कति मानिसको मन निकै कमलो हुन्छ । कुनै दुःख वा अचानक कुनै खुसीको कुरा सुने वा देखेमा हाम्रो आँखाबाट आसु आउने गर्दछ । मानिसले आफ्नो भावना, पिर, मर्का वा दुःखलाई आँसुको माध्यमबाट अरुसामु प्रकट गर्ने गर्दछन् । कतिपय मानिसहरू भन्ने गर्दछन् आसु पनि एक विशेष हतियार हो । कैयौँ शक्तिले गर्न नसकेको काम दुई थोपा आँसु झार्नाले तुरुन्तै बन्ने गर्दछ । विभिन्न जातजातिमा मानिसहरूको मृत्यु हुँदा रुने चलन छ । तीमध्ये पनि नेवार समुदायमा खासगरी आफन्तको मृत्यु हुँदा महिलाहरू बढी रुने गर्दछन् । दाहसंस्कार गर्दादेखि अन्य मृत्यु संस्कारहरू ४, ७, १०, १२ र ४५ दिनमा मृतक घरका महिला सदस्यहरू र आफन्तहरू रुने गर्दछन् । नेवार समुदायमा आफ्ना नजिकका मानिसको मृत्युको पीडाबाट निकास पाउन यस्तो प्रचलन चलेको अनुमान गरिन्छ । आधुनिकताको प्रभावसँगै मृत्यु संस्कारमा रुने प्रचलन पनि कम हुँदै गएको देखिन्छ । नेवारबाहेक अन्य जातजातिमा पनि मृत्यु संस्कारमा रुने चलन रहेको देखिन्छ ।
विज्ञहरूका अनुसार रुँदा हाम्रो मनमा भएका पीडा, तनाव अनि शरीरमा भएका विषहरू पनि आँसुको माध्यमबाट बाहिर बगेर जाने गर्दछ । रुनु पनि एक उपचार थेरापीको रूपमा मान्दछन् । आफ्ना मनमा रहका पीडाहरू रुँदा मन हलुका भएको हामी धेरैले महसुस गर्ने गरेका छौँ । रुँदा मानिसको रक्तचाप पनि कम हुने कुरा विज्ञहरू बताउँछन् । कोही मानिसहरू भाबुक खालको चलचित्र हेरेपछि रुने गर्दछन् । रुँदा उसको पीडा कम हुने गर्दछ । अरुको दुःख र पिरमा वा समस्यामा पनि हाम्रो मन रुने गर्दछ । सामान्यतया हाम्रो समाजमा केटाहरूको तुलनामा केटीहरू बढी रुने गर्दछन् भन्ने मानिन्छ । विभिन्न सामाजिक नियमका कारण जस्तै ‘केटा मान्छे भएर पनि रुन्छन्’ भन्ने खालका सोच र विचारका कारण केटाहरू खेलेर रुँदैनन् । तर, उनीहरूमा पनि उस्तै भावना रहेको हुन्छ । तर, महिलाहरू सहजै चाहे दुःख वा सुख जुनसुकै परिस्थितिमा पनि रुने गर्दछन् । त्यही कारणले उनीहरू मानसिक तनावमा धेरै बेर नरहने मानिन्छ । कतिपय अवस्थामा त आफ्ना कुराहरू अरुलाई सुनाएर पनि आफ्नो मानसिक बोझलाई कम गर्ने गर्दछन् कहिले आँसुको माध्यमबाट । रुँदा मनभित्र गुम्सिएर रहेका कुराहरू पनि बाहिर निस्कन्छन् जसको कारणले मन हलुका हुन पुग्दछ । कहिलेकाहीँ मनमा कुराहरू गुम्साएर राख्दा मन भारी हुन्छ, केही काम गर्न मन लाग्दैन, खाना खान मन लाग्दैन, अल्छी बढी लाग्दछ, निराशाले डेरा जमाउन थाल्दछ । कही जान वा कसैसँग बोल्न पनि मन लाग्दैन । आफूले जीवनमा केही गर्न नसकेको भान हुन्छ, कसैले आफ्नो कुरा नसुनेको भान हुन्छ र यस्ता व्यक्तिहरू सबैबाट अलगिन थाल्दछन् । अन्त्यमा, डिप्रेसनको सिकार बन्न पुग्दछन् । विज्ञहरूका अनुसार भावुक भएर रुँदा आँखाबाट बग्ने आँसुमा लुसिन र एन्केफालिन तत्व पनि बाहिर निस्कन्छ, जसले दुखाइ कम गर्न पेनकिलरको काम गर्छ । त्यसैले, हामी आफूलाई पीडा हुँदा आँसु झार्ने गर्दछौँ ।
रुनु वा आँसु झार्नु मानिसको स्वभावमा भर पर्ने कुरा हो । कतिपय मानिसहरू धेरै पिडामा पनि आफ्नो आँसु लुकाउन सक्दछन् भने कतिपय मानिसहरू सामान्य कुरामा पनि आँसु झार्ने गर्दछन् । वास्तवमा आँसु शब्दबिनाको भाषा हो । आँसु देखेपछि हामी मानिसहरूको अवस्थाबारे सहजै अनुमान लगाउन सक्दछौँ । कतिपय समय आफूलाई निकै शारीरिक तथा मानसिकरूपमा पनि सबल र मजबुद ठान्ने मानिसहरू समस्या पर्दा बच्चा जस्तै रुने गरेको पनि देखिन्छ । रुनु वा आँसु झार्नुका पनि केही फाइदाहरू छन् । रुँदा मनको पीडा कम हुन्छ, मन शान्त हुन्छ र खुसीको महसुस गर्दछ । आँसुबाट विषालु पदार्थ बाहिर निस्कन्छ र निद्रा लाग्दछ, आँखाको ब्याक्टेरियाहरू मार्न सहयोग गर्दछ, यसले आँखालाई सफा राख्न मद्दत गर्दछ । एक अध्ययन अनुसार गरिब मुलुकका महिलाहरूभन्दा धनि र विकसित मुलुकका महिलाहरू बढी रुने गर्दछन् । रुँदा मानिसको मानसिक तनाव कम हुने गर्दछ । कतिपय बच्चाहरू सुत्ने बेलामा रुने गर्दछन् जसले बशगर्दा उनीहरू मस्त निदाउन सक्दछन् । यसो भन्दैमा सधैँ रोएर बस्नुपर्छ भनेको होइन । रुनु र आँसु झार्नु हाम्रो रहर होइन बाध्यता पनि हो । हरेक कुराका राम्रा र नराम्रा पक्षहरू हुने गर्दछन् । रुँदा हाम्रो शरीरमा केही नकारात्मक असरहरू पनि पर्ने गर्दछन् । रुँदा अनुहारका मासंपेशीहरू तन्किने र खुम्चने गर्दछन् जसले गर्दा अनुहारमा चाउरिपना देखिन सक्दछ । यसबाहेक घाँटी, टाउको र च्यापुमा पनि नकारात्मक असर पार्ने गर्दछ । धेरै समयसम्म निरन्तर रुनाले स्वार सुक्दछ, घाँटी दुख्न थाल्छ, टाउको दुख्न थाल्दछ, अनुहार पनि फुस्रो हुन जान्छ । धेरै रोएमा आँखामा आँसुको कमी भई आँखा सुख्खा हुन जान्छ यसले हाम्रो हेराइमा प्रभाव पार्र्ने गर्दछ । यसकै कारणले खान मन नलाग्नु, बान्ता हुनुजस्ता समस्याहरू पनि देखापर्न सक्दछन् ।
मानिसको परिवेश र भेषअनुसार विभिन्न प्रचलनहरू चल्दै आएका छन् । जीवन र मृत्यु सत्य हो । जीवनमा आइपर्ने हरेक कठिनाइहरूको सामना गर्न हरसमय तयार हुनुपर्दछ ।