अर्नेष्टो चे गुएभारा
अतीतसँग भयानक प्रतियोगिता
नयाँ समाजको निर्माणको प्रक्रियामा त्यस नयाँ समाजले अतीतसँग निकै ठुलो र कठिन प्रतियोगिता गर्नुपर्ने हुन्छ । यो प्रतियोगिता वैयक्तिक चेतनामा परिलक्षित हुन्छ, जुन चेतना भनेको व्यक्तिलाई एकलकाँटे बनाउने दिशातिर केन्द्रित शिक्षा र लालनपालनको पद्धतिद्वारा घेरिएको हुन्छ । यसका साथै यो प्रतियोगिता मालको सम्बन्ध (Commodity Relations) यथावत रहिरहने सङ्क्रमणकालको प्रकृतिअनुरूप पनि स्पष्टरूपमा देखापर्दछ । माल (Commodity) भनेको पुँजीवादी समाजको आर्थिक एकाइ हो, रक्तकोशिकाजस्तै । जबसम्म मालको अस्तित्व कायम रहिरहन्छ, तबसम्म त्यसको असर उत्पादनका सङ्गठनहरूमा परिरहन्छ । अतः व्यक्तिको चेतनामा पनि त्यसको प्रभाव देखा परिरहन्छ नै ।
माक्र्सले खिच्नुभएको रूपरेखाअनुसार सङ्क्रमणकाल भनेको त्यस्तो विस्फोटक परिवर्तनको नतिजा हो, जुन विस्फोटक परिवर्तन आफूभित्रै रहेका अन्तरविरोधहरूको कारणले पुँजीवादी व्यवस्था विघटित हुँदा पैदा हुन्छ । ऐतिहासिक वास्तविकताले के देखाइरहेको छ भने कमजोर हाँगाका रूपमा रहेका केही देशहरूले विशाल साम्राज्यवादी रूखबाट आफूलाई अलग्ग पार्छन् । लेनिनले पहिले नै यसरी अलग्याउने प्रक्रियाको अनुमान लगाइसक्नुभएको थियो ।
ती देशहरूमा पुँजीवाद निकै धेरै विकसित भइसकेको हुन्छ, त्यसले कुनै न कुनै रूपमा जनतामाथि आफ्नो प्रभाव देखाइरहन्छ । आफ्ना सम्पूर्ण सम्भावनाहरूको मूल्य चुकाएर भए पनि त्यसले आफ्ना पुँजीवादका अन्तरविरोधहरू भए तापनि व्यवस्थालाई विस्फोटनबाट बचाउँछ ।
तर, अर्कोतिर विदेशी उत्पीडकहरूविरूद्ध मुक्ति सङ्ग्रामहरू पनि चलिरहेका हुन्छन् । मुक्ति सङ्ग्रामको क्रममा युद्धजस्ता बाहिरी कारणहरूले जन्माउने दुर्गति र यन्त्रणाका बाबजुद सुविधाभोगी वर्ग शोषितहरूमाथि परनिर्भर भइरहन्छ । नवउपनिवेशी शासनहरूलाई उखेलेर फ्याँक्ने उद्देश्यसहित मुक्ति सङ्ग्रामहरू चलिरहन्छन् । यस्ता परम्परागत सङ्घर्षहरूले पुँजीवादको विस्फोटन प्रक्रियालाई टेवा दिइरहेका हुन्छन्, यसबाहेक सचेत कारबाहीहरू त भइरहेकै हुन्छन् ।
ती देशहरूमा सामाजिक श्रमका लागि अहिले पनि सम्पूर्ण शिक्षाको व्यवस्था गरिएको छैन । फेरि, विनियोजनको सामान्य प्रक्रियाको फलस्वरूप जनता धनी हुने त कुरै भएन । ती देशहरूमा एकातिर पछौटेपना छ भने अर्कोतिर ती देशको पुँजी ठुला पुँजीवादी देशहरूतिर पलायन भइरहेको छ । यस्तो स्थितिमा बलिदानविना द्रुतगतिमा आमूल परिवर्तन सम्भव नै हुँदैन । आर्थिक आधारको निर्माणको लागि अहिले पनि एउटा लामो बाटो हिँड्न बाँकी छ र द्रुत विकासको कुञ्जीको रूपमा रहेको मानिने भौतिक हितको थोत्रो थोत्रो पुरानो बाटोमै हिँड्ने मोह पनि धेरैमा अति अधिक छ ।
