नम्रता
फागुनसँगै नेपाली समाजमा वसन्तको आगमन हुन्छ । पर्यावरणीय तथा सांस्कृतिक हिसाबले फागुन महिनाको बेग्लै महिमा छ । नेपालको राजनीतिक इतिहासमा पनि फागुन महिनाको आफ्नै महत्व छ । २००७ साल फागुन ७ गते राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना भयो । २०४६ साल फागुन ७ गते पञ्चायती निरङ्कुशताविरुद्ध जनआन्दोलनको प्रारम्भ भयो । यो वर्ष अर्थात् २०८० को फागुन सुरु भएको केही दिन भइसकेको छ र ७ फागुन आउनै लागेको छ । यही सेरोफेरोमा केही सान्दर्भिक गन्थन कविताको एउटा पङ्क्तिबाट आरम्भ गरौँ ।
आफ्नो मृत्यु रोक्न
ऊ कसैको हत्या गर्छ
ऊ मानव–रक्तको भोग माग्छ
ऊ कसैलाई बलिवेदीमा चढाउँछ ।
तर, बलिवेदीमा चढ्ने सहिद बन्छ,
जनजनको मनमनमा सदा बाँचिरहन्छ ।
आफ्नो मृत्यु रोक्ने चाहना राख्ने शासक भने
सहिदको जन्मसँगै पल—पलमा मरिरहन्छ !
(सहिद र शासक)
संसारको इतिहासमा भैmँ नेपालको राजनीतिक इतिहासमा पनि साना ठुला आन्दोलन तथा सङ्घर्ष भए । इतिहासको त्यो गति रोकेको छैन । कहिले ढिलो त कहिले अलि छिटो गतिमा चल्दै छ । कसैको चाहना भएपनि नभएपनि त्यो चालु रहनेछ । कति अत्याचारी शासकले आफ्नो अस्तित्व जोगाउन कैयौँ मान्छे ढाले, कति शासनसत्ता या शासकलाई जनताले ढाले ! आफ्नो राजसिंहासन कहिल्यै नडग्मगिने कुनै अत्याचारी शासकले सोचेका छन् भने त्यो वस्तुगत यथार्थभन्दा निकै पर हुनेछ ।
प्रतिक्रियादी शासकहरू सधैँ यथास्थिति मनपराउँछन् । जनता विभाजित र कमजोर हुँदा आफुलाई सुरक्षित ठान्दछन् । परिवर्तनको आवाजलाई ती आफ्नो मृत्युघण्टी मान्दछन् । परिवर्तन हठात् रोक्न खोज्छन् । जनता त्यसको प्रतिकारमा साहसपूर्वक उत्रन्छन् । प्रतिक्रियादी सत्ता जनतामाथि दमनको भरमा आयु लम्ब्याउन खोज्छ ।
निर्मम दमनचक्र चलाएरै राणा शासकहरूले आफ्नो निरङ्कुश जहानियाँ शासन कायम राख्न खोजे तर सकेनन् । बेलायती शक्तिको आडमा राणाहरूले आफ्नो लुटको स्वर्ग जोगाउन अनेक उपाय गरे तर सफल भएनन् । अन्तर्राष्ट्रिय परिस्थिति पनि राणा र बेलायतको अनुकूल रहिरहेन ! राणा शासन फाल्न १०४ वर्ष लाग्यो । शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ राणा शासनको अन्त्यका निम्ति बलिवेदीमा चढ्न तयार भए । असङ्ख्य योद्धाहरूले जेलनेल तथा दुःखकष्ट झेले । असङ्ख्य परिवारले कठोर यातना सहे । त्याग र तपस्या गरे । राणाशाहीको अन्त्य असम्भव ठानिएको थियो तर जनताको शक्तिको अगाडि केही लागेन !
