उद्देश्य स्पष्ट र गन्तव्य निश्चितसहितको यात्रा रमणीय मात्र नभई फलदायी पनि बन्छ । केही समयअगाडि यस्तै यात्रामा सहभागी हुने मौका पाएँ । २०८१ वैशाख १५ गतेको सुदूरपश्चिम प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीको प्रचार अभियानमा हाम्रो टोली वैशाख ५ गते बिहानै बझाङको लागि अघि बढेको थियो ।
मेरो लागि सुदूरपश्चिमको यात्रा पहिलो अनुभव थियो । बझाङ पहाडी जिल्ला भएकोले त्यहाँको मौसम काठमाडाँैको भन्दा खासै फरक थिएन । तर, त्यहाँ पुग्न तराईको बाटो जानुपर्ने हुँदा यात्राको गर्मी नै हाम्रो थकानको मुख्य कारण भयो । चितवनदेखि बुटवलसम्म बाटो मर्मत भइरहेकोले बाटो पूरै धुलाम्य थियो । पहिलो दिनको यात्राको वर्णन गर्ने सबैभन्दा उपयुक्त शब्द हुन् : धुलो, गर्मी र निद्रा । राति करिब ८ बजे हामी लुम्बिनी पुग्यौँ र पहिलो दिनको बास त्यतै भयो । भोलिपल्ट बिहानै हाम्रो गाडी गुड्यो । यात्रा लामो थियो । राति ९ बजेमात्र डडेलधुरा पुगियो । दोस्रो दिनको यात्रा पहिलो दिनको तुलनामा अलि सहज थियो । अत्तरियाबाट पहाडतिर उकालो लागेपछि गर्मी कम भयोे ।
तेस्रो दिन बिहान सबेरै गन्तव्यतिर लागियो । बझाङ जिल्लाको चिसापानीमा बिहानको खाना भयो । त्यतै वरपर ताजा टिमुर टिपेर बनाइएको अचारसँगको खाना निकै मिठो थियो । पहाडको सुन्दरतासँग रमाउँदै दिउँसो ४ बजे बझाङ जिल्लाको सदरमुकाम चैनपुर बजार पुगियो । केही क्षणको आरामपछि चुनावी प्रचारप्रसार सुरु भयो । मैले सोचेको भन्दा निकै सुन्दर थियो बझाङ । चैनपुर बजार एक व्यवस्थित बजार मान्न सकिन्छ । सबथोक पाइने बजार ।
उक्त दिन साँझ ७ बजेसम्म बजारमा घरदैलो कार्यक्रम भयो । कोणसभा पनि भयो । बझाङवासी जनताको लागि नेपाल मजदुर किसान पार्टी नयाँ थियो, मादल चिह्न नौलो थियो । त्यसैले धेरैले उत्सुकता देखाए ।
निर्वाचन प्रचारको क्रममा सहभागी साथीहरूबिच हरेक राति समीक्षा बैठक भयो । दिनभरिको अनुभव साटिन्थ्यो र भोलिपल्टको योजना बनाइन्थ्यो । व्यवस्थापन चुस्त थियो । मौन अवधि समय सुरु नभएसम्म जिल्लाका गाउँबस्तीहरूमा निरन्तर प्रचारप्रसार गरियो ।
बझाङ जिल्लाको परिवेश बुझ्ने निकै राम्रो मौका थियो हाम्रो लागि । त्यहाँका युवा विद्यार्थीहरूसँग हाम्रो टोलीको अन्तरक्रिया पनि भयो । महिला दिदीबहिनीहरू, वृद्ध आमाबुबा, भारत जानै लागेका कति युवा जोडीहरू सबै खालका मानिसहरूसँग अन्तरक्रिया गर्ने मौका मिल्यो । बझाङवासी जनतामा शासक दलहरूप्रति वितृष्णा देखिन्थ्यो । तिनीहरूमा राजनैतिक चेतनाको अभाव पनि देखिन्थ्यो । आफ्नो खुसीले चुनावमा मतदानसमेत गर्न नपाएको बुझियो । प्रचारप्रसारको क्रममा अपिल दिँदा रकम माग्ने ‘चलन’ पनि रहेछ । एक प्याकेट चाउचाउ, सुर्ती, चुरोटमा आफ्नो मत बेच्न तयार मतदाताहरू पनि भेटिए । यी दृश्यहरूले निकै पीडा भयो । त्यहाँका घरहरू फरक थिए† बालीनाली लगाउने र भित्याउने तरिका फरक थिए; बाटाहरू जोखिमपूर्ण थिए; मानिसहरूको लवज फरक थियो । निकै दुर्गम ठाउँहरूमा चुनाव प्रचार गर्न पुगियो । ससाना भाइबहिनीहरू हाम्रो गाडी देखेर खुसीले उफ्रेका देखिन्थे । कहिल्यै गाडी नदेखेका भाइबहिनीहरू रमाएको अनि केही ठाउँमा पहिलोपटक ठुलो गाडी गाउँमा प्रवेश गरेको भन्दै ‘गुरुजी’ लाई माला अबिरले स्वागत गरेको देख्दा आजसम्मका सरकारहरूले जनतालाई छलछाममै राखिरहेको महसुस भयो । प्राकृतिक सुन्दरतामा बझाङ एउटा अमूल्य उपहार नै हो । सेती नदीको सुन्दरता र अग्ला पहाडका गराहरूमा लहलह झुलेका गहुँ खेतीले अति आकर्षक देखिन्थ्यो बझाङ ।
बझाङको सांस्कृतिक गतिविधिबारे जानकारी प्राप्त गर्ने अवसर पनि मिल्यो । भक्तपुरमा जस्तै त्यहाँ पनि विभिन्न ठाउँमा लिङ्गो उठाएर मानिसहरू रातभर रमाइलो गर्ने, देउडा गाउने, नाच्ने गर्दा रहेछन् । हामीले त्यो रौनक, त्यो रमाइलो हेर्न नपाए पनि चुनाव प्रचारप्रसारको क्रममा बान्नेचौरमा उक्त जात्राको पर्खाइमा रहेका र मेलामा रमाइरहेका बझाङवासीहरूको प्रत्यक्षदर्शी बन्ने अवसर मिल्यो । कहिल्यै हाम्रो जस्तो गाडी नपुगेको बान्नेचौर पुग्ने बाटो साँच्चै नै कठिन थियो । भौगोलिक अवस्थाले बिकट तर प्राकृतिकरूपले निकै सुन्दर बान्नेचौर सम्झनामा गाढा भएर बसेको छ । बझाङस्थित भोपुर दरबार पनि घुम्ने अवसर प्राप्त भयो । भूकम्पले एकदमै जीर्ण अवस्थामा थियो भोपुर दरबार । पुनः निर्माणको पर्खाइमा बसेको भोपुर दरबार प्राकृतिकरूपमा निकै सुन्दर ठाउँमा अवस्थित छ ।
चुनाव प्रचारप्रसारको क्रममा थुप्रै विद्यार्थी साथीहरूसँग छलफल भयो । कक्षा १० का एसईई परीक्षा दिएर परीक्षाफलको प्रतीक्षामा बसेका विद्यार्थी साथीहरूसँगको कुराकानीले एउटा शैक्षिक परामर्श कार्यक्रमको आवश्यकता महसुस भयो । त्यसैले मौन अवधि समय सुरु हुनुभन्दा एकदिन अगाडि स्थानीय विद्यार्थी साथीहरूलाई सम्पर्क गरेर शैक्षिक परामर्श कार्यक्रम गरियो । १४ जना बझाङवासी विद्यार्थी साथीहरूको उत्साह र उत्सुकतापूर्ण सहभागिता रहेको उक्त कार्यक्रममा विशेषगरी कक्षा १० पछिको शैक्षिक गन्तव्यको विषयमा छलफल भयो । सृङ्गारकर्तादेखि डाक्टर बन्नेसम्मका रङ्गीविरङ्गी सपना बोकेका थिए विद्यार्थीहरूले । ती बहिनीहरूलाई आप्mनो ठाउँ बझाङमा हाम्रो उपस्थितिले केही उत्साह, केही आशा र नयाँपनको आभास दिएको थियो । आमाबुबा दुवै भारतमा काम गर्न बाध्य भएकोले हजुरआमा र दिदीसँग हुर्केका बहिनीहरूले हामीलाई आप्mनो ठानेर हालेको अँगालोको न्यानोपन अझै ताजा महसुस हुन्छ । परिवारको दैनिकी धान्न र छोराछोरीको सुन्दर भविष्यको निम्ति भारतका विभिन्न सहरका ‘कोठी’ हरूमा शरीर बेच्न बाध्य आफ्ना आमाहरूको न्यानो काख सम्झेर न्यास्रिएका कलिला किशोरीहरूको उदार अनुहार अझै झलझली आइरहेछ ।
वैशाख १३ गते बिहान बझाङबाट बिदा हुनेबेला मात्र हाम्रा दिनहरू छिटो बितेको अनुभव भयो । बझाङबाट फर्किँदा महाकाली नदी र टनकपुर बाँध हेर्ने योजना बन्यो । वैशाख १४ गते बिहान महाकाली नदी र टनकपुर बाँध पुगियो । धेरैपटक कार्यक्रममा र औपचारिक अनौपचारिक छलफलहरूले मेरो मस्तिष्कमा कोरिएको टनकपुर बाँध र मैले सोचे बुझेको महाकाली सन्धि त्यहाँ प्रत्यक्ष आफ्नै आँखाले हेर्दा यथार्थबोध भयो । भारतीय सीमा सुरक्षा प्रहरी बल एसएसबीको बोली, नेपाल र भारतको लागि बनाइएका नहरहरू आकारमा फरक, टनकपुर बाँधमा फहराइएको भारतीय झन्डा, जताततै भारतीय व्यापारीहरू, भारततर्फ जोडले बगिरहेको महाकालीको पानी, यी सारा दृश्यहरूले आँखा रसाए । तर, अग्रजहरूले हाम्रो आँसु कमजोर मनको नभई भारतीय विस्तारवाद र देश बेच्न खोज्ने शासक दलहरूप्रतिको आक्रोशको हुनुपर्ने सम्झाउँदा भने मनमा ज्वाला दन्किन थाल्यो । हृदयमा देशभक्ति भावना छचल्किन थाल्यो । दोधारा चाँदनीको झोलुङ्गे पुलमा एकछिन हिँडेपछि मात्र मन शान्त भयो ।