जेरेमी कुजमारोभ
सन् २००१ जून १ को रात । एक नेपाली राजनीतिज्ञकी छोरीसँग बिहे गरेको खण्डमा आफ्नो घरपरिवारले आफूलाई बहिष्कार गर्ने डरमा प्रेमले पागल नेपाली युवराजले अनेक स्वचालित राइफलले आफ्नो परिवारमाथि गोलीबारी गरे । त्यसमा परेर राजा र रानीसहित परिवारका अन्य आठजना मारिए ।
युवराज दीपेन्द्र वीर विक्रम शाहदेव अघिअघि पनि लागुऔषध र रक्सी सेवन गरी मात्तिरहन्थे । भनिन्छ, त्यो दिन पनि उनी नशामा थिए । सैन्य पोशाक लगाएका उनी मारकाटपछि पारिवारिक कक्षबाट बाहिरिए र आफ्नै टाउकोमा गोली हानेर उनले आत्महत्या गरे ।
दरबार हत्याकाण्डको आधिकारिक कहानी यही हो । यो कहानीमा केही प्रारम्भिक रिपोर्टहरूले प्रश्न उठाएका थिए । ती रिपोर्टअनुसार त्यो रात राजदरबारवरिपरि नेपालमा नभएका रात्री हेलिकप्टरहरू घुमिरहेका थिए । साथै, एउटा गोली चलेको आवाज आएपछि लास भरिएका ट्रकहरू दरबारबाहिर देखिए । लास आगोले जलेको अवस्थामा थिए र तिनको खरानी सिधै त्रिशुली नदीमा लगेर विसर्जन गरिएको थियो ।
जोसेफ आर. पियट्री धेरै वर्ष नेपालमै बसेर गाँजाको व्यापारमा लागेका कुनै बेलाका हिप्पी हुन् । सन् २००६ मा उनको आत्मसंस्मरण ‘नेपालका राजा : लागुपदार्थ युद्धअघिको जीवन’ (The King of Nepal : Life Before the Drug Wars, 2006) प्रकाशित भयो । पुस्तकमा उनले हत्याकाण्डअघिका दिनहरूको वर्णन गरेका छन् । घटनाअघि अमेरिकी सेनाजस्तो लाग्ने एउटा शङ्कास्पद समूह राजधानी काठमाडौँको बौद्धस्थित होटल हयातमा बसेको थियो ।
ती अमेरिकीहरू सबैसँग आफूहरूलाई पाटनमा (भक्तपुर जिल्ला अस्पतालको आकस्मिक सेवा भवन निर्माणमा पनि अमेरिकी सेना संलग्न थिए–सं) निर्माण भइरहेको एउटा नयाँ अस्पतालको निर्माण टोली हौँ भन्थे । यद्यपि, ‘(अमेरिकी अभिनेता) ¥याम्बोजस्ता देखिने तिनीहरू बौद्धमा हाँसको बथानमा बकुल्लाजस्ता’ देखिन्थे । पियट्री लेख्छन्, “तिनका प्रत्येक चालचलनमा तिनले लिएको सैन्य तालिम झल्किन्थ्यो ।”
पियट्री प्रश्न गर्छन्, “हत्याको रात देखापरेका रात्रि ब्ल्याक हक हेलिकप्टरलाई त्यही उच्च तालिम प्राप्त समूहले निर्देशन गरेको त थिएन ? कतै तिनीहरू दरबारमाथि हमला गरी शाही परिवारलाई सखाप पार्ने कुनै निजी हत्यारा टोलीको सम्पर्क सञ्जाल सञ्चालन गर्ने प्रथम लडाकाहरू त थिएनन् ?”
