६ फागुन, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ४ को वडा कार्यालयले वडाका किसानहरुलाई टोल बिकास संस्था मार्फत बेमौसमी तरकारीका बिउ बितरण गरेको छ। वडाको बार्षिक कार्ययोजना अन्तर्गत आज आइतवार एक कार्यक्रमका बिच टोल बिकास संस्थाका अध्यक्ष तथा प्रतिनीधि मार्फत उक्त विउ वितरण गरेको हो।
बेमौसमी बिउ वितरण गर्दै वडा अध्यक्ष केशर बहादुर खत्रीले बेमौसममा उत्पादित तरकारी महंगो र विषादीयुक्त समेत हुने भएकोले वडावासीहरुले घरायसी प्रयोजनका लागि आफ्नै घरमा अर्गानिक तरकारी उत्पादनमा प्रोत्साहित गर्न बेमौसमी तरकारीका बिउ वितरण गरिएको बताउनु भयो।
यसैगरी कार्यपालिका सदस्य सुशिला थापाले वडावासीहरुलाई करेसाबारीमा बेमौसमी तरकारी खेती गरी बिषादी रहित तरकारीको प्रयोग गर्नु पर्ने बताउदै वडाबाट प्राप्त हरेक अनुदानलाई सही रुपमा उपयोग गरी सभ्य र असल नागरिकको पहिचान बनाउनु पर्नेमा जोड दिनु भयो।
कार्यक्रममा वडाका निवर्तमान वडा अध्यक्ष दुर्गासिंह क्षेत्रीले कोभिडको समयमा घरबाट बाहिर निस्किन सक्ने अवस्था नहुँदा वडाबाट वितरण गरिएको तरकारीको बिउबाट उत्पादन गरी घरको न्युनतम आवस्यकता पुरा गर्न सहज गरेको स्मरण गर्नु भयो।
यसैगरी कृषि शाखाका कृषि प्राविधिक सहायक राम प्रसाद अधिकारीले तरकारी खेती कतिवेला, के कसरी लगाउने भन्नेबारे जानकारी दिदै बालीनालीमा लागेका रोग तथा किरा लागेको अवस्थामा घरायसी बिषादीको प्रयोगबारे जानकारी दिनु भएको थियो।
वडाका १६ वटा टोल बिकास संस्थाका अध्यक्षहरु मार्फत बोडी, रामतोरिया, फर्सी, काक्रो, लौका लगायतका तरकारीका बिउहरु वितरण गरिएको कार्यक्रममा वडा सचिव चक्रपाणी पौडेलले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो।