का. रोहित
२२ अक्टोबर १९१७ आइतबारको दिन बिहान १७५ जवान प्रतिनिधिहरू पेट्रोग्राद पुगे । त्यसमध्ये १०३ प्रतिनिधिहरू बोल्शेविक थिए । महाधिवेशनको निम्ति अझ तीन दिन बाँकी थियो । बोल्शेविकहरूको तयारी जोडतोडले हुँदै थियो ।
२३ अक्टोबर सोमबारको दिन मारिइन्स्की दरबारमा ‘रुसी जनतन्त्र परिषद्’ को बैठक भइरहेको थियो । बैठकमा बेलायतको ‘टाइम्स’ (समय) भन्ने पत्रिकाको सम्पादकीय लेख सुनाउँदै थियो । लेखमा भनिएको थियो……….. ‘बोल्शेविकहरूलाई एउटै उपाय छ– गोली ।’ सबै दक्षिणपन्थी ‘त्यसैमा सहमत’ थिए ।
करेलिन भन्ने वामपन्थी समाजवादी क्रान्तिकारीले उठेर जवाफ दिए, “हो, मलाई थाहा छ– तपार्इँहरू त्यही चाहनुहुन्छ । तर, तपार्इँहरूमा त्यो साहस छैन ।”
बैठकमा चर्काचर्की र भनाभन हुँदै गयो । विदेशमन्त्री तरेश्चेन बोल्न उठ्नासाथै वामपन्थीहरू ठुलठुला स्वरले कराए, ‘राजिनामा गर । गद्दी छोड ।’ २३ अक्टोबरको दिन पेट्रोग्रादमा बोल्शेविकहरूको ५०–६० वटा जनसभा भएको थियो ।
२४ अक्टोबर मङ्गलबारको दिन पनि ‘रुसी जनतन्त्र परिषद्’ मा चर्काचर्की वादविवाद हुँदै थियो । बैठकमा मन्त्री परिषद्का अध्यक्ष करेन्स्कीले समाजवादी प्रजातन्त्रवादका उग्र वामपन्थीहरूको निम्ति परिस्थिति सा¥है अनुकूल भएको लेनिनकै भनाइ अघि सार्यो । उनको भनाइमा बोल्शेविकहरूका सबै अखबार बन्द गरिनुपर्छ, प्रदर्शन र जनसभालाई दबाउनुपर्छ, बोल्शेविक पार्टीलाई प्रतिबन्ध लगाउनुपर्छ र त्यसका नेताहरूलाई पक्राउ गरी सजाय गर्नुपर्छ । करेन्स्कीले लेनिनको भनाइ पढ्न थाल्यो ।
“लौ सुन्नुहोस् । जर्मनीका साथीहरूको एउटै नेता हुनुहुन्छ, लिब्नेस्ट । उहाँसँग अखबार छैन, जनसभा गर्ने स्वतन्त्रता छैन, सोभियतहरू छैनन् ……. उहाँलाई समाजका सबै वर्गको चर्को शत्रुता झेल्न परिरहेछ । तैपनि, जर्मनीका साथीहरू विद्रोह गर्ने कोसिस गर्नुहुन्छ । हामीसँग दर्जनौँ अखबारहरू छन्, हामीसँग धेरै सोभियतहरू छन्, हामीलाई जनसभा गर्ने स्वतन्त्रता छ, हामी सारा संसारका सबभन्दा राम्रो सङ्गठित सर्वहारा अन्तर्राष्ट्रवादी हौँ । के हामी जर्मनीका कान्तिकारी र विद्रोही सेनाहरूको समर्थन गर्न अस्वीकार गर्न सक्छौँ ?”