पियट्री लेख्छन्, “एकाएक देखापरेका यी ¥याम्बोहरू हत्याको अलमलबिच अलप भए । तिनको बारेमा नेपालमा पछि कहिल्यै केही सुनिएन ।” (पेज २०४)
मारिएका राजा वीरेन्द्रको उदार राजनीतिक विचार र देशभक्तिलाई ‘साम्राज्यवादी र विस्तारवादी शक्तिहरू अर्थात् भारत, संरा अमेरिका र बेलायत’ कमजोरी ठान्थे । (पेज २०३) यस तथ्यलाई पियट्रीले हत्याको मूल कारण बताएका छन् ।
सन् १९९० मा काठमाडौँमा प्रजातन्त्र पक्षधर जनआन्दोलन सुरु भयो । वीरेन्द्र आन्दोलनकारीहरूको पक्षमा गए र उनले ‘प्रजातान्त्रिक राजतन्त्र’, राजनीतिक दललाई वैधता एवम् संसद् स्थापना गर्न अनुमति दिए । अझ अघि बढेर माओवादीको नेतृत्वमा भएको ‘जनक्रान्ति’ लाई दबाउन राजा वीरेन्द्रले शाही नेपाली सेना परिचालन गर्न अस्वीकार गरे ।
पियट्री उल्लेख गर्छन्, (अमेरिकी गुप्तचर निकाय) ‘सीआईए’ सँगको नेपालको शाही परिवारको सम्बन्ध पुरानो थियो । सन् १९६० को दशकको आरम्भतिर नै चिनियाँहरूसँग भिड्न तिब्बती छापामारहरूलाई ‘सीआईए’ ले तालिम दिएको थियो । नेपाली सीमामा रहेको लो मुस्ताङमा ती छापामारको आधार शिविर थियो । त्यहीबाट ‘सीआईए’ सँग नेपाली राजपरिवारको उठबस सुरु भएको थियो ।
कम्युनिस्ट चीनलाई कमजोर र अस्थिर बनाउने प्रयासमा ‘सीआईए’ ले तिब्बतको पृथकतावादी आन्दोलनलाई सघायो । अमेरिकाको पुँजीवादी स्वार्थमाथि आँच पु¥याउँदै चीनको अर्थतन्त्रमाथि पकड जमाएर नौलो वैकल्पिक तथा आकर्षक आर्थिक मोडल प्रस्तुत गरेकोमा कम्युनिस्ट चीन ‘सीआईए’ को तारो बनेको थियो ।
तिब्बती छापामारहरूलाई एक ट्रक हतियार पु¥याउँदै गर्दा गाडी चालकको भेषमा रहेका युएसएडका प्रमुख एकचोटि पक्राउ परेका थिए । प्रशस्त घुस खुवाएर ती हतियारलाई गन्तव्यमा पु¥याइएको थियो । (पेज २०२)
पियट्री जोड दिएर लेख्छन्, २००१ जून १ मा राजा वीरेन्द्र मारिए र त्यसको एक महिनाभित्र शाही नेपाली सेनालाई उन्नत खालका अमेरिकी सम्पर्क उपकरण, हतियार र सल्लाहकारको रूपमा अमेरिकी सैनिकहरू उपलब्ध गराइएको थियो ।
नयाँ राजा ज्ञानेन्द्रको सरकारी सेनालाई टेवा दिन अमेरिकी सिपाहीहरू विमान लिएर उडिरहेका देखिन्थे । माओवादी विद्रोहलाई दबाउन खटिएको यो दृश्यलाई पियट्री भियतनामसँग तुलना गर्छन् । (पेज २०४)
भियतनाममा जस्तै माओवादीहरूले जनतालाई हातमा लिएर अधिकांश गाउँले इलाका आफ्नो नियन्त्रणमा लिइसकेका थिए ।
सन् २००१ को दरबार हत्याकाण्ड एउटा ठाडो ‘कू’ थियो, जसमा युवराज दीपेन्द्रलाई बलिको बोको बनाइएको थियो ।
पियट्री भन्छन्, हत्याको रात राजकुमार पारस शाहले राजदरबारको बार चलाएका थिए र उनले युवराज दीपेन्द्रलाई लागुपदार्थले लठ्याए । त्यसपछि दीपेन्द्रलाई बालाजुको सैनिक छाउनीमा लगियो । ‘कू’ विफल भएको खण्डमा सौदाबाजीको वस्तु बनाउन उनलाई त्यहाँ लगिएको थियो । (पेज २०५)
अकस्मात आकाशमा ब्ल्याक हक हेलिकप्टरहरू देखापरे र भित्रियाहरूकै सहयोगमा नेपाली मकुन्डो लगाएका टोलीहरूले दरबारमा आक्रमण गरे । गोली हानाहान भयो र दरबारको सुरक्षा घेरा नष्ट गरियो । (पेज २०५) (ट्रकभरि यिनै सुरक्षा गार्डको लास थियो भन्ने बुझिन्छ ।) ज्ञानेन्द्रलाई राजा बन्नबाट रोक्न सक्ने सबैलाई मारियो ।
