घाना अफ्रिकी स्वतन्त्रता आन्दोलनको १९६० दशकतिर एक चर्चित देश हो । घानाको उत्तरमा माथिल्लो भोल्टा, दक्षिणतिर आन्ध्र महासागर, पूर्वमा टोगो, पश्चिममा आत्री कोस्ट पर्छ । पोर्चुगली उपनिवेशवादीहरूले ‘सुनको किनारा’ (Gold Coast) भनिएको घाना ७ मार्च १९५७ मा स्वाधीनता प्राप्त गरेको देश हो ।
अफ्रिकी महादेशको दक्षिण–पश्चिम र गिनी खाडीको पश्चिममा रहेको घानाको क्षेत्रफल २,३८,५३७ वर्ग किलोमिटर छ । २ करोड ८१ लाख २ हजार ४ सय एकहत्तर बहुजातीय जनसङ्ख्या भएको यस देशमा ५६ भाषा र बोली बोलिन्छ । असङ्ख्य र अकुत प्राकृतिक सम्पदा भएकै कारण पोर्चुगली उपनिवेशवादीहरूले यस देशको नाम ‘सुनको किनारा’ राखेका हुन् ।
सुन, हीरा, बाक्साइट, म्याङ्गानिज आदि खनिजले घाना सम्पन्न छ । घाना संसारको तेस्रो सबभन्दा ठुलो हीरा उत्पादक देश थियो र संसारको पाँचौँ सबभन्दा ठुलो सुन उत्पादक देश थियो ।
कृषिमा पेय पदार्थको रूपमा प्रयोग गर्ने कोका, कफी, चिया, पातको डोरी बाट्ने रुख आदि उत्पादन हुन्छ र कृषि उत्पादनको तयारी, निर्यातको निम्ति बट्टामा बन्द गर्ने कारखाना, पेट्रोलियम प्रशोधन, रासायनिक मल, कपडा आदि औद्योगिक वस्तु यहाँबाट निर्यात हुन्छ ।
गणतान्त्रिक घाना ८ प्रान्त–प्रदेशमा विभाजित छ । यसको राजधानी आक्रा (Accra) हो ।
सन् १४७१ मा पहिलोपटक पोर्तुगाली जहाज घानामा बिसाएको थियो । समुद्र किनारामा रहेका पोर्तुगालीहरूले धेरै सुन हात पारे । पोर्तुगालीहरूले त्यहाँ एक किल्ला बनाएका थिए । सुन लुट्नसम्म लुटेपछि पोर्तुगालीहरूले त्यहाँका हब्सी जनतालाई दास बनाउन सिक्रीले बाँध्दै र सन्दुकमा बन्द गर्दै लान्थे । ती हब्सीहरू युरोप र अमेरिकी दासबजारमा बढीबढाउ गरी बेचिन्थे । पोर्तुगालीहरू बलिया र हट्टाकट्टा हब्सीहरूलाई मात्र लान्थे र अरूलाई मार्थे ।
सत्रौँ शताब्दीमा डचहरूले पोर्तुगालीहरूलाई घानाबाट खेदे र अझ ठुलो दास व्यापार सुरु गरे ।
सन् १८६० तिर जेम्स एबि हर्टोनले सबै पश्चिमी देशहरूको स्वाधीनताको विचार अगाडि सारेका थिए । आफ्नो पुस्तक ‘पश्चिमी–अफ्रिकी देशहरू र जनता’ (West African Countries and People) मा उनले अफ्रिकीहरूको स्वराजको अधिकारमा जोड दिएका थिए र हब्सीहरू मानसिकरूपले तल छन् भन्ने सिद्धान्तका पक्षपाती बेलायती ‘सामाजिक मानवशास्त्रीहरू’ लाई आलोचना गरेका थिए ।
अर्का बेलायती विद्वान् एडवार्ड ब्लाइडेन सम्पूर्ण अफ्रिकाका पहिलो सिद्धान्तकार थिए । उनले अफ्रिकी जनताको साझा भाग्यबारे आफ्नो धारणा बौद्धिक रचनाहरूमा लिपिबद्ध गरेका थिए ।
१९ औँ शताब्दीको अन्तमा उनले ‘अफ्रिकी व्यक्तित्व’ र ‘उपनिवेशीकरणको अन्तको भावना’ को विशेषताको धारणालाई अगाडि सारेका थिए ।
क्वामे एन्क्रुमा घानाको मात्रै होइन अफ्रिका महादेशकै एक चर्चित र प्रतिष्ठित नेता हुन् । एन्क्रुमा घानाको दक्षिण पश्चिम भागको एन्क्रोफुल (Nkroful) भन्ने सानो गाउँमा सन् १९०९ को सेप्टेम्बर महिनामा जन्मेका थिए । त्यस गाउँमा अकान वन्यजाति (Akan Tribe) र एनजिमा (Nzima) जनता बसोबास गर्थे ।
क्वामे एन्क्रुमाका बुबा सुनको गहना बनाउने कालिगड थिए । उनका बुबाका धेरै पत्नी थिए । त्यस जातिमा बहुपत्नी विवाहको प्रचलन थियो । क्वामे एन्क्रुमाका आमापट्टिका उनी एक्लो छोरा थिए । आमा खेतमा काम गर्दै खेती उत्पादन बजारमा बेच्न जान्थिन् ।
सन् १९०० मा बेलायती उपनिवेशवादीहरूले घानालाई आफ्नो कब्जामा लिए र त्यसको नाम ‘सुनको किनारा’ राखे । क्वामे एन्क्रुमाका आमाबुबा लेखपढ गर्न जान्दैनथे, यसकारण छोरोलाई शिक्षित बनाउन आमा धेरै उत्साहित भइन् र मेहनत गर्थिन् । उनले छोरालाई युरोपेलीहरूले स्थापना गरेको क्याथोलिक धर्मको विद्यालयमा भर्ना गरिदिइन् । उनलाई विद्यालयको अनुशासन सा¥है कडा लाग्थ्यो, तर आमाले उनलाई हात समाएर विद्यालयसम्म पु¥याउँथिन् । विद्यालयमा अङ्ग्रेजी भाषा, गणित, भूगोलको पढाइ हुन्थ्यो र धर्म मुख्य विषय थियो । युवा एन्क्रुमा धर्मको गम्भीर अध्ययन गर्थे र आफ्ना गुरुसँग त्यसबारे छलफल गर्न रुचाउँथे । उनले रोमन क्याथोलिक चर्चको दीक्षा लिए र आफ्नो नाम फ्रान्सिस (Francis) राखे ।
८ वर्षको उमेरमा एन्क्रुमा आफ्नो कक्षाको अब्बल दर्जाका विद्यार्थी थिए । उनी सा¥है मेहनती भएकाले शिक्षकहरूले उनलाई राजधानी आक्रामा पढ्न पठाए । उनी त्यसबेला १८ वर्षका युवा थिए ।
आक्रा सहरमा एन्क्रुमा तालिम महाविद्यालयमा भर्ना भए । आक्रामा त्यसबेला ५० हजार मात्र जनसङ्ख्या थियो । औपनिवेशिक राजधानीको त्यति महत्व थिएन, तैपनि त्यहाँ धेरै मोटरकार गुड्थे । त्यहाँ नाइजेरियाली, सिरियाली, लेवनानी र ग्रीसका राम्राराम्रा लुगा लगाएका मानिसहरू बस्थे । आक्रामा विभिन्न किसिमका नरिवल, माछा, सुन्तला, अत्तर र अन्य श्रृङ्गारका सामानहरूको बिक्री हुन्थ्यो । मुख्यमुख्य व्यापारीहरू सबै विदेशी थिए । पहिलो वर्ष उनलाई आक्रामा बस्न सा¥है गा¥हो भयोे । उनी घर सम्झिरहन्थे । सन् १९२७ मा उनको बुबाको मृत्यु भयोे । उनी आमा र काकासँग बस्न थाले ।