रुख हेर्दा जङ्गल नदेख्ने सम्भावना रहेजस्तै, तत्कालीन काममा मात्रै ध्यानकेन्द्रित गर्दा सम्पूर्ण परिस्थितिको स्पष्ट बोध नहुने खतरा छ । माल उत्पादनजस्तो पुँजीवादको आर्थिक एकाइलाई यथावत् राखिछाड्नु, उत्प्रेरणाका लागि नाफा र व्यक्तिगत भौतिक हितहरूको प्रयोग गरिराख्नु भनेको पुँजीवादी उपायहरूकै उपयोग गर्नु हो । पुँजीवादी व्यवस्थाको विरासतको रूपमा पाइने यस्ता भुत्ते र हानिकारक हतियारहरू प्रयोग गरेर समाजवादको सुन्दर सपना साकार पार्न दौडिँदा अँध्यारो अन्धो गल्लीमा पुग्ने कुरा सुनिश्चित छ । यस्तो अँध्यारो अन्धो गल्लीमा अनेकौँ दोबाटा र चौबाटाहरू नाघ्दै एउटा लामो बाटो दौडिसकेपछि ‘हामीले कहिले गलत मोडमा पाइला टेक्यौँ’ भन्ने कुरा ठम्याउन नै गा¥हो हुन्छ । यसैबिच जुन पुँजीवादी आर्थिक आधारलाई समाजवादी बाटोको रूपमा अपनाइएको हुन्छ, त्यसले चेतनाको विकासलाई पनि विखण्डित पारिसकेको हुन्छ । त्यसैले साम्यवादको निर्माणका लागि नयाँ भौतिक आधारको निर्माणका साथसाथै नवमानवको सिर्जना गर्नु जरूरी छ ।
त्यसैले जनतालाई गतिशील पार्नका लागि सही माध्यम, सही प्रक्रिया र ठीक उपायको छनोट अति महत्वपूर्ण हुन्छ । भौतिक प्रोत्साहनको सही उपयोगलाई नबिर्सिकन, विशेषगरी सामाजिक प्रकृतिको भौतिक प्रोत्साहनको सही उपयोगलाई नबिर्सिकन भन्ने हो भने स्पष्ट शब्दमा भन्न सकिन्छ, त्यो सही माध्यम भनेको आधारभूतरूपमा नैतिक उत्प्रेरणामात्रै हुनसक्छ ।
मैले पहिले पनि भनिसकेको छु : अति जोखिमका क्षणहरूमा नैतिक उत्प्रेरणालाई सक्रिय गर्न सजिलो हुन्छ । तर, यसको प्रभावकारितालाई सधैँ बचाई राख्नको लागि त्यस्तो चेतनाको विकास गर्नु आवश्यक छ, जसमा नैतिक मूल्यहरू नयाँ आर्थिक आधारमाथि फल्ने–फुल्ने प्रक्रिया होस् ¤ हो, यसको लागि सिङ्गो समाजलाई नै एउटा विराट स्कूलको रूपमा फेर्नुपर्छ ।
यसको लागि आवश्यक प्रक्रियाको मोटामोटी विशिष्टता भनेको पुँजीवादी व्यवस्थाको निर्माणको पहिलो चरणको क्रममा पुँजीवादी चेतनाको निर्माण प्रक्रियाजस्तै हो । त्यसबेला पुँजीवादले शक्ति प्रयोग गर्छ, यसका साथसाथै जनमानसलाई व्यवस्था अनुकूल शिक्षित पनि गर्छ । पुँजीवादका प्रचारकहरूले प्रत्यक्षरूपमा प्रचारबाजी पनि गर्छन् । यो उनीहरूकै जिम्मामा हुन्छ– जनमानसलाई वर्गीय समाजका अनिवार्यताहरूको बारेमा सम्झाउने बुझाउने कर्तव्य । यसको लागि प्राकृतिक नियमसम्बन्धी यान्त्रिक सिद्धान्त वा दैवीय उत्पत्तिको सिद्धान्तको प्रचार गर्नु परे पनि गर्ने उपाय अपनाइन्छ । यसै प्रकारको प्रभावस्वरूप जनमानस पुँजीवादी व्यवस्थाअनुकूल ढालिन्छ र जनताले बुझ्न थाल्छन् ः हामीले त्यस्तो दैवी र प्राकृतिक प्रकोपको उत्पीडन सहनुपर्छ, जोसँग सङ्घर्ष गरेर पार लगाउन सकिन्न ।