युवराज दीपेन्द्रले पिस्तोलले आफ्नो टाउकोमा हानेर आत्महत्या गरिएको भनियो । यद्यपि, युवराज दाहिने–हाते थिए र उनको देब्रे कन्चटमा गोली हानियो । सब काम तमाम भयो भन्ने सङ्केत पाएपछि नै उनलाई मारिएको हुनसक्छ । त्यसपछि उनको मृत शरीरलाई हटाइयो र सैनिक अस्पताल लगियो । त्यहाँ उनलाई अधमरो अवस्थामा उपचार गरिँदै छ भनियो, वास्तवमा उनी मरिसकेका थिए । (पेज २०५)
विमानस्थलका भरिया मजदुरले बताएअनुसार त्यो रात ज्ञानेन्द्रको निजी विमानलाई उड्न तम्तयार अवस्थामा राखिएको थियो । ‘कू’ विफल भएको खण्डमा ज्ञानेन्द्र र उनको परिवारलाई विदेश भगाउन त्यो तारतम्य मिलाइएको थियो । पियट्री लेख्छन्, “यो पूर्णतया नियोजित र मञ्चित घटना थियो । घटनामा भारत, बेलायत, अमेरिकाका सरकारहरू र निःसन्देह शाही नेपाली सेनाको आशीर्वाद र सहयोग थियो ।” (पेज २०५)
पियट्री थप लेख्छन्, “नेपालमा आफ्ना ‘देवराज’ को हत्या गर्ने कसैसँग हिम्मत थिएन । त्यसकारण, हत्या व्यवसायिक विज्ञहरूको निजी टोलीले गरेको थियो र कसैले सुइँको पाउनुअघि नै त्यो टोली फरार भएको थियो । दरबारमा राजा वीरेन्द्रप्रति बफादार सबैलाई मारियो र नेपालमा पुनः वीरेन्द्रका बाबु महेन्द्रको कठोर शासन भित्रियो ।” (पेज २०५)
माओवादीहरूलाई दबाउनुका साथै नेपालको कूबाट अमेरिकाले लाभ पाइहाल्यो । सेप्टेम्बर ११ को घटनालगत्तै नयाँ राजा ज्ञानेन्द्र ‘आतङ्कवादविरोधी युद्धको गाडीमा बसिहाले’ र अफगानिस्तानमाथि बमबारी गरेर थाकेका अमेरिकी बोइङ बी–५२ बमवर्षक विमानलाई हिमालयमाथि उडान भर्न दिए । (पेज २०५)
ज्ञानेन्द्रले भारतीय सीमाबाट हिमालय छिचोल्दै तिब्बती पठारसम्म पुग्ने लो मुस्ताङसम्म एउटा सडक निर्माण गरे । चीनविरुद्ध अग्रमोर्चा बनाउनका लागि त्यो सडकले भूमिका खेल्ने भयो ।
पियट्री लेख्छन्, ज्ञानेन्द्रको नेतृत्वमा काठमाडौँ सन् १९६० को दशकको साइगोन बन्यो । माओवादी लडाकुहरूविरुद्ध विदेशी सैनिकहरू सहरी युद्धमा व्यस्त भए ।
सत्तापिपासु राजा ज्ञानेन्द्रले जनताका सम्पूर्ण अधिकार खोस्ने शाही फर्मान जारी गरे । माओवादीहरूले उनलाई गद्दीच्युत गर्न भूमिका खेले । अन्ततः नेपालमा राजतन्त्रको अन्त्य भयो र माओवादीहरू शक्तिशाली बने । (आज नेपालमा ‘कम्युनिस्ट पार्टी’ कै शासन छ । प्रचण्ड सरकारलाई चीनबाट टाढा धकेल्न बाइडेन सरकार कूटनीतिक खेल खेल्दै छ ।)
सन् २००१ को नेपालको ‘कू’लाई अमेरिकाले टेवा दिए पनि एउटा राजकीय कठपुतलीलाई स्थापित गर्ने उसको योजना सफल भएन । दोस्रो विश्वयुद्धपछि अन्य देशमा आफूले गरेका यसप्रकारका धेरै चलखेलमा जस्तै नियति अमेरिकी सेना र ‘सीआईए’ ले नेपालमा पनि भोग्नुप¥यो ।
एसियाली लागुपदार्थ व्यापारमा ‘सीआईए’ को संलग्नता
नेपालमा ‘सीआईए’ को शङ्कास्पद चलखेल लागुपदार्थ (हेरोइन) कारोबारसम्म फैलेको थियो । सन् १९६० को दशकमा त्यस कारोबारबाट राजपरिवार समेत लाभान्वित थियो – पियट्री लेख्छन् ।