एन्क्रुमाको परिचय क्वेग्यिर आग्रेइ नामका एक अफ्रिकी शिक्षकसँग भयो । ती शिक्षकले संरा अमेरिकाको एक महाविद्यालयमा विद्यावारिधि गरेका थिए । उनी आक्रानजिक एक कलेजमा निर्देशक नियुक्त भए । त्यो कलेज नै घानाको पहिलो उच्च शिक्षण संस्था थियो । ती शिक्षकले बेलायतको इतिहास, भूगोल, बेलायतकै गीत–सङ्गीत तथा ऐन–कानुन पढाउँथे । उनी युवा अफ्रिकीहरूलाई त्यस देशको विकास गर्न गोराहरूको पनि सहयोगको आवश्यकताबारे सम्झाउँथे । त्यो कुरा एन्क्रुमालाई सुरुमा मन परेको थिएन । तैपनि, एन्क्रुमाको सम्बन्ध उनीसँग बढ्दै गयो र बिदाको समयमा उनी संरा अमेरिका फर्के । त्यहीँ उनको अचानक मृत्यु भयो ।
सन् १९२८ मा आक्राको तालिम महाविद्यालय अचिमोटामा स¥यो र ‘प्रिन्स अफ वेल्स’ कलेजको एक भाग बन्यो । त्यस संस्थानमा युरोपेलीहरू र अफ्रिकीहरू काम गर्थे । स्थानीय विद्यार्थीहरू त्यहाँका ठुलठुला मानिसका छोराछोरी थिए । तिनीहरू ल्याटिन भाषा र उच्चस्तरीय गणित विषयमा दख्खल राख्न चाहन्थे । एन्क्रुमा एक उत्साही युवा भएका हुनाले अन्य साथीहरूबाट उनले धेरै कुरा सिके । त्यसबेला उनलाई मनपर्ने विषय इतिहास, मनोविज्ञान, जनतासँगको संवाद, भाषणकला आदि थिए । उनी खेलकुद र नाचगान पनि मन पराउँथे । त्यसबेला उनी १९ वर्षका थिए ।
औपनिवेशिक शिक्षा बेलायतकै नक्कल थियो । त्यस शिक्षाले विद्यार्थीहरूलाई बेलायती समर्थक मात्र बनाउने होइन पुँजीवाद र पुँजीवादी समाजको दृष्टिकोण, प्रवृत्ति र सिद्धान्तसमेत विद्यार्थीहरूमा बीउजस्तै छर्न खोज्थे । तर, त्यसबेलासम्म एन्क्रुमाले उपनिवेशी शासन अन्यायपूर्ण छ र सधैँ त्यो व्यवस्था रहिरहन्छ भन्नेबारे शङ्का गर्न थालेका थिए ।
इलमिना सहरमा रोमन क्याथोलिक जुनियर स्कूलमा एन्क्रुमाले शिक्षकको काम पाए । हुन त उनी अवसर पाए विदेशमा गई उच्च शिक्षा हासिल गर्न चाहन्थे । उनको कक्षामा विद्यार्थीहरू खुब ध्यान दिई पढ्थे । उनको सिकाउने शैली अत्यन्त प्रभावशाली हुन्थ्यो ।
सन् १९३१ मा एन्क्रुमा आक्सिमा सहरको रोमन क्याथोलिक जुनियर स्कूलमा प्रधानाध्यापक भए । त्यस क्षेत्रमा आफ्नै जातिका धेरै मानिसहरू भएको हुँदा उनले एन्जिमा साहित्यिक समाजको सङ्गठन गरे । त्यही साहित्यिक समाजमा एन्क्रुमाले सामुयल आर उड भन्ने व्यक्तिलाई भेटे ।
सामुयल बेलायती पश्चिमी अफ्रिकाको राष्ट्रिय काङ्ग्रेसका सचिव थिए । एन्क्रुमाले भेटेको पहिलो राजनीतिक व्यक्ति नै सामुयल थिए । पश्चिमी अफ्रिकाको राष्ट्रिय काङ्ग्रेस सन् १९२० को दशकमा स्थापना भएको थियो । त्यसमा गोल्ड कोस्ट, नाइजेरिया, सियरा लियन र गाम्बिया गरी चार बेलायती उपनिवेशहरूका नेताहरू थिए । त्यस सङ्गठनको मुख्य उद्देश्य ती चार बेलायती उपनिवेशवादी सरकारसँग स्वराज माग्नु थियो । त्यो क्रमिक सुधारको उपाय थियो । एन्क्रुमाले देशको इतिहास र ती चार उपनिवेशहरूको तत्कालीन इतिहासको बारेमा घण्टौँ छलफल गरे ।