सभा भवनहरू खचाखच भरिएको हुन्थ्यो । एकपछि अर्को वक्ता बोल्दै जान्थे । जहाँ–तहाँका जनसभाहरूमा सबैले ‘सबै हुकुम सोभियतलाई देऊ ।’ भनेर नारा लगाउँथे । मजदुरहरूले जनताका समितिहरू बनाउँदै गए । क्रान्तिमा भाग लिने मान्छेहरूको सूची तयार हुँदै गयो । कोही राइफल जम्मा गर्ने र कोही उपचार दल तयार गर्दै थिए । करेन्स्कीले जनताको भावना बोल्शेमिकहरूबाट पन्छाउन जनसभामा बोल्न थाले, “राज्यको अपराधी लेनिनले जनतालाई लुटपाट गर्न …….. र सा¥है डरलाग्दो हत्याकाण्डको लागि भड्काउँदै छन्, जसले स्वतन्त्र रुसको निधारमा सधैँको निम्ति कलङ्कको टीका लाग्नेछ ।”
तर, त्यसको जवाफमा जनताले लेनिनलाई स्वागत गर्न थाले । क्रान्तिकारी सैनिक समितिको केन्द्र स्मोल्नी थियो । मजदुरहरू पेट्रोग्रादको सडक र ठाउँ ठाउँमा छेकवारहरू (मोर्चा) बनाउँदै थिए । जनसमितिहरूमा अनेक वर्ग र दलका मानिसहरू धमाधम भर्ना हुँदै गए ।
क्रान्तिकारी शक्तिहरूको माझमा सम्बन्ध छुटाउन अस्थायी सरकारको तत्वले सोभियत र सैनिक छाउनीहरूको टेलिफोन सम्पर्क काटिदियो । खान्दानीहरूका छोराहरूलाई सैनिक तालिम दिने विद्यालयका छात्रहरू (युङ्करहरू) ले मजदुर इलाकाबाट पेट्रोग्राद सहरलाई अलग्ग राख्न पुलहरू झिक्न थाले । बोल्शेविक अखबारहरूका कार्यालयमा लाहाछाप लगाउन थाले । तर, त्यसको जवाफमा बोल्शेविकहरूले टेलिफोन यन्त्रलाई ठीक गरे, लाहाछाप फोरेर अखबार निकाल्न सुरु गरे ।
६ नोभेम्बरको आधा रातमा ‘राबोची पूत’ (मजदुरहरूको बाटो) को सम्पादकलाई पक्राउ गर्न आएको एक कर्नेल र युङ्करहरूको एक दललाई जनताले पक्राउ गरे । माफी मागेपछि बल्लतल्ल तिनीहरूको ज्यान बच्यो । तिनीहरू बोल्शेविकहरूद्वारा बन्दी बनाइए ।
पार्टी केन्द्रको निर्देशनअनुसार क्रान्तिकारी सेना र लालरक्षकहरू स्मोल्नी पुगे । स्मोल्नी नेवा नदीको किनारामा बनेको ठुलो दरबार थियो । त्यस दरबारमा पहिले खान्दानीवर्गका केटीहरूको निम्ति स्कूल चल्थ्यो । त्यहाँ राष्ट्रिय प्रतिनिधिसभा अर्थात् सोभियतहरूको दोस्रो महाधिवेशन २५ अक्टोबर (अर्थात् ७ नोभेम्बर) को दिन हुँदै थियो । त्यो ठाउँ बोल्शेविक पार्टीको केन्द्र बन्यो । २४ अक्टोबरकै राति लेनिन त्यहाँ पुग्नुभयो । लेनिनले विद्रोह सञ्चालन गर्ने जिम्मेवारी सम्हाल्नुभयो ।
पेट्रोगादको ठाउँ–ठाउँमा बोल्शेविक पक्षका सेना र अस्थायी सरकारको पक्षका सिपाहीहरूको माझमा गोली हानाहान भइरहेको थियो ।
राति २ बजे अर्थात् २५ अक्टोबर (अन्तर्राष्ट्रिय पात्रोअनुसार ७ नोभेम्बर) को सुरुमा बोल्शेविकहरू आकाशवाणी केन्द्र कब्जा गर्न सफल भए । बिहान चार बजे नै उपन्याय मन्त्री र उनको जहान पक्राउ परिसकेका थिए । राष्ट्र बैङ्क कब्जा गर्न एक रेजिमेन्ट हिँडिसकेको थियो । बिहान ७ बजेसम्ममा टेलिफोन अड्डा कब्जा गरे ।
७ नोभेम्बर बुधबारको दिन थियो । बोल्शेविक पार्टीको केन्द्रीय मुखपत्र – ‘राबोची पूत’ (मजदुरहरूको बाटो) मा ठुलठुला अक्षरले लेखिएको थियो, ‘सारा हुकुम मजदुरहरू, सिपाहीहरू र किसानहरूको हातमा ! शान्ति । रोटी ! जग्गा !’
लेखमा भनिएको थियो, “हरेक सिपाही, हरेक मजदुर, हरेक सच्चा समाजवादी, हरेक इमानदार प्रजातन्त्रवादी यस कुरालाई बुझ्छ कि वर्तमान परिस्थितिमा खालि दुई विकल्प छ –
या त हुकुम पुँजीपति, जमिनदार गुटको हातमा रहिरहोस् । यसको अर्थ हुनेछ – मजदुर, किसान र सिपाहीहरूमाथि हरेक किसिमको थिचोमिचो, लडाइँ भइरहनु र निश्चितरूपले भोक र मृत्यु …….. । अथवा हुकुम क्रान्तिकारी मजदुर, सिपाही र किसानहरूको हातमा सुम्पियोस् । त्यसको अर्थ हुनेछ, सामन्ती अत्याचार पूर्णरूपले उखेलिनु, पुँजीपतिहरूलाई छेक्नु र छिट्टै एक न्यायपूर्ण शान्ति सन्धिको प्रस्ताव । यस्तो स्थितिमा किसानहरूको निम्ति जग्गा निश्चित छ, उद्योगमाथि मजदुरहरूको नियन्त्रण निश्चित छ, भोकाहरूको निम्ति रोटी र यस बेकामको युद्धको समाप्ति निश्चित छ ।”
‘देन’ भन्ने मेन्शेविकहरूको एक पत्रिकाले रातको हलचलबारे टुक्राटुक्रा समाचार छापेको थियो ।
‘टेलिफोन एक्सचेन्ज (टेलिफोन अड्डा), वाल्टिक स्टेसन (रेलवे स्टेसन) र आकाशवाणी बोल्शेविकहरूको कब्जा, पीटरहोफका युङ्करहरू पेट्रोग्राद पुग्न असमर्थ, कज्जाकहरूको स्थिति अनिश्चित, केही मन्त्रीहरू पक्राउ, नगर रक्षक दलका अध्यक्षलाई गोली हानियो, पक्राउको बदला पक्राउ, विरोधी सेनाको पहरा, युङ्करहरू र लाल रक्षकहरूको माझमा गोली हानाहान ।’ ती सबै समाचारले अस्थायी सरकार हारिरहेको र बोल्शेविकहरूको हात माथि परेको थाहा हुन्थ्यो ।
अस्थायी सरकारको प्रधानमन्त्री करेन्स्की सबेरै ४ बजेदेखि बिहान उज्यालो नहुँदासम्म पेट्रोग्राद सेनाको केन्द्रीय कार्यालयमै थियो । त्यहाँ उसले सैनिक तालिम स्कूलका युङ्करहरू र क्रूर सम्झिएका कज्जाक सिपाहीहरूलाई एकपछि अर्को आदेश दिई बोल्शेविकहरूले कब्जा गरिसकेका तार, टेलिफोन र अन्य ठाउँ फेरि कब्जा गर्न कोसिस गर्यो । गोली हानाहान भयो तर कब्जा गर्न सकेन । दिनभर स्थिति त्यस्तै गोली हानाहानको थियो । बिस्तारै अँध्यारो भयो ।
अस्थायी सरकारका मन्त्रीहरू शीतल दरबारमा बैठक बस्दै थिए । शीतल दरबार पहिले जारको दरबार थियो । शीतल दरबार सा¥है राम्रो थियो । सुन र काँसमा ढालिएका मूर्तिहरूले कोठाहरू सजाइएको थियो । भुइँमा पूर्वका देशहरूमा बुनेका राम्रा राम्रा गलैँचाहरू औछ्याइएको थियो, भित्ताहरू अनेक राम्रा राम्रा लुगाले सिङ्गारिएका चित्रहरूले सजाइएका थिए, काँचका विभिन्न बत्तीहरूले बैठकलाई जग्मगाइएको थियो । त्यहाँ दराजहरू असल रक्सी र अत्तरका शिशीहरूले भरिएका थिए । छोटोमा संसारमा जाने–सुनेसम्मका सबै राम्रा राम्रा सामान त्यहाँ सजाइएको थियो । तर, शीतल दरबारको बाहिर अँध्यारो थियो । पालो–पहराको पूरा प्रबन्ध थियो ।