त्यसपछि आउँछ यहीँ र अहिले नै उन्नति गर्न पाउने सुनौलो आशा, पहिलेका गतिहीन वर्गीय व्यवस्था र जातीय शासनहरूभन्दा पुँजीवादी व्यवस्थामा उन्नतिको आशा अत्यधिक छ भन्ने भरोसा । अरू वर्गीय व्यवस्थाहरूभन्दा पुँजीवादी व्यवस्थालाई भिन्न पार्ने मुख्य तत्व नै यही उन्नतिको आशा र भरोसा त हो ।
यस्तो स्थितिमा पनि केही मानिसहरूको मनमस्तिष्कमा पुरानो जातिगत शासन र वर्गीय व्यवस्थाका आचार विचारले घर गरिरहेका हुन्छन् । उनीहरूलाई लागिरहेको हुन्छ : मृत्युपछि आफ्नो आज्ञाकारिताको पुरस्कारस्वरूप स्वर्गलोकमा जान पाइन्छ । पुरानो अन्धविश्वासले जकडिएका केही मानिसहरूलाई लागिरहेको हुन्छ ः असल मानिसहरूले अहिले दुःख पीडा भोग्नुपरे पनि मृत्युपछि सुख–सुविधाले भरिपूर्ण अनौठो लोकमा जान पाइन्छ । अरू केही मानिसहरूलाई भने अलिकति फरक लागिरहेको हुन्छ । वर्ग विभाजन भनेको त भाग्यको खेल नै हो, तर यस्तो खेल चलिरहेको स्थितिमा पनि काम र पहलकदमी लिई कुनै पनि व्यक्ति आफ्नो वर्गलाई त्यागेर माथिल्लो धनीवर्गमा प्रवेश गर्न सक्छ ।
हो, यो प्रक्रिया र स्वनिर्मित मानिसहरूको सफलताको मिथक दुबै पाखण्डपूर्ण कुरा हुन् । आत्मशिक्षाको प्रक्रियाद्वारा धनीवर्गमा जाने भन्ने कुरा झूटलाई छोपछाप पारेर सत्य बनाउने एउटा रोचक नाटक हो यो पनि ।
हाम्रो स्थितिमा प्रत्यक्ष शिक्षाको निकै ठुलो महत्व छ । सत्य कुरा व्याख्या गरेर बुझाउनु सुविधाजनक नै हुन्छ किनकि त्यसका लागि छलकपट र बहाना गर्नुपर्दैन । शिक्षा मन्त्रालय र पार्टीका सञ्चारमाध्यमजस्ता राज्यका शैक्षिक संरचनाहरूले सामान्य प्राविधिक र वैचारिक शिक्षाको प्रचारप्रसार गर्छन् । शिक्षा आमजनताबिच फलाइन्छ, फुलाइन्छ र प्रशंसनीय नयाँ मनोवृत्ति र बानीको रूपमा पुल्छ । आमजनताले यसलाई आफ्नै बानीको रूपमा ग्रहण गर्छन् र आफूलाई शिक्षित गर्न नसकिरहेका मानिसहरूलाई प्रभावित पार्छन् । जनमानसलाई शिक्षित गर्ने यो अप्रत्यक्ष तरिका हो – यो तरिका त्यति नै सशक्त छ, जति अरू उपायहरू सशक्त छन् ।
तर, यो प्रक्रिया सचेतन खालको हुन्छ । व्यक्ति नयाँ सामाजिक शक्तिबाट निरन्तररूपमा प्रभावित हुन्छ । अनि उसले महसुस गर्छ– नयाँ सामाजिक शक्तिको मापदण्डअनुरूप आफूलाई चाहि फेर्न सकेको रहेनछु । अप्रत्यक्ष शिक्षाको दबाबको परिणामस्वरूप व्यक्तिले एउटा त्यस्तो परिस्थितिसँग आफूलाई अनुकूल पार्ने प्रयास गर्छ, जुन परिस्थितिलाई ऊ न्यायोचित ठान्छ; जसको विकासको अभावमा उसले आफूलाई शिक्षित गर्न नसकेको महसुस गर्छ । हो, यसरी नै उसले शिक्षित गरिरहेको हुन्छ ।