पञ्चायती निरङ्कुश शासकहरूले परिवर्तन रोक्न न्वारानदेखिको बल प्रयोग गरे तर असफल भए । पञ्चायत ३० वर्षभित्र फालियो । तुलनात्मकरूपमा कम समय लाग्यो । भक्तपुरका होनहार युवाहरू राजकुमार सुवाल, कृष्णराम दुवाल, हरिकृष्ण भुजू, निर्मलकुमार शाक्यले पहिलो पटक पञ्चायती व्यवस्थाको ‘डमडम’ गोली खाए र ४६ सालको जनआन्दोलनका प्रथम सहिद भए । दोस्रो विश्वयुद्धमा समेत प्रतिबन्धित गोली खान युवाहरू पछि नहटेकै कारण जनआन्दोलन जङ्गलको आगोझैं देशभरि फैलियो । आन्दोलनकारीहरूमा बेग्लै उत्साह थपियो । स्मरणीय छ, ४६ सालको जनआन्दोलनको दोस्रो दिन फागुन ८ गते भक्तपुरको तौमढीमा दोस्रो विश्वयुद्धमा समेत प्रतिबन्धित घातक ‘डमडम’ गोली चलाएर पञ्चायती निरङ्कुश शासकहरूले आयु लम्ब्याउने असफल प्रयास गरेका थिए । पञ्चायती कालरात्रिको अन्त्य गर्न भक्तपुरका अर्का दुई सुपुत्र पुष्परत्न शाक्य र महेश श्रेष्ठले आफ्नो प्राण उत्सर्ग गरे । अरु धेरैले हाँसीहाँसी जीवन बलिदान गरे । धेरैधेरै घाइते भए । फलस्वरूप ४९ दिनको जनआन्दोलनबाट पञ्चायत ढल्यो । ‘सारा नेपाली पञ्च, सारा पञ्च नेपाली’ दाबी गरिएको थियो तर पञ्चायतले अन्तिम समयमा मलामीसम्म पनि पाएन ! ‘महापञ्च’ तथा खुँखार राजावादीहरू एकाएक गायब भए र रातारात प्रजातन्त्रवादीको सङ्ख्या ह्वात्तै बढ्यो !
२०४६ सालको फागुन ७ गते सुरु भएको जनआन्दोलन चैत २६ गते बहुदलीय व्यवस्था पुनःस्थापनाको घोषणासँगै टुङ्गियो । २०१७ साल पुसको १ गते शाही घोषणामार्फत निर्दलीय पञ्चायती व्यवस्था लागु गरिएको थियो । बहुदलीय प्रजातन्त्रको पुनःस्थापनाको माग त्यसै दिनदेखि नेपाली जनताले गरेका थिए । समयक्रमसँगै कैयौँ सङ्घर्ष तथा आन्दोलनहरू भए । उद्देश्य प्रस्ट थियो, जनताको गुमेको हकअधिकार प्राप्त गर्नु र जनताको स्वाभिमान अपहरण गर्न नदिनु । सामाजिक न्याय मर्न नदिने अर्को उद्देश्य थियो । मूल उद्देश्य प्रजातन्त्रको पुनःस्थापना नै थियो ।
बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएको ३३ वर्ष पूरा भयो । इतिहासमा यो समयावधि भनेको एक पुस्ता हो । ४६ साल चैत २६ गते जन्मिएका बच्चाबच्ची आज वयस्क बनिसकेका छन् । अभिभावकीय जिम्मेवारी बहन गर्दै छन् । तर, प्रजातन्त्र भने सप्रिन नसकेको रुखभैझैं, कीरा लागेको बालीझैं एकमाथि अर्को सङ्कटमा फस्दै गइरहेको छ । प्रजातन्त्र थाँक्रोले नै काँक्रो चोर्दा रनभुल्लमा परेको किसानझैं बनेको छ । प्रजातन्त्रको बिहानीसँगै राज्यद्वारा सञ्चालित कलकारखाना, यातायात सेवा आदि ध्वस्त पारिए । जनता तावाबाट फुत्केर भुङ्ग्रोमा परेको माछाझैँ छटपटाइरहेका छन् ।
प्रजातन्त्र विधिको शासन हो । जनताको शासन हो । प्रजातन्त्र विभेदको अन्त्य हो । सामाजिक न्याय तथा अधिकार प्रजातन्त्र हो । प्रजातन्त्र स्वतन्त्रता र समानताको सुनिश्चितता हो । विधि निर्माणमा जनताको सहभागिता या प्रतिनिधित्व हो । आज विधि र जनताको होइन विदेशी तिनका कठपुतलीको शासन चल्दै छ । प्रजातन्त्रको अर्थ आर्थिक–सामाजिक परिवर्तन हो । सर्वसाधारण जनताको जीवनमा सुख–शान्ति र सुखसुविधा हो ।
लामो आन्दोलन तथा बलिदानपश्चात् देशमा गणतन्त्र पनि स्थापना भयो । करिब २ सय ५० वर्ष लामो राजतन्त्रको अन्त्य भयो । गणतन्त्र स्थापनाको १६ वर्षले नेपाली जनतामा आशा जगाउन भने सकेन । जनताबीच गरिएका कुनै पनि वाचा पूरा गर्नेतर्पm शासक नेताहरू लागेनन् । परिवर्तनको आभास जनताले गर्नै पाएनन् । उल्टै, देश आर्थिक सामाजिक दृष्टिले खोक्रो बनाइँदै छ । धेरै तथ्य–तथ्याङ्क प्रस्तुत गरिरहन नपर्ला ! देशको टाउकोमा तिर्न बाँकी २३ खर्ब ८४ अर्ब ४८ करोड सार्वजनिक ऋणको भारी छ । प्रत्येक नेपालीको टाउकोमा झन्डै ८२ हजार वैदेशिक ऋण छ । (कान्तिपुर, माघ ८, २०८०) ऋणले उकालो चढ्ने क्रम तीव्र गतिमा जारी छ । देश कुन दिन टाटपल्टिएको घोषणा होला, ठेगान छैन ! चारैतिर शङ्काको बादल मडारिँदै छ ।
७० लाखभन्दा बढी नेपाली कामको खोजी गर्दै विदेश पुगिसके, गाउँहरू सुनसान छन् । बस्तीहरू धमाधम उजाड बन्दै छन् । सन् २०२३ मा मात्र स्थायी बसोबास गर्न विदेश जाने नेपालीको सङ्ख्या ७० हजार ९१५ जना रहेको तथ्याङ्क केही दिनअगाडि सार्वजनिक भयो । पछिल्लो एक वर्षमा ३ लाख ४० हजार ३६९ जना विदेशमा नै बसेको सो खबरले बतायो । (नागरिक, २ फागुन) चालु आर्थिक वर्षको ७ महिनामा चार लाख पाँच हजार ५५२ जनाले श्रम स्वीकृति लिए । संयुक्त अरब इमिरेट्स पहिलो र कतार दोस्रो श्रम गन्तव्य बनेका छन् । (गोरखापत्र, फागुन ३ गते) आखिर, नेपालीहरू किन देश नै त्याग्दै छन् ? धमाधम देश छोडेर कामको खोजीमा विदेश किन जान बाध्य छन् ? उच्चशिक्षाको नाउँमा नेपाली विद्यार्थीहरू किन विदेश पलायन हुँदै छन् ? बौद्धिकहरू तथा उच्च पदस्थहरूसमेत यो या त्यो बहानामा किन देश छोड्न चाहन्छन् ? आजको यस परिस्थितिको निम्ति राज्यव्यवस्था, राज्यको नीति र नागरिक स्वयम् कति जिम्मेवार छन्? देशलाई नवउपनिवेशको स्थितिबाट र नेपालीको मानसिकतालाई औपनिवेशिकताबाट मुक्त पार्न कहिले सम्भव होला ?
