अनवर होक्सा
(अल्बानियाका समाजवादी नेता अनवर होक्साले चिलीमा सन् १९७३ को सेप्टेम्बर ११ मा भएको घटनापश्चात् त्यो घटना हुनुको सैद्धान्तिक पक्षको विश्लेषण गर्दै यो लेख लेख्नुभएको थियो । यो लेख सबभन्दा पहिले सन् १९७३ अक्टोबर २ का दिन Zerii popullit नामको अखबारमा प्रकाशित भएको थियो । होक्सा सोभियत सङ्घमा स्तालिनको निधनपछि आएको ख्रुश्चेभपन्थी नेतृत्वको संशोधनवादी विचारका कडा आलोचक हुनुहुन्थ्यो ।)
चिलीमा आएको प्रतिक्रान्तिकारी आँधीबेहरीले त्यहाँका कामदार, देशभक्त र लडाकुहरूलाई सताउन छोडेको छैन । सेप्टेम्बर ११ मा सत्ताविप्लव गरी सत्ता कब्जा गरेका दक्षिणपन्थी शक्तिले आतङ्कको शासन स्थापना गरेका छन् । उनीहरूको आतङ्कराजले त हिटलरको शासनलाई समेत माथ दिएको छ । बिना कुनै कानुन प्रक्रिया र अभियोग सहर बजार एवम् काम गर्ने थलोमा जनतालाई निकै निर्दयी तरिकाबाट जताततै हत्या र आमनरसंहार गरिएको छ । खेलकुदको रङ्गशाला यातना शिविरमा बदलिएको छ । प्रगतिशील संस्कृतिलाई बुटमुनि दबाइएको छ । चोक चोकमा माक्र्सवादी पुस्तकहरूको अग्निदहन गरिएको छ जसरी कुनै बेला नाजीहरूले गर्थे । प्रजातान्त्रिक पार्टी, मजदुर सङ्गठन र प्रजातान्त्रिक सङ्गठनहरूमाथि प्रतिबन्ध थोपरिएको छ । देशैभरि मध्ययुगीन बर्बरता फैलिएको छ । कालो युगका कट्टर अन्धभक्त र अति प्रतिक्रियावादी शक्ति, अमेरिकी साम्राज्यवादका दलालहरू राजनीतिक डबलीमा देखापरेका छन् । रक्तपातपूर्ण सङ्घर्षबाट जनताले हासिल गरेको प्रजातान्त्रिक स्वतन्त्रता एकै दिनभित्र निमिट्यान्न पारिएको छ । चिलीको घटनाले चिलीका जनतालाई मात्र प्रभाव पारेन, बरू संसारभरका सबै क्रान्तिकारी, प्रगतिशील र शान्तिकामी जनतालाई प्रभाव पारेको छ । त्यसकारण, यो घटनाबाट चिलीका क्रान्तिकारी र कामदार जनताले मात्र होइन, अरू देशका क्रान्तिकारी र कामदार जनताले पनि निष्कर्ष निकाल्न जरूरी छ । पक्कै पनि हामी चिली क्रान्तिको आन्तरिक परिधिभन्दा बाहिर नजाने विशुद्ध राष्ट्रिय वृत्तान्त र अवधारणाको विश्लेषण वा कुनै विशेष घटना, चिली क्रान्तिका कमजोरी वा गल्तीको विषयमा मात्र कुरा गरिरहेका छैनौँ । हामी कुनै पनि क्रान्तिले उपेक्षा गर्न नसक्ने र हरेक क्रान्तिको सन्दर्भमा लागु हुने विश्वव्यापी नियमको विषयमा कुरा गरिरहेका छौँ । चिलीमा घटेको घटनाको प्रकाशमा क्रान्तिको सिद्धान्त र व्यवहारको कसीमा कुन पक्ष ठीक थियो र कुन पक्ष सही बाटोबाट विचलित भयो भन्ने कुरा निक्र्योल गर्नुपर्छ । कुन विचारधारा क्रान्तिकारी र कुन विचारधारा अवसरवादी थियो, कुन नीति र कार्यले क्रान्तिलाई सहयोग गरेको थियो र कुनले प्रतिक्रान्तिलाई सहयोग गरेको थियो भन्ने कुरा निक्र्योल गरिन आवश्यक छ ।
