पुस्तकले हामीलाई ज्ञान दिन्छ । ज्ञान दिने पुस्तकलाई हामी माया गर्छौँ । किताबको महत्व सम्झिन/सम्झाउन वर्षको एकपटक भए पनि सरस्वती पूजाको दिन पूजा गर्छौँ । अरू बेला पनि झुक्किएर पुस्तकलाई खुट्टाले छोइयो भने ढोग्छौँ । पढ्न थाल्नुअघि पनि पुस्तकलाई ढोग्छौँ । धार्मिक पुस्तकलाई त भेटीपातीसहित पूजा पनि गरिन्छ । पण्डितबाट तिनका कुरा सुन्दा हातमा फूलपाती लिन लगाइन्छ । यी सबै, पुस्तकको महिमा बुझाउनकै लागि गरिएका क्रियाकलाप हुनुपर्छ ।
हामीले पढ्ने गाउँमा पाठ्यपुस्तक प्राप्त गर्न ज्यादै गा¥हो थियो । पुराना किताब पढ्ने त्यही घरका भाइबहिनी हुन्थे । नयाँ किताब किनिल्याउन धेरै सास्ती खेप्नुपथ्र्यो । पैदल हिँडेर पुग्नै दिनभरि लाग्ने जिल्ला सदरमुकामस्थित एउटा पुस्तक पसलमा खै कतिखेर किताब आएर कतिखेर सकिइसक्थ्यो, थाहै पाइँदैनथ्यो । सायद त्यतैतिरका विद्यार्थीले किनिसकेको हुन्थे होलान् । त्यतिखेर फोनको सुविधा पनि थिएन, किताब आयो/आएन भनेर बुझ्नलाई । त्यसैले, कैयौँपटक जिल्ला सदरमुकाम धाएर–एक दिन एउटा, अर्को दिन अर्को गर्दै गएर बल्लतल्ल किताबको सेट पूरा गरिन्थ्यो । त्यतिञ्जेल आधाउधी शैक्षिक सत्र पनि सकिइसकेको हुन्थ्यो । कतिपय अन्य जिल्लाको अवस्था हामीले भोगेभन्दा पनि बढी कष्टकर थियो होला ।
कतिपय साथीहरू सहरतिरबाट किताब झिकाउन सक्ने हैसियतका पनि हुन्थे । तिनले ल्याएका किताब हेर्न र पढ्न कक्षामा हारालुछ गरिन्थ्यो । बिन्तीभाउ गरेर केही दिनका लागि घरमा समेत ल्याएर पढिन्थ्यो । सहरबाट किताब ल्याउन नसक्नेहरू, जिल्ला सदरमुकाम धाएर ल्याइएका एकसेट किताबबाटै काम चलाउन, एउटा टोलमा दुईतीन जनासम्मको समूह बनाउने गर्थे । तिनलाई भर्सक प्लास्टिकको कभर लगाएर खुबै जतन गरिन्थ्यो । लेख्ने, चिनो लगाउने काम ठ्याम्मै हुँदैनथ्यो, आफ्नो नामसम्म लेख्नेबाहेक । स्वाभाविकै पनि हो, धेरै दुःख गरेर जोडेको सामान छ भने, जसलाई पनि त्यसको माया लाग्छ नै । अर्को साल तिनै किताब आधा मूल्यमा अरुले किनेर लान्थे । यो क्रम किताब परिवर्तन नहुन्जेल चल्थ्यो । चारपाँच वर्षसम्म एउटै किताब यताउता हुँदा, जति जतन गरे पनि कभर पेज च्यातिइसकेको हुन्थ्यो । र पनि, ‘पढ्ने पाठ छँदै छ, के भो र !’ भनिन्थ्यो । सुरु र अन्तिमतिरका पाठै गएका किताब परे पनि कापीमा सारेर पढिन्थ्यो । अहिले सम्झँदा लाग्छ : त्यतिखेर हामीले साँच्चै नै सच्चा नागरिकले निर्वाह गर्नुपर्ने देश सुहाउँदो व्यवहार गरेका रहेछौँ ।
अहिले समय सजिलो आएको छ । दुर्गम क्षेत्रका विद्यार्थीले समेत समयमै र सजिलै पाठ्यपुस्तक पाउँछन् । त्यो पनि निःशुल्क ! यो ज्यादै राम्रो कुरो हो । तर, सरकारले उपलब्ध गराएको यो ‘सजिलै’ र ‘निःशुल्क’ ले हदैसम्मको दुरूपयोग निम्त्याएको छ । त्यत्तिकै भेटेको वा पाएको कुनै पनि वस्तुको मूल्य र महत्व पनि त हुँदैन । आजकलका विद्यार्थीले किताबको जतन गर्नै पर्दैन । बिक्री पनि नहुने, पुराना पनि पढ्नु नपर्ने भएपछि किताबको किन जतन गर्नु ! त्यसैले, कसैले परीक्षामा च्यात्छन् । कसैले चट्पटेवालालाई दिन्छन् । बोक्न गा¥हो हुन्छ भनेर कसैले बाटातिर र कसैले विद्यालयमै राख्छन् । बजार, सडक, गल्ली र विद्यालयका छेउछाउ फालिएका किताबलाई फोहोरको रूपमा सफा गर्नुपर्ने अवस्था छ । सहरमा भए, विद्यालयको ‘स्टोर रुम’ मा थन्क्याइका किताब कवाडीवालालाई बोलाएर बेच्नुपर्छ । गाउँतिर त्यसरी बिक्री नहुने भएकोले त्यत्तिकै फाल्नुपर्छ वा जाडोमा आगो ताप्नुपर्छ ।
अध्ययनका सौखिन पाठकद्वारा किनिएका अन्य पुस्तक वर्षौँवर्षसम्म दराजमा सजाइन्छ । पुस्तकालयमा किताबलाई सजाएर राखिन्छ । तर, सरकारी विद्यालयमा निःशुल्क बाँडिएका किताब, पढ्न मिल्ने हुँदाहुँदै एकवर्षभित्रैमा अर्को नयाँ बाँडिन्छ ! यसलाई, ‘जनताका लागि राहत’ ठान्ने कि विद्यार्थीको खुसी मान्ने ? वास्तवमा यो, दुवै नभएर सरकारी ढुकुटीको फजुल खर्च हो । नागरिकका थाप्लामा ऋणको अङ्क बढेको बढ्यै छ । गुणस्तरीय कागज हाम्रो देशमा उत्पादन हुँदैन । भाउ बढेको आयातीत कागजमा किताब छपाउँदा अरबौँ खर्च हुन्छ । यो अवस्थामा, पाठ्यक्रम परिवर्तन नहुञ्जेल नयाँ किताब नबाँड्नु राम्रो होइन र ! ‘हरेक कुरा जतन गर्नुपर्छ’ भन्ने कुरा सिकाउनुपर्ने उमेरका विद्यार्थीलाई बर्सेनि नयाँ किताब बाँडेर के सिकाइँदै छ ?
हाम्रा धेरै विद्यालयमा जनक शिक्षाबाट प्रकाशित भएबाहेक विभिन्न प्रकाशकका पुस्तक पढाइ हुन्छ । ती प्रकाशकको पनि व्यवसाय चलाइदिन होला, नयाँ किताब बाँड्नुपर्ने र किन्नुपर्ने अवस्था सिर्जना गर्न हरेक वर्ष शिशुकक्षादेखि १२ कक्षासम्मका पुस्तकहरूमा १–२ वटा पाठ परिवर्तन गरिँदो रहेछ ! पाठै परिवर्तन नगरे, एकदुई पृष्ठ वा अनुच्छेद परिवर्तन गरी ‘किताब फेरिएको छ’ भन्ने पारिँदो रहेछ ! यो कुरा शिक्षकहरूले भन्नैप¥यो । अनि, विपन्न परिवारका अभिभावकले पनि बाध्य भएर हजारौँ रूपैया खर्च गरेर नयाँ पुस्तक किन्नैपर्ने बाध्यता आउँदो रहेछ ।
पाठ्यपुस्तक तयार गर्दा धेरै विज्ञहरूको परिश्रम परेको हुन्छ । त्यसअनुसार लगानी पनि उत्तिकै परेको हुन्छ । ‘देश र जनताको भलो चिताई’ काम गर्ने हो भने यसरी तयार गरिएका पाठ्यवस्तु केही वर्ष परिवर्तन नगर्ने र नयाँ किताब नछाप्ने नीति बनाउनुपर्ने हो । (परिवर्तन नगरिनहुने कुनै महत्वपूर्ण मिति/घटना भए, विषय शिक्षकले विद्यार्थीहरूलाई कक्षामा लेखाउँदा भयो ।) यसबाट पुराना किताब पुनः प्रयोग गर्ने वातावरण स्वतः बन्छ । यति हुन सकेमा पनि देशको अरबौँ रुपियाँ जोगाउन सकिन्छ ।