प्रकाश तजले
म बाबासँगै कारमा काठमाडौँबाट फर्किँदै थिएँ । ट्राफिक लाइटमा कार रोकियो । म एकनासले ट्राफिक लाइटको रातो बत्ती हेर्दै थिएँ । यतिकैमा मलाई कक्षामा बनाएको ट्राफिक लाइटको चित्र याद आयो । मेरो टिचरले राम्रो चित्र बनाई ट्राफिक लाइटबारे लेखेकोमा स्याबासी दिनुभएको घटना सम्झिँदै थिएँ । एक्कासि कारको सिसामा कसैले ‘ध्याप ध्याप’ हानेको चर्को आवाजले म तर्सेँ । यसो हेर्छु, म त कारमा र कार ट्राफिक लाइटमा रोकिएको थियो ।
कसले हाम्रो कारको सिसामा हानेछ भनेर हेरेँ । ८/१० वर्षकी एउटी केटी हाम्रो कारसँगै उभिएको देखेँ । केटीले तीन–चार ठाउँ टालेको पुरानो कपडा लगाएकी थिई । ऊ हेर्दै फोहारी देखिन्थी । मैले कारको सिसा तल सारेँ ।
तिनको हातले मैले खाँदै गरेको ब्रेडतर्फ इसारा गर्यो । म एकछिन अल्मलिएँ । एकाएक माया लागेर आयो । मसँग भएको ब्रेड र केक दुइटै उसलाई दिएँ । बाबाले पनि पचास रूपैयाँ दिनुभयो । उनी खुसी हुँदै गइन् । एकछिनपछि ट्राफिक जाम खुल्यो र हाम्रो घर फर्किने यात्राले निरन्तरता पायो ।
कारको गतिसँगै मेरो दिमाग पनि गुड्दै थियो । एकनासले त्यही माग्ने केटीको यादले सताइरहेको थियो ।
मैले बाबालाई सोधेँ, “ऊ को हो र किन हामीसँग पैसा मागेको होला ?” बाबाले भन्नुभयो, “ऊ बेसहारा केटी हो ।”
मैले प्रश्न गरेँ, “किन मागेर खाएको होला ?” बाबाले भन्नुभयो, “सायद उसको आमाबुबा छैन होला ।”
“उसलाई स्कूल जानुपर्दैन त ?” मैले फेरि प्रश्न गरेँ ।
बुबाले प्रतिप्रश्न गर्नुभयो, “मागेर खानेले स्कूलमा कसरी पैसा तिर्छ त ? यस्तो बाबुनानीहरू यो देशमा धेरै छन् ?”
म चुप लागेँ । तर, मनमा धेरै कुरा खेल्यो । एकछिनपछि फेरी मेरो मन कक्षाकोठामा पुग्यो ।
टिचरले कक्षाकोठामा पढाउनुभएको कुरा याद आयो, “१८ वर्षमुनिकालाई बालबालिका भनिन्छ । प्रत्येक बालबालिकाले लेखपढ गर्न पाउनुपर्छ, खेल्न पाउनुपर्छ, समान अवसर पाउनुपर्छ, राम्रो र पोषणयुक्त खाना पाउनुपर्छ । यी सबै बाल अधिकारभित्र पर्छ ।”
जे होस्, मैले बाल अधिकार धेरै पाएको रहेछु । तर, त्यो केटी र उनीजस्ता अरु बालबालिकाले खै त अधिकार पाएको ? म आफैले आफैलाई प्रश्न गर्छु । तर, जवाफ मेरो कलिलो दिमागले भेटाउन सकेन ।
एक छिनपछि फेरि त्यहीँ मायालु अनुहारको याद आयो । “के गर्दै होलिन् उनी ? अघि मैले दिएको ब्रेड र केक खाइसक्यो होला कि !” मनमा अनेक प्रश्नले मलाई प्रहार गर्दै थियो ।
अचानक उनी मेरोसामु आइपुगिन् ।
मैले उसलाई सोधेँ, “तिम्रो नाम के हो ?” उनले जवाफ दिइन्, “मेरो नाम प्राप्ति हो ।”
मैले पुनः प्रश्न गरेँ, “किन तिमी माग्दै हिँडेको ? तिमीलाई स्कूल जान मन पर्दैन ? खेल्न मन पर्दैन ?”
उनी अचानक रून थालिन् । मलाई अचम्म लाग्यो । के गर्ने अन्योल पनि भयो । यतिकैमा उनले आँसु पुछ्दै जवाफ दिइन्, “मसँग पैसा छैन । मलाई हुर्काउने मेरो आमाबुबा पनि म चिन्दिनँ । तर, मेरो सपना र रहरको ठुलो भकारी छ । तर, हाम्रो रहर र सपना कसले पूरा गरिदिन्छन् र ?”
मैले कक्षामा टिचरले भन्नुभएको कुरा बिस्तारै उसलाई सुनाएँ, “प्रत्येक बालबालिकाले बाल अधिकार पाउनुपर्छ । नेपालको संविधानले पनि यो कुरा स्पष्ट भनेको छ । त्यसैले, यो सरकारको जिम्मेवारी हो ।”
मेरो कुरामा उसले केही पनि नबुझेको भाव देखाइन् । मैले उसलाई अझ बुझाउन खोज्दै थिएँ । अचानक कता कताबाट आएर उसलाई एउटा गाडीले हान्यो र गाडी भाग्यो ।
म चिच्याएँ, “प्राप्ति ईई… ।” बाबाले आत्तिएर कार रोक्नुभयो र मलाई सोध्नुभयो, “के भयो राजा…. । को हो यो प्राप्ति ?” म चुपचाप टोलाइरहेँ । मैले आत्तिँदै सोधेँ, “म कहाँ छु ? म.. म कहाँ छु ?” मेरो हालत देखेर बाबा पनि आत्तिनुभयो । बाबाले भन्नुभयो, “हामी घर आइपुग्यौँ । अब बिस्तारै तल झर ।”
म अलमलमा परेँ । एकछिन मैले दायाँबायाँ हेरेँ । अनिमात्र थाहा पाएँ, “मैले त सपना पो देखेको रहेछु । मैले कामना गरेँ कि मेरो यो सपना साकार नहोस् तर त्यो अपरिचित केटीको सपना र रहर चाहिँ पूरा होस् ।