सबभन्दा पहिले त, एयेन्डे सरकारको समयलाई चिलीका जनताको जीवन वा ल्याटिन अमेरिकाको सम्पूर्ण इतिहासबाट सजिलै मेट्न सकिने समय होइन भन्ने कुरा भन्नुपर्छ । व्यापक जनताका माग र चाहना अङ्गीकार गर्दै पपुलर पार्टीको एयेन्डे सरकारले चिलीको राष्ट्रिय स्वतन्त्रता र स्वाधीनता बलियो बनाउन तथा अर्थतन्त्रको स्वाधीन विकास गर्न सुधारका अनेकन नीति र कदम चालेको थियो ।
एयेन्डे सरकार स्थानीय कुलीनतन्त्र र अमेरिकी एकाधिकार पुँजीको लागि चर्को हमला सिद्ध भयो । चिलीका कुलीनवर्ग र अमेरिकी एकाधिकार पुँजीले त्यहाँका प्रमुख पद ओगट्नुका साथै देशको कानुन बनाउँथे । यो प्रगतिशील र साम्राज्यवादविरोधी प्रक्रियाका उत्प्रेरक ल्याटिन अमेरिकाबाट उदाएका महान् व्यक्तित्वमध्ये एक जना राष्ट्रपति एयेन्डे थिए । एयेन्डे एक विलक्षण देशभक्त र प्रजातान्त्रिक योद्धा थिए । उनकै नेतृत्वमा चिलीका जनताले भूमिसुधारको लागि सङ्घर्ष गरेका थिए । विदेशी कम्पनीहरूको राष्ट्रियकरण र अमेरिकी प्रभावबाट चिलीलाई मुक्त गर्न एवम् प्रजातान्त्रीकरण गर्न सङ्घर्ष गरेका थिए । एयेन्डेले ल्याटिन अमेरिकाका विभिन्न देशमा भएका साम्राज्यवादविरोधी मुक्ति आन्दोलनलाई समर्थन गरे । ल्याटिन अमेरिकाका सैनिक शासक र ठगहरूले लघारेका स्वतन्त्रताप्रेमी लडाकुहरूलाई उनले आफ्नो भूमिमा शरण दिए । जनताको मुक्ति र साम्राज्यवादविरोधी आन्दोलनहरूमा एयेन्डेले खुला मनले समर्थन व्यक्त गरे । भियतनाम, कम्बोडिया, प्यालेस्टिन र अन्य देशका जनताका सङ्घर्षमा उनले पूर्ण समर्थन जनाए ।
आफ्ना जमिनदारी गरिब किसानहरूलाई वितरण गर्नुपर्ने अवस्था र गतिविधि के चिलीका ठुला जमिनदारहरूलाई पाच्य हुनसक्छ ? आफ्नो कलकारखानाबाट निष्कासन गरिएका सान्टियागोका पुँजीपतिहरूलाई यो सह्य हुनसक्छ ? शक्तिहीन बनाइएका अमेरिकी कम्पनीहरूलाई के त्यो अवस्था स्वीकार्य हुनसक्छ ? उनीहरू एकदिन सबै सङ्गठित बनेर आफ्नो ‘गुमेको स्वर्ग’ फिर्ता लिने प्रयास गर्नु पक्का थियो । यहाँ स्वाभाविकरूपमा एउटा प्रश्न उठ्छ : के आफ्नो वरपरको अवस्थाबारे एयेन्डे जानकार थिए ? आफूविरुद्ध बुनिएको षड्यन्त्रको तानाबाना के उनले देखेका थिए ? पक्कै पनि एयेन्डेले देखेका थिए । प्रतिक्रियावादीहरूले खुलमखुला काम गरेका थिए । उनीहरूले मन्त्रिमण्डलको सदस्य, सत्तारूढ दलका अधिकारी तथा कार्यकर्ताहरूको हत्या गरेका थिए । उनीहरूले ट्रक चालकहरूको सङ्गठनलाई उचालेर प्रतिक्रान्तिकारी हडताल गर्न लगाएका थिए । व्यापारी, चिकित्सक र अन्य निम्न मध्यम वर्गीय पुँजीपतिलाई पनि हडतालको लागि उक्साएका थिए । अन्ततः उनीहरूले जून महिनामा सैनिक विद्रोहको कोसिस गरेका थिए । तर, त्यो हडताल सफल भएन । वैधानिक सरकार अपदस्थ गर्न संरा अमेरिकी केन्द्रीय गुप्तचर विभाग (सीआईए) ले अनेकन योजना बनाएको खुलासा भयो ।
देशभित्र र बाहिरका प्रतिक्रियावादीहरूबाट भइरहेका यस्ता हमलाले सावधानीको घण्टी बज्न र एयेन्डेलाई प्रतिक्रिया दिन मनग्य हुनुपथ्र्याे । हरेक क्रान्तिको नियम कार्यान्वयनमा ल्याउन त्यो नै पुग्दो कारण बन्नुपथ्र्याे । प्रतिक्रान्तिकारी हिंसाको विरोध क्रान्तिकारी हिंसाबाट हुनुपर्छ भन्ने सिद्धान्त नै हरेक क्रान्तिको नियम हो । तर, राष्ट्रपति एयेन्डेले केही गरेनन् । केही कदम चालेनन् । पक्कै पनि उनमा आदर्शको कुनै कमी थिएन । उनी आफ्नो लक्ष्यप्रति दृढ थिए । त्यही लक्ष्य प्राप्तिको लागि उनले अन्तिम श्वाससम्म दिलोज्यानले सङ्घर्ष गरे । उनी आफ्नो लक्ष्यको न्यायधर्मितामा विश्वास गर्थे । व्यक्तिगतरूपमा उनमा कुनै साहसको कमी थिएन । उनी सर्वोच्च बलिदान दिन तयार थिए र वास्तवमा उनले त्यस्तो बलिदान गरे पनि । तर, प्रतिक्रियावादीवर्गलाई सम्झाइबुझाइ उनीहरूले गर्दै आएका गतिविधि त्याग्न लगाउन र खाइपाई आएका पद तथा सुविधा सबै त्याग गर्न लगाउन सकिनेमा एयेन्डे ढुक्क थिए ।
चिलीमा तुलनात्मकरूपमा पुरानो प्रजातान्त्रिक परम्परा, संसद्, राजनीतिक दलहरूका वैधानिक गतिविधि र स्वतन्त्र सञ्चारको उपस्थिति आदिलाई हिंसामार्फत सत्ताकब्जा गर्नसक्ने कुनै पनि प्रतिक्रियावादी शक्तिको लागि ठुलो अवरोधको रूपमा विश्वास गरिन्थ्यो । तर, वास्तविकता भने ठीकविपरीत निस्कियो । दक्षिणपन्थी शक्तिहरूको सत्ताविप्लवले आफ्ना आधारभूत स्वार्थमा कुनै प्रकारको हानि नोक्सानी नहुन्जेलसम्म पुँजीपतिवर्गले निश्चित मात्राको स्वतन्त्रता सहने कुरा पुष्टि भएको छ । जब पुँजीपतिवर्गले आफ्ना स्वार्थमा कुनै क्षति पुगेको महसुस गर्छन्, तब उनीहरूले नैतिकताका सबै पर्दा च्यातचुत पारिदिन्छन् ।
चिलीका क्रान्तिकारी र प्रगतिशील शक्तिले पराजय भोगेका छन् । यो निकै गम्भीर विषय हो । तर, यो अस्थायीमात्र हो । एउटा संवैधानिक सरकार फालिन सक्छ । हजारौँ मानिस मारिन सक्छन् । सयौँ यातनागृह बन्न सक्छन् । तर, स्वतन्त्रताको भावना, क्रान्ति गर्ने जनताको भावना कहिल्यै पनि मार्न वा कैद गर्न सकिन्न । जनता प्रतिरोधमा उत्रेका छन् । त्यसले श्रमिक जनता पराजय स्वीकार्न तयार नभएको पुष्टि गर्छ । उनीहरू यो घटनाबाट निष्कर्ष निकाल्न दृढ निश्चयी छन् । क्रान्तिकारी बाटोमा अघि बढ्न सङ्कल्पित छन् । प्रतिक्रियावादी र साम्राज्यवादीहरूविरुद्धको मुक्ति सङ्घर्षमा अनेकन बाधा अड्चन तलमाथि हुने गर्छ । चिली जनताले आफ्नो गहिरो देशभक्ति भावनाका धेरै उदाहरण दिइसकेका छन् । त्यसबाट स्वतन्त्रता र न्यायप्रति उनीहरूको प्रेम देखिन्छ । उनीहरू प्रस्टरूपमा साम्राज्यवाद र प्रतिक्रियावादलाई घृणा गर्छन् । त्यस्ता चिलीका जनतालाई आफ्नो शक्ति कसरी परिचालन गर्ने र आफ्नो विजय सुनिश्चित गर्न शत्रुमाथि कसरी प्रहार गर्नुपर्छ भन्ने कुरा राम्ररी थाहा छ ।
अस्थायी नै भए पनि चिलीका जनताको लागि यो निकै दुःखद दुर्भाग्य हो । तर, आधुनिक संशोधनवादीहरूका लागि यो चौतर्फी पराजयको एउटा हिस्सा हो । यो अवसरवादी सिद्धान्तको पूर्ण पराजय हो । मस्कोदेखि इटाली, फ्रान्स र अन्यत्रका सबै संशोधनवादीहरूले ‘चिलीको अनुभव’ लाई ‘क्रान्तिको शान्तिपूर्ण बाटो’, धेरै पार्टीको नेतृत्वमा समाजवादी सङ्क्रमण, साम्राज्यवादको स्वभाव परिवर्तन, शान्तिपूर्ण सहअस्तित्वको अवस्थामा वर्गसङ्घर्षको अवसान आदिको अवधारणा अघि सारेका थिए । सोभियत सङ्घ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशनले पारित गरेको अवसरवादी सिद्धान्त र टोगलियाटी शैलीको सुधारवादी एवम् काल्पनिक कार्यक्रमको प्रचार गर्न ‘चिलीको बाटो’ को संशोधनवादी सञ्चारमाध्यमले भरमार प्रयोग गरेका छन् ।
‘चिलीको अनुभव’ बाट संशोधनवादीहरूले ‘संसदीय बाटो’ को आफ्नो सिद्धान्त पुष्टि गर्ने अपेक्षामात्र गरेका थिएनन् बरू माक्र्सवादी र पुँजीवादी राजनीतिक दल मिलेर समाजवाद निर्माण गर्न सकिने ‘शास्त्रीय’ उदाहरणसमेत स्थापित गर्न खोजेका थिए । उनीहरूले संसदीय चुनावको बाटोबाटै समाजवादतिर सङ्क्रमण सम्भव भएको आफ्नो सिद्धान्त पुष्टि हुने आशा गरेका थिए । पुरानो पुँजीवादी राज्यसत्तालाई ध्वस्त नपारी उनीहरूकै सहयोगमा बिनाक्रान्ति समाजवाद स्थापना गर्न सकिने उनीहरूको सोचाइ थियो । क्रान्तिकारी जनताको शक्ति निर्माण नगरी मात्र होइन, भएकालाई पनि निषेध गरेर समाजवादको स्थापना सम्भव हुने उनीहरूको भनाइ थियो ।
सुरूमा ‘शान्तिपूर्ण सहअस्तित्व’ र ‘शान्तिपूर्ण संसदीय बाटो’ को सिद्धान्त प्रतिपादन गरेका सोभियत संशोधनवादीहरू, इटाली एवम् फ्रान्सका संशोधनवादीहरू र उनीहरूका समर्थकहरू शान्तिवादी भ्रम फैलाउन, पुँजीवादी व्यवस्थाप्रति अवसरवादी मान्यता स्थापित गर्न एवम् क्रान्तिकारी सङ्घर्षमा विचलन ल्याउन धेरै हदमा जिम्मेवार छन् ।
सोभियत सङ्घ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशनयता पश्चिमा संशोधनवादी पार्टीहरूले अङ्गीकार गरेका सबै कार्यक्रमिक दस्ताबेजले पुँजीवादबाट समाजवादतर्फको सङ्क्रमणको लागि ‘संसदीय बाटो’ नै उपयुक्त हुने पारित गरेको छ । गैरशान्तिपूर्ण बाटोलाई पूर्णतः निषेध गरेको छ । व्यवहारमा उनीहरूले अन्ततः क्रान्तिकारी सङ्घर्षको जरा उखेल्ने र आर्थिक वा प्रशासनिक चरित्रमा सामान्य सुधार गरेर अघि बढ्न सकिने बाटो अङ्गाले । उनीहरू पुँजीवादी विपक्षी पार्टीहरूमा परिणत भए र आजसम्म पुराना सामाजिक–प्रजातान्त्रिक पार्टीहरूले गरेजस्तै पुँजीपतिवर्गका धन जोगाउने जिम्मेवारी बहन गर्दै छन् ।
एयेन्डे सरकारको एउटा महत्वपूर्ण शक्ति चिली कम्युनिस्ट पार्टीले निकै उत्कटतापूर्वक खु्रश्चेभको ‘शान्तिपूर्ण सङ्क्रमण’ को बाटो सिद्धान्त र व्यवहारमै लागू गर्यो । मस्को निर्देशन मानेर चिलीको कम्युनिस्ट पार्टीले राष्ट्रिय पुँजीपतिवर्ग र साम्राज्यवादलाई तह लगाउन सकिने बाटो अङ्गाल्यो । उनीहरूले पुँजीपतिवर्ग र साम्राज्यवाद सहनशील र विवेकवान् भइसकेको विश्वास गरे । कथित आजको विश्वको अवस्थाले विकास गरेको नयाँ वर्गीय अवस्थामा प्रतिक्रान्तिको सम्भावना छैन भन्ने उनीहरूको भनाइ थियो ।
तथापि, चिलीको घटनाले फेरि एकपल्ट यही र यस्ता सिद्धान्तले कामदार जनतालाई कमजोर र विशृङ्खलित बनायो । उनीहरूको क्रान्तिकारी भावनालाई कमजोर बनायो । पुँजीपतिवर्गले आफ्नो क्षमतामाथि हमला गर्ने खतराकै अघि पनि कामदार जनता निस्क्रिय रहे । पुँजीपतिवर्गको योजना र गतिविधिविरूद्ध कामदारवर्गको लागि आक्रामक क्रान्तिकारी गतिविधि गर्न असम्भव भयो ।
असल माक्र्सवादी–लेनिनवादी पार्टीहरूले गरेका पूर्व विश्लेषण र समयले प्रमाणित गरेजस्तै संशोधनवादीहरू क्रान्तिका विरोधी थिए । संशोधनवादीहरूको लक्ष्य नै सोभियत सङ्घलाई पुँजीवादी देशमा पतन गराउनु र क्रान्तिकारी आधारलाई प्रतिक्रान्तिकारी आधारमा विघटन गर्नु थियो । उनीहरूले क्रान्तिकारीहरूबिच अन्योल सिर्जना गर्न र क्रान्तिलाई पराजित गर्न लामो समय काम गरे । जहाँ पनि र जहिले पनि उनीहरू क्रान्तिकारी सङ्घर्ष र राष्ट्रिय मुक्ति सङ्घर्षको आगो निभाउन उद्यत रहे । जनतामा रहेको क्रान्तिको विश्वासका कारण उनीहरू क्रान्तिकारी भएको अभिनय त गर्छन् । तर, उनीहरूको दृष्टिकोण र गतिविधिका कारण संशोधनवादीहरूले क्रान्तिकारी विचारलाई कोपिलामै निमोठ्ने वा कतै क्रान्तिको झिल्को देखिए त्यसलाई निभाउने काम गर्छन् ।
माक्र्सवाद–लेनिनवादबाट उनीहरूको विचलन, सर्वहारावर्गको वर्गीय हितको त्याग, जनताको राष्ट्रिय मुक्तिको लक्ष्यप्रति धोकेबाजीले संशोधनवादीहरूलाई पूर्णतः क्रान्ति अस्वीकार गर्ने ठाउँमा पु¥याएको छ । उनीहरूको लागि क्रान्तिको सिद्धान्त र व्यवहार केही सुधारवादी मागमा सीमित बनेको छ । अनि, पुँजीवादीका आधारलाई कति पनि प्रभाव नपारी पुँजीवादको ढाँचाभित्र ती सुधारवादी माग पूरा गर्न सकिनेमा उनीहरू विश्वास गर्छन् । संशोधनवादीहरू क्रान्ति र सुधारबिचको विभाजनकारी रेखा मेट्ने प्रयास गर्छन् । उनीहरू विद्यमान विकसित विश्वको अवस्थामा क्रान्तिकारी परिवर्तनको आवश्यकता नभएको भन्छन् किनभने अहिलेको प्राविधिक–वैज्ञानिक क्रान्तिले पुँजीवादी समाजका सामाजिक वर्गीय अन्तर्विरोधलाई नष्ट गरेको, प्राविधिक–वैज्ञानिक क्रान्तिले पुँजीवादी व्यवस्थालाई समाजवादी व्यवस्थातिर डो¥याउने र सबै समृद्ध बन्ने ‘नयाँ समाज’ स्थापना गर्न सकिने उनीहरूको धारणा हो । यस्ता अन्योलपूर्ण तर्कसामु कसैले पनि शोषक र शोषितको कुरा गर्न सक्दैनन् । सारमा उनीहरूको भनाइमा सामाजिक क्रान्ति, पुँजीवादी राज्ययन्त्र ध्वस्त बनाउन र सर्वहारावर्गको अधिनायकत्वको स्थापना आवश्यक छैन ।
लेनिनवाद र त्यसको सिर्जनात्मक विकासको मुखुन्डो लगाएर संशोधनवादीहरू संसारमा आफ्नो प्रभुत्व कायम गर्न चाहन्छन् । जसले उनीहरूलाई ‘सामाजिक–साम्राज्यवादी’ मा पतन गरेको छ । ख्रुश्चेभको ‘शान्तिपूर्ण प्रतिस्पर्धा’ मा आधारित ‘शान्तिपूर्ण सहअस्तित्व’, ‘हातहतियार र युद्ध नभएको विश्व’, ‘संसदीय बाटो’ आदिबाट संशोधनवादीहरू हुर्किएर सोभियत सङ्घमा पुँजीवाद पुनः स्थापना एवम् समाजवादलाई सामाजिक साम्राज्यवादमा पतन गराए ।
संशोधनवादीहरू क्रान्ति र जनताको मुक्ति सङ्घर्षविरूद्ध छन् । उनीहरू माक्र्सवाद–लेनिनवादप्रति दृढ एवम् त्यसको रक्षा गर्ने कम्युनिस्ट पार्टीका विरोधी हुन्छन् । मुक्ति सङ्घर्ष र क्रान्तिकारी आन्दोलनको तेजलाई नष्ट बनाउने लक्ष्य पूरा गर्न संशोधनवादीहरूले ‘शान्तिपूर्ण बाटो’ लाई नै आफ्नो ‘सिद्धान्त’ को आधार बनाए । माक्र्सवादको आधारभूत प्रश्नजस्तै क्रान्तिको सिद्धान्तलाई बङ्ग्याएर र आफ्ना अवसरवादी सिद्धान्त प्रचार गरेर उनीहरू श्रमिकवर्गलाई क्रान्तिकारी वर्गसङ्घर्षबाट टाढा राख्न खोज्दछन् । पुँजीपतिवर्गसमक्ष आत्मसमर्पण गरेर श्रमिकवर्गलाई पुँजीवादी दासता स्वीकार्न बाध्य पार्छन् ।
स्रोत : चिलीमा फासीवादको प्रतिरोध