राजपरिवारका सदस्य तथा नेपाली कूटनीतिज्ञहरूलाई भन्सारमा चेकजाँच गरिन्थेन । त्यसकारण, राजपरिवारका सदस्य र कूटनीतिज्ञहरू विश्वभरका आफ्ना दूतावासमार्फत किलोका किलो हेरोइन ओसारपसार गर्थे । (पेज २०१, २०२)
सङ्गठित अपराधीहरूले राजपरिवारको सोल्टी होटलमा जुवा खेलाउँथे भने नेपाली सेना र प्रहरीले नेपालमा ठुलो मात्रामा अफगानिस्तान र पाकिस्तानबाट हेरोइनको खोलो बगाउँथे ।
पियट्रीको कथनअनुसार रिचर्ड निक्सन र उनीपछिका अमेरिकी राष्ट्रपतिहरूले ‘गाँजा र चरेसविरुद्ध युद्ध’ छेडेपछि कोकिन र हेरोइनजस्ता अझ कडा लागुपदार्थको कारोबारमा ठुलो उभार आयो । नेपालको राजपरिवारले त्यो उभारबाट लाभ लिन खोज्यो ।
राजा महेन्द्रका भाइ अधिराजकुमार बसुन्धरा काठमाडौँस्थित अन्नपूर्ण होटलका मालिक थिए । उनीसँगै मिलेर भावी राजा ज्ञानेन्द्रले शाही नेपाली फूटबल टोलीका सदस्यहरूलाई बर्मेली हेरोइन उपलब्ध गराए । सन् १९८४ को ओलम्पिक खेलमा लग्न भनेर सो टोलीले डेढ क्विन्टल चिनियाँ सेतो हेरोइन बोकेको थियो । अमेरिकाको लस एन्जलस विमानस्थलमा उनीहरू त्यो हेरोइनसहित पक्राउ परे र तत्काल निष्कासित भए । (पेज २०१)
पियट्री लेख्छन्, त्यो निष्कासन “अत्यन्त गुपचुप राखियो र पक्राउ परेकै दिन मात्र समाचारमा देखियो । यो पुस्तकमा छाप्नुअघि यो कुरा बाहिर कतै सुनिएको छैन । नेपालीहरूले यो घटनाबारे कतै पढेका छैनन् । यो काण्ड खुलासा गर्न खोज्ने एक नेपाली पत्रकारलाई प्रहरीले गोली हानी मारेको थियो ।” (पेज ११३)
सन् २००५ डिसेम्बरमा ‘न्युजइन्साइट’ पत्रिकामा अमेरिकाको घरेलु गुप्तचर निकाय ‘एफबिआइ’ र लागुपदार्थ नियमन विभाग ‘डिइए’ ले अन्तर्राष्ट्रिय लागुपदार्थ कारोबारमा नेपाली युवराज पारसको संलग्नताबारे अनुसन्धान गरिरहेको खबर छापियो । रिपोर्टअनुसार राजपरिवारका धेरै सदस्य हेरोइन व्यापारमा संलग्न थिए । सन् २००१ मा राजा वीरेन्द्र र उनको परिवारको हत्या हुँदा यिनीहरू भने बाँचेका थिए । (पेज २०२)
पियट्रीको बुझाइमा राजा ज्ञानेन्द्र ‘सीआईए’ को तलब बुझ्ने एजेन्ट थिए । हेरोइन कारोबार र ओसारपसारको विश्वव्यापी सञ्जाल स्थापना गरेर उनले अमेरिकालाई आफ्नो आत्मा बेचेका थिए । यो सिन्डिकेट कति व्यापक थियो भने पूर्वी अमेरिकाका ठुला सहरको आकर्षक हेरोइन बजारसम्म त्यसको पहुँच थियो ।
‘डिइए’ ले एसियाभरि ‘सीआईए’ ले गर्ने लागुपदार्थ कारोबारप्रति आँखा चिम्लेको अवस्था थियो । उसले थाइल्यान्डको सीमा प्रहरीलाई हेरोइन र गाँजा व्यापार सञ्चालन गर्न विशेष तालिम नै दिन्थ्यो । यति मात्र होइन, ‘सीआईए’ अफगानी मुजाहिद्दीनहरूलाई पनि यो तालिम दिएको थियो ।
‘लागुपदार्थविरुद्ध युद्ध’ पूर्णतः खोक्रो थियो । त्यसले आपराधिक गिरोहहरूलाई अमेरिकी सरकारले गर्ने सहयोगलाई ढाकछोप ग¥यो । संरा अमेरिकाको साम्राज्यवादी महत्वाकाङ्क्षा पूरा गर्न ती गिरोहको खुब प्रयोग भयो ।
अनुवाद : सम्यक