उता स्मोल्नी बोल्शेविकहरूको केन्द्र थियो । त्यहाँ पनि लाल रक्षकहरूको राम्रो पालो–पहरा थियो । त्यहाँ देशका विभिन्न ठाउँबाट आएका प्रतिनिधिहरू, मजदुर, किसान र सिपाहीहरूको हुल बढ्दै थियो । आवतजावत भइरहेको थियो । युद्धको मोर्चा, कालापानी, जेल र साइबेरियाबाट प्रतिनिधिहरू पुग्दै थिए । धेरै वर्षसम्म भेट नभएका, सम्पर्क छुटिसकेका साथीहरू एक आपसमा चिनेर खुसीले कराउँदै थिए, एक आपसमा अँगालो हाल्दै, कुराकानी गर्दै थिए र आ–आफ्नो बैठकमा छलफल गर्न जाँदै थिए ।
त्यही ठाउँमा राष्ट्रिय प्रतिनिधिसभा अर्थात् सोभियतहरूको दोस्रो महाधिवेशन हुँदै थियो । पहरा बसेका सिपाहीहरूको हातहतियारको घनघन, सिमेन्टमा मेसिनगन र तोपको घिसाइको घर घर, क्रान्तिकारी गीत र लेनिनलाई जनताले गरेको स्वागतको तालीले स्मोल्नी साँच्चै उत्साह र जोशले जाज्वल्यमान थियो । टाढैबाट त्यहाँको उज्यालो देखिन्थ्यो । बाटो हिँड्ने मजदुरहरू आफ्नो आशाको केन्द्रको रूपमा त्यसलाई हेर्दै जान्थे ।
मजदुरवर्गको विजय
साँझको सात बज्यो । आदेशअनुसार ‘अरोरा’ (AURORA) भन्ने लडाकु जहाजी सेनाको तोपको निशाना शीतल दरबारतिर फर्काइयो । शीतल दरबार तीनतिरबाट घेरिएको थियो । अचानक अँध्यारोलाई चिर्ने खालको एक ज्वाला र आवाज सुनियो । त्यो तोपको आवाज थियो, अरोराको तोपले शीतल दरबारमाथि हानेको पड्काइ थियो । त्यो तोपको गर्जनले समाजवादी क्रान्ति र नयाँ युगलाई सुरु गर्यो । शीतल दरबारलाई पहरा दिने खानदानी परिवारका तालिमे छात्र भनिने युङ्करहरू र कज्जाकहरूले आत्मसमर्पण गरे । अस्थायी सरकारका मन्त्रीहरू पक्रिए । तर, प्रधानमन्त्री करेन्स्की एक आइमाईको भेषमा भाग्न सफल भयो ।
उता स्मोल्नीको सभा भवन मजदुर, किसान र सिपाहीहरूबाट खचाखच भरिएको थियो । राति १० बजेर ४५ मिनेट भयो । आ–आफ्ना गुटका सबै प्रतिनिधिहरू त्यस ठुलो सभा भवनभित्र पसेर आ–आफ्ना ठाउँमा बसे । सभाको सभापति मेन्शेविक नेता दान थियो । उसले फौजी डाक्टरको एक खुकुलो पोसाक लगाएको थियो । उसको मुख अँध्यारो थियो । ऊ बोल्शेविकविरोधी थियो । क्रान्तिको हाँक, स्रोताहरूबाट भइरहेको ताली र सिटीको आवाज, भुइँमा बजाएको खुट्टाको आवाजले सभा भवन गुञ्जिरहेको थियो । त्यस हलचललाई शान्त पार्न सभापतिले घण्टी बजायो र बैठक उद्घाटनको घोषणा गर्यो । यो एक प्रकारको राष्ट्रिय प्रतिनिधिसभा वा संसद थियो ।
आफ्नो उद्घाटन भाषणमा औपचारिकरूपले भन्यो, “हाम्रो हातमा हुकुम आइसकेको छ ।……. साथीहरू ! सोभियतहरूको यो महाधिवेशन असाधारण अवस्थामा भइरहेको छ । ‘मजदुर र सैनिक प्रतिनिधिहरूको सोभियतको राष्ट्रिय रुसी केन्द्रीय कार्यकारिणी समिति’ (छोटोमा त्से–ई–काह–सं.) तपाईँहरूको अगाडि राजनैतिक भाषण गर्नु अनावश्यक सम्झन्छ । तपाईँहरूलाई सम्झना होला म त्यही (त्से–ई–काहको) समितिको सदस्य हुँ । ठीक यही समयमा हाम्रा पार्टीका साथीहरूमाथि शीतल दरबारमा तोपले हान्दै छन् । तिनीहरू त्से–ई–काहले दिएको जिम्मेवारी पूरा गर्नको निम्ति आफ्नो जीवनलाई होमिरहेका छन् । तपाईँहरूलाई अब कुरो प्रस्ट भयो होला ।”
त्यतिकैमा सभा भवनमा ठुलो हो–हल्ला भयो । उसले घोषणा गर्यो, “सोभियतहरूको दोस्रो महाधिवेशनको पहिलो बैठकको काम सुरु हुन्छ ।”
सबभन्दा पहिलो महाधिवेशन सञ्चालन गर्न अध्यक्षमण्डलको चुनाव भयो । प्रतिनिधिहरूको सङ्ख्याको आधारमा चुनाव भयो । त्यसमा बोल्शेविकहरू १४ जना र विरोधी पार्टीका ११ जना (समाजवादी क्रान्तिकारीहरू ७, बोल्शेविकहरू ३, गोर्कीको संयुक्त समाजवादी प्रजातान्त्रिक अन्तर्राष्ट्रवादी १) चुनिए ।
दक्षिणपन्थी र मध्यमार्गी समाजवादी क्रान्तिकारी, मेन्शेविकहरू र मेन्शेविक अन्तर्राष्ट्रवादीहरूले विभिन्न कारण देखाउँदै अध्यक्ष मण्डलमा भाग लिन अस्वीकार गरे । त्यतिकैमा ताली, सिटी र ‘विश्वासघाती’ शब्दले तिनीहरूको विरोध भयो । युक्राइनी प्रतिनिधिमण्डलबाट एक जनालाई अध्यक्षमण्डलमा राखियो । पुराना अध्यक्षमण्डलका सदस्यहरू दबुलीबाट तल झरे ।
बोल्शेविकहरूबाट नयाँ चुनिएका अध्यक्षमण्डलका सदस्यहरू त्रोत्स्की, कामेनेभ, लुनाचास्की, श्रीमती कोल्लोन्ताई नोगीन आदि मञ्चमा आ–आफ्नो स्थान लिन उक्ले । बोल्शेविक सदस्य कामेनेभले पहिलो दिनको कार्यक्रम प्रस्तुत गरे । त्यसमा पहिलो, हुकुमको सङ्गठन, दोस्रो, युद्ध र शान्ति र तेस्रो संविधान सभाबारे थियो ।
त्यसैबेला वामपन्थी समाजवादी क्रान्तिकारीहरू र संयुक्त समाजवादी प्रजातन्त्रवादीहरूको तर्फबाट मार्तोवले किसानहरूलाई महाधिवेशनमा मत दिने अधिकार प्रदान गर्ने प्रस्ताव राख्यो । त्यसलाई स्वीकार गरियो । दक्षिणपन्थी प्रतिनिधिहरूले क्रान्तिलाई अराजकता र ‘सरकारको विरोधमा अपराधपूर्ण विद्रोह’ भनेर निन्दा गरे । तिनीहरू लामा लामा प्रस्तावका कुराहरू गरेर समय खेर फाल्न चाहन्थे । छाउनी, लडाइँको मोर्चा, कारखाना र गाउँ गाउँबाट आएका सिपाही, मजदुर र किसानहरू अधैर्य भएर कराउँथे, “अब धेरै प्रस्तावको आवश्यकता छैन । अब धेरै भाषणको आवश्यकता छैन । हामी काम चाहन्छौँ । हामी सोभियतहरूको सरकार चाहन्छौँ ।”
विरोधीहरू आफ्नो चलनअनुसार सबै पार्टीको संयुक्त सरकार चाहन्थे । बोल्शेविकहरू त्यसको जवाफमा भन्थे, “खालि एउटा मेलको बिन्दु छ– मजदुर, सिपाही र किसानहरूको संयुक्त सरकार !” मेन्शेविक गुटको वामपन्थी पक्षलाई ‘मेन्शेविक अन्तर्राष्ट्रवादी’ भनिन्थ्यो । त्यसको नेता मार्तोव थियो । उसले ‘हुन गइरहेको गृह–युद्धलाई पन्छाउने उद्देश्यले समस्याको शान्तिपूर्ण ढङ्गले सुल्झाउन’ आह्वान गर्यो ।
