११ फागुन, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकामा पालिकाका जनप्रतिनीधि, कर्मचारीहरुका लागि दुई दिने क्षमता बिकास सम्बन्धी तालिम शुक्रवारदेखि शुरु भएको छ।
बुद्धभूमि कन्सलटिङ्ग, काठमाण्डौको व्यवस्थापनमा भएको तालिमको अध्यक्षता गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले तीनै तहका जनप्रतिनिधिहरुमा अध्ययनको कमीले धेरै समस्या आएको बताउनु भयो। सिकाई निरन्तर चलिरहने बिषय भएको र सिकाई कहिल्यै पुर्ण नहुने भन्दै अध्यक्ष ढकालले जनप्रतिनिधि र कर्मचारीहरुले आफूहरुले गर्ने काम र कर्तब्यहरुको बिषयमा अध्ययन गर्नुको बिकल्प नभएको बताउनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-02-23/164908420428656239_1595957671220775_4728445309794203795_n.jpg)
अध्यक्ष ढकालले सिकाई एक आपसमा रहेको अनुभवहरुको आदान प्रदान समेत भएको उल्लेख गर्दै जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो बिषय क्षेत्रभित्र अध्ययन नगर्दा धेरै समस्या आउने स्पष्ट गर्नु भयो। समयमा आयोजना गरिने क्षमता अभिबृद्धि सम्बन्धी तालिमले कार्य क्षेत्रमा देखिएका समस्या र चुनौतीहरुको सहजीकरणमा धेरै सहयोग पुग्ने समेत अध्यक्ष ढकालले विश्वास ब्यक्त गर्नुभयो ।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-02-23/164923484428650437_1595958187887390_8575819016244303433_n.jpg)
तालिममा सहभागी जनप्रतिनीधि तथा कर्मचारीहरुलाई स्वागत गर्दै कञ्चन गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले कार्यक्षेत्रमा प्रबेश गर्नु पुर्व आफुले गर्नु पर्ने कार्यहरुको जानकारी हुनु आवस्यक रहेको र कार्यक्षेत्रमा कार्य गर्दै जानेक्रममा देखा पर्ने समस्याहरुको समयमै पहिचान गर्न सके ती समस्याहरुले जटिलता उत्पन्न नगराउने उल्लेख गर्नु भयो। सिकाईलाई निरन्तरता र सिकेपछि आफ्नो कार्यक्षेत्रमा सहीढंगले उपयोग गर्न सकेमात्र आफ्नो कार्यदक्षतामा समेत परिपक्वता आउने उपाध्यक्ष थापा मगरले बताउनु भयो।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-02-23/164943407428654999_1595957461220796_9155000601503378395_n.jpg)
यस्तै तालिमका प्रशिक्षक तथा प्रशासनविद काशीराज दाहालले कुनै पनि कार्य सम्पादन गर्नु पुर्व आफुले गर्ने कार्य कानुन सम्मत छ वा छैन र आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्छ वा पर्दैन भन्नेबारे ज्ञान हुनु जरुरी रहेको बताउनु भयो। दुई दिन सम्म संचालन हुने तालिममा सेवा परमर्श, ऐन, कानुन,जनप्रतिनिधी तथा कर्मचारीको को काम कर्तब्य र क्षेत्राधिकार, योजना तथा बजेट तर्जुमा, सार्वजनिक खरीद बिक्री, जनप्रतिनीधि तथा कर्मचारीहरुको क्षमता तथा नेतृत्व बिकास र सकारात्मक सोंच बिषयमा प्रशासन सुधार आयोगका पुर्व अध्यक्ष तथा समस्याग्रस्ट सहकारी सुझाव आयोगका अध्यक्ष काशिराज दाहाल र पुर्व अर्थ सचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त कृष्णहरी बास्कोटाले प्रशिक्षण दिनु हुने छ।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-02-23/1650017707c9e2897-13a2-439a-a08d-f3d49f43e828.jpg)
प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले तालिमको आवस्यकता र औचित्यताबारे प्रकाश पार्नु भएको कार्यक्रममा कार्यक्रमको संचालन सूचना अधिकारी गिरिराज अर्यालले गर्नुभएको थियो । कञ्चन गाउापालिकाको सभाहलमा शुरु भएको तालिम भोली शनिवारसम्म संचालन हुने छ।
![](https://www.kanchankhabar.com/uploads/editor/2024-02-23/16501559735b3a13c-9a3e-4004-97a4-c40850e251b1.jpg)