विष्टको चर्चा भाषा वंशावलीमा पनि परेका छन् । तर, तिनको चर्चा ललितावल्लभले भने गरेका छैनन् । यसबाट उनको कवितामा प्रश्न गर्ने ठाउँ रहन्छ ।