त्यसको जवाफमा आकाशै थर्किने गरी नारा लाग्यो, “शान्तिपूर्ण सुल्झाइ हुन्न । हाम्रो जीतमात्रै एउटा बाटो छ । क्रान्तिको विजय मात्रै सम्भव सुल्झाइ हो ।”
कुचिन भन्ने एक सैनिक अफिसरले सोभियतहरूलाई जनताको समर्थन छैन र सेना त्यसको विरोधमा छ भनेर तर्साउन खोज्यो ।
सिपाहीहरू रिसाएर कराउन थाले, “तिमी फटाहा हौ, सेनाको माथिल्ला ओहदाको तर्फबाट बोल्दै छौँ, लडाइँको खाडलमा लड्ने सिपाहीहरूको तर्फबाट होइन । हामीहरूको माग छ सारा हुकुम सोभियतहरूलाई देऊ ।”
मेन्शेविकहरूले एक घोषणा पढे, “बोल्शेविकहरूले अरु पार्टीहरू र पक्षहरूसँग सल्लाह नगरिकनै पेट्रोग्राद सोभियतको सहायताबाट एक सैनिक षड्यन्त्र गरेको हुँदा हामीलाई महाधिवेशनमा भाग लिनु असम्भव भयो । यसकारण, हामी बैठक बहिष्कार गर्छौँ र हामी अरु पार्टीहरूलाई पनि हामीले जस्तै गर्न आह्वान गर्छौँ र परिस्थितिमाथि विचार गर्न सबैसँगै बस्न आह्वान गछौँ ।”
त्यसपछि सभामा एकछिन हाहाहुहु भयो । पक्ष र विपक्षमा सैनिकहरू बोल्न थाले । चर्काचर्की बहस भयो । साँच्चै बन्दुकको आवाज, घृणा, रिस, निन्दा, विरोध र डर–त्रासको वातावरणमा नयाँ युगको जन्म हुँदै थियो । अन्तमा, यहुदी समाजवादी प्रजातान्त्रिक सङ्गठन (बुन्द) का सदस्य अब्रामोविच दबुलीमा चढ्यो र रिसाएर ठुलठुलो स्वरले बोल्यो, “हामी यहाँ बसेर अपराधहरूको निम्ति जिम्मेवार हुन चाहन्नौँ । हामी सबै प्रतिनिधिहरूको यो महाधिवेशन छोड्न अनुरोध गछौँ ।”
यति भनेर ऊ दबुलीबाट तल झर्यो र फटाफट ढोकातिर लम्क्यो । ऊसँगै झन्डै ८० प्रतिनिधिहरू आ–आफ्नो ठाउँबाट उठेर उसको पछि लागे ।
ताली बजाउँदै, सिटी बजाउँदै र गिज्याउँदै भने, “भगुवाहरू ! धोकेबाजहरू !”
तिनीहरू बाहिर गइसकेपछि बैठकले एक घोषणापत्र स्वीकार गर्यो, “अस्थायी सरकारलाई पल्टाइयो । मजदुर, सिपाही र किसानहरूको ठुलो बहुमतको इच्छाअनुसार सोभियतहरूको यो महाधिवेशनले हुकुम आफ्नो हातमा लिन्छ । सोभियत सरकारले तुरुन्तै सबै राष्ट्रहरूको अगाडि प्रजातान्त्रिक शान्ति र सबै मोर्चामा लडाइँ तुरुन्तै रोक्ने सन्धिको प्रस्ताव राख्नेछ । यस सरकारले विना कुनै क्षतिपूर्तिले जग्गालाई हस्तान्तरण गर्नेछ ।”
बैठकमा एकछिनपछि नयाँ नयाँ विजयका समाचारहरू आइरहेका हुन्थे । मन्त्रीहरूको पक्राउ, राष्ट्र बैङ्क, आकाशवाणी, टेलिफोन, सेनाको सदरमुकाम कब्जा भएको, विभिन्न छाउनी र सैनिक गढहरूबाट समर्थन र लडाइँहरूमा जितेका विषयहरू हुन्थे । प्रतिनिधि र जनता खुसीले रुँदै एक आपसमा अँगालो हाल्थे । सोभियत सरकार स्थापना भयो । ८ नोभेम्बर अर्थात् २६ अक्टोबरको बिहान ६ बजेसम्म महाधिवेशनको पहिलो बैठक चालु रह्यो ।
यसप्रकार अक्टोबर क्रान्तिले विजयको घोषणा गर्यो । रुसको आकाशमा मजदुरवर्गको झन्डा फहरियो ।
‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ बाट