५ फागुन, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकामा यही फागुन ३ गते देखि शुरु भएको रुपन्देही जिल्लास्तरिय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा २३ स्वर्ण, १४ रजत र १४ काश्य गरी ५१ पदक सहित बुटवल उपमहा नगरपालिका प्रथम भएको छ।
यसैगरी १५ स्वर्ण, १६ रजत, १२ काश्य गरी ४३ पदक सहित तिलोत्तमा नगरपालिका द्वितिय भएको छ भने ६ स्वर्ण ५ रजत र ६ काश्यगरी १७ पदक सहित सिद्धार्थनगर पालिका तृतिय भएको रुपन्देही खेलकुद बिकास समितिका कार्यलय प्रमुख रराजेन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ।
प्रतियोगितामा विजेता तथा उपविजेता टिम तथा स्थानीय तहहरुलाई बधाई सहित पुरस्कार तथा शिल्ड र प्रमाण पत्र प्रदान गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बिधार्थीहरुको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्ने मिनि ओलम्पिक खेलको रुपमा हेरिने यस प्रतियोगितालाई सभ्य र भव्य रुपमा सफल बनाउन खट्ने सम्पुर्णलाई धन्यबाद समेत ब्यक्त गर्नु भयो। यस जिल्ला खेलकुद बिकास समितिबाट हरेक प्रतियोगिताहरुलाई रुपन्देहीका सबै स्थानीयले समेत आफ्नो कर्तब्य र अपनत्व गराउदैे यस बर्षको प्रतियोगिता सम्पन्न गर्ने मौका दिएकोमा अध्यक्ष ढकालले धन्यवाद दिनु भएको थियो।
अध्यक्ष ढकालले खेलकुदलाई पर्यटनसंग जोड्न आवस्यक रहेको भन्दै खेलाडीहरु देशको पर्यटन प्रबद्र्धनका लागि स्थायी अम्बेस्डर समेत भएकोले उनिहरुलाई कम्तीमा प्रतियोगिताका अवधीमा भएपनि प्रतियोगितामा भाग लिँदा आवस्यक आधारभुत आवस्यकतामा राज्यले लगानी गर्न आवस्यक रहेको बताउनु भयो।
यसैगरी रुपन्देही खेलककुद बिकास समितिका कार्यबाहकक अध्यक्ष जय बहादुर सुनारले आगामी बर्षहरुमा यस प्रतियागितालाई घुम्तीको रुपमा संचालन गरेर हरेक बर्ष पालैपाले फरक फरक स्थानीय तहमा आयोजना गरी त्यस स्थानीय तहको पर्यटन प्रबद्र्धन र्गमा समेत टेवा पुर्याउने बताउनु भयो। कार्यबाहक अध्यक्ष सुनारले कञ्चन गाउपालिकाले १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन गर्न तयार गरेको भौतिक पुर्वाधारको सह्रना गर्दै प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने रुपन्देहीका सबै स्थानीय तह, बिधार्थी, बिद्यालय, अफिसियल, स्थानीय आमा समूह, संघसंस्था, संचारकर्मी, जनप्रतिनीधि तथा कर्मचारी र खेलकुद बिकास समितिका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो।
रुपन्देहीका ११ स्थानीय तहका १ हजार ४ सय बिधार्थीहरुले ३७५ पदकका लागि प्रतिस्पर्धा गरेको प्रतियोगिताको समापन कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका सदस्य राम बहादुर थापाले स्वागत गर्नु भएको थियो। कञ्चन ३ को धमिनाताल खेलमैदानमा संचालित प्रतियोगितालाई आगामी दिनमा अझ भव्य र सभ्य बनाउन कञ्चनको तर्फबाट गर्नु पर्ने हरेक जिम्मेवारीहरुलाई पुरा गर्न पछि नहट्ने समेत कञ्चन गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले बताउनु भएको थियो।
लगातार चौंथो पटक रनिङ्ग शिल्ड हात पार्न सफल बुटवलले यस अघिका तिनवटा सिजनको शिल्डमा हयाट्रिक गरी शिल्ड आफ्नो बनाउन सफल भएको थियो। आगामी बर्षका रुपन्देही जिल्ला स्तरिय १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तिलोत्तमा नगरपालिकामा संचालन हुने भएको छ। खेलकुद बिकास समितिका पदाधिकारीले कञ्चन गाउपालिकाका अध्यक्ष मार्फत रुपन्देही जिल्ला स्तरिय १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको झण्डा तिलोत्तमा नगरपालिकालाई हस्तान्तरण गरिएको समापन कार्यक्रमको संचालन समितिका सदस्य राधिका चौधरीले गर्नु भएको थियो।