क्युवाली जनतासँगै श्रमदान गर्दै चे गुएभारा
समाजवादको निर्माणको यस अवधिमा हामी नवमानवको जन्म भइरहेको दृश्य देख्छौँ । त्यस नवमानवको चित्र अहिले पनि अपूर्ण नै छ । वास्तवमा यो चित्र कहिले पनि पूर्ण हुँदैन किनकि नवमानवको सिर्जनाको प्रक्रिया भनेको नयाँ आर्थिक ढाँचाको विकासको गतिसँगै समानान्तररूपले अगाडि बढ्छ ।
हो, शिक्षाको अभावमा केही मानिसहरू निर्जन बाटोमा एक्लै हिँड्न थाल्छन् । केही मानिसहरू आफ्नै महत्वाकाङ्क्षाहरूलाई सन्तुष्ट गर्ने काममा लाग्छन् । तर, तिनीहरूलाई एकातिर छाड्ने हो भने पनि यस बहुमुखी प्रगतिका लागि अग्रगामी दिशातिर मार्च गर्दै एकसाथ अगाडि बढिरहेको विशाल जनसमूहसँग अलग्गिएर हिँड्ने केही मानिसहरू पनि हुन्छन् । तर, सबैभन्दा महत्वपूर्ण कुरा हो : जनता प्रतिदिन आफूलाई समाजको अङ्ग बनाउने प्रक्रियामा हुनु । यसका साथसाथै त्यस समाजका चालकहरूका रूपमा आफ्नो महत्वबोधप्रति अरू बेसी जागरूक हुने प्रक्रियामा हुनु ।
अब उनीहरू त्यो निकै टाढा टाढाका आकाङ्क्षाहरूबिच हराउने खालको बाटोमा नितान्त एक्लै हिँड्ने गर्दैनन् । अब उनीहरू आफ्ना युगान्तकारी अगुवाहरू सँगसँगै लाग्दछन् । ती युगान्तकारी अगुवाहरूको समूह भनेको पार्टी, सर्वाधिक जागरूक श्रमिकहरू, सचेत व्यक्तिहरूद्वारा निर्मित हुन्छ । ती अगुवाहरूले जनताप्रति समर्पित हुँदै, जनतासँग अति घनिष्ठ सम्बन्ध गाँसेर मनोभावहरू आदानप्रदान गर्दछन् । ती अगुवाका आँखाहरू भविष्य र त्यसको सफलताको पुरस्कारमाथि केन्द्रित हुन्छन् । तर, त्यो भविष्य र ती सफलताहरू व्यक्तिगत हितमा केन्द्रित हुँदैनन् । हो, त्यो सफलताको पुरस्कार हो नयाँ समाज, कम्युनिस्ट मानवहरूको समाज, जहाँ मानिसहरूले विभिन्न विशिष्टताहरू प्राप्त गर्न सफल हुन्छन् ।
हो, बाटो लामो छ, कठिनाइले भरिपूर्ण छ । अतः हामीले कहिलेकाहीँ बाटो बिराउन सक्छौँ र पछि हट्नुपर्ने पनि हुन्छ । कहिलेकाहीँ हाम्रो चाल निकै तेज हुन्छ । अतः हामी जनताबाट अलग्गिन पनि सक्छौँ । अनि कहिलेकाहीँ हाम्रो चाल निकै धेरै ढिलो हुन्छ र आफ्नो पछि पछि आइरहेका मानिसहरूको तातो–तातो स्वाससमेत महसुस हुन्छ । क्रान्तिकारीको रूपमा हाम्रो जोश र व्यग्रताले आफ्नो अगाडि रहेको बाटोलाई सजिलो र सुस्पष्ट पार्दै जुन हदसम्म सम्भव छ त्यति हदसम्म छिटो पार गर्नका लागि हामीलाई घच्घच्याउँछन् । तर, हामीलाई के पनि थाहा छ भने हामीले हाम्रो शक्ति भनेको जनताकै पालनपोषणबाट फलाउनु फुलाउनु पर्छ । जब हामीले जनतालाई आफ्ना आदर्श र आचरणद्वारा प्रोत्साहित गर्न सक्छौँ, तबमात्र जनता अरू बेसी द्रुतगतिमा दौड्न सक्छन् ।