नेपालको कुल जनसङ्ख्याको २० प्रतिशतभन्दा बढी गरिबीको रेखामुनि छन् भन्ने तथ्याङ्क भर्खरै सार्वजनिक भएको छ । त्यसको अर्थ करिब ६० लाख नेपाली दैनिक दुई सय रुपियाँ पनि खर्च गर्ने औकात राख्दैनन् । ग्रामीण क्षेत्रमा २४.६६ र सहरी क्षेत्रमा १८.३४ प्रतिशत गरिबी रहेको ताजा सर्वेक्षणले देखाउँछ । नेपाल तथ्याङ्क विभागले गत सोमबार २८ माघको दिन सार्वजनिक गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षण— २०२२–२३ ले दिएको तस्बिर हो यो । (द काठमाडौँ पोस्ट, १२ फेब्रुअरी) वास्तविकता योभन्दा पनि डरलाग्दो हुन सक्ने सम्भावना त्यतिनै प्रबल छ । मिटरब्याज पीडितको सङ्ख्या देशैभरि रहेको र त्यसले गर्दा सर्वसाधारणहरू बिचल्लीमा परिरहेको तीतो यथार्थ जगमा जाहेर छ । सहकारीको ठगीमा परेकाहरूको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दो छ । जनताको थोरै भएको पैसा र घरजग्गा पनि खोसिँदै छ । धेरैधेरै नेपाली घरबारविहीन बन्दै छन् । महँगीको मारमा जनता पर्दै छन् । नेपालीको क्रयशक्ति ह्रास हुँदै गइरहेको सर्वविदितै छ । भ्रष्टाचारले देश खोक्रो पारिँदै छ । गरिबीसम्बन्धी सर्वेक्षण यी विषयमा मौन देखिन्छ या आँखा चिम्लिएको प्रस्ट हुन्छ । यी सबै पक्षको यथोचित मुल्याङ्कन गरिएको भए गरिबीको दर योभन्दा माथि पुग्नेमा कुनै शङ्का नहोला !
यतिखेर जनताले काम पाइरहेका छैनन् । कृषि उत्पादन डरलाग्दो किसिमले ओरालो लाग्दै छ । जग्गाजमीन बाँझो छ । फलस्वरूप, हामी खाद्यान्न तथा दैनिक उपभोग्यवस्तुमा परनिर्भर बन्यौँ । भारतनिर्भरता इतिहासमै उच्च बनेको छ । भारतसँगको व्यापार घाटाले सीमा नाघ्दै छ ।
०४६ सालको राजनीतिक परिवर्तनलगत्तै राज्यका सार्वजनिक सम्पत्ति, कलकारखाना, सार्वजनिक सेवा आदि निजीकरण तथा उदारीकरणको नीतिबमोजिम भारतीय व्यापारीको हातमा सुम्पिए । यी सबै नियोजितरूपमा गरिएका थिए । त्यो भारतीय आर्थिक हमलाको एउटा सिलसिला थियो । त्यो क्रमशः बढ्दै गयो । नेपाललाई आर्थिकरूपमा स्वतन्त्र नछोड्ने भारतीय एकाधिकार पुँजीको सदावहार चाहना तथा उद्देश्य हो भने त्यो चालबाजी सफल पार्न देशभित्रका दलालहरू लागिपरे । आर्थिकरूपमा स्वतन्त्र नभएको देश राजनीतिकरूपमा पनि स्वतन्त्र नहुने राजनीतिशास्त्र र अर्थशास्त्रका हरेक विद्यार्थीलाई थाहा भएकै कुरा हो !
नेपालले इतिहासका विभिन्न कालखण्डमा समयको मागबमोजिम सहिदहरू त पाए. प्रजातन्त्र र परिवर्तनका लागि होनहार युवाहरू सहादत प्राप्त गर्न अघि सरे । तर, नेपाली जनताले गतिला शासक कहिल्यै पाएनन् । नेपालीले देशभक्त शासक कहिल्यै पाएनन् । सहिदको सम्मान गर्ने असल शासक पाएनन् । सहिदको सपनामाथि बुट बजार्ने बेइमानहरू शासक बने ! विदेशीसामु स्वाभिमान बन्धक राख्ने दासहरू बरोबर सिंहदरबार पुगे ! लेण्डुप दोर्जेहरूकै जगजगीका कारण आज देश खतरनाक मोडमा पुगेको छ ।
कविताका दुई पङ्क्तिबाट यस लेखको बिट मारौँः
सहिद र शासक
शासक र सहिद
चुम्बकका दुई ध्रुव !
शासक कहिल्यै सहिद बन्दैन
सहिद कहिल्यै शासक बन्दैन !
शासकविरुद्ध सहिदहरू बारम्बार जन्मिरहन्छन्
किनभने,
शासक जनताको काल हो ।
सहिदहरूको छात्तीमा शासकहरू भाला रोपिरहन्छन् ।
किनभने,
सहिद निरङ्कुश शासकको काल हो ।
(सहिद र शासक – २)