सन् १९३० को दशकमा आर्थिक सङ्कटले पश्चिमी देशलाई प्रत्यक्ष असर पारे जस्तै उपनिवेशहरूमा पनि त्यसको असर प¥यो । घाना वा गोल्ड कोस्टबाट निर्यात हुने कोका दानालगायतका वस्तुहरूको निर्यात घट्यो । निर्यात हुने वस्तुहरूकै करबाट त्यहाँको आर्थिक गतिविधि अगाडि बढ्थ्यो । बेलायती उपनिवेशहरूका उद्योगधन्दा सुक्न थाले, कामदारहरू निकालिए र बेरोजगार भए । मजदुरहरूको ज्यालामा बाँच्ने महिला र बालबच्चामा सा¥है ठुलो नकारात्मक असर पर्नु स्वाभाविक थियो । ज्याला कटौती, कामबाट निकाला आदिको विरोधमा मजदुर सङ्घहरू स्थापना भए । मजदुर हडतालहरू भए । स्थानीय अफ्रिकी पत्रपत्रिका तथा अनेक सांस्कृतिक र शैक्षिक संस्थाहरूको सङ्गठन बढ्दै गयो र उपनिवेशविरोधी भावना फैलिँदै गयो । यसरी घानामा राजनीतिक चेतना बढ्दै गयो । एन्क्रुमामा पनि उपनिवेशवादविरोधी भावनाको जग बस्दै गयो ।
एकजना अफ्रिकी युवा संरा अमेरिकामा ९ वर्ष अध्ययन गरी सन् १९३४ मा घाना फर्केका थिए । उनी नामिडी अजिकिवी थिए र पछि उनी नै नाइजेरियाका पहिलो राष्ट्रपति बने । उनी अमेरिकामा ‘अफ्रिकी प्रभात खबर’ पत्रिकाका सम्पादक थिए ।
अफ्रिकी जनताको हकअधिकार, अभिव्यक्ति स्वतन्त्रता, जातीय र रङको भेदभाव आदिबारे अनेक लेख र वक्तव्य प्रकाशित गरेर आजिकिवी अफ्रिकाको सम्भ्रान्त समाजमा ज्यादै चर्चित भए । उनको प्रभाव अफ्रिकी शिक्षित समुदाय र एन्क्रुमाजस्ता युवाहरूमा पनि परेको थियो । विद्रोहको भावना भड्काएको आरोपमा उनलाई ६ महिना कारागारको सजाय भएको थियो । रिहाइपछि उनी नाइजेरिया फर्केका थिए ।
अमेरिकाको संविधानमा काला र गोराहरूले समान अधिकार पाउँछन् भन्ने लेखिएको थियो । त्यसकारण, अफ्रिकी उपनिवेशका जनतामा उपनिवेशवादको विकल्प संरा अमेरिका भन्ने भ्रम थियो । अफ्रिकी जनता त्यसबेला संरा अमेरिकालाई मुक्ति र समानताको प्रतीक सम्झन्थे । एन्क्रुमाले पनि नाइजेरिया पुगी आफ्ना सम्पन्न नातागोतासँग संरा अमेरिकाको लिङ्कन विश्वविद्यालयमा पढ्न जान सहयोग मागे र घर फर्के ।
एन्क्रुमाकी आमालाई छोरा अमेरिकाजस्तो टाढाको देशमा किन जान चाहन्छ भन्ने थाहा थिएन । उनको मनमा त छोराले स्थानीय विद्यालयमै इज्जतको जीवन बिताउन सक्ने थियो । सन् १९३५ अगस्ट महिनामा एन्क्रुमा बेलायत हुँदै संरा अमेरिका गए । उनी बेलायतको राजधानी लन्डन पुग्दा भिड भएका बाटाहरू, विज्ञापनको झिलिमिली, अन्तहीन मोटरहरू, दुईतले बस र बिजुलीले चल्ने ट्राम आदिको घुइँचोले उनलाई आश्चर्यमा पारेको थियो । आर्थिक सङ्कटले बेलायतमै २० लाख जनता बेरोजगार थिए । त्यसबेला लन्डनको जनसङ्ख्या ८० लाख थियो । तर, एन्क्रुमाले किताब र पत्रपत्रिकामा देखेको लन्डनका चित्रहरू, ऐतिहासिक स्मारकहरू प्रत्यक्ष देख्दा कति पनि नौलो अनुभव गरेनन् । मानिसको घुइँचो, सवारीहरू र बन्दरगाहको गञ्जागोलमा उनी हराउँथे । तर, आआफ्नो भावना पोख्ने ठाउँ हाइड पार्कको डबलीबाट उनी प्रभावित भए ।
सन् १९३५ अक्टोबरको समय थियो । त्यसबेलासम्म एन्क्रुमालाई अन्तर्राष्ट्रिय राजनीतिको जटिलता थाहा भइसकेको थिएन । नाजीवाद, फासीवाद र जापानको राजनीतिबारे पनि थाहा थिएन । त्यसबेला उनी २६ वर्षका युवा थिए । ३ अक्टोबरको दिन इटालीका तत्कालीन तानाशाह मुसोलिनीले सबभन्दा पुरानो स्वतन्त्र अफ्रिकी देश इथियोपियामा हमला गरेको समाचार थाहा पाउँदा उनी झस्के । बेलायतमै उनले पश्चिमी देशको प्रजातन्त्रको वास्तविकता बुझ्न सुरु गरे ।
एन्क्रुमा जहाजमा बसी लन्डनबाट संरा अमेरिकातर्फ लागे । न्युयोर्क पुग्दा त्यहाँका अग्लाअग्ला घर र पसलको झिलिमिली देखेर उनी छक्क परे । लिङ्कन विश्वविद्यालय पुग्दा दुई महिनाअघि नै कक्षा सञ्चालन भइसकेको थियो । तैपनि, उनी आफ्ना सहपाठीहरूभन्दा पछाडि परेनन् । त्यो विश्वविद्यालय अफ्रिकी विद्यार्थीहरूको निम्ति सन् १८८४ मै स्थापना भएको थियो र उनले चिनेजानेका अफ्रिकीहरू पनि त्यहीँ पढेका थिए । कक्षापछि पनि उनी धेरैबेरसम्म पुस्तकालयमा अध्ययन गर्थे । आफू राजनीतिमा समर्पित हुने उद्देश्यले भाषण कलामा ध्यान दिन्थे । विश्वविद्यालयको प्रतिस्पर्धामा उनले स्वर्ण पदक पनि हासिल गरे ।
उनको पढाइको क्षमताबारे सबै अवगत भए । अनेक किसिमका खुला र गुप्त अफ्रिकी सङ्गठनहरूले उनीसँग सम्पर्क राख्न थाले । विश्वविद्यालयको छात्रवृत्तिको रकमले उनलाई जीविका चलाउन धौधौ परेको हुँदा विश्वविद्यालयको पुस्तकालयमा आंशिक सेवा गरे । उनी कमजोर विद्यार्थीहरूको निम्ति समाजशास्त्र र अर्थशास्त्रका आवश्यक शैक्षिक सामग्री तयार गर्थे । त्यतिले नपुगेर उनले अरुसँग मिलेर आफ्नी आमाले जस्तै सस्तो माछा बजारबाट महँगो बजारमा माछा बेच्ने काम पनि गरे । साथीहरूबिचको झगडाले गर्दा उनले अरू काम पनि थाले । उनले जहाजमा भाँडा माझ्ने काम सुरु गरेर पदोन्नति हुँदै थाल माझ्ने, खानेकुरो लैजाने र आदेश दिने कर्मचारी भए । उनी धनी यात्रुहरूबाट केही बक्सिस पाउँथे । त्यो पैसाले उनी पुस्तक किन्थे । मिलनसार, सहयोगी र फरासिला हुनाले उनले धेरै साथी बनाए ।
स्